– सिर्जना अस्तित्व
ऐ उच्च जात भनिएकाहरू
राजा महाराजा मानिएकाहरू
अमान्छेहरूबाट छानिएकाहरू
सोच निच भईकन सर्वोच्च ठानिएकाहरू
सुन त
म नजाग्दै हेरक बिहान
म नपुग्दासम्म चिहान
श्वास साटफेर गरीकन सुचना जारी गर
सुर्यको ताप तापीकन विज्ञप्ति पनी गर
जागे भने म छोईदिन्छु सारा प्रकृति
जान्दछु तिमी दक्ष छौ बिगार्न आकृति
डर त्रास छैन मलाई अपमानसंग
यी सबै बच्चैदेखीको हो मेरो मित्र
मलाई थुक्न शिर गगनतर्फ गर्ने
तिमीले जन्मदै पाएको हो तिम्रो चरित्र ।
अनी अझ सुन
मेरा पाईलाहरू नचलमलाउदै
मेरा औलाहरू नसुस्ताउदै
यि साँझहरू आफ्नालागी कैद गर नछोईदै
शिलबन्दी गर रातहरू म डोम कहा नपुग्दै
छि
तिमीलाई लाज हुनुपर्छ
मलाई छोएको हावा लिन्छौ
तिम्रो ईज्जत लिलाम हुनुपर्छ
मलाई छोएर निस्केको ताप लिन्छौ
तिमी
प्रकृतिको हर उपयोगमा पहिलो हुनुपर्छ
पहिलो अक्सिजन
पहिलो सूर्य को किरण
पहिलो साझ तिम्रै हुनुपर्छ
अनी पो रवाफ सुहाउछ
जब तिम्रो धर्ति नै
छोईएको छ मबाट
अनि अरू सबै सबै
कसरी चोखो हुन्छ???