‘चीनको लामो क्रान्ति’ एड्गर स्नोको पुस्तक

रामबहादुर बुढा •• एडगर स्नो अमेरिकी नागरिक थिए । उनले जीवनको लामो कालखण्ड चीनमा विताएका थिए । उनको चीनको सम्बन्धमा लामो अनुभव थियो । धेरै चिनियाँ नेता र कार्यकर्ता सित उनको चीनजान थियो । यो पुस्तक सबै भन्दा पहिले १९७१ मा अमेरिकामा छापिएको थियो । पछि १९७७ मा पेङगुइन बुक्स लन्डनले छापेको थियो । यस पुस्तकमा ८ भाग, २५ उपशीर्षक र ४ परिशिष्ट राखिएको छ । चीनको आकासमा रातो तारा उनले १९३७ मा लेखेको विश्व चर्चित पुस्तक हो । “चीनको लामो क्रान्ति” अर्को उनको महत्त्वपूर्ण कृति हो ।

एडगर स्नोले थुप्रै पत्रिकामा चीनका बारेमा समाचार लेखेका थिए । उनले किताबहरू लेखेर चीन र चिनियाँ कम्युनिस्ट पार्टीका बारेमा विश्वलाई जानकारी गराएका थिए । यस पुस्तकले चिनियाँ सर्वहारा सा‌ंस्कृतिक क्रान्तिका बारेमा ज्ञान र जानकारी दिन्छ ।

यो पुस्तक अरुले लेखेको पुस्तक पढेर लेखिएको हैन । लेखक स्वयम् चीनमा बसेर चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ,प्रधानमन्त्री चाओ एनलाई, सांस्कृतिक क्रान्तिका मुख्य पात्रहरूलाई प्रत्यक्ष भेटेर, अन्तर्वार्ता लिएर, चीनका धेरै कम्युन, स्कुल, गाउँहरूको भ्रमण गरेर गहिरो अनुभव सङ्गालेर लेखिएको पुस्तक हो । त्यसैले यो आधिकारिक र विश्वसनीय पुस्तक हो । लेखकको प्रत्यक्ष अनुभव यस कितावमा अङ्कित भएको छ ।

पहिलो भागमा चीन किन अरु देश भन्दा फरक छ भन्ने शीर्षक राखिएकोछ । यही भागमा लेखकले जनवादी गणतन्त्र चीनको २१ अौँ स्थापना दिवसको दिन टियान मेन चोकको समारोहमा अध्यक्ष माओ, प्रधानमन्त्री चाओ एनलाई सित भेट भएको प्रसङ्ग उल्लेख गरेका छन् । सो समारोहमा कम्बोडियाका राजकुमार सिंहानुक पनि उपस्थित भएका थिए । कमजोर मुलुकहरूमाथि अमेरिकी साम्राज्यवादको थिचोमिचोको विरुद्धमा उत्पीडित मुलुकहरू एकै ठाउँमा उभिएर साम्राज्यवादको विरोध गर्नु पर्दछ भन्ने उद्देश्यले माओ र सिंहानुक एकै ठाउँमा थिए । सिंहानुकको त्यो उपस्थितिले उनीहरू बिचको निकटतालाई दर्शांदथ्यो र कम्बोडिया तथा चीन बीचको घनिष्ठतालाई प्रस्टाउँदथ्यो ।

लेखक एड्गर स्नो सित माओले १९६० मा भेटहुँदा भनेका थिए,“ताइवान चीनको मामला हो । हामीले लगातार यसैमा जोड दिदै आएका छौँ ।” त्यही कुरा लाई प्रधानमन्त्री चाओले १९६०, १९६५ र १९७० मा पनि दोहोराएर भनेका थिए । चीन र अमेरिकाको बीचमा राम्रो सम्बन्ध थिएन खासगरी ताइवानको विषयलाई लिएर । १९७० पछि सम्बन्धमा सुधार आयो । पाकिस्तानका राष्ट्र«पति याया खाँ चीन भ्रमण गरे । खाँ ले अमेरिकी राष्ट्रपति निक्सनको चिठी लिएर गएका थिए र त्यो चिठी माओलाई बुझाईदिए । चिठीमा आफुले चीन भ्रमण गर्ने र ताइवानको बारेमा छलफल गर्ने प्रस्ताब राखिएको थियो । पछि निक्सनले चीन भ्रमण गरेका थिए ।

“साँस्कृतिक क्रान्तिको सार” उप शीर्षकमा लेखिएको छ – शहर र गाउँहरूको भिन्नतालाई मेटाउँदै जाने ,भौतिक र साँस्कृतिक स्तर तथा मजदुर, किसान, सिपाही, कार्यकर्ता र प्राविधिक – विशेषज्ञका अवसरहरूका बीचमा समानता बढाउने, हरेकको शिक्षा र जीवन अनुभवलाई तथा कक्षा कोठाको कार्यलाई व्यवहार सित जोड्ने, सबै बुर्जुवा विचारधारालाई चकनाचुर पार्ने र विशेषगरी बुद्धिजीवि र कर्मचारीहरूको बीचमा रहेको बुर्जुवा विचारका अवशेषहरूलाई खतम पार्ने, मजदुर र विद्यार्थीहरूलाई एकत्रित गरेर श्रम अभ्यासलाई कक्षा कोठाको सिद्धान्तसित जोड्ने, सार्वजनिक स्वास्थ्य र उपचार सेवालाई ग्रामीण जनतासम्म पुर्‍याउने , हरेकलाई हतियार चलाउन सिकाउने, सेनाबाट हतियार चलाउन सिक्ने; जनताको सेवा गर्ने आदर्शबाट प्रेरित भइ स्वदेशमा होस वा विदेशमा, व्यक्तिगत धनको लालचबाट मुक्त विश्वदृष्टिकोण सहितको मानिसहरू उत्पादन गर्ने उद्देश्य सर्वहारा साँस्कृतिक क्रान्तिको थियो ।

लेखकले चीनका विभिन्न गाउँ भ्रमण गर्दा जनतामा माओको लोकप्रियतालाई बुझ्न पाएका थिए । केही गाउँमा साना बच्चाहरूले पनि “अध्यक्ष माओ सधै हामी सित हुने छन्” भन्दै गीत गाएको उनले देखेका थिए ।

यस पुस्तकको भाग दुईको शीर्षक राखिएको छ, “औषधि उपचार र जनसङ्ख्या नियन्त्रण ।” यो शीर्षकले त्यतिबेला चीनमा जनताको स्वास्थ्यको अवस्था कस्तो थियो भन्ने कुरा पाठकहरूलाई जानकारी गराउँदछ । सन् १९४८ देखि चीनमा परिवार नियोजनको चक्की प्रयोगमा ल्याइएको थियो । त्यस बेलादेखि चीनले २२ दिने चक्कीको विकास गरेको थियो । गर्भ पतनलाई चीनले प्रोत्साहन गरेको थिएन । (पृष्ठ ३८) सन् १९६८ मा चीनमा गर्भपतनलाई प्रयोगमा ल्याइएको थियो । (पृष्ठ ३९)

पुस्तकमा प्राचीन चिनियाँ उपचारको बारेमा लेखिएकोछ, “परम्परागत चिनियाँ चिकित्सा पद्धति भनेको ४ हजार वर्षदेखिको व्यवहारिक अनुभवमा आधारित प्रयोगात्मक उपचार कला हो । स्वास्थ्य र रोगको सम्बन्धमा सामान्य अवधारणा के हो भने शरीरमा दुई वटा शक्तिहरू हुन्छन् यिन (नकारात्मक) र याङ (सकारात्मक), यी दुई शक्तिहरूको मेल र बेमेलबाट नै शरीर स्वस्थ र अस्वस्थ हुन्छ ।

पुस्तकमा भनिएको छ –“परम्परागत चिनियाँ औषधि, जडीबुटी र रोगहरूको अवलोकन रेकर्ड गर्ने चिकित्सा ग्रन्थहरू महत्त्वपूर्ण सम्पत्ति हुन् । यी औषधिहरूको प्रयोग र एक्यूपंक्चर, मोक्सिबस्टन, मसाज र सास फेर्ने, थेरापीको निको पार्ने कलाहरू निश्चितरूपमा मूल्यवान छन् ।”

साँस्कृतिक क्रान्तिका बेलामा स्वास्थ्यका सम्बन्धमा ४ वटा सिद्धान्त प्रयोगमा ल्याइएको थियो । १)पहिलो कुरा, रोकथम गर्ने, रोग लाग्नै नदिने, २) मजदुर, किसान र सिपाहीका स्वास्थ्य आवश्यकतालाई ध्यान दिने, ३) ग्रामीण र शहरीया सार्वजिक स्वास्थ्यको मापदण्डलाई आम स्वास्थ्य अभियान सित जोड्ने ४) चिनियाँ परम्परागत स्वास्थ्य र पश्चिमा तालिम प्राप्त डाक्टरहरूको सीप र क्षमता जोड्ने नीति लिने । (पृष्ठ ४५)

लेखकले कम्युनिस्ट शासनको नियन्त्रणमा आउनुअघि चिकित्सा र स्वास्थ्य संस्थाहरू अझै बाल्यावस्थामा र आधुनिक मापदण्डभन्दा निकै तल रहेको प्रष्ट पारेका छन् ।

पुस्तकको तेस्रो भागको शीर्षक राखिएको छ ,“महान सर्वहारा साँस्कृतिक क्रान्ति” । १९५९ मा चीन र रूसबीचको वैचारिक विवाद अत्यन्त चर्किएको थियो । १९६० मा ख्रुश्चेभले चीनमा लागू गर्ने प्रोजेक्ट र सबै सहयोग सम्बन्धी सम्झौता खारेज गरेका थिए । सम्पूर्ण प्राविधिक सल्लाहकारहरू चीनबाट फिर्ता गरेका थिए । चीन र शोभियत रूसबीचको सम्बन्ध बिगँ्रदै गएको थियो । माओले डार्विन, कान्ट जस्ता वैज्ञानिकहरूको निष्कर्षलाई मनन गर्दै र केही अमेरिकी वैज्ञानिकहरू, विशेष गरी लुईस हेनरी मोर्गनको आदिम समाजको अध्ययलाई माक्र्स र एङ्गेल्सले आत्मसात गरेको कुरालाई माओले मनन गरेका थिए । मोर्गनले उत्तरी अमेरिकाका इरोक्वा आदिवासी जातिमा धर्मको उत्पत्ति, तिनीहरूमा पूजाको प्रचलन आदि बारे अनुसन्धानलाई ध्यान दिदै ऐतिहासिक भौतिकवाद र वर्गसङ्घर्षको अवधारणालाई माक्र्स, एËेल्सले विकास गरेका थिए । माक्र्स, एङ्गेल्सको त्यो अवधारणालाई माओले समर्थन गरे र यो बताए कि शोभियत रूस र चीनबीचको सङ्घर्ष पनि एक प्रकारको वर्ग सङ्घर्ष हो ।

सांस्कृतिक क्रान्तिको अवधिमा माओका लेखहरू सÍलन गरी १,२,३ र ४ खण्डहरू बनाइयो । पछि, खण्ड ५ प्रकाशित भयो । “लिटिल रेड बुक” बनाउन माओका उद्धरण सङ्कलन गर्न लिन पियाओले धेरै मिहेनत गरेका थिए । कम्युनिस्ट बन्नको लागि कम्युनिष्ट चरित्र वा कम्युनिष्ट संस्कृति हुनुपर्छ भन्ने माओको विचार थियो र उनले यो विश्वासलाई सांस्कृतिक क्रान्तिमा लागू गर्ने प्रयास गरेका थिए । माओका विचारहरूलाई प्रचार गर्ने, जनतालाई सिकाउने प्रयास गरिएको थियो । माओका लेखहरू जनताको सेवा गर, डा . नर्मन बेथुनको सम्झनामा, पहाड पन्छाउने मूर्ख बुढो मान्छे लगायतलाई बिशेष महत्त्वका साथ प्रचार गरिएको थियो। त्यस खालका लेखहरू पढेर जीवनमा लागू गर्दा मानिसहरूमा कम्युनिस्ट चरित्र र दृष्टिकोण निर्माण हुनेछ भन्ने ठानिएको थियो ।

चिनियाँ कम्युनिष्ट पार्टी भित्र विशेष गरी सन् १९५६ को आठौँ महाधिवेशनदेखि दुई लाइन सङ्घर्ष चलेको थियो । नयाँ जनवाद मुख्यतया पुँजीवादी कार्यक्रम हो त्यसैले चीन समाजवादको बाटोमा अघि बढ्नुपर्छ । यो माओको कार्यदिशा थियो । नयाँ जनवाद लामो समयसम्म रहिरहनुपर्छ । चीनलाई आर्थिक विकास चाहिन्छ । कालो होस् या सेतो, मुसालाई बिरालोले मार्नै पर्छ । पुँजीवाद होस् वा समाजवाद होस्, व्यवस्थाले देशको विकास गर्नुपर्छ । यो लिउ शाओ ची को कार्यदिशा थियो । सन् १९५९ मा रक्षामन्त्री पेङ तेह हुईलाई पुँजीवादी बाटो समाएको भन्ने आरोपमा पदबाट हटाइयो । सन् १९६० पछि एकातिर माओले समाजवादी शिक्षा अभियान चलाइरहेका थिए भने अर्कोतिर माओविरुद्ध विपक्षी समूहले विभिन्न साहित्यिक र सांस्कृतिक अभियानहरू चलाएका थिए । उदाहरणका लागि माओको विरुद्धमा ‘हाइ जुइ लाई पदबाट बर्खास्त गरियो’ नाटक लेखियो र प्रदर्शन गरियो । माओले पेङ्तेह हुईलाई रक्षा मन्त्रीबाट हटाएको विरोधमा हाईजुई पात्र खडा गरी नाटक प्रदर्शन गरिएको थियो । त्यो अवस्थामा सन् १९६६ मा माओले यस्तो परिपत्र जारी गर्नु परेको थियो, “परिस्थिति परिपक्व भएपछि, तिनीहरूले राजनीतिक सत्ता कब्जा गर्नेछन् र सर्वहाराको अधिनायकत्वलाई पूँजीवादी अधिनायकत्वमा परिणत गर्नेछन् । तिनीहरूमध्ये केही हामीले पहिले नै देखेका छौँ, अरूलाई हामीले देखेका छैनौँ । कतिपयलाई अझै पनि हामीबाट विश्वास गरिन्छ र हाम्रा उत्तराधिकारीको रूपमा प्रशिक्षित गरिन्छ, उदाहरणका लागि, ख्रुश्चेभ जस्ता व्यक्तिहरू, जो अझै पनि हाम्रो छेउमा बसिरहेका छन् ।” १९७६ मा माओको मृत्यु भयो । सांस्कृतिक क्रान्तिले लक्ष्य पूरा गर्न सकेन । चीन फरक तरिकाले अघि बढ्यो ।

साँस्कृतिक क्रान्ति अघि चिनियाँ कम्युनिष्ट पार्टीभित्र दुई लाइन सङ्घर्ष चलिरहेको थियो । सांस्कृतिक क्रान्तिको अवधिमा सङ्घर्ष प्रत्यक्ष रूपमा बाहिर आयो । माओले याओ वेन–युवान, चाङ चुन चियाओ जस्ता युवा कार्यकर्ताहरूसँग सम्बन्ध राख्नुभयो । रेड गार्डहरू पहिलोपटक पेकिङ विश्वविद्यालयमा देखा परे । (पृष्ठ– ८४) १९६६ अगस्टमा पार्टीले लिउ शाओ चीलाई पदानुक्रममा दोस्रो स्थानबाट नं. ८ मा राख्यो। १९६६ अगस्ट ५ मा माओले आफैले ठूलो पोस्टर लेखेका थिए । पोस्टरमा लेखिएको थियो ,“बम्बार्ड द हेडक्वार्टर ।” सन् १९६७ मा लिउ शाओ चीलाई “चीनका खृस्चेभ” भनेर चिनिन्थ्यो र सन् १९६८ मा उनलाई पार्टीबाट निष्कासन गरियो । (पृष्ठ–८५) दुई समुहबीच खुल्ला लडाइँ भयो ।

पुस्तकको भाग चारको शीर्षक राखिएकोछ, “सेना, पार्टी र जनता ।”

लेखकले लेखेका छन्,“सम्पूर्ण चीन माओ त्से–तुङ विचारको एक महान पाठशाला हो र सेना यसको प्रधानाध्यापक हो ।” आˆनो भनाइलाई स्पष्ट पार्न लेखकले प्रधानमन्त्री चाउ एन लाइको भनाइ उद्धृत गरेका छन्, “हामी सबै सेनासँग जोडिएका छौँ ।” “जनताको सेवा गर” यो चिनियाँ कम्युनिष्ट पार्टीको नीति थियो । सांस्कृतिक क्रान्तिको अवधिमा यो नीतिलाई दृढतापूर्वक कार्यान्वयन गरिएको थियो । पुस्तकमा एउटा राम्रो उदाहरण दिइएकोछ । उत्तर पूर्वी चीनको लिओनिङ प्रान्तको राजधानी शेनयाङमा “बहिरो र लाटा” बालबालिकाका लागि एउटा विद्यालय थियो । दादुरा र मेनिन्जाइटिसका कारण बालबालिकाहरू बहिरा र लाटा,लठेब्रा भएका थिए । जनमुक्ति सेनाको एक समूह पेकिङबाट उक्त विद्यालयमा पठाइएको थियो । उक्त समूहले एक्युपंक्चर विधि प्रयोग गरी विद्यार्थीहरूको उपचार गर्‍यो । तिनीहरू बोल्न र सुन्न सक्ने भए । तिनीहरूले “पूर्व रातो छ” गाउन सक्थे । पुस्तकमा लेखकले लालसेनाले नन्निवान उपत्यकाको विकास कसरी गर्‍यो ? लेखकले यस प्रश्नको विवरण निकै राम्रोसँग राखेका छन् । नन्निवान शेन्सी प्रान्तको एउटा साँघुरो उपत्यका हो । यो उपत्यका सियानबाट करिब २०० किलोमिटर उत्तरमा र येनानबाट ९० किलोमिटर दक्षिण–पूर्वमा पर्छ । चीनका सेनाहरूले सडक र अन्य राम्रा विकास निर्माण गरेका थिए उपत्यकामा पनि । लेखकले नान्निवान उपत्यकाको भ्रमण गरे । जहाँ उनले “मे सेभेन्थ क्याडर स्कूलहरू” को अवलोकन गरे । सांस्कृतिक क्रान्तिको समयमा किसानहरूबाट ज्ञान र सीप लिन बुद्धिजीवीहरूलाई गाउँमा पठाइयो ।

शिक्षालाई उत्पादनसँग जोड्ने प्रयास गरिएको थियो । मे सेभेन्थ स्कूलहरू शिक्षालाई व्यबहारसँग जोड्नका लागि थिए । चीनको संविधानले नागरिकको अधिकार र कर्तव्यहरू व्याख्या गरेको थियो । सेना बनेर देश सेवा गर्नु नागरिकको कर्तव्य मानिन्थ्यो । विद्यालय जीवनदेखि नै चलाक विद्यार्थीहरूलाई सेनाको तालिम दिइन्थ्यो त्यसैले लेखक लेख्छन्, “सार्वजनिक विद्यालयहरू साना राता सिपाहीहरूले भरिएका छन् ।” (पृष्ठ–१११)

पुस्तकको भाग पाँचको शीर्षक राखिएको छ, “जन कम्युन” । पुस्तकमा लेखिएकोछ, “कृषि आधार हो र उद्योग प्रमुख कारक हो ।” यो नै १९६०देखि चिनियाँ आर्थिक नीतिको मार्गदर्शक सिद्धान्त थियो । लेखक लेख्छन्, “१९७१ सम्म कृषि कम्युनले खेती योग्य भूमिको ९५ प्रतिशत ओगटेको थियो ।” उनी थप लेख्छन्, “प्रधानमन्त्री चाओका अनुसार, चीनमा १८००० काउन्टीहरू लगभग ७०,००० फार्म कम्युनहरूमा विभाजित थिए जुन ७,५०,००० उत्पादन टोली वा गाउँहरूमा विभाजित थिए।“ लेखकले पाओ आनको भ्रमण गरेका थिए । पाओ आन उत्तर–पश्चिम चीनको मध्य सेन्सी प्रान्तमा अवस्थित छ । पाओ एउटा सानो उपत्यकाको सहर हो । पाओ आनमा कम्युनहरूले कसरी काम गरिरहेका थिए ? उत्पादन र वितरणको अवस्था कस्तो थियो ? लेखकले यी प्रश्नहरूको जबाफ खोजेका छन् । लेखकले प्रसिद्ध कम्युन ता चाइको बारेमा लेखेका छन् । ता चाईले उत्पादन र अन्य क्षेत्रहरूमा पनि ठूलो प्रगति गरेको थियो । माओले भन्ने गर्‍थे, “ता चाइबाट सिक्नुहोस् ।” १९६९ देखि १९६२ सम्म यो अवधि चीनको लागि “कठिन वर्ष” थियो । पार्टीका कार्यकर्ताहरूले कम्युनमा र ग्रेट लीप फर्वार्ड कार्यक्रममा दुवै पक्षबाट काम गर्नुपरेको थियो । रूसले सन् १९६० मा सबै सम्झौता र कार्यक्रमहरू रद्द गरेको थियो । मौसम पनि खराब थियो । साँस्कृतिक क्रान्तिको सुरुवातबाट देशले राम्रो बाटो समात्यो । लेखक लेख्छन्, “१९७० को उत्पादन सन् १९५० को चीनको अनाज उत्पादनको दोब्बर थियो…..चीन आज अन्नमा आत्मनिर्भर छ । (पृष्ठ–१२८)

पुस्तकको भाग छ को शीर्षक राखिएकोछ, “प्रधानमन्त्री सितको एक रात ।” लेखकले एक रात एउटै कोठामा प्रधानमन्त्री चाउ एनलाई सित बिताउँदा चीनको घरेलु नीति र विदेश नीतिका बारेमा छलफल गरेका थिए ।

पुस्तकको सातौँ भागको शीर्षक राखिएकोछ ,“अध्यक्ष माओ सित ब्रेक फास्ट ।” यस भागमा ब्रेक फास्ट गर्दै माओसित गरिएको कुराकानी दिइएकोछ । सन् १९७० डिसेम्बरमा लेखक माओको निवासमा पुगेका थिए ।

पेकिङमा अध्यक्ष माओको निवास सहरको दक्षिण–पश्चिमी कुनामा थियो । सिन्दुर रËको पर्खालले घेरिएको र टिएन एन मेन चोकबाट टाढा छैन । एडगर स्नो र माओले “व्यक्तिको संस्कृति” को बारेमा कुरा गरेका थिए । माओले भने, “तीन हजार वर्ष देखि राजा पूजा गर्ने परम्परागत बानीलाई हटाउन मानिसहरूलाई गाह्रो थियो ।” (पृष्ठ–१४४) माओले भने, “पाँच वा दश वर्षअघिको तुलनामा ईश्वरप्रति जनताको दृष्टिकोणमा ठूलो परिवर्तन आयो ।”( पृष्ठ–१४५) माओले लेखकसित बताएका थिए कि अमेरिकी राष्ट्र«पति निक्सनसित पर्यटकको रूपमा वा राष्ट्र«पतिको रूपमा कुरा गर्न पाउँदा मलाई खुसी लाग्नेछ ।”(पृष्ठ–१४६) त्यसपछि निक्सनले चीन भ्रमण गरेका थिए ।

पुस्तकको भाग आठमा अमेरिकी राष्ट्रपति निक्सनको चीन भ्रमणकाबारेमा मात्र लेखिएको छ । त्यति बेला चीन र अमेरिका दुवै पक्षले वार्ता गरेर सम्बन्धलाई सामान्यीकरण गर्न चाहान्थे ।

यस पुस्तकमा चार वटा परिशिष्ट दिइएको छ । पहिलो परिशिष्टमा माओ सित १९७० मा लिइएको लामो अन्तर्वार्ता राखिएको छ । यहाँ माओ र एड्गर स्नोका बीचमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीति, तिब्बेत समस्या, भगवान, ख्रश्चेव, अमेरिका, चीन, तेस्रो विश्व, वम, निसश्त्रीकरण संयुक्त राष्ट्र« सङ्घ, लगायतका विषयमा महत्त्वपूर्ण कुरा गरिएको छ ।

दोस्रो परिशिष्टमा चाओ एनलाई सितको लामो अन्तर्वार्ता राखिएको छ । मेरो विचारमा चीनको सर्वहारा साँस्कृतिक क्रान्ति र चिनियाँ कम्युनिस्ट पार्टी भित्र दुई लाइनको सङ्घर्ष बारे जान्न तत्कालीन प्रधानमन्त्री चाओलाइनको अन्तर्वार्ता परिशिष्टमा राख्नु उचित नै छ ।

तेस्रो परिशिष्ट छ, “चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटिको एघारौँ विस्तारित बैठकको प्रस्ताव – साँस्कृतिक क्रान्तिको १६ बुँदे कार्यक्रम – १९६६ ।” यो निकै महत्त्वपूर्ण कागजात हो । यो साँस्कृतिक क्रान्तिको मार्गदर्शक डकुमेन्ट हो । यसलाई साँस्कृतिक क्रान्तिको घोषणा – पत्रको रुपमा बुझ्ने गरिन्छ ।

चौथो परिशिष्ट छ– “चिनियाँ कम्युनिस्ट पार्टीको विधान ।” यो विधान चिनियाँ कम्युनिस्ट पार्टीको १९६९ अप्रीलमा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित गरिएको हो । यस विधानको ६ भाग र १२ धारा राखिएको छ । सामान्यतया विश्वभरिका कम्युनिस्ट पार्टीहरूको विधान एकै प्रकारको हुन्छ । कम्युनिस्ट पार्टीको विधानमा पार्टी सन्चालनको विधि दिइएको हुन्छ । यसको पहिलो खण्डमा “सामान्य कार्यक्रम” राखिएकोछ । यसमा पार्टीको आम नीति दिइएकोछ । यो विधान अरु महाधिवेशनले पारित गरेका विधान भन्दा विशिस्ट छ किनभने यस विधानमा अध्यक्ष माओको उत्तराधिकारी घोषणा गरिएको छ । त्यस बारे लेखिएकोछ ,“कमरेड लिन पियाओले माओ विचारधाराको महान् लालझण्डालाई …दृढतापूर्वक उचो राख्नु भएकोछ । माओको क्रान्तिकारी नीतिलाई निकै नै इमान्दारपूर्वक र दृढ निस्चयताकासाथ लागू गर्नु भएकोछ र प्रतिरक्षा गर्नु भएको छ । कमरेड लिन पियाओ कामरेड माओत्सेतुङ सित गहिरो सम्बन्ध छ र उहाँ माओको उत्तराधिकारी हो ।” लिनपियायोलाई माओको उत्तराधिकारीको ब्यबस्था विधानमा नै राख्नु गलत थियो भनेर विरोध हुँदै आएकोछ । व्यबहारबाट लिनपियायो गलत नै थियो भन्ने कुरा पुष्टि भएको छ ।

उनले राज्य विप्लव गरेर सत्ता कब्जा गर्ने षडयन्त्र गरेका थिए । षड्यन्त्रको पोल खुले पछि उनी जहाजबाट रसियातिर भाग्दै थिए । मङ्गलियाको राजधानी उन्डरखानको आकासमा जहाज दुर्घटनामा परी उनको मृत्यु भयो ।

तर पछिल्ला घटनक्रमबाट लिन पियाओलाई उत्तराधिकारी घोषणा गर्नु गलत भएको थियो भन्ने कुरा प्रमाणित भएको छ ।

उनले माओको हत्या गरेर सत्ता कब्जा गर्ने योजना बनाएका थिए । तर त्यो कुराको पोल खुले पछि उनी सन् १९७१ मा चीनबाट रूसतर्फ भागिरहेका बेला जहाज दुर्घटना भइ मरे । पुँजीवादी प्रजातान्त्रिक मुलुकमा राजनीतिक पार्टीबाट सेना स्वतन्त्र हो भन्ने मान्यता राखिन्छ । तर चीनको पार्टी विधानमै सेना भित्र पार्टी कमिटीको व्यवस्था हुनु कतिपयका लागि चाखलाग्दो र आस्चर्यको कुरा हो ।

चीन – अमेरिका सम्बन्धका सन्दर्भमा, दुवै देशको आधुनिक इतिहासमा एड्गर स्नो एउटा आधारभूत पुल हुन् भनिन्छ । उनले अमेरिका र चीनको सम्बन्ध सुधार गर्न माओ र चाओ सित धेरैपटक कुरा गरेका थिए । यस पुस्तकको सम्बन्धमा उनकी श्रीमती ल्वीस हृवीलरले लेखेकी छन् ,“यो पुस्तक एउटा अधुरो कार्य हो । यस पुस्तकमा चीन र अमेरिकाको सम्बन्धको नयाँ बिजहरू रोपिएको छ । यदि हामीले यी बिजहरूलाई हुर्कायौ भने तिनीहरू हुर्कनेछन् । यस पुस्तकले अमेर पश्चिमाहरूलाई चीनको बारे बुझ्न मद्दत गरेको थियो । निक्सनको प्रयासले नै अमेरिकी राष्ट्र्पति निक्सनले चीन भ्रमण गरेको थिए । चीनले लामो समयसम्म संयुक्त राष्ट्र सङ्घको सदस्यता पाएको थिएन । चीन–अमेरिका सम्बन्ध सुधार भए पछि चीनले सदस्यता पाएको थियो ।

यो पुस्तकको कभर डिजाइन डेविड किङगरेको हो । हुन्यसपुस्तकको कपि राइट उनकी श्रीमती लुइस हृवीलरको नाममा राखिएकोछ । यो पुस्तकमा सरल शब्दहरू प्रयोग गरिएकोछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित