कविताः हामी उज्यालोको ज्योति हौँ

किसन बहादुर वि.क.
हामी उज्यालोको ज्योति निभ्न दिने छैनौँ
तिमी हाम्रो गल्लीमा खुलेर बहस गरिरहे
हामी भने आफ्नै कर्ममा निरन्तर लागिरहनेछौँ।

तिमी हामीलाई बदनाम गर्ने प्रयास गरिरहे,
हामी सत्य, विश्वास र इमानदारीको बाटोमा अघि बढिरहनेछौँ।
ईर्ष्या गर्नेहरू जलिरहुन्—
त्यो तिम्रो स्वभाव होला।

तर हामी निभ्ने छैनौँ,
बरु अझ प्रज्वलित भएर बलिरहनेछौँ।
उज्यालो बन्नु हाम्रो धर्म हो,
सत्यको बाटोमा अघि बढ्नु हाम्रो कर्म हो।
तिमी घृणाको आगो पोखिरहे,
तर त्यही आगोले एक दिन तिमीलाई नै खरानी बनाउन सक्छ।
हामी भने उज्यालो बनेर चम्किरहनेछौँ।

अँध्यारो जति गहिरो भए पनि
हाम्रो यात्रा रोकिने छैन।
तिमी षड्यन्त्रका जाल बुन्दै जाऊ,
हामी नयाँ बाटाहरू बनाउँदै जानेछौँ।
तिमी जति तल झार्न खोज्छौ,
हामी त्यति नै माथि उठ्नेछौँ।
तिम्रो ईर्ष्याको ताप दिनप्रतिदिन बढ्दै जाला,
तर हाम्रो आत्मविश्वास पनि त्यति नै बलियो बन्दै जानेछ।
चम्किरहेको आकाशमा हाम्रो तारा
निरन्तर उदाइरहनेछ।
हामीलाई रोक्न खोज्नेहरू धेरै आउलान्,
तर हाम्रो कदम रोकिने छैन।
हामीलाई झुकाउन खोज्नेहरू धेरै होलान्,
तर हाम्रो आत्मसम्मान झुक्ने छैन।
हामीलाई निभाउन खोज्नेहरू धेरै होलान्,
तर हाम्रो उज्यालो निभ्ने छैन।
किनकि हामी अँध्यारोसँग डराउने होइनौँ,
अँध्यारो चिर्दै उज्यालो फैलाउनेहरू हौँ।
हाम्रो बाटो सत्यको हो,
हाम्रो शक्ति विश्वासको हो,
र हाम्रो यात्रा निरन्तर अघि बढिरहनेछ।
हामी उज्यालोको ज्योति हौँ
हामी निभ्न दिने छैनौँ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित