आज औलो दिवस, के हो औलो रोग ?

काठमाडौं । ‘शून्य औलो अबको थालनी : नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित आज विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।

विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसका रूपमा मनाउँदै आएका छन् । नेपालले विश्व समुदायमा गरेको प्रतिबद्धताअनुसार सन् २०२५ सम्म औलो निवारण गर्ने अतिमहत्वकाङ्क्षी लक्ष्य लिएको छ । सो लक्ष्यअनुसार औलो निवारण गर्न नेपालसँग मात्र तीन वर्षको समयसीमा बाँकी छ । यसमा पनि स्थानीय औलोका बिरामी र औलोबाट हुने मृत्युलाई शून्यमा झार्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको लक्ष्य निर्धारण गरेको छ ।

नेपालमा विगत एक सय वर्षदेखि औलोको समस्या देखिँदै आएको जनाइएको छ । यस रोगका बिरामीमा पक्षघात र मष्तिस्काघातको जोखिम हुने गर्दछ । शाखा प्रमुख डा दाहालका अनुसार सन् २०२२ मा औलोका पाँच सय १२ बिरामी भेटिएका थिए । तीमध्ये चार सय ७६ बिरामी अन्य देशबाट औलो सङ्क्रमित भएर आएका र बाँकी ३६ स्थानीय बिरामी रहेका थिए ।

के हो औलो रोग ?

औलो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । औलो सङ्क्रमित ‘एनोफिलस’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा शेरबहादुर पुन भन्छन्, “औलो सामान्य र कडा लक्षणसहितका हुन सक्छन् । औलो सङ्क्रमण भएको सातदेखि ३० दिनसम्म औलोको लक्षण देखिन सक्छ ।” उनका अनुसार सामान्यतया ज्वरो आउने, टाउको दुख्ने, वाकवाक लाग्ने, वान्ता हुने लक्षण देखिन्छ । लक्षण देखिएका व्यक्तिले तत्काल स्वास्थ्य परीक्षण गराउन उनको सुझाव छ ।

उनका अनुसार ‘फाल्सिफारम’ र ‘भाइभेक्स’ औलो धेरै देखिने गरेको छ । फाल्सिफारम बढी घातक मानिन्छ । उनका अनुसार औलोका कारण गम्भीर स्वास्थ्य समस्या र बिरामीको मृत्युको जोखिमसमेत हुन्छ । डा पुन भन्छन्, “औलो सङ्क्रमितलाई जाडो, गर्मी र पसिना आउने तीन चरण देखिन्छ । औलो कडा हुँदै गएमा जन्डिस देखापर्छ, कलेजो सुनिन्ने, मिर्गौला र श्वासप्रश्वासमा समस्या देखिएर मृत्युसम्मको जोखिम हुन्छ ।” फाल्सिफारमका लागि औलोविरुद्ध औषधिको प्रयोगबाट औलोको उपचार गरिन्छ । गर्मी र वर्षायाममा लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकको सुझाव छ ।

यसका लक्षणहरू

• १० देखि १५ दिनसम्म ज्वरो आउनु
• टाउको दुख्नु
• शरीरका भित्रि अंग सुन्निनु
• जोर्नी दुख्नु
• शरीरमा रगतको मात्रा कम हुनु
• थकित महसुस हुनु

औलोको शंका लागेमा रगत परीक्षण गरी औलो भए नभएको पत्ता लगाउन सकिन्छ। सरकार मातहतका सम्पूर्ण स्वास्थ्य संस्थामा औलोको परीक्षण तथा उपचार निशुल्क छ।

औलोबाट बच्ने उपाय

औलोबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु आवश्यक छ। लामखुट्टेको टोकाइबाट बच्न र लामखुट्टे नियन्त्रण गर्न निम्न उपायहरू अपनाउन सकिन्छ :

• झुल टाँगेर सुत्ने
• घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने
• सकेसम्म जति बेला पनि लामो बाहुला भएको लुगा लगाउने
• लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने
• लामखुट्टे सक्रिय हुने समयमा विशेष गरी बिहान र साँझपख सावधानी अपनाउने

लामखुट्टे नियन्त्रण गर्ने उपाय

• घर वरिपरि कार्यालय विद्यालयमा टायर खुला भाँडा आदिमा पानी जम्मा हुन नदिने
• पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने
• गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित