देवबहादुर लामिछाने, अध्यक्ष, अखिल भारत नेपाली एकता समाज, केन्द्रीय समिति •• देब बहादुर लामिछाने भारतमा रहँदै आएका नेपालीहरूका बीचमा लोकप्रिय नेता हुनुहुन्छ । उहाँको जन्म २०२६ साल जेष्ठ १० गते बुबा तारा बहादुर लामिछाने र आमा रेक कुमारी लामिछानेको कोखमा उहाँको जन्म भएको थियो । उहाँका एक दिदी र एक भाइ हुनुहुन्छ । उहाँले कक्षा १ देखि (एस.एल.सी. पास २०४३ सम्म) श्री नवजागृत माध्यमिक विद्यालय, तिलाहार – पर्वतमा अध्ययन गर्नु भएको थियो ।
उहाँको घरको राम्जा तिलाहार गा.वि.स., वडा नं–६ , तिलाहार – पर्वत (साविक) र हाल मोदी गाउँपालिका, वडा नं.–६ , तिलाहार–पर्वत हो । उहाँ हेमलता लामिछानेसँग २०५१ वैशाख ११ मा वैवाहिक सम्बन्धमा जोडिनु भएको थियो । उहाँका दुई छोरा पारस लामिछाने र उपेन्द्र लामिछाने हुनुहुन्छ ।
लामिछाने २०३६ सालको जनमत सङ्ग्रहको बेला चलेको आन्दोलनबाट राजनीति प्रति आकर्षित हुनु भएको थियो । पहिलो पटक विद्यार्थी नेता नगेन्द्र पौडेलबाट उहाँले अनेरास्ववियुको सदस्यता लिनु भएको थियो । उहाँले २०३६ देखि २०३९ सम्म रुपलाल विश्वकर्माले नेतृत्व गर्नु भएको विद्यार्थी सङ्गठन क्रान्तिकारी विद्यार्थी सङ्घमा काम गर्नु भएको थियो । सन् १९८७ मा बागलुङ छिस्तिका भविलाल शर्माबाट उहाँले पहिलो पटक अखिल भारत नेपाली एकता समाजको सदस्यता प्राप्त गर्नु भएको थियो ।
सन् १९८७ देखि एकता समाजको कन्दन्चावदी एरिया समिति सचिव, १९९० मा अखिल भारत नेपाली वामपन्थी युवक मोर्चाको चेन्नै नगरका सदस्य, २००२ मा केन्द्रीय सदस्य र २००८ मा केन्द्रीय उपाध्यक्ष हुनुभएको थियो । मूलप्रवाह अखिल भारत नेपाली एकता समाजको २०१४ सेप्टेम्बरमा लखनऊमा सम्पन्न सातौँ केन्द्रीय सम्मेलनबाट उपाध्यक्ष निर्वाचित हुनु भएको थियो ।
उहाँ उपाध्यक्ष रहेकै अवस्थामा नेकपा (मसाल) को नेतृतवले एकता समाजको सबै पदबाट हटायो । उहाँको पक्षमा भारतमा ठूलो जनमत रहेको हुँदा मूल प्रवाहबाट विद्रोह गर्दै केन्द्रीय भेला सम्पन्न भयो । अहिले लामिछाने अखिल भारत नेपाली एकता समाजको केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।
यस पटक हाँकले लामिछाने सित भारतस्थित नेपालीहरूको समस्या र एकता समाजको भूमिका लगायतका विषयमा कुराकानी गरेको छ । प्रस्तुत छ लामिछाने सितको कुराकानी :
० अहिले तपाई अखिल भारत नेपाली एकता समाजको अध्यक्ष हुनुहुन्छ । जनताका बीचमा तपाइले नेतृत्व गरेको सङ्गठनलाई परिचय गराउनु पर्दा कसरी परिचय गराउनु हुन्छ ?
अखिल भारत नेपाली एकता समाज भारतमा रहने शोषित, उत्पीडित नेपालीहरूको साझा सङ्गठन हो । विगत चार दशक भन्दा पहिलेदेखि यो सङ्गठनले लगातार नेपालीहरूको बीच भारतका सबै ठाउँमा नेपाली दाजुभाइ दिदीबहिनीहरू सित सुख दु:खमा हातेमालो गरेको सबैलाई थाहा छ । अहिले सम्मको यस सङ्गठनको इतिहास र व्यबहारबाट त्यो कुरा प्रमाणित हुन्छ । भारतस्थित नेपाली जनताको प्यारो सङ्गठन अखिल भारत नेपाली एकता समाजको केन्द्रीय समिति, क्षेत्रीय समिति, नगर समिति, एरिया समिति र टोल समिति गठन गर्दै नेपालीहरूको डेरा, कोठा, घर, कार्यस्थल, होटेल , कारखानासम्म पुगेको छ ।
नेपालीको हरेक अप्ठ्यारो र समस्यामा हाम्रो सङ्गठन उपस्थित छ । नेपालीहरूलाई अनवास्ता, हेपाह प्रवृत्ति, दमन गर्ने प्रहरी, प्रशासनदेखि विभिन्न असामाजिक तत्त्वहरूलाई खबरदार गर्ने र सङ्घर्ष गर्ने पनि अखिल भारत नेपाली एकता समाज नै हो ।
० भारतमा रहेका नेपालीहरू किन अखिल भारत नेपाली एकता समाजमा आवद्ध हुनु पर्दछ ?
रोजीरोटीका समस्याका कारण नेपालीहरू भारतमा आउनु पर्यो र अर्को कारण भारतमा गोर्खा भर्तीको सिलसिलामा पनि नेपाली युवकहरू धेरै पहिलेदेखि भारत आए । भारतमा पीडित नेपाली नागरिकहरूको नेपालको सरकारले कुनै संरक्षण तथा हेरचाह गरेको छैन । यति बाक्लो नेपाली नागरिक भएको देशमा उत्पीडित नेपालीहरूको लागि कहिँकतै “हेल्प डेस्क” समेत सरकारले राख्न सकेको छैन तसर्थ विभिन्न निरिह र असहाय अवस्थाको सामना गर्न, भारतको प्रशासन, मालिकहरू र असामाजिक तत्त्वहरूलाई खबरदारी गर्न, आफ्नै देश (नेपाल) को सरकार पनि मुकदर्शक बनिरहेको अवस्थामा ध्यान आकर्षण गराउन र सचेत वा स्वावलम्बी बन्नको लागि पनि एकता समाजमा आवद्ध हुन जरूरी छ । हामीले नेपालीहरूमा राष्ट्रियताको भावना जागृत गरिरहेका छौँ ।
भारतमा बसेर पनि नेपाल प्रतिको माया नटुटोस् भन्ने हामीले सोचाइ राख्दछौँ । प्रवासमा रहेका नेपालीहरू, नेपालीका छोरा छोराछोरीहरूलाई हामीले नेपाली संस्कृति प्रतिको सम्बन्ध र प्रगतिशील सांस्कृतिक कार्यक्रम सित जोडिरहेका छौँ । नेपाली जनताको वर्गीय र जनतान्त्रिक आन्दोलन तथा सम्पूर्ण न्यायपूर्ण आन्दोलन प्रति हाम्रो समर्थन छ । सके सम्म नेपाली जनताको राष्ट्रियता, जनतन्त्र, जनजीविका र वर्गीय मुक्तिको आन्दोलनमा सहयोग गर्ने हाम्रो नीति छ । यी सबै हिसाबले भारत प्रवासमा आएका नेपालीहरू हाम्रो सङ्गठनमा आवद्ध हुन जरुरी छ ।
० अहिले भारतमा किसान र मजदुरको अवस्था के छ ? किसान र मजदुर आन्दोलनको अवस्था के छ ?
विगतमा भारतमा किसान र मजदुर सङ्गठन मजबुत थिए तर अहिले यी सङ्गठन त्यति प्रबल देखिँदैनन् । गत साल किसानहरूले विशाल आन्दोलनको घोषणा गरेका थिए तर सरकारले ठूलो दमन गर्यो । किसानका हक अधिकारमाथि कुठाराघात गर्यो । जसको कारण आन्दोलन अगाडि बढ्न सकेन । विगत भन्दा मजदुर सङ्गठनहरू पनि कमजोर छन् ।
० भारतमा रहेका कम्युनिस्ट पार्टीहरूको स्थितिबारे संक्षिप्तमा जानकारी गराउनु हुन अनुरोध छ ?
भारतमा कम्युनिस्ट नामका थुप्रै पार्टीहरू छन् तर व्यवहारमा पुँजीवाद प्रति लिप्त छन् । कम्युनिस्ट नाममा सिपीएम, सिपीआई कुनै कालखण्डमा जनताले विकल्पको रुपमा रोजेका पार्टीहरू भए पनि वर्तमानमा यी पार्टीहरू लोप हुने स्थितिमा छन् किनभने यी पार्टीहरूको सिद्धान्त र व्यवहार वीचको दूरी धेरै टाढा वा अविश्वसनीय भयो जनतालाई । केही इमानदार कम्युनिस्ट पार्टीहरू छन् तर प्रभावशाली भैसकेका छैनन्, उनीहरू रक्षात्मक स्थितिमा छन् । कलकारखानाहरूमा मजदुर सङ्गठन, पेशागत वा विद्यार्थी सङ्गठनहरू पनि विगत भन्दा अहिले खुम्चिदै गएको अवस्था छ ।
० तपाईहरू मूलप्रवाह अखिल भारत नेपाली एकता समाजबाट अलग हुनु भयो र अखिल भारत नेपाली एकता समाज नामाकरण गर्नु भयो । अलग हुनुका कारणहरू के के हुन् ?
अखिल भारत नेपाली एकता समाजको स्थापना आजभन्दा चारदशक अगाडि इ. सं.१९७९, नोभेम्बर ७ का दिन भारतको पौराणिक, धार्मिक शहर बनारसमा सातजना साथीहरूले गोविन्दसिंह थापाको नेतृत्वमा गठन गरेको सङ्गठन हो र त्यही सङ्गठन अखिल भारत नेपाली एकता समाजको यो निरन्तरता हो । अरु व्यावहारिक पक्ष भनेको प्राविधिक कारणहरू हुन् । जहाँ सम्म “मूल प्रवाह” त पाँचौँ केन्द्रीय सम्मेलन पश्चात थपेको शब्द नै हो । अर्को कारण “मूल प्रवाह” भन्ने सङ्गठन त दलाल र अवसरवादीहरूको अखडा बनि सकेको हुनाले हामीले अखिल भारत नेपाली एकता समाजलाई पुनर्निर्माण गर्नु परेको हो ।
भारतस्थित नेपालीहरूको मूलप्रवाह प्रति विश्वास टुटिसकेको अवस्था हो । अहिले “मूल प्रवाह” को कार्यालय दलाल र व्यापारीहरूको कब्जामा छ, अमुक व्यक्तिको निर्देशन वा सङ्केतमा कार्यालय संचालित छ, एकाध पुराना साथीहरू भ्रमवश अल्मलिएको हुनाले “मूल प्रवाह” भनिरहेका छन् । त्यसकारण भारतस्तरमा नै “अखिल भारत नेपाली एकता समाज” सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको माग अनुसार संचालित लोकप्रिय सङ्गठन हो । तसर्थ केही अवसरवादीहरूले सङ्गठनमा प्राधिकार जमाउन त्यो सङ्गठन चलाएको अवस्थामा हामीले अखिल भारत नेपाली एकता समाजलाई बचाउने अभियानमा लागेका हौँ, एकता समाजलाई जोगाएका हौँ । यो हाम्रो कर्तव्य हो ।
० तपाईंहरूलाई फुटपरस्त तत्त्व भनेको सुन्नु भएको छ कि छैन ? के कुरा त्यस्तै हो र ?
म भारतका धेरै शहरहरूमा गएको छु वा निरन्तर सम्पर्कमा छु, कसैले त्यस्तो भनेका छैनन्, बरु स्वागत गरिरहेका छन् । कोही उद्देश्यविहीन अवसरवादीहरूले ढुक्कसँग स्वार्थपूर्ति गर्न नपाएर बर्बराएको हुन सक्छ । त्यस्ता जाली कुरा भारतस्थित नेपालीहरूले विश्वास गर्ने कुरै भएन । हामीले त झन सबैलाई सम्मिलित गरेर अखिल भारत नेपाली एकता समाजको भारतस्तरीय “आठौँ अखिल भारत सम्मेलन” आयोजना गरिसकेका छौँ ।
० भारतस्थित नेपालीहरूका के कस्ता समस्याहरू छन् ? समस्या समाधानका लागि के के मागहरू उठाउनु भएको छ ?
सर्वप्रथम त दुवै देश बीच भएका सन्धि सम्झौता नै असमान प्रकारका छन्, हाम्रो गम्भीर आपत्ति छ र सम्पूर्ण असमान सन्धि–सम्झौता खारेज गरी वर्तमान आवश्यकतालाई ध्यान दिदै दुवै सरकारको पहलमा समान अस्तित्त्वको आधारमा सन्धि–संझौताको पुनर्लेखन हुनुपर्दछ भन्ने धारणा व्यक्त गर्दछौँ । अर्को कुरा भएका सन्धि–सम्झौतामा उल्लेखित विषयहरू इमानदारीपूर्वक लागू नगरिएकोले नेपालीहरू सिमाना र लामो यात्रामा हुने लुटपाट तथा मालिक, प्रशासन र असामाजिक तत्त्वहरूबाट हुने अपहेलित व्यवहारबाट बढी पीडित छन् । असहायहरूलाई सहयोगको नितान्त आवश्यक छ । उपरोक्त समस्याको स्थायी समाधान नै हाम्रो प्रमुख माग हो र खुल्ला सिमानाका कारण बढी अवैध कामहरू हुने र बढी सर्वसाधारणलाई आˆनो स्वार्थपूर्ति गर्न दलालहरूले प्रयोग गर्दछन् । तसर्थ यसको कडाई तथा नियन्त्रणको माग गर्दछौँ । अर्को मुख्य माग भनेको भारतमा प्रवासी नेपालीहरूको परिचयपत्रको आवश्यकता हो किनभने अहिले भारतमा विना परिचयपत्र जीवन जिउन नसकिने अवस्था छ ।
बैङ्क खाता खोल्न, यात्रा गर्दा, स्वास्थ्य उपचार गर्दा, बालबालिकाहरूलाई स्कूल भर्ना गर्दा, सवारी लाइसेन्स लिन, गर्दा गर्दै त बाटोमा हिंड्दा पनि पुलिस– प्रशासनले आधार कार्ड खोज्न शुरू गरिसक्यो, खाना बनाउने ग्याँस खरिद गर्दा समेत आधार कार्डको (भारत सरकारको मान्यता प्राप्त राष्ट्रिय परिचय पत्र) अनिवार्य गराइएको छ, आधार कार्ड भारतीय नागरिकता नभए पनि सो सरह मान्यता दिइन्छ । तसर्थ दैनिक जीवनयापनको निम्ति अधिकांस नेपालीहरू उक्त परिचय पत्र लिन बाध्य छन् ।
तसर्थ हामीले सरकारसँग नेपालीहरूलाई १९५० सन्धि अनुसार मान्यता प्राप्त परिचय पत्र व्यवस्थाको अति आवश्यक छ भन्ने माग विगतदेखि गरिरहेका छौँ । साथै नेपाली प्रगतिशील संस्कृतिको जगेर्नामा पनि ध्यान दिदै कार्यक्रम गरिरहेका छौँ, युवाहरूलाई शारीरिक, मानसिक र रचनात्मक कार्यहरूको प्रशिक्षणहरूमा पनि हामी सक्रिय छौँ । महत्त्वपूर्ण कुुरा त के छ भने अन्य मुलुकमा विदेशस्थित नागरिककलाई त्यही देशबाट आफ्नो देशको निर्वाचनमा मत खसाल्न र उम्मेदवार हुन पाउने अधिकार दिइएको छ । हाम्रो देशमा यो सरकारले बारम्बार विदेशस्थित नेपालीलाई मताधिकार दिने भन्छ तर कार्यविधि बनाउँदैन । हाम्रो मताधिकारको सुनिश्चितता होस् भन्ने चाहान्छौँ ।
० भारतस्थित नेपाली दूतावास वा वाणिज्य दूतावासहरू सित तपाइले नेतृत्व गरेको सङ्गठनको सम्बन्ध के कस्तो छ ?
आवश्यक परेमा सम्पर्क त गर्दछौँ तर त्यति धेरै कर्तव्य पालन हुँदैन “नेपाली राजदुतावास” बाट । दूतावासको भोजमा जाने गरेका छैनौँ ।
० तपाईले नेतृत्व गरेको सङ्गठन र अन्य नेपालीहरूको सङ्गठनको बीचमा सम्बन्ध, सहकार्य कस्तो छ ?
कतिपय विषयमा कहिलेकाहीँ सहकार्य पनि भएको छ, हाई–हलो हुन्छ, घोषणा पत्र र विधानमा लेखे अनुसार व्यवहार नभएको महशुस हुन्छ । हामीले सबै सङ्घसंस्थाहरूलाई विभिन्न कार्यक्रममा आमन्त्रण गर्छौं । हामी पनि उहाँहरूकोमा जान्छौँ । तर कुनै मोर्चा नै बनाउने स्थिति छैन ।
० एउटा नेपालीको आँखाले भारत प्रवासबाट नेपालको राजनीतिलाई कसरी हेर्नु हुन्छ ? कसरी मूल्याङ्कन गर्नु हुन्छ ?
सबै नागरिकको जस्तै मेरो चाहाना पनि देश स्वाभिमानी बनोस्, राजनीति स्थिर होस्, कानुनी राज्य व्यवस्था स्थापित होस, राज्यले आˆना नागरिकको संरक्षण गरोस्, राज्यबाट नागरिकहरू प्रति निश्पक्ष व्यवहार होस भन्ने नै हो । तर नेपालमा चलिरहेको संसदीय व्यवस्थाले जनताको मुक्ति होला भन्ने मलाई लाग्दैन ।
मेरो कामना यति मात्रै हो कि छिट्टै देश आहारामा व्याकुल भएका कैंयौ अफ्रिकी राष्ट्रहरू जस्तो नबनोस्, साम्राज्यवादीको चङ्गुलमा फसेर इराकका तत्कालीन बहालवाला राष्ट्रपति सद्दाम हुसेनको जस्तो हालत नहोस्, अफ्गानिस्तानको जस्तो द्वन्द्व पीडित देश नबनोस्, फिजी जस्तो राज्य नै अल्पमतमा परेको स्थिति नआओस् र श्रीलङ्काका जनताले जसरी राष्ट्रपति भवन र संसद भवन नै कब्जा गर्न नपरोस् वा देशभित्र असहिष्णुता र काट मार तथा विखण्डनको स्थिति नहोस् भन्ने नै हो । दलाल र भ्रष्टाचारीहरूले हाम्रो देश नेपाल डुबाइरहेका छन् । त्यसबाट मुक्ति पाउन जनता जाग्नै पर्दछ ।
• नेपालको लोकतान्त्रिक र प्रगतिशील आन्दोलनमा तपाईहरूको भूमिका बारे केही बताउनुहोस् न ?
डेमोक्रेसिका लागि नेपाली जनताले राणाकालदेखि आजसम्म लड्दै आएका छन् । तर खासमा अहिलेसम्म जनताको लोकतन्त्र आउन सकेको छैन । नेपालमा जनताको लोकतन्त्र स्थापनाका लागि गरिने सङ्घर्षमा प्रवासमा रहेका नेपालीहरूको योगदान रहँदै आएको छ । स्वाभिमान उत्पादन प्रणाली र निष्पक्ष वितरण नै स्थायी राज्य व्यवस्थाका आधार हुन् । तसर्थ विगत, वर्तमान र बाँच्ने बेलासम्म मेरो अठोट र सिद्धान्त यही हुने छ । मेरो उमेरको ९ वर्ष यानेकि बि.सं. २०३५ देखि नै म क्रियाशील छु । षडयन्त्र, फट्याई र प्राधिकारवाद कहिल्यै सहन सकिएन ।
२०३५ सालमा जान– अन्जान भनौँ “नीलो” लाई समर्थन गरेको याद छ, विद्यार्थी जीवनभरि “नेविसङ्घ र फेडेरशन” को विरुद्धमा लडियो, पंचायती व्यवस्थाको विरुद्ध लडियो । अहिले आमुल परिवर्तनको सिद्धान्तलाई आत्मसात गरी निरन्तर क्रियाशील छु । म जस्तै प्रवासमा क्रियाशील साथीहरू पनि नेपालको आमूल परिवर्तन प्रति सचेत हुनुहुन्छ ।
० आगामी सम्मेलन भारतको राजधानी दिल्लीमा गर्दै हुनुहुन्छ? तयारी कसरी चलिरहेको छ ?
हजुर । सर्वप्रथम त म आगामी सेप्टेम्बर १० देखि १२ , २०२३ मा दिल्ली एन.सि.आर.वा फरिदावादमा हाम्रो प्यारो सङ्गठन “अखिल भारत नेपाली एकता समाज” को आठौँ केन्द्रीय “अखिल भारत सम्मेलन” को खबर साथै हाँक साप्ताहिक परिवारलाई पनि निमन्त्रणा सहित स्वागत गर्दछु । अनि यसै हाँक साप्ताहिक मार्फत् सम्पूर्ण एकता समाज प्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू र सम्पूर्ण शुभचिन्तकहरूमा पनि हार्दिक सहयोग, समर्थन र भौतिक उपस्थितिको लागि अपिल गर्दछु ।
अर्को कुरा आठौँ एकता सम्मेलन भव्य र शानदार रुपमा सफलताको व्यवस्थापन जिम्मा भैसकेको छ, प्रथम चरणको पर्चा वितरण भैसकेको छ, रक्तिम भारत शाखाको गठन र साँस्कृतिक कार्यक्रमको तैयारी तीव्र रुपमा भैरहेको छ, सङ्गठनको आन्तरिक कामहरू भैरहेका छन्, भूतपूर्व केन्द्रीय अध्यक्ष–महासचिवहरू सहित एकता समाजमा समर्पित पूर्णकालिन योद्धाहरू र सम्पूर्ण शुभचिन्तकहरूको समर्थन, सहयोग र उपस्थितिले हाम्रो सम्मेलन ऐतिहासिक, भव्य र शानदार हुनेछ ।
संस्थापक अध्यक्ष गोविन्दसिंह थापाले समेत हामीलाई शुभेच्छा र हौसला प्रदान गर्नु भएको छ । उहाँको पनि सम्मेलनमा भौतिक उपस्थिति हुनेछ । अरु पनि धेरै नै समाजसेवी, एकता प्रेमी र प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिको आश्वासन प्राप्त गरेका छौँ । र सारांशमा भन्नु पर्दा यो एकता सम्मेलन अविस्मरणीय तथा ऐतिहासिक बन्नेछ भन्ने पूर्ण विश्वासमा छौँ ।
० अन्त्यमा थप केही छ कि?
हाँक साप्ताहिक श्रमिकहरूको आवाज बुलन्द गर्ने राष्ट्रिय पत्रिका हो । यसको निरन्तरता र उत्तरोत्तर प्रगतिको कामना गर्दछु । अनि भारतस्थित नेपालीहरूको हकहित र सहयोगको निम्ति जसरी अहिलेसम्म यस पत्रिकाले भूमिका खेल्दै आएकोछ । आगामी दिनमा पनि त्यसरी नै भूमिका खेल्नेछ भन्ने पूर्ण विश्वास व्यक्त गर्दछु र तपाईलाई पनि धन्यवाद दिन चाहान्छु ।

