शशिधर भण्डारी ••
भारतको मात्र होइन दक्षिण एशियाकै कम्युनिष्ट आन्दोलनको इतिहासमा सन् १९६७ मा शुरु भएको नक्सलवादी आन्दोलनले निकै ठूलो ऐतिहासिक महत्त्व बोकेको छ । यो आन्दोलनका विषयमा विश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा धेरै चर्चा, समीक्षा, परिचर्चा र विमर्शहरू भएका छन् । नक्सलवादी आन्दोलनको लाल झण्डा फहराएको समय आज ५६ वर्ष पूरा गरेर ५७ वर्षमा लागेको छ । नक्सलवादी आन्दोलनको पाठशालाबाट उठेका कम्युनिष्ट पार्टीहरू भारतमा केही चिराहरूमा विभाजन भएका छन् । त्यसमा केही दक्षिणपन्थी संशोधनवादमा पतन भएका छन् । केहीले जनसङ्घर्षलाई माध्यम बनाएर मास लाइनमा काम गरिरहेका देखिन्छन् । त्यसमध्येको एउटा घटक भारतीय कम्युनिष्ट पार्टी (माओवादी) ले लगातार सशस्त्र छापामार युद्ध चलाइरहेको छ । भारतको प्रतिक्रियावादी सरकारले भाकपा (माओवादी) लाई आतङ्कवादीको सूचीमा राखेको छ । भारतको सत्तामा रहेका नेता तथा प्रशासकहरूले भाकपा (माओवादी) लाई भारतकै सत्ताको ठूलो चुनौतीका रुपमा व्याख्या गरेर दमनचक्र चलाउँछन् ।
छत्तीसगढ, विहार र आन्द्रा प्रदेशका ग्रामीण वस्ती तथा आदिवासी इलाकाका जङ्गलहरूमा आश्रय र जनाधार बनाएका माओवादीहरू त्यति धेरै शक्तिशाली फोर्सका रुपमा देखिन्नन् । तर पनि एउटा सपना बोकेर बितेका ५६ वर्षदेखि ‘कि मार कि मर’ को सिद्धान्तअन्तर्गत रहेर सशस्त्र छापामार युद्ध हाँकिरहनु पनि सामान्य त्यागको इतिहास होइन । समग्र भारतको कम्युनिष्ट आन्दोलनको इतिहास हेर्दा नक्सलवादी विद्रोहदेखि आजसम्मको इतिहासमा माओवादी छापामार युद्धले उपलब्धि भन्दा क्षति नै धेरै व्यहोरेको देखिन्छ । माओवादीहरूले पुलिस ठाना र पुलिसका गाडीमा गोली हानेर छापामारशैलीमा भाग्छन् त्यसको मूल्य सर्वसाधारण जनताले चुकाउनु परेको देखिन्छ ।
मुस्लिम र कम्युनिष्टहरूमाथि अत्यन्त अनुदार भाजपा नेतृत्वको मोदी सरकारले माओवादी आतङ्कको बहाना बनाएर अर्वान नक्सलीको आरोपमा कैयन वामपन्थी लेखक, पत्रकार तथा साहित्यकारहरूलाई भटाभट गिरˆतार गर्ने र कठोर कारावासको सजाय दिने काम पनि बेलाबखतमा गर्दै आएको छ । मोदी सरकारको दमनको कोपभाजनमा अहिले मासलाइनमा रहेर जनसङ्घर्ष गरिरहेका कम्युनिष्ट पार्टीहरू पनि पर्दै आएका छन् । यो एउटा समस्या जरुर हो । भारतका जनसङ्घर्षलाई तत्कालीन कार्यनीति बनाइरहेका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरूलाई जनताका बीचमा जान बेला–बेलामा अवरोधहरू पैदा हुने गर्दछन् । आज भारतमा नक्सलवादी जनविद्रोह र भाकपा (माओवादी) ले लिएको दीर्घकालीन सशस्त्र छापामार युद्धका विषयमा समीक्षा पनि भइरहेका छन् । एम.एन. रायको नेतृत्वमा स्थापना भएको कम्युनिष्ट पार्टीलाई आधार मान्ने हो भने भारतको कम्युनिष्ट पार्टी चीनको कम्युनिष्ट पार्टी भन्दा एक वर्ष जेठो देखिन्छ । एम.एन. रायको नेतृत्वमा सन् १९२० मा नै भारतीय कम्युनिष्ट पार्टी स्थापना भएको थियो भने चीनमा सन् १९२१ मा मात्र चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।
भारतको कम्युनिष्ट आन्दोलनको इतिहासमा यति धेरै रगत बगेको छ र क्रान्तिकारीहरूका लाशहरूको थुप्रो लागेको छ त्यसको लेखाजोखा छैन । आज भारतको कम्युनिष्ट आन्दोलन कमजोर र विभाजित अवस्थामा रहेको देखिन्छ । तर गौर गरेर अध्ययन गर्ने हो भने भारतीय भूगोलमा जनवादी र समाजवादी क्रान्ति सम्पन्न गर्ने सपनामा लाखौँ कम्युनिष्ट कार्यकर्ताहरूले पसिना बगाइरहेका छन् । भारतमा कम्युनिष्ट आन्दोलनमा लाग्ने र अध्ययन गर्नेहरूको सङ्ख्या ठूलै छ । वामपन्थी प्रकाशनगृहहरू सञ्चालनमा छन् । कम्युनिष्ट आन्दोलनमा युवा पंक्तिको पनि सहभागिता देखिन्छ । भारतीय कम्युनिष्ट पार्टी (माले) रेड स्टारका पि.वि.एम. कमरेड तुहिनदेवका अनुसार भारतको सन् १९४७ को तेलङ्गना किसान विद्रोह र नक्सलवादी विद्रोहमा क्रान्तिकारीहरूलाई खाना पुर्याउने, सेल्टर दिने कैयौ वीर वीराङ्गनाहरूको इतिहास अझै गर्भमा लुकेको छ ।
त्यो इतिहासको राम्ररी खोज र अनुसन्धान हुन बाँकी नै रहेको छ । हेर्दा भारतको कम्युनिष्ट आन्दोलनको इतिहास त्याग, तपस्या र बलिदानले भरिभराउ देखिन्छ । भारतमा कम्युनिष्ट पार्टी स्थापनाको एक शताब्दी पूरा भएको छ । यो बीचमा विशेषत: भारतको नक्सलवादी जनविद्रोहले सिङ्गो भारत हल्लाएको थियो । महान सपना बोकेको नक्सलवादी विद्रोह भारतको प्रतिक्रियावादी सरकारको नादिरशाही दमनका कारण हजारौँको बलिदान पश्चात पराजयको शिकार भएको थियो । भारतको आकाशमा नयाँ जनवादी क्रान्तिको नारा घन्काएको र भारतीय सामन्तवादलाई थर्काएको सो विद्रोह पश्चात भारतमा त्यो स्तरको आन्दोलन किन उठ्न सकेन ? यो प्रश्न भारतीय कम्युनिष्ट आन्दोलनका अगाडि उपस्थित एउटा विचारणीय प्रश्न हो ।
भारतको कम्युनिष्ट आन्दोलनको शिविरमा क्रान्तिकारी धारका कम्युनिष्ट समूहरू मात्र कमजोर छैनन् । पूँजीवादी संसदीय चुनावी राजनीतिलाई व्यवहारत: रणनीति बनाएका भाकपा र माकपा पनि अत्यन्त कमजोर भएका छन् । तिनीहरूले पश्चिम बङ्गाल र त्रिपुराबाट तीन दशक लामो सत्ता राजनीतिको वर्चश्व गुमाएका छन् । केरलमा माकपा अस्तित्त्व रक्षाको सङ्घर्षमा रहेको देखिन्छ । भारतको कम्युनिष्ट आन्दोलन पनि पटक–पटक उग्रवामपन्थी तथा दक्षिणपन्थी संशोधनवादको शिकार हुँदै आएको छ । आज पनि भारतको ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा कार्यनीति तय गरेर काम गरिरहेका क्रान्तिकारी कम्युनिष्ट घटकहरूको तुलनामा उग्रवामपन्थी र दक्षिणपन्थी धारहरू नै समानान्तर रुपमा अगाडि बढेको देखिन्छ । तर समग्रमा भारतीय राजनीतिको मूलधारबाट भारतीय वामपन्थ क्रमश: किनाराकृत दिशामा धकेलिदै गएको जस्तो लाग्छ । यो अत्यन्त दु:खदायी कुरा हो । किनभने भारतको पश्चिम बङ्गाल, त्रिपुरा र केरलमा कैयौ वर्ष सरकारको नेतृत्व गरेको माकपा र भाकपाले जनइच्छा र कम्युनिष्ट आदर्शअनुरुप कार्य सम्पादन गर्न सकेका थिएनन् । तर तिनीहरू नेपालका सरकारधारी दक्षिणपन्थी कम्युनिष्टहरू जस्तो भ्रष्ट र बदनाम भएका थिएनन् ।
आजको भारतमा भाजपाको नेतृत्वमा कट्टर हिन्दुवादी फासीवादको उदय भएको कुरा त्यहाँका बुर्जुवा पार्टीहरूले समेत चर्चा गरिरहेका छन् । अहिले भारतका प्रजातान्त्रिक तथा वाम पार्टीहरू भारत बचाओ लोकतन्त्र बचाओ भन्ने नाराका व्यानरमा भाजपाको सत्ताका विरुद्धमा सङ्घर्षरत देखिन्छन् । यो सङ्घर्षमा अग्रमोर्चामा वैधानिक रुपमा क्रियाशील वामपन्थीहरू नै छन् । हिन्दु कट्टरतावादका कारणले भारतीय लोकतन्त्रमा अघोषित प्रकारले फासीवादको अभ्यास हुन थालेको परिदृश्यमा स्वाभाविकरुपमा भारतको क्रान्तिकारी कम्युनिष्ट आन्दोलन एउटा जटिल सङ्कटबाट गुज्रन विवश छ । तर अधिकांश भारतीय कम्युनिष्ट आन्दोलनमा क्रियाशील नेता कार्यकर्ताहरूको सादगी जीवन, नैतिक मूल्य, अध्ययन, चिन्तन, व्यवहारकुशलता, त्याग र समर्पणभाव रहरलाग्दो पाइन्छ ।
भारत एउटा त्यस्तो देश हो जहाँ ट्राटस्कीवादीदेखि लिनपियाओवादी धाराका कम्युनिष्ट आन्दोलनका नेता, कार्यकर्ता र ग्रुपहरू देखापरेका थिए । नेपालको जस्तै भारतको पनि अर्को देशको कम्युनिष्ट आन्दोलनको अन्धानुकरण गर्ने तरिका एउटा डरलाग्दो समस्याका रुपमा रहँदै आएको छ । क. चारु मजुमदार, क. कानु सन्याल, क. जङ्गल सन्थाललगायत नेताहरूको नेतृत्वमा विष्फोट भएको नक्सलवादी आन्दोलन पनि चिनियाँ कम्युनिष्ट पार्टीको अन्धानुकरणमा उभिएको थियो । नक्सलवादी विद्रोहमा माओ विचारधारा जिन्दाबाद मात्र भनिएन, चीनको अध्यक्ष हाम्रो पनि अध्यक्ष भनेर नारा लगाइयो । माओले चिनियाँ समाजलाई गरेको वर्ग विश्लेषणलाई भारतमा पनि फोटोकपीका रुपमा ग्रहण गर्ने काम भयो । आज नक्सलवादी आन्दोलनको पृष्ठभूमिमा उभिएका केही कम्युनिष्ट पार्टीहरूले आˆना पुराना पथहरूको समालोचनात्मकढङ्गले गम्भीर समीक्षा गरेका छन् ।
भारतको कम्युनिष्ट आन्दोलन दक्षिणपन्थी दिशामा गएको, नयाँ जनवादी क्रान्तिको नारा हराउँदै गएको अवस्थामा नक्सलवादी आन्दोलनमा उठेको लाल झण्डा सशस्त्र विद्रोह र भारतीय गगनमा घन्केको नयाँ जनवादी क्रान्तिको नारालाई मुक्तकण्ठले प्रशंसा गरेका छन् । नक्सलवादी विद्रोहका सहिदहरूको गाथा गाएका छन् । तिनीहरूले भावी कम्युनिष्ट आन्दोलनलाई नक्सलवादी विद्रोहका गल्तीहरूबाट पाठ सिक्दै र सकारात्मक कुराहरूलाई नक्सलवादी विद्रोहको स्पिरिटमा अगाडि बढाउने प्रण गरेका छन् । भर्खरै भारतीय कम्युनिष्ट पार्टी (माले) रेड स्टारका महासचिव क. पि.जे. जेम्सले यस बसन्तबाट नक्सलवादी विद्रोहको इतिहास ५६ वर्ष पूरा भएको अवस्थामा एक वक्तव्य सार्वजनिक गर्दै गम्भीर समीक्षा गर्नुभएको छ । आˆना गल्तीहरूप्रति अनुदार रहनु र नयाँ ढङ्गले अगाडि बढ्नु नै सही माक्र्सवादी लेनिनवादी सच्चाइ हो । नयाँ ढङ्गले अगाडि बढ्ने नाममा विश्वका कैयन कम्युनिष्ट पार्टीहरूले दक्षिणपन्थी संशोधनवादी तथा परिष्कृत पूँजीवादी बाटो समातेका उदाहरण पनि थोरै छैनन् । त्यस सन्दर्भमा नेपालकै कम्युनिष्ट आन्दोलन एउटा ताजा र जल्दोवल्दो दृष्टान्त हो । तर भाकपा (माले) रेड स्टारको स्पिरिट यस्तो होइन ।
अर्को देशको कम्युनिष्ट पार्टीले सम्प्रेषण गर्ने विचारको प्रभावमा पर्ने र तदनुरुप अन्धानुकरण गर्ने रोगबाट नेपालमा पातलो मसाल समूहले धेरै महारथ हासिल गरेको छ । यो प्रश्नमा पछिल्लो घडीमा बढी बदनाम हुँदै आएको छ । चरम दक्षिणपन्थी दिशा समातेको यो समूह एकातिर सत्ता गठबन्धनमा बसेर सरकारी सुविधाका भागवण्डाहरू स्याहार्छ । अर्कोतिर जनताका सामु चोकमा उभिएर प्रतिपक्षको भूमिकामा रहेको अभिनय गरेर जात्रा देखाउँछ । प्रतिक्रियावादी व्यवस्थाको सरकारी गठबन्धनमा बसेर वर्ग सङ्घर्ष र जनवादी क्रान्तिको भाषण गर्नु कम्ति उदेकलाग्दो कुरा होइन । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा यो गुट जर्मनीको माक्र्सवादी लेनिनवादी पार्टी (एमएल पिडी) को लाइनको अन्ध समर्थक छ । एमएल पिडीको लाइनको अन्धानुकरणका धेरै पहलुहरू छन् । जस्तै पातलो मसालले विस्तारवादी भारतलाई साम्राज्यवादी राष्ट्रका रुपमा परिभाषा गरेको छ । सो परिभाषा सिधा एमएल पिडीको लाइनको फोटोकपी हो । यस्ता अन्य धेरै विषयहरू छन् ।
भारतमा पनि जर्मनीको माक्र्सवादी लेनिनवादी पार्टी (एमएल पिडी) को राजनीतिक लाइनको अन्धानुकरण गर्ने समूह छन् । कतिपय पार्टीमा एमएल पिडीका चञ्चाग्रुपहरूको पनि उदय भएको बताइन्छ । अर्को देशको कम्युनिष्ट पार्टीको लाइनको अन्धानुकरण नक्सलवादी विद्रोहको एउटा ठूलो समस्या थियो । नक्सलवादी विद्रोहको ५६ वर्षको अन्तरालमा पनि भारतको कम्युनिष्ट आन्दोलनमा अर्को देशको कम्युनिष्ट पार्टीको राजनीतिक लाइनको अन्धानुकरण गर्ने परम्परा पूर्णरुपमा हट्न सकेन । न त नेपालमा हट्यो । नक्सलवादी जनउभारले बोकेको भावना उच्च थियो । आधुनिक कम्युनिष्ट आन्दोलनले सो भावनालाई पक्रन र गल्तीबाट पाठ सिकेर अगाडि बढ्न आवश्यक छ । बलिदान र उत्सर्गले भरिएको भारतको नक्सलवादी आन्दोलन सबै क्रान्तिकारीहरूको महान ऐतिहासिक गाथा हो ।

