विमल शर्मा •• आज विश्वस्तरमा साम्राज्यवादले प्रभुत्व जमाइरहेको छ । यो अवस्थाले साम्राज्यवाद बलियो भएको त होइन भन्ने भ्रम पनि परिरहेको छ । तर साम्राज्यवादले आप्mनो खाडल आफै खन्छ भन्नेकुरालाई हामीले कहिल्यै बिर्सन हुँदैन । अहिलेसम्म प्रतिकृयावादीहरूको गर्भबाट नै त्यसको अन्त्यको विजारोपण र अन्त्य हुँदै आएको छ । प्रतिकृयावादीहरू जतिसुकै बलिया देखिए पनि उनीहरूको प्रकृति र नीति शोषणमा आधारित हुन्छ । शोषित उत्पीडित जनताले त्यसका विरुद्ध सङ्गठित सङ्घर्ष गर्दछन् । जसका कारण प्रतिक्रियावादीहरूको पराजय हुन्छ । यो कुरा हाम्रो देशको लागिमात्र नभएर समग्र विश्वका लागि नै सत्य हो ।
हाम्रो देशमा राणाहरूका विरुद्ध आवाज उठाउनेहरूलाई फाँसीको सजाय दिने गरिन्थ्यो । निरङ्कुश पञ्चायती तानाशाही कालमा त्यसको विरोधको आवाज उठाउनेलाई पनि विभिन्न बहानामा जेल र मृत्युदण्डसम्म दिएका कैयौँ घटना हाम्रा अगाडि छन् । त्यति हुँदाहुँदै पनि पञ्चायती तानाशाही निरङ्कुशताका विरुद्ध सङ्घर्ष चलिरहेको थियो । देशमा कुन प्रकारको व्यवस्था राख्ने भन्ने विषयमा जनता नै सार्वभौम हुन्छन् । जनताका अगाडि अरु कुनै जनता विरोधि रहन सक्दैनन् ।
हाम्रो देश अहिले गम्भीर अस्तित्त्वको सङ्कटबाट गुज्रिरहेको छ । सरकार वा सत्ताले देशको सार्वभौमिकता, राष्ट्रियता, स्वतन्त्रताको प्रश्नलाई उपेक्षा गरेको छ । विदेशी हस्तक्षेप र वाह्य प्रभुत्वको स्थितिलाई स्वीकार गरेको छ । विदेशी पुँजीवादका दलालहरू, बिदेशी हस्तक्षेपका समर्थक र राष्ट्रविरोधी तत्त्वहरू आपसमा साँठगाँठ गरिहेका छन् । उनीहरूको गठबन्धन देश, जनता र क्रान्तिका हितका विरुद्ध छ । यो मुख्य गरेर गठबन्धन सरकारमा सामेल सरकार र त्यसलाई टिकाई राख्न समर्थन गर्ने राजनैतिक पार्टीका कारणले भइरहेको हो ।
सरकार प्रचण्डको नेतृत्वमा भएजस्तो देखिए पनि वास्तवमा सत्ता विदेशी दलाल नेपाली काङ्ग्रेस र अन्य नवदलालले मिलेर चलाई रहेका छन् । सरकारमा सामेल नभएका कतिपय राजनैतिक दल र जुनियर पार्टनरले नेपाली काँग्रेस र माओवादी केन्द्रको नेतृत्वको सरकारलाई समर्थन गर्दै गठबन्धन र संयुक्त मोर्चामा जोड दिएकोले उनीहरूको राजनीति गद्दारीको बाटोमा गइरहेको त छैन ? अहिलेको अवस्थाको विश्लेषण गर्दा त्यस्तो भइरहेको देखिन्छ । वर्तमान सरकार र सत्ताले देश, जनता तथा राष्ट्रको सार्वभौमिकतामा आँच पुर्याउने जुन कार्य गरिरहेको छ त्यसका विरुद्ध आन्दोलन अगाडि बढाउने र देश, जनता तथा सार्वभौमिकताको रक्षा गर्नु, प्रतिक्रियावादी, अधिनायकवादी शक्तिहरूको भण्डाफोर गरेर जनतामा चेतना जगाउनु आजको आवश्यकता हो ।
विकासको नाममा नेपालमा थोपरीएको साम्राज्यवादीको योजना अन्तर्गतको एमसीसी परियोजना पारित गर्नु, जन्मको आधारमा वंशजको नागरिकता दिने निर्णय पास गर्नु, राष्ट्रघाती नागरिकता विधेयकलाई अदालतबाट समेत स्वीकृति दिनुले देशमा दलालहरूको बर्चस्व लेन्डुप दोर्जेको स्थितिमा पुगेको छलङ्ग देख्न सकिन्छ । देशका विभिन्न नदिनालाहरू भारतीय विस्तारवादलाई विगतदेखि नै सुम्पिने काम हुँदै आएको थियो । अहिले आएर कालापानी, लिपुलेक, लिम्पियाधुरा समेत भारतलाई घोषित रुपमा नै सुम्पिने हुन् कि भन्ने आशङ्काहरू उत्पन्न भएका छन् । सङ्घीयता जस्तो घातक प्रणाली अपनाइएको छ । भारतीय विस्तारवादले आफ्नो संसद भवनमा नेपालका विभिन्न भागहरूलाई सामेल गरेर आफ्नो नक्सामा राख्दा समेत यहाँको सरकार त्यसका विरुद्ध केही बोल्न नसक्ने स्थितिमा पुगेको छ ।
देशका कैयौँ स्थानहरूमा सीमा मिचिएका छन् । स्वदेशमा उत्पादित तरकारीलाई विचौलियाको हातमा सुम्पेर भारतीय तरकारी, फलफुलाई बिना जाँचबुझ र रोकटोक भित्राउने काम गरिएको छ । किसानहरूले समयमा मलविउ नपाइरहेको स्थिति छ । देशको सावैभामिकतालाई समेत दावमा राख्दै भारतीयहरूलाई नागरिकता वितरण जस्तो राष्ट्रघाती विधेयकहरू संसद तथा सर्वोच्च अदालतबाट समेत पारित हुनुले देशको अस्तित्त्व कति खतरनाक स्थितिमा पुगेको छ सजिलैसित अन्दाज गर्न सकिन्छ ।
राष्ट्रियतामाथि दलालहरूको बर्चस्व कायम भएको छ । दलालहरूले सत्ता टिकाउनका लागि अपवित्र गठबन्धन “समाजवादी मोर्चा नेपाल”कोे गठन गरेका छन् । यस प्रकारको गठबन्धन बनाएर सङ्घीयतालाई कार्यान्वयन गर्ने निर्णय गरेका छन् । यिनी गठबन्धनका दलहरू मिलेर नै एमसीसी पास गरेका थिए । यसले यो स्पष्ट गरेको छ कि हाम्रो देश साम्राज्यवाद र विस्तारवादको चङ्गुलमा फस्दै गइरहेको छ । अमेरिकी साम्राज्यवादले एसपीपी पास गराएर नेपाललाई युद्धको रणमैदान बनाउन चाहन्छ । सरकारमा रहेका सत्ताधारीहरूले आफ्नो सत्ता टिकाउनका लागि राष्ट्रघाति, जनघाति विषयहरू पास गर्दै गइरहेका छन् ।
नेपाली जनताले राष्ट्रिय पूजिको संरक्षण, शिक्षा, स्वास्थ्य र यातायातलाइ निशुल्क उपयोग, विदेशि दलाल वा पूँजिपतिको सम्पत्ति राष्ट्रीयकरण, उत्पादनमा आत्म निर्भरताका सबै माध्यमहरूलाई प्रयोग गर्न र नेपालको अस्तित्त्व बचाइराख्नको लागि वर्तमान प्रतिक्रियावादी सत्ता र सरकारका विरुद्ध आन्दोलन सञ्चालन गर्नु पर्दछ । राष्ट्रघाती प्रावधानहरूलाई सरकारमा रहेका दलहरूले कसरी लागू गरिरहेका छन् तिनीहरू बारे बुझ्न जनता जागरुकहुनु पर्दछ । वर्तमान दलाल सरकार वा सत्ताद्वारा निर्माण गरिएका राष्ट्रविरोधि नीयम र कानून मान्नुपर्ने कुनै आवश्यकता छैन । त्यो भन्दा माथि नयाँ जनवादी व्यवस्थाका लागि प्रचारप्रसार र तयारी गर्दै अगाडि बढ्नु आजको आवश्यकता हो ।
देशका राजनीतिक पार्टी र सरकारको जुन प्रकारको अवस्था छ, त्यसले राष्ट्रियता, जनतन्त्र वा प्राप्त उपलब्धीहरू पनि नरहने अवस्था सृजना हुँदै गइरहेको छ । नेपाली जनता, विभिन्न राजनैतिक पार्टीका नेता तथा कार्यकर्ताहरू निराश र मुकदर्शक भएर होइन, साम्राज्यवाद विस्तारवादको चङ्गुलबाट देश बचाउन र अधिकार प्राप्तगर्न सङ्घर्षको बाटोबाट नै सम्भव छ ।
मिति : २०८० आषाढ १०

