नेपाल कृषि प्रधान देश हो । कृषि प्रधान देश भएपनि पछिल्लो वर्षहरूमा कृषि उपजहरूमा दिनानुदिन परनिर्भर हुँदै गएको छ । देशका युवाहरू काम गर्न सक्ने जनशक्ति दिन रात विदेशमा पसिना बगाउन पुगेका छन् । कृषि उत्पादनको काम बेवास्तामा परेको छ । बारी खेतहरू बाँझा भएका छन् । जग्गा जमिन बिक्रीका लागि प्लटिङमा गएका छन् । कैयौँ उत्पादनशील जग्गा कङक्रिटमा परिणत भएको छ । उत्पादनशील जग्गामा मालिकले तारबार लगाएर कब्जा गरी राखेका छन् । कृषिमा लगानी गर्ने कृषि प्राविधिक, उत्पादन विकास तथा स्थायीत्वको व्यवस्था सरकारले गर्न सकेको छैन ।
कृषिमा प्रविधिको प्रयोग हुन सकेको छैन । उत्पादित सामानको बिक्री वितरणको अभाव जस्ता समस्याहरूलाई बेवास्ता, नीति निर्माता तथा देश सञ्चालकहरूमा कृषि उत्पादनमा जोड दिने योजनाको अभाव, कृषकलाई सहुलियत तथा कुनै सुविधाको अभाव सिंचाई सुविधाको अभाव जस्ता कारणले किसानहरू कृषि कर्ममा निरुत्साहित छन् । वर्षभरि गरेर पनि लगानी नउठ्ने अवस्थामा पुगेका छन् । किसानले कही कतैबाट राहत र सहुलियत प्राप्त गर्न सकेका छैनन् । यसले उत्पादन हुन छोडेको छ । कृषि प्रधान देशमा कृषि उत्पादन नै विदेशबाट आयात गरेर जीवन धान्नु पर्ने अवस्थामा नेपाली पुगेका छौँ । अरबौँको कृषि जन्य वस्तुहरू नेपालले आयात गर्नु परेको छ । नेपालीको भान्सामा प्रयोग हुने सबै कुरा विदेशबाट आयात गरिएका छन् । आफ्नो उत्पादन भन्ने नै हुन छाडिसकेको छ । धनियाँको पातदेखि खुर्सानी जस्ता साना साना कुराहरूमा पनि विदेशबाट खरिद गरेर खाने संस्कृतिको विकास हुँदैछ । आफ्ना करेसाबारीमा केही सानो मेहनतबाट नै उत्पादन हुन सक्ने वस्तुहरूमा पनि परको भर पर्नुपर्ने स्थिति आएको छ ।
दाल, चामल तरकारी सागपात सबैमा हामी अरुको भरमा गुजारा चलाईरहनु परेको छ । यसले देशको अवस्था निकै नाजुक हुँदै गएको छ । देशको अरबौँ रकम बाहिरिएको छ । अरु देशमा भर परेको परिणाम अब नेपालीले भोग्नु पर्ने भएको छ । आयात रोकिइँदा भोकै वस्नु पर्ने स्थिति सिर्जना हुन थालेको छ । केही समय पहिलादेखि भारतले चामल निर्यात रोकेको छ । उसले बासमतीदेखि बाहेक सबै चामल निर्यात रोक लगाएको छ । यसले बजारमा चामलको अभाव भएको छ । महङ्गो चामल गरिब आर्थिक अवस्था कमजोर भएकाहरूले किन्न खान सक्ने कुरा भएन । सस्तो चामल बजारमा पाईन नै छोडेको छ । सस्तो बताईएको चामल पनि काला बजारियाहरूले रातारात महङ्गो बनाउन भ्याईसकेका छन् । यसले चुलो कसरी बाल्ने भन्ने स्थिति रहेको छ । अहिले फेरी भारतले प्याज निर्यातमा ४० प्रतिशत निर्यात कर लगाउने भएको छ । व्यापारीहरू, कालाबजारियाहरूले कृत्रिम अभाव खडा गरेर होस् या अभावको बहना गरी मूल्यबृद्धि गराएका छन् ।
सरकारले बजेट भाषणमा प्याजको १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाएर मूल्य बढाएको थियो । यसरी मूल्य बढे सङ्गै बजारमा सबै कुराको मूल्य बढेको थियो । बजारमा एक चीजको मूल्य बढेसँगै सबै चीजको मूल्य बढ्न पुगिहाल्छ । नेपाली बजारमा अहिले तरकारी निकै महङ्गो भएको छ । चाडवाड नजिकिन थालेको बेलामा बजारको महङ्गाईले गरिबलाई हैरान पारेको छ । यसको मुख्य कारण भनेको आˆनै उत्पादन नहुनु हो । जब आफ्नो उत्पादन हुँदैन, अर्काको उत्पादनमा भर परेपछि हुने त यही नै हो । अब स्थिति यो हुँदैछ कि यात जति भएपनि महङ्गो हालेर खान सक्नु पर्यो यात चुप लागेर बस्नु पर्यो भन्ने जस्तो हुँदैछ । यसबाट नेपालीले पाठ सिक्नु पर्दछ ।
भारतले यो नकारात्मक कार्यले नेपाललाई सकरात्मक शिक्षा दिएकोछ – आˆनो लागि आफै उत्पादन गर । जान्ने हो भने यसले अरु सबै उत्पादन आफैले आˆनै देशले गर्न तिर लाग्नु पर्छ भन्ने पाठ पनि हो । सबै उत्पादनमा परनिर्भर भएपछि कुनै न कुनै समयमा सङ्कट त आईहाल्छ । जस्तै भारतले संविधान जारी गर्दाको समयमा नाकाबन्दी गरेको थियो । निर्यात गर्न चाहेन भने पनि जनता बाँच्नु पर्छ बचाउनु पर्छ भन्ने धारणा लिएर सरोकार वालाले काम गर्नु पर्ने हुन्छ । आˆना देशका जनतालाई कसरी सजिलो बनाउन सकिन्छ । त्यसरी सजिलो पार्न तिर सरोकारवाला लाग्नु पर्दछ । यस अवस्थामा तत्कालीन र दीर्घकालीन योजना बनाएर काम नगर्ने हो भने नेपालीले अझै अभाव तथा सङ्कट भोग्नु पर्ने हुन्छ । अहिले प्याज तथा चामलको कुरा आएको छ भोलि अरु पनि सबै कुरामा निर्यात कर लाग्न सक्छ या निर्यात मै रोक लाग्न सक्छ त्यस अवस्थामा के गर्ने ? देशले आफ्नै उत्पादनमा जोड दिने नीति लिनु पर्दछ । त्यसको लागि नीति निर्मातादेखि लिएर सबैले चासो र चिन्ता लिनु पर्दछ । उत्पादनको क्षेत्रहरू छुट्याउनु पर्दछ । कहाँ के कति परिमाणमा उत्पादन हुन्छ त्यसको लेखाजोखा गर्नु पर्दछ ।
किसान र उत्पादनकर्तालाई उत्पादनमा प्रोत्साहन गर्नु पर्दछ । सरकारले, स्थानीय तहहरूले किसान मैत्री नीति अवलम्बन गर्नु पर्दछ । आफ्नो उत्पादनको बजार व्यवस्थापनमा ध्यान दिनु पर्दछ । बाँझा जग्गाहरूलाई प्रयोग गर्नु पर्दछ । जग्गालाई तारबार लगाएर बस्ने, हडपेर बस्ने चलनको अन्त्य गर्नु पर्दछ । थोरै, धेरै जुनसुकै प्रकारको जग्गा भएपनि खाली राख्न दिनु हुँदैन उत्पादनमा लाग्ने किसानहरूलाई सहुलियतको व्यवस्था गर्नु पर्दछ । जसरी भएपनि आˆनै उत्पादनमा ध्यान दिनुपर्दछ ।

