किसानका अनगिन्ती समस्या

– शशिराम बुढाथोकी

नेपाली किसानहरुको अवस्था निकै कष्टपूर्ण छ जमिन आफ्नो छैन । जमिन्दारको जमिन महंगो भाडा तिरेर प्रयोग गर्नु पर्ने बाध्यता छ । सिंचाइ नहँुदा चाहेको जति उत्पादन हुन सक्दैन, विभिन्न खालका रोग र प्रकोपहरुबाट आफनो वस्तु भाउ र बालीनाली बचाउन सकिएको छैन । यहाँ ती रोग र प्रकोपको ज्ञान र प्राविधिक सहयोग केही छैन । भएका ती अफिसहरुमा प्राविधिक छन् तर किसानको खेतबारी र गोठ, खोरसम्म जाने र उपचार गर्ने व्यवस्था छैन ।
यदि जरुरत प¥यो भने महंगो फि तिर्नु पर्छ । औषधि अत्यन्तै महंगो छ । यी तमाम खाले प्रतिकुलताको बाबजुद किसानहरु पसिना बगाइरहेका छन् । मल समयमा पाउँदैन चाहिएको जति मल नपाउँदा उत्पादन भनेजति हँुदैन । गत वर्ष किसानले मल पाएनन् । खेती गर्ने समयमा चाहिएको भन्दा आधि पनि मल यो सरकारले दिन सकेन । अहिलेसम्मको अवस्था हेर्दा यो वर्ष पनि किसानको आवश्यकताको आधा पनि मल आपूर्ति हुने सम्भावना देखिँदैन । मल वितरण गर्ने जिम्मा लिएका गाउँ गाउँका सहकारीहरुमा किसानहरुको दिनहँु भिड लाग्ने गरेको छ । कुनै सहकारीमा किसानको मागको २५% पनि मल आएको छैन । यो अवस्थाको यहाँको सरकारलाई कुनै चिन्ता छैन । यी तमाम समस्याको बाबजुद सीमित मात्रामा भएको कृषि उत्पादन आफैमा महंगो छ किनकि हाम्रो उत्पादन लागत बढी परेको छ ।
उता बजार भने बिचौलिया र दलालहरुको हातमा छ । ती कृृषि वस्तुहरुको मूल्य किसानले होइन ती विचौलियाहरुले निर्धारण गर्ने परिपाटी छ । सरकारले किसानको वस्तुको मूल्य र बजारको अवस्थाको बारेमा कहिलै सोचेको देखिँदैन । विचौलियाहरु मुनाफामा काम गर्छन् ठूलो मूल्य उनीहरुले लिने गर्छन् । किसान सधै घाटामा हुन्छन । भारतसँगको खुल्ला नाका र नेपाल सरकारको उदासीनताको कारण विना रोकटोक भारत तरकारी, फलफूल, माछा, दूध, अण्डा, चल्ला, आदि सबै नेपाल भित्र्याइन्छ । भारतमा किसानलाई मल, बीउ, मेसनरी, सिचाइ, विजुली, ढुवानी आदिमा अनुदान भएको हँुदा उताको उत्पादन, लागत र यताको उत्पादन लागतमा धेरै ठूलो अन्तर छ । जसको कारण नेपाली किसानहरु प्रतिस्पर्धा गर्न सक्दैनन् र लागत मुल्य भन्दा कममा आफनो सामान बेच्न बाध्य छन् । यसरी घाटामा कारोबार गर्दा साहुको ऋण र बैंकहरुको ऋणको महंगो ब्याज र किस्ता तिर्न सकिरहेका छैनन् । आफ्नो पेशा वर्षेनी घाटामा जाँदा ऋणमाथि ऋण चुलिँदै गएको अवस्था छ । कैंयौं किसानहरु टाट पल्टिएर आफ्नो पेसाबाट विस्तापित भैरहेको अवस्था छ र कतिपय किसानले साहु र ऋणको दवावको कारण आत्महत्या गर्नसम्म बाध्य भएको दुःखद खबर सुनिन्छ ।
गएको २ वर्षमा नेपालका सयौं कुखुरापालन गर्ने किसानहरु पलायन भएका छन् । कोरोना महामारी पछि पशुपालन र कुखुरापालन व्यवसाय नराम्रोसँग पलायन भएको अवस्था छ । नेपाल सरकारले कृषिमा दुइटा कुरामा अनुदान दिएको छ । १) कृषि विमा र २) रसायनिक मलमा । अहिले किसानले कृषि विमामा त अनुदान पाएको छ तर रसायनिक मलको अनुदान नाम मात्रको भएको छ किनकि मल नै नपाएपछि अनुदान पाउने कुरै भएन । अरु विभिन्न शीर्षकमा अनुदान दिने गरेको खबर हामीले सुनेका छाँै तर ती अनुदानहरु किसानको नाममा नक्कली किसान तयार पारेर सरकारको ढुकुटी माथिको लुट मात्र हो । ती अनुदानहरु किसान मैत्री र किसान मुखी छैनन् । आज किसानको नाममा सरकारी ढुकुटीको दुरुपयोग भएको छ । एउटै शीर्षकमा तीन ठाउँमा ठगिएको छ । किसानलाई अनुदान दिने बहानामा यसरी ठगिन्छ, अनुदान दिने वस्तु खरिद गर्दा मुल्यमा ठगिन्छ । परेको मुल्य भन्दा बढीको बिल बनाएर अनि मात्रामा ठगिन्छ । १० वटा खरिद गर्दा १५ वटाको विल बनाएर अनि वितरण गर्दा ठगिन्छ पाउनु पर्ने किसानलाई नदिएर आफ्नोलाई दिइन्छ । यो खालको अवस्था किसानमाथि लादिएको छ । यहाँको सरकारमा बस्ने मान्छेहरु किसानको र कृषिको विकास गर्न चाहान्न । जसको परिणाम नेपालको कृषि क्षेत्र दिनानु दिन धरासायी हुँदै गएको छ । नेपाल हरेक कृषि उपजमा परनिर्भर हुँदै गएको अवस्था छ । जसको कारण व्यापार घाटा दिनानु दिन बढेको छ र देशको आर्थिक अवस्था पनि धरासायी हुँदैछ । वस्तु बेचेर देशको अर्थतन्त्र चलाउने तिर कुनै गुरुयोजना छैन । श्रम बेचेर देश चलाउने भन्दा अरु सोच्ने यो सरकारको अवस्था देखिँदैन । हाम्रो जस्तो देश जहाँ अहिले पनि ६५% मानिसहरुको पेसा कृषि छ । अन्य उद्योग, कलकारखाना छैनन् यहाँ कृषिमा विकास नगरी देशको विकास सम्भव छैन । अहिले देशव्यापी रुपमा गाई गोरुमा लाग्ने रोग (लम्की स्किन) भन्ने रोगको महामारी छ । देशव्यापी रुपमा यो महामारीको कारण अरवांैको नोक्सानी भएको छ आज गाउँ गाउँगाउँमा जोत्ने गोरुको अभाव भएको छ, दूध उत्पादनको ठूलो हिस्सा ओगटेको गाइपालन व्यवसाय धरासायी भएको छ । कैयौं दुहुना गाईहरु मरेका छन् । यौटै गाई लगभग १ लाख मुल्यको हुन्छ । यस्ता गाई हजारौँ मरेका छन् र हजाराँै थला परेका छन् । दूध उत्पादनमा ठूलो क्षति पुगेको छ । यहाँको सरकारले यो रोगको विषयमा कुनै चासो दिएको छैन । यो रोगको कारण कति नोक्सानी भएको छ कति पशु मरे त्यसको कुनै डाटा यो सरकारसँग छैन र उपचारको लागि कुनै पहल छैन । यसको क्षतिबाट किसानलाई कसरी क्षतिपूर्ति गर्ने भन्नेमा कुनै चासो छैन । यी तमाम समस्याबाट माथि उठ्नको लागि किसानहरु सचेत हुनु पर्छ अधिकार र न्यायको लागि आवाज उठाउनु पर्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित