– सी.पी. गजुरेल ( गौरव )
कुनै एक देशको कम्युनिस्ट आन्दोलन जस्तै अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको विकासमा पनि दुई पक्षको महत्वपूर्ण र निर्णायक भूमिका हुन्छ : वर्गसंघर्ष र अन्तरसंघर्ष। अर्को महत्वपूर्ण पक्ष के हो भने यी दुवै पक्ष एकअर्कासँग अन्तरसम्बन्धित छन्। यी दुवैले एकअर्कालाई निरन्तर प्रभावित गरिरहन्छन्। यी दुवै संघर्षहरू निरन्तर क्रियाशील भइरहन्छन्, जसको कारण कम्युनिस्ट आन्दोलनको विकास पनि निरन्तर भइरहन्छ।
सामान्य मानिसहरूको चाहना के हुन्छ भने संघर्ष नहोस्, शान्तिमात्र भइरहोस्। फुट नहोस्, एकतामात्र भइरहोस्। अनि सँगसँगै विकास पनि भइरहोस्। यो चाहना र पवित्र इच्छालाई नराम्रो त भन्न मिल्दैन। तर, विज्ञानको र गतिको नियम नितान्त भिन्न छ। यो नियम मानिसको यसप्रकारको पवित्र इच्छाभन्दा भिन्न हुन्छ। विज्ञान वा गतिको नियमले विकासको निमित्त संघर्षलाई अनिवार्य ठान्दछ। एकताको निमित्त फुट आवश्यक छ, गलत चिजसँग फुट नभईकन सही पक्षबीच एकता हुन सक्दैन। सबै पक्षसँग एकतै एकता गर्नु पहिलो कुरा सम्भव हुँदैन। दोस्रो कुरा, त्यसप्रकारको एकताले विकासलाई गति दिन सक्दैन। त्यसले विकासलाई अवरुद्धमात्र गर्दछ। किनभने, गलतसँग सम्बन्ध-विच्छेद नगरीकन, गलत पक्षलाई पराजित नगरीकन सही पक्षसँग एकता सम्भव हुँदैन। वास्तविक एकता सम्भव हुँदैन। एकता र फुट वा एकता र विभाजनको द्वन्द्ववाद यही हो।
पार्टीहरूमा एकता र विभाजनको प्रश्न
सबै कम्युनिस्टहरूको एउटा दीर्घकालीन लक्ष्य हुन्छ : समाजवाद र साम्यवाद। यसलाई प्राप्त गर्ने एउटा वैज्ञानिक मार्गदर्शक सिद्धान्त हुन्छ : मार्क्सवाद, लेनिनवाद र माओवाद। पुँजीवादको विकास भएका देशमा मजदुरवर्गको नेतृत्वमा सिधै समाजवादी क्रान्ति सम्पन्न गर्नुपर्ने हुन्छ। तर, अल्पविकसित वा अर्धसामन्ती अर्धऔपनिवेशिक देशमा भने क्रान्तिको चरित्र अलग हुन्छ। त्यस्ता देशमा पहिले सर्वहारावर्गको नेतृत्वमा पुँजीवादी क्रान्ति अर्थात् नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद हुँदै साम्यवादतिर अघि बढ्नुपर्ने हुन्छ। चाहे त्यो नयाँ जनवादी क्रान्ति होस्, चाहे समाजवादी क्रान्ति, विविध प्रकारका सङ्घर्षका रूपहरूको प्रयोगद्वारा मुख्यतः सङ्घर्षको सशस्त्र रुप वा बल प्रयोगविना सफल हुन सक्दैन। यी विषयहरूमा संसारका सबै कम्युनिस्टहरूका बीचमा समान धारणा पाइन्छ। कम्युनिस्ट पार्टी बन्ने आधार पनि यही हो र कम्युनिस्टहरूका बीचका एकताको मुख्य आधार पनि यिनै हुन्।
उपयुक्त एकताका आधारहरू हुँदाहुँदै पनि सिद्धान्तलाई बुझ्ने र लागू गर्ने वा नगर्ने विषयहरूमा भने विविध विचारहरू वा प्रवृत्तिहरू पैदा हुन्छन् वा देखापर्दछन्। एउटा त सच्चा मालेमावादी विचार हो। यही विचारको मार्गनिर्देशनमा मात्र क्रान्ति सम्पन्न हुन सक्छ। यसबाहेक क्रान्तिकारी आन्दोलनभित्र अन्य तीन गलत विचार र प्रवृत्ति पनि देखापर्ने गर्दछन्। ती हुन् : दक्षिणपन्थी, उग्रवामपन्थी र मध्यपन्थी। उपर्युक्त तीनवटै प्रवृत्ति गलत र हानिकारक प्रवृत्तिहरू हुन्। कम्युनिस्ट आन्दोलनमा यी तीन प्रवृत्तिसँग मिल्दाजुल्दा कमजोरीहरू विभिन्न विषयहरूमा र विभिन्न समयमा देखापरिरहन्छन् र यिनका विरुद्धको सङ्घर्ष पनि चलिरहन्छ। सामान्य कमजोरीका रूपमा देखापर्दासम्म त्यस्ता प्रवृत्तिसँग सम्बन्धित कमजोरीहरू सच्चिँदै पनि जान्छन् र कहिलेकाहीँ ती एकअर्कामा फेरिन्छन् पनि। यस अवस्था सम्म पार्टीभित्रको अन्तर्सङ्घर्ष मैत्रीपूर्ण र स्वस्थ हुन्छ। यसप्रकारको अन्तर्सङ्घर्षले पार्टीलाई कमजोर होइन, मजबुत बनाउँछ। यसले कम्युनिस्ट पार्टीभित्रको एकतालाई बलियो बनाउँछ।
कतिपय कम्युनिस्ट क्रान्तिकारीहरूमा सुरुमा पाइने कमजोरी भने सच्चिनुको सट्टा बढ्दै जान्छन् र तिनले भड्काउको रूपमा विकास गर्छन्। त्यसपछि ती सच्चिने वा एकतर्फीमा रूपान्तरण हुनेको सट्टा झन् झन् बढ्दै र विकसित हुँदै जान्छन्। यस्ता प्रवृत्ति वा भड्काउहरू यदि पार्टीको नेतृत्व पङ्क्तिमै देखापर्दछन् भने त्यसले पार्टीलाई झन् बढी गन्जागोलतिर लैजान्छ। पार्टीमा गुटहरू पैदा हुन थाल्दछन्। पार्टीभित्रको अन्तर्सङ्घर्षले मैत्रीपूर्ण प्रकृतिको सीमालाई उल्लङ्घन गर्दै जान्छ। विभिन्न प्रकारका सहमति र सम्झौताद्वारा एकअर्कालाई फाइदा हुने सर्तमा एउटै पार्टीभित्र बसेर आ–आफ्नो लाइन लागू गर्ने प्रयास त गरिन्छ तर त्यो लामो समयसम्म टिक्न सक्दैन। पार्टीभित्रको यो कृत्रिम एकताले पार्टीभित्रका विभिन्न गुटहरूलाई आफ्नो लाइन लागू गर्न अझ बढी हौसला दिँदै जान्छ। पार्टीभित्रका गुटहरूले एकअर्काको बाधकको भूमिका खेल्न थाल्दछन्। कसैले नचाहँदानचाहँदै पनि पार्टी फुटको दिशातिर अघि बढ्दै जान्छ। अन्त्यमा पार्टी औपचारिक रूपमा विभाजित हुन पुग्छ।
कम्युनिष्ट पार्टी भित्र एकता र फुटका सामान्य नियमहरू यिनै हुन् । त्यसको अर्थ हो यो कुनै सार्वभौमिक नियम नै हो भन्न खोजिएको चाहिं होइन, नेपालको इतिहासको समीक्षा गर्दा नेपालको सबैभन्दा पुरानो पार्टी नेपाल प्रजा परिषद् हो, नेपाली कांग्रेस नेपालको पुरानो पार्टी मध्ये एक हो, जुन बेला गिरिजा प्र. कोइरालाको नेतृत्वमा संस्थापन नेपाली कांग्रेस र शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) मा विभाजित भएको थियो, त्यतिबेला ने.का. मा गिरिजा प्र. कोइरालाको व्यक्तिवादी र हैकमवादी कार्यशैलीबाहेक अन्य कुनै स्पष्ट कारण थिएन। केही वर्षपछि नेपाली कांग्रेस एउटै पार्टी बन्यो । त्यसैगरी जुनबेला एमाले माधवकुमार नेपालको नेतृत्वको संस्थापन पक्ष एमाले र वामदेव गौतम नेतृत्वको माले बन्न पुगे, त्यतिबेलाको मुख्य राजनीतिक विषय एमालेको महाकाली सन्धिसम्बन्धी राष्ट्रघात थियो। तर एमालेले राष्ट्रघाती नीति परित्याग नगरि फेरि माले र एमालेको एकता भएर एमाले नै कायम भयो।
यी दुई पार्टीको पुनः एकीकरणको मुख्य कारण ती पार्टीमा देखापर्दै गएको अस्तित्वको रक्षाको प्रश्न नै थियो। तथापि अहिले पनि ती पार्टीहरू मुख्यतः दुई-दुई गुटमा विभाजित छन्, तर पनि ती दुई पार्टी, एमाले र ने.का. एउटै पार्टीको रूपमा कायम छन्।
विभिन्न प्रवृत्तिहरू र तिनको भूमिका
माथि जुन तीनवटा प्रवृत्तिहरूको चर्चा गरिएको छ, तीमध्ये तुलनात्मक दृष्टिले दक्षिणपन्थी प्रवृत्ति बढी हानिकारक प्रवृत्ति हो, किनभने यो प्रवृत्तिले यो वा त्यो बहानामा क्रान्ति सम्पन्न गर्ने होइन, क्रान्तिलाई रोक्ने काम गर्दछ। यो प्रवृत्तिले जनताको शक्तिलाई यथार्थभन्दा कम र दुश्मनको शक्तिलाई यथार्थभन्दा बढी आँकलन गर्दछ। यो प्रवृत्तिले क्रान्तिका लागि कहिल्यै पनि परिस्थिति परिपक्व भएको देख्दैन। यसले क्रान्तिकारी आन्दोलनलाई यथास्थितिमा रोक्न खोज्छ वा पछिल्तिर धकेल्न खोज्छ। दार्शनिक रूपमा यसले सुधारवादको प्रतिनिधित्व गर्दछ।
उग्रवामपन्थी प्रवृत्तिले क्रान्तिका लागि परिस्थिति परिपक्व नभईकन क्रान्ति सम्पन्न गर्ने प्रयास गर्दछ। यसले क्रान्तिकारी परिस्थितिको बढाइचढाइ व्याख्या गर्दछ। यस प्रवृत्तिले दुश्मनको शक्तिलाई यथार्थभन्दा कम गरेर आँकलन र जनताको शक्तिलाई वा क्रान्तिकारी पक्षको शक्तिलाई यथार्थभन्दा बढी आँकलन गर्दछ। यसले दुस्साहसतिर लैजाने खतरा हुन्छ। दार्शनिक रूपमा यसले जडसूत्रवादको प्रतिनिधित्व गर्दछ।
मध्यपन्थी प्रवृत्ति क्रान्तिकारी आन्दोलनका लागि घातक प्रवृत्ति हो। यसको विशेषता के हो भने यो कुरामा क्रान्तिकारी हुन्छ, व्यवहारमा सुधारवादी। यसले आफ्नो सुधारवादी व्यवहारलाई ढाकछोप गर्नका लागि मार्क्सवादी सूत्रको उपयोग गर्दछ। लेनिनको भनाइमा मध्यपन्थी अवसरवाद दक्षिणपन्थी अवसरवादभन्दा बढी डरलाग्दो र हानिकारक हुन्छ, किनकि यसले क्रान्तिकारी आवरणमा सुधारवाद लागू गर्दछ। त्यसैले यसले क्रान्तिकारीहरूलाई भ्रममा पारेर सुधारवादतिर लैजाने खतरा हुन्छ। लेनिनको भनाइअनुसार मध्यपन्थी अवसरवादले सङ्घर्षका क्रान्तिकारी साधन, तिनको जनसमुदायमा प्रचारप्रसार र क्रान्तिको तयारीबाहेक मार्क्सवादका सबै कुरा स्वीकार गर्दछ। त्यसैले दार्शनिक रूपमा मध्यपन्थी अवसरवादको सम्बन्ध सारसङ्ग्रहवादसँग छ। यसले विभिन्न अनमेल विचार र प्रवृत्तिलाई एउटै ठाउँमा घुलमिल गराउँछ र कुनै प्रधान र कुनै गौण भनी छुट्याउँदैन। यो एकको दुईमा विभाजन हुन्छ भन्ने भौतिकवादी द्वन्द्ववादमा होइन, दुईको एकमा संयोजन हुन्छ भन्ने अधिभूतवादमा आधारित छ। यसले सम्झौतावाद र वर्ग समन्वयवादलाई प्रश्रय दिन्छ। यसले क्रान्तिको जटिल घडीमा दक्षिणपन्थी अवसरवादलाई सहयोग गर्छ र अन्ततः त्यसैमा बदलिने गर्दछ।
उपर्युक्त सबै प्रवृत्तिहरू हानिकारक प्रवृत्ति नै हुन्। यिनका विरुद्ध जोडदार सङ्घर्ष नचलाईकन कुनै पनि देशको क्रान्ति सफल हुन सक्दैन।
कम्युनिस्ट आन्दोलनमा फुटका कारणहरू
कुनै पनि पार्टीमा फुट हुनुपर्छ भनेर कसैले पनि भन्दैन। अझ जो बढी फुटवादी छ, उसैले फुटविरोधी र एकताको पक्षपाती भएको कुरा गर्छ। लेनिनको समयमा रूसका फुटवादीहरूले त आफ्नो पार्टीको मुखपत्रको नाम नै ‘एकतावादी’ राखेका थिए। त्यसकारण, को फुटवादी हो र को होइन भन्ने कुरा कसले एकताको कुरा बढी गर्छ भन्ने कुराबाट तय हुँदैन, उसको क्रान्तिकारी व्यवहारबाट तय हुन्छ।
कम्युनिस्ट आन्दोलनमा फुटवादी त्यो हुन्छ, जसले क्रान्तिकारी विचार, नीति र लाइनलाई त्याग्दछ। मालेमाको विचार, नीतिलाई त्याग्नुको अर्थ हो कम्युनिस्ट आन्दोलनबाट फुट्नु। त्यसकारण, जसले मालेमाका सिद्धान्त, नीति र लाइनलाई परित्याग गर्दछ, त्यो नै सबैभन्दा ठूलो फुटवादी हो।
सिद्धान्तमा सबैभन्दा बढी जोड दिने पार्टी कम्युनिस्ट पार्टी नै हुनुपर्छ। सबैभन्दा बढी विचार र राजनीतिलाई बढी जोड कम्युनिस्टहरूले नै दिन्छन्। माओले भन्नुभएको ‘अन्तमा सबै कुराको निर्णय वैचारिक राजनीतिक कार्यदिशा सही वा गलत हुने कुराले नै गर्दछ’ भन्ने उक्तिलाई संसारका सबै कम्युनिस्टहरूले वैज्ञानिक संश्लेषणको रूपमा लिन्छन् र त्यसलाई महत्त्वपूर्ण कथनको रूपमा बुझ्दछन्। फुट र एकताको आधार पनि स्वाभाविक रूपमा विचार र राजनीतिक नै हुनु स्वाभाविक हो। तर, यो पनि त्यत्तिकै महत्त्वपूर्ण तथ्य हो कि कम्युनिस्ट पार्टीहरूका बीचमा जुन फुट भएका छन्, ती धेरैजसो अवस्थामा कार्यनीति र कार्यदिशाका विषयमा भएका अन्तरकै कारण भएका छन्। यसप्रकारका फुट कुनै अपरिपक्व नेताहरूको कच्चा व्यवहारबाट भएका पनि होइनन्, जो सामान्यतया भन्ने / बुझ्ने गरिन्छ। यसप्रकारका फुट स्वयं लेनिनकै पार्टीमा पनि भएका थिए। स्वयं लेनिनले नै यसप्रकारका सामान्य र सानातिना कुरामा भएको पार्टी फुट भयो, त्यसलाई पुष्टि गर्न कठिन भएको छ भनेर खुला रूपमा भन्नुभएको छ।
प्रसिद्ध रचना ‘एक कदम अगाडि र दुई कदम पछाडि’मा लेनिनले भन्नुभएको छ : “पहिले पहिले हाम्रो अन्तर प्रमुख विषयमा हुने गथ्र्यो, जुन केही विषयमा फुट हुँदा पनि त्यसलाई सही ठहराउन सकिन्थ्यो, यतिखेर सबै मुख्य र महत्त्वपूर्ण विषयहरूमा हामी सहमतिमा पुगेका छौँ र केवल साना कुराहरूमा मात्र विभाजित भएका छौँ, जसको विषयमा सम्भवतः हामीले बहस गर्नुपर्ने छ, तर त्यस्तो विषयलाई आधार बनाएर अलग हुनु वाहियात र बचकानापन जस्तो देखिन्छ (जस्तो कि कमरेड प्लेखानोभले आफ्नो चाखलाग्दो रचना ‘ के गरिँनु हुँदैन ’ भन्नेमा असाध्यै ठिक सँग भन्नुभएको थियो, जसको उल्टो हामी गरिरहेका छौँ ।”
लेनिनले यो विषय उठाउनमा ठूलो मर्म छ। उहाँले उल्लेख गर्नुभएका ठूला–ठूला विषयहरूमा मतभेद हुँदा पनि उहाँहरूको पार्टी, जसको नाम त्यतिखेर ‘सामाजिक जनवादी मजदुर पार्टी’ थियो, फुटेको थिएन। तर, जतिबेला पार्टी फुट्ने स्थिति आयो, बाहिरबाट हेर्दा त्यो अत्यन्त सानो विषय थियो। त्यो विषय पार्टीको आधारभूत लाइनमा थिएन। पार्टीका एउटा शीर्ष पंक्तिका नेता मार्तोभले पार्टीले दिएको जिम्मेवारीअनुसार महाधिवेशनका लागि तयार पारिएको पार्टीविधानमा पार्टीसदस्य कसलाई मान्ने भन्ने धारामा ‘जसले नियमित रूपमा पार्टीलाई आर्थिक सहयोग गर्छ, जसले पार्टीका निर्णय कार्यान्वयन गर्न तयार हुन्छ, त्यो व्यक्ति पार्टी सदस्य हुन सक्छ’ भन्ने विषय राखेका थिए।
लेनिनले ती कुरा त ठीक छन्, तर त्यसमा ‘उसले पार्टीको कुनै न कुनै निकायमा बसेर काम गरेको हुनुपर्छ र जनवादी केन्द्रीयता मानेको हुनुपर्छ’ भन्ने थप गर्नुपर्नेछ भन्ने प्रस्ताव राख्नुभयो, जुन कुरा मार्तोभ र उनका पक्षधरहरूले मानेनन्। यसका साथै पार्टीको त्यतिखेरको मुखपत्र ‘इस्क्रा’को सम्पादकीय बोर्डमा कसलाई राख्ने भन्ने विषयमा पनि मत मिलेन। जे होस्, बाहिरबाट हेर्दा यी विषयहरू पार्टी नै फुट्नुपर्ने किसिमका विषय थिएनन् भन्ने देखिन्छ। लेनिन स्वयंले पनि त्यही कुरा बताउनुभयो। तर, आखिरमा पार्टी तिनै विषयमा मिल्न नसकेका कारण फुट्न पुग्यो।
हाम्रो पार्टीको इतिहासतिर फर्कने हो भने पनि के देख्न सकिन्छ भने तत्कालको कार्यनीतिकै विषयलाई लिएर पार्टी पटकपटक फुटेको छ। यसको अर्थ सामान्य मतभेद हुनेबित्तिकै फुट्नु पर्ने रहेछ भन्ने होइन। अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र हाम्रो पार्टीको इतिहासबाट शिक्षाको रूपमा लिएर लागू गर्नुपर्ने भन्ने कुरा कदापि होइन। हाम्रो अत्यधिक र सचेत प्रयत्न पार्टीलाई एकताबद्ध गराउनु नै हुनुपर्दछ। हाम्रो प्राथमिकता एकता हो, फुट होइन र हुन पनि हुँदैन। तर, यो निरपेक्ष भने हुँदैन।
सच्चा कम्युनिस्टहरू जहिले पनि पार्टी एकताको पक्षमा अडिग रहनु र अभ्यस्त हुनुपर्छ। यसमा मुख्य ध्यान दिनुपर्ने कुरा के हो भने त्यस्तो एकता सही क्रान्तिकारी लाइनको नेतृत्वमा र सही लाइनको आधारमा मात्र हुनुपर्दछ। गलत लाइनको नेतृत्वमा गरिएको एकताले सही ठाउँमा होइन, गलत ठाउँमा पुर्याउँछ। अनि त्यो एकताको कम्युनिस्ट क्रान्तिकारीहरूका लागि के अर्थ हुन्छ र ? सबैथोकको निर्णय विचारधारात्मक र राजनीतिक कार्यदिशा सही वा गलत हुने कुराले गर्दछ भन्ने माओको महान् संश्लेषित भनाइको मर्म पनि यही छ।
एकता वा फुटमा दुईलाइन सङ्घर्षको भूमिका
कम्युनिस्ट पार्टीमा (र अन्य पार्टीहरूमा पनि) दुईलाइन सङ्घर्ष चल्नु एउटा वैज्ञानिक र भौतिकवादी नियम हो। कसैले पार्टीभित्रको अन्तर्सङ्घर्षलाई दुईलाइन सङ्घर्ष नभनेर अरू नै शब्दको प्रयोग गर्लान्, तर यसप्रकारको सङ्घर्ष अनिवार्य हुन्छ। पार्टीभित्रको अन्तर्सङ्घर्षलाई कुनै तरिकाले केही समयका लागि रोक्न सकिएला तर लामो समयसम्म रोक्न सकिँदैन। यस विषयमा अझ स्पष्ट हुनका लागि क. माओका केही वैज्ञानिक भनाइलाई आधार बनाउन आवश्यक हुन्छ।
माओले भन्नुभएको छ कि हरेक वस्तुमा अन्तर्विरोध विद्यमान हुन्छ। पार्टी पनि एउटा वस्तु भएको कारणले यसभित्र अन्तर्विरोध हुन्छ, हुन्छ। यसमा कुनै शङ्का छैन। पार्टीभित्र हुने यही अन्तर्विरोध नै पार्टीमा हुने अन्तर्सङ्घर्षको मूल कारण हो। जसरी वस्तुभित्र अन्तर्विरोध भएन भने वस्तुको नै अन्त्य हुन्छ, त्यसरी नै अन्तर्सङ्घर्षको अन्त्य भयो भने पार्टीको जीवनको पनि अन्त्य हुन्छ।
माओको अर्को भनाइ के छ भने पार्टी भनेको नै विपरीतहरूको एकत्व हो। विपरीतहरूका बीचमा सङ्घर्ष अनिवार्य हुन्छ, त्यसैले पार्टीमा अन्तर्सङ्घर्ष पनि अनिवार्य हुन्छ। कसैले चाहे पनि नचाहे पनि पार्टीमा अन्तर्सङ्घर्ष अनिवार्य हुन्छ। एउटा वर्गीय समाजमा वर्गसङ्घर्ष निरन्तर चलिरहन्छ। कम्युनिस्ट पार्टी पनि त्यही समाजमै कार्यरत रहने हुनाले समाजमा विद्यमान वर्गहरूको विचार,राजनीतिक, सांस्कृतिक आदिले कम्युनिस्ट पार्टीमा पनि प्रभाव पार्दै रहन्छन्। त्यसकारण क. माओले पार्टीभित्र चल्ने अन्तर्संघर्ष वा दुईलाइन संघर्षलाई समाजमा चल्ने वर्गसंघर्षको प्रतिबिम्बन हो भन्नुभएको छ।
माओले पार्टीभित्रको अन्तर्संघर्षको सकारात्मक परिणाम नयाँ आधारमा नयाँ एकता भएको बताउनुहुन्छ। कम्युनिस्ट पार्टीले वर्गसंघर्षको सही किसिमले नेतृत्व गर्नुपर्दछ। परिस्थिति अघि बढ्दै जान्छ र त्यसअनुसार पार्टीभित्रको एकता पनि माथि उठ्नु आवश्यक हुन्छ। परिस्थिति अघि बढ्ने तर पार्टीभित्रको एकतालाई पुरानै अवस्थामा कायम रहने भयो भने पार्टी वर्गसंघर्षको चुनौतीको सामना गर्न असमर्थ हुन्छ। त्यसकारण दुईलाइन संघर्षको उद्देश्य पार्टीमा नयाँ स्तरको एकताका लागि नयाँ आधार तयार पार्नु हो। दुईलाइन संघर्षले एकताका लागि नयाँ आधार तयार पार्न सफल भयो भने त्यो सफल दुईलाइन संघर्ष साबित हुन्छ।
यसको विपरीत यदि दुईलाइन संघर्षलाई एकताको भ्रम दिएर गुटको संरक्षण गर्ने, यथास्थितिलाई निरन्तरता दिने, पुरानो आधार कायम राख्ने उद्देश्यको परिपूर्तिका लागि उपयोग गर्ने, दुईलाइन संघर्षलाई सम्पूर्णतामा नलिई वैचारिक राजनीतिक लाइनलाई महत्वहीन विषय बनाइदिने, संगठनलाई र नेतृत्वलाई लाइनको विरोधमा प्रयोग गर्ने जस्ता कार्यमा उपयोग गर्न खोजियो भने त्यो दुईलाइन संघर्ष निरर्थकमात्र हुँदैन, प्रत्युत्पादकसमेत हुन जान्छ र यसले पार्टीमा नयाँ स्तरको एकताका लागि नयाँ आधार तयार गर्नुको सट्टा ठीक त्यसको विपरीत फुटको आधारमात्र तयार गर्दछ।
आज पार्टीमा जसरी दुईलाइन संघर्ष चलिरहेको छ, त्यसलाई सकारात्मक परिणाम प्राप्त गर्ने उद्देश्यका साथ अघि बढाउन आवश्यक छ। यो दुईलाइन संघर्षलाई नयाँ स्तरको एकता हासिल गर्नका लागि नयाँ आधार तयार गर्ने विषयका रूपमा अघि बढाउनुपर्छ। हामी सबैले यही प्रयत्न गर्नु जरूरी छ।000
(यो लेख लेखकले कार्तिक ५, ०६७ मा तयार पार्नु भएको थियो । लेखकको पुस्तक ‘क्रान्ति र प्रतिक्रान्तिका श्रृङ्खला’ २०७२ मा पनि संग्रहित गरिएको छ । पार्टी भित्र अन्तरविरोध सञ्चालन, कम्युनिष्ट पार्टीको एकता र विभाजनलाई बुझ्न सहयोगी सामग्री ठानिएकाले यो लेख दिइएको छ । )

