भेनेजुएलामाथि अमेरिकी हस्तक्षेप बारे दलित संगठनहरूको संयुक्त विज्ञप्ति

 

काठमाडौं । भेनेजुएलामाथि अमेरिकी हस्तक्षेप बारे दलित संगठनहरूले संयुक्त विज्ञप्ति जारी गरेकाछन् । टेक बहादुर विश्वकर्मा(संयोजक,क्रान्तिकारी दलित मुक्ति मोर्चा, नेपाल केन्द्रीय सम्मेलन आयोजक समिति),रामलाल सी (अध्यक्ष ,श्रमिक समुदाय मोर्चा, नेपाल केन्द्रीय समिति),रुपा सुनार (महासचिव,जात व्यवस्था उन्मूलन मोर्चा,नेपाल केन्द्रीय समिति),कृष्ण सेवा (संयोजक,एकीकृत दलित मुक्ति मोर्चा, नेपाल केन्द्रीय समिति),उपेन्द्र छटुन्जेल ( अध्यक्ष,नेपाल राष्ट्रिय दलित केन्द्र केन्द्रीय समिति),सुजन शहासंकर(अध्यक्ष,दलित अधिकार मञ्च, नेपाल केन्द्रीय समिति ) र देवराज विश्वकर्मा(अध्यक्ष,जनपक्षीय दलित मोर्चा केन्द्रीय समिति ) ले २०८२ पौष २४ गते संयुक्त वक्तव्य जारी गरेका हुन् । वक्तव्य यस प्रकार छ –

“अमेरिकी साम्राज्यवादको नाइके डोनाल्ड ट्रम्पको निर्देशनमा ३ जनवरी २०२६ मा भेनेजुएलामाथि सैन्य आक्रमण गरी त्यहाँका निर्वाचित राष्ट्रपति निकोलास मादुरो तथा उनकी श्रीमति, प्रथम महिला सिलिया फ्लोरेसलाई गिरफ्तार गरी अमेरिका लगेर मुद्दा चलाउने, साथै भेनेजुएलामा अर्को व्यवस्था स्थापना नहुञ्जेलसम्म त्यहाँको सत्ता अमेरिकाले सञ्चालन गर्ने घोषणा गर्नु चरम साम्राज्यवादी, फासीवादी दादागिरीपूर्ण हस्तक्षेप हो । साथै मादुरोको पक्षमा उभिने राज्य प्रशासक तथा भेनेजुएली जनतामाथि “धेरै नराम्रो हुनेछ ” भनी ट्रम्पले दिइएको धम्की सार्वभौम राष्ट्रमाथिको खुला चुनौती र अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन हो । राज्य आतङ्कको आडमा सञ्चालित अमेरिकी साम्राज्यवादवादी निन्दनीय हस्तक्षेपको हामी नेपालमा क्रियाशील क्रान्तिकारी दलित संगठनहरू संयुक्त रूपमा घोर निन्दा तथा भत्सना गर्दछौं ।

अमेरिकी साम्राज्यवादले विश्वका विभिन्न देशहरूमा गर्दै आएको सैन्य हस्तक्षेप, सत्ता उल्ट्याउने षड्यन्त्र र प्राकृतिक स्रोतहरूमाथिको लुटको निरन्तरता नै भेनेजुएलामाथिको यो आक्रमण हो, जसले विश्व शान्ति, जनअधिकार र विधिमा आधारित विश्व व्यवस्थामाथि गम्भीर खतरा उत्पन्न गरेको छ ।

भेनेजुएला एक सार्वभौम तथा स्वाधीन राष्ट्र हो, जहाँको शासन व्यवस्था, सरकार परिवर्तन तथा राजनीतिक निर्णय गर्ने सम्पूर्ण अधिकार भेनेजुएलाका जनतामै निहित छ र कुनै पनि प्रकारको बाह्य हस्तक्षेप अस्वीकार्य छ । यस सन्दर्भमा हामी सार्वभौम तथा स्वाधीन राष्ट्र भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो तथा उनकी श्रीमतिको अविलम्ब, बिना सर्त र सकुशल रिहाइको जोडदार माग गर्दछौं र राष्ट्रिय स्वाधीनता, जनसत्ता तथा सामाजिक न्यायको रक्षाका लागि संघर्षरत भेनेजुएलाका देशभक्त जनता, श्रमिक वर्ग र उत्पीडित समुदायप्रति हाम्रो दरिलो ऐक्यबद्धता प्रकट गर्दछौं ।

अतः नेपालमा समेत मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत हस्तक्षेप बढाउन तल्लिन विश्वका उत्पीडित जनताको साझा शत्रु अमेरिकी साम्राज्यवादविरुद्धको संघर्षमा एकताबद्ध हुन तथा भेनेजुएलाका जनताको पक्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता मजबुत बनाउन देशभक्त, क्रान्तिकारी, श्रमिक, दलित तथा उत्पीडित समुदायहरूलाई हार्दिक आह्वान गर्दछौं ।”

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित