नरेन्द्रजंग पिटर, राजनीतिक विश्लेषक •• नरेन्द्रजंग लेखक र राजनीतिक विश्लेषकको रुपमा स्थापित नाम हो । उनको जन्म काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको घमरकोट भन्ने ठाउँमा भएको थियो । बुबा शिवशंकर दुलाल र आमा टिकामाया दुलालको कोखबाट उनी वि.सं. २०१४ वैशाख ५ मा जन्मिएका हुन् । उनले काभ्रेको संजीवनी हाइस्कूलबाट एसएलसी गरेका थिए । उनले पटना युनिभर्सिटी र बाबा साहेब अम्बेडकर युनिभर्सिटीबाट उच्च शिक्षा हासिल गरेका थिए । उनी एकीकृत चौथो महाधिवेशनकालमा नै भारत प्रवासबाटै कम्युनिस्ट आन्दोलनमा आबद्ध भए र नेकपा (माओवादी) मा काम गरे तर अहिले पार्टीमा आबद्ध छैनन् ।
० तपाईको नाममा यो “पिटर” क्रिश्चियनको नाम जस्तो शब्द किन जोडियो ?
– मेरो कानुनी नाम नुनिन्द्र दुलाल हो । काभ्रेको दुलाल ब्राहम्णको कोखमा जन्मिएँ । म भारतको पटना छँदा २०३२÷३३ सालतिर एकजना मेरो गुरु हुनुहुन्थ्यो –प्रोफेसर हिलारियन पिटर दास । उहाँ झारखण्डको आदिवासी हुनुहुन्थ्यो । तर धार्मिक हिसावले उहाँको पारिवारिक पृष्ठभूमि क्रिश्चियन थियो । उहाँ भारतको आदिवासी भए पनि नाम पश्चिमाहरुको जस्तो वा क्रिश्चियनको जस्तो थियो । म कम्युनिस्ट हुँ । मैले भगवान मान्दैन । म क्रिश्चियन हुने कुरै भएन । तर कस्तो भयो भने हिलारियन पिटर दास भारतको नक्सलाइट आन्दोलनसित सम्बन्धित हुनुहुँदोरहेछ । प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकाल लागु गरेपछि उहाँ भूमिगत हुनुभएछ । त्यसपछि उहाँ कहाँ जानुभयो, मृत्यु भयो कि ज्यूँदै रहनु भयो कि मेरो कहिलै भेट भएन । उहाँको सम्झनामा मैले मेरो नाम पिटर जोड्न पुगें । नामको कथा यही हो ।
० तपाईले त आफ्नो मृत्यु पछिको शरीर मेडिकल कलेजलाई दान गर्नु भएछ नि है ?
–हो, मैले मरेपछि मेरो शरीर लर्ड बुद्ध मेडिकल कलेज नेपालगञ्जका लागि दान गरिसकेको छु । म भौतिकवादी हुँ । मरे पछि शरीरमा आगो लगाएर स्वर्ग गइन्छ वा माटो मुनि पुरिएर स्वर्ग गइन्छ भन्ने कुरामा मलाई विश्वास छैन । अन्तिमसम्म पनि मरिसकेपछि पनि मेरो शरीर यो समाजको लागि बहुउपयोगी बनोस् भन्ने मेरो चाहना छ । मेरो मृगौला, कलेजो, मस्तिष्क, आँखा, हड्डी, छाला लगायत अरु कुनै मानिसका लागि काम लाग्छ भने प्रयोग गरुन् र मेरो शरीरलाई मेडिकल साइन्सका विद्यार्थीहरुले प्रयोग गर्छन्, मेरो शरीर स्वास्थ्य विज्ञान वा शरीर विज्ञानका लागि अध्ययन सामग्री बन्छ भने पनि प्रयोग गरुन् भनेर मैले मेरो शरीर मृत्यु पछिका लागि दान गरेको हुँ ।
आफ्नै शरीर दान गर्नका लागि पनि नेपालमा कानुनी व्यवस्था सजिलो छैन । नेपालको कानुन अनुसार शरीर दान गर्न परिवारका सदस्यहरु श्रीमती, श्रीमान, छोराछोरीले साँची बस्नु पर्दछ । मैले मेरो परिवारलाई मेरो निर्णयमा सहमत गराउन ४ वर्ष नै मिहनेत गर्नु प¥यो । हामी अहिले शरीर दानलार्ई सजिलो बनाउने गरी कानुन निर्माणका लागि अभियान चलाउँदै छौं । आँखा, मृगौला लगायत शरीरका अंग दान त नेपालमा धेरैले गरेका छन् । तर शरीर नै दान गरेका मान्छेहरु निकै कम छन् । अहिलेसम्म नेपालमा आफ्नो शरीरलाई मृत्युपछिका लागि दान गरेका मान्छेहरु जम्मा २३ जना छन् । संस्कृतिविद् सत्यमोहन जोशीले किष्ट मेडिकल कलेजलाई, भैरव रिसालका दम्पत्तिले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मृत्युपछिको शरीर दान गर्नु भएको छ । मानिसको चतेनामा आउने परिवर्तनसँगै मृत्युपछि शरीर दान गर्ने चलन बढ्ने छ भन्ने लाग्छ ।
धरानको विपि स्वास्थ्य प्रतिष्ठानले केही सहज तरिकाले क्याडभर (मृतशरीर) लिन्छ । मेडिकल कलेजहरुलाई प्रयोगशालाका लागि क्याडभर चाहिन्छ । तर नेपालमा सजिलै लिंदैनन् । किन हो ? मलाई उदेक लाग्छ ।
० राजनीति प्रति कसरी आकर्षित हुनुभयो ?
– म स्कूल पढ्दा भूमिगत रुपमा अरु मानिसहरुले पर्चा छरेको, राजनीति गर्ने व्यक्तिहरुलाई हत्कडी लगाएर गाउँबाट प्रहरीले गिरफ्तार गरी लगेको देखेको थिएँ । यस्ता कुराहरुले मेरो बाल मस्तिष्कमा राजनीतिक चेतना जगायो । म पढाईमा राम्रै थिएँ । मैले पहिलो कम्युनिस्ट पुस्तक कोरियाली कम्युनिस्ट नेता कि आमा काङ वाङ शोकको जीवनी पढेपछि राजनीति प्रति थप आकर्षित भएँ । १९७० को दशकमा अमेरिका, भियतनाम युद्ध चरम उत्कर्षमा थियो । फ्रान्सको विद्यार्थी आन्दोलन पनि उत्कर्षमा थियो । विश्वभरी युद्ध विरोधी मोर्चा बन्दै थियो । चीनमा सर्वहारा सांस्कृतिक क्रान्ति चल्दै थियो । फ्रान्समा विश्वविख्यात नोबेल पुरस्कार विजेता जाँहा पाल सात्र र महिलावादी अगुवा सिमोन दि बोबार जस्ता व्यक्तिहरु सडकमा आएर युद्धको विरोधमा पर्चा वितरण गर्दथे । युद्धका विरोधमा, साम्राज्यवादका विरोधमा उत्कृष्ट साहित्यहरु सिर्जना भएका थिए । त्यो वातावरणबाट राजनीतिप्रति थप आकर्षित भएँ । भारतमा नक्सलाइट मुभ्मेन्ट र भारतमै जेपी (जय प्रकाशनारायण) मुभ्मेन्ट चल्दै थिए । तीबाट पनि म प्रभावित भएँ ।
० माओवादीमा काम गर्नु हुन्थ्यो किन छोड्नु भयो त ?
–माओवादीलाई मैले छोडेको नभएर माओवादीले मलाई छाड्यो । माओवादी अब न कम्युनिष्ट रह्यो, न माओवादी नै रह्यो । कम्युनिस्ट र माओवादका नाममा अहिले उनीहरुले गरिरहेको अपराधमा म संलग्न हुन चाहँदैन । म अहिले वन मेन गुरिल्लाको रुपमा काम गरिरहेको छु । म कम्युनिस्ट हुँ र कम्युनिस्ट नै भएर मर्न चाहन्छु ।
० तपाई एउटा राजनीतिक विश्लेषक पनि हो । नेपालको भूराजनीतिलाई कसरी हेरिरहनु भएको छ ?
–खाम्पा विद्रोहको समयमा सिआइएको एजेण्टले नेपालमा लेगल डकुमेन्ट नै बनाएर चीनविरोधी युद्ध चलाएको थियो । केनेथ नस र रोजको किताव पढेपछि त्यो कुरा थाहा हुन्छ । अहिले नेपालमा उत्तरी भेगमा गुम्वा, एनजिओ र चर्चको विकास भइरहेको छ । दक्षिणमा मस्जिदको विकास भइरहेको छ । नेपाल अहिले हाइली सेन्सेटिभ ल्याण्ड (उच्च संवेदनशील भूमि) बन्दै गएको छ । यो सबै देखेर चिनियाँहरु पनि निकै सतर्क अवस्थामा रहेका छन् । कुनै पनि बेला सुर्खेत, जावलाखेल र पोखरामा राखिएका तिब्बती शरणार्थी शिविरमा चीनले क्षेप्यास्त्र प्रहार ग¥यो भने पनि आश्चर्य मान्नु पर्दैन ।
केही समय पहिलेदेखि मन्त्रालयले “शरणार्थीहरु” कालागि लेगल डकुमेन्ट बनाउने प्रयास गर्दैछ । त्यो अमेरिकी डिजाइन अनुसार १८ हजार तिब्बतीयन खम्पा “शरणार्थीहरु” लाई लेगल डकुमेन्ट दिनका लागि थियो । एमसीसी, एसपीपी जे आइरहेका छन ती हिन्द प्रशान्त क्षेत्रमा बढिरहेको अमेरिकी उपस्थितिले यो भेगलाई नै संवदेनशील बनाएको छ ।
० आगामी दिनमा के गर्ने सोचाई छ ?
–म अहिले दक्षिण एसियाको वर्ग बनोटबारे अध्ययन गरिरहेको छु । वर्ग र वर्णमा कति भिन्नता हो यसलार्ई कसरी लिएर जान सकिन्छ भनेर अध्ययन गरिरहेको छु । म अहिले साम्राज्यवाद विरोधी मोर्चा, नेपाल च्याप्टरको संयोजक पनि हुँ । म त्यसमा पनि काम गर्दैछु ।
० हाँक साप्ताहिक मार्फत् केही भन्नु छ कि ?
– हाँक साप्ताहिकले साम्राज्यवाद विरुद्ध उत्पीडित राष्ट्र र जनताको पक्षमा आवाज बुलन्द गरिरहोस् । हाँकको संस्थापक सम्पादक शोभाखर धनञ्जयले जीवनको मूल्य तिरेर विचार र आन्दोलनको रक्षा गर्नु भएको थियो । उहाँको क्रान्तिकारी विचारलाई हाँकले अगाडि बढाइरहोस् । मेरो हाँक प्रति यही शुभकामना छ ।