सन्धिखर्क । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क नगरपालिका–१० मा २०७३ असार १३ गते शिलान्यास गरिएको अर्घा भगवती विमानस्थलको निर्माण कार्य अहिले अलपत्र अवस्थामा देखिन्छ।
सानो आकारका विमान उडान तथा अवतरण गर्न सक्ने गरी निर्माण गर्न लागिएको यस विमानस्थलले शिलान्यास भएको झन्डै एक दशक बितिसक्दा पनि अपेक्षित गति लिन सकेको छैन। २०७३ सालमा तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले शिलान्यास गरेको यस विमानस्थलको निर्माण कार्य २०७६ सालदेखि सुरु भएको थियो।
के यो विमानस्थलले पूर्णता पाउला त ? कि क्रिकेट खेल्ने, मोटरसाइकल चलाउन सिक्ने र ‘मर्निङ वाक’ गर्ने स्थानका रूपमा मात्रै सीमित रहला ? यसको निर्माणप्रति चासो र जवाफदेहिता कसको ?
नेपाल नागरिक उड्डयन प्राधिकरण, एरोड्रम इञ्जिनियरिङ विभागले अर्घाभगवती विमानस्थल निर्माणस्थलमा रहेका रुख हटाउने कार्यका लागि भुसाल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, सन्धिखर्क, अर्घाखाँचीसँग सम्झौता गरेको थियो।
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा त्यहाँको पुरानो भगवतीको मन्दिरको नामबाट सो विमानस्थलको नामाकरण गरिएको थियो । कुल लागत करिब रु ८० करोडको सो बहुवर्षीय आयोजना चार वर्षभित्र बन्ने बताइएको थियो ।तर एक दशक सम्म यो विमानस्थल निर्माण पूरा हुन सकेको छैन ।
त्रिभुवन विमानस्थलबाट करिब ३५ मिनेटमा अर्घाभगवती विमानस्थलमा पुग्न सकिनेछ । विमानस्थल बनेपछि गौतमबुद्ध जन्मस्थल लुम्बिनी र आसपासको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
फोटो साभार : कृष्ण भुसालको फेसबुक वालबाट
Comments

