नेपालमा कृषि क्षेत्रमा अनुसन्धानका लागि लगानी बढाउनु पर्दछ

– सन्तोष कुमार राई
कृषक तथा प्रतिनिधि, नेकपा (मशाल), झापा

सन्तोष कुमार राई राजनीतिकर्मी र मिहिनेती कृषक हुन् । उनको जन्म संखुवासभा जिल्लाको लोकतान गाउँ पंचायतमा भएको थियो । बुबा बलबहादुर राई र आमा बुद्धिमाया राइको कोखबाट उनको जन्म भएको थियो । २०३२ साल मंसिर १० गते जन्मिएका उनलाई बाल्यकालमै बुबा र आमासित भारतको पश्चिम बंगाल, जलपाइगुडी जिल्ला जयगाउँमा जानु परेको थियो । बुबाले त्यहाँ मजदुरी गर्नु हुन्थ्यो । शिक्षाको कुरा गर्दा उनले पश्चिम बंगालबाटै कक्षा १० सम्म अध्ययन गरेका थिए ।
सन्तोष कुमार राईका तीन भाइ मध्ये जेठो स्वयं सन्तोष, माहिला रामकुमार र कान्छा पर्शुराम तथा बहिनीहरु उमा र पवित्रा गरी उनका बुबा आमाबाट उनीहरू पाँच सन्तान हुन् । सन्तोषको विवाह २००३ मई १ (वि. सं २०६० वैशाख १८) मा मनकला राईसित भएको थियो । सन्तोष र मनकलाबाट सौरभ राई र गौरव राई दुई छोरा सन्तान छन् ।
सन्तोषको परिवार संखुवासभाबाट २०६० सालमा बसाईसराई गरेर झापा जिल्लाको साविक खुदुनाबारी गाविस र हाल अर्जुनधारा न.पा. वडा नम्बर ३ जुगेखाडीमा बस्दै आएका छन् ।
उनी भारतको हिमाचल प्रदेशबाट अखिल भारत नेपाली एकता समाज तथा स्थानीय मजदुर संगठनमा आबद्ध भए । उनी राजनीतिक गतिविधिमा संलग्न भए । हाल सन्तोष राई नेकपा (मशाल) मा आबद्ध छन् ।
० राजनीतिक कार्यप्रति कसरी चासो लाग्यो ?
– सन् १९९९ तिरको कुरा हो । भारतको हिमाचल प्रदेश राज्यमा नाथपा झाँकडी जलविद्युत परियोजना थियो । हामी नेपालीहरु त्यस परियोजनामा मजदुरीका लागि पुगेका थियौं । त्यो परियोजनामा भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीको सि.आई.टि.यु. (सेन्टर अफ इण्डियन ट्रेड युनियस् ) नामक मजदुर संगठन थियो । त्यो संगठनले मजदुरहरुको अधिकारका लागि मजदुरहरुलाई संगठित गर्दथ्यो र संघर्ष पनि गर्दथ्यो । त्यसै सिलसिलामा मैले सि.आई.टि.यु.को सदस्यता लिएँ । त्यो भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) को संगठन थियो । म त्यस संगठनमा आबद्ध भएँ र मैले काम गर्ने परियोजनामा ठेक्का मजदुरहरुको बीचमा सि.आई .टि. यु. को सन् १९९९ देखि एक वर्ष कोषाध्यक्ष र २००५ अक्टोबर सम्म महासचिव पदमा रहेर काम गरेँ। परियोजना भित्रको मजदुरहरुका बीचमा पनि अध्यक्ष र महासचिव प्रणाली हुन्थ्यो । ठेक्का मजदुरहरु करिब १५ सय जना थिए । त्यो ठाउँमा त्यस बाहेक अर्को पार्टी सम्बद्ध मजदुर संगठन थिएन । १९९९ देखि २००३ सम्म मैले हिमाचलमा मजदुर संगठनमा काम गरें । त्यसरी भारतीय मजदुर आन्दोलनले मलाई राजनीति प्रति चासो जगाइदियो र मजदुर संगठनमा आबद्ध पनि भएँ ।
० तपाई भारतीय कम्युनिस्ट पार्टीमा पनि आबद्ध हुनु भयो कि ?
–मैले भाकपा (मार्क्सवादी) को ट्रेड युनियनमा सक्रियतापूर्वक काम गरेपछि उनीहरुले मलाई सन् २००१ मा पार्टीको उम्मेदवार फारम भराए र २००२ तिर पार्टी सदस्यता पनि दिए । मैले त्यो पार्टीमा हिमाचलको राज्य समितिसम्म रहेर काम गरेँ ।
अमेरिकाले इराकमाथि आक्रमण गर्दा हामीले हिमाचलमा जुलुस गरेका थियौं । भारतमा त्यहाँ सरकारले जारी गरेको जि.एल.पि. (विश्व व्यापीकरण, उदारीकरण र निजीकरण) का विरुद्ध संघर्ष गरेका थियौं । हिमाचलको राजधानी सिमलामा र भारतको केन्द्रीय राजधानी दिल्लीको जन्तरमन्तर भन्ने ठाउँसम्म आएर जि.एल.पी. का विरुद्धमा जुलुश तथा विरोध प्रदर्शन गरेका थियौं । हिमाचलमा रहँदा नै भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) को संगत र प्रशिक्षणले ममा राजनीतिक चेतना र वर्गीय चेतनाको पनि विकास भएको थियो भन्ने मैले ठान्दछु ।
० एकता समाजमा कहिले कसरी आबद्ध हुनु भयो ?
– एउटा अनौठो संयोगको कुरा छ ।म यता भाकपा (मार्क्सवादी) को ट्रेड युनियनमा काम गरेकाले राजनीति प्रति चासो थियो नै । एक दिन कुन मजदुर साथीले मेरो कोठाको टेबुलमा अखिल भारत नेपाली एकता समाजको विधान राखेर छोडेको रहेछ । त्यो संक्षिप्त थियो । मैले खडा खडा नै एकै चोटी पढेर सिध्याएँ । यो संगठन कहाँ छ भनेर सोधें । एकजना साथीले हामी बस्ने सोल्डिङ भन्ने ठाउँबाट करिब ४ कि.मी. पर भावनगर भन्ने ठाउँमा एकता समाजको संगठन छ भनेर बताए । हामी चार जना साथी भावनगर गयौं र दैलेखका राजबहादुर शाहीलाई भेट ग¥यौँ । त्यतिबेला राजबहादुर भावनगरमा एकता समाजको सभापति हुनुहुन्थ्यो । उहाँसित एकता समाजको सदस्यता लियौं र सोल्डिङमा हामीले अभानेएसको एरिया समिति गठन ग¥यौँ । म त्यसमा आबद्ध भएँ ।
“दुई हजार दुई फेब्रुअरी महिनामा, बाह्रदेखि तेह्र गते सम्मन । हैदरवादको ठाउँ, अखिल भारतको सम्मेलनमा जाउँ ।”
भन्ने बोलको गीत नै बनाएका थियौं । गीत अनुसार नै हामी हिमाचलबाट करिब १५ जना हैदरावादको अभानेएसको पाँचौं अखिल भारत सम्मेलनमा पुगेका थियौं । दिल्लीको २००५ मा सम्पन्न छैठौं अखिल भारत सम्मेलनबाट म केन्द्रीय सल्लाहकार भएको थिएँ ।
राजाले निरंकुशतन्त्र थोपरेपछि भारतमा हामीले विभिन्न विरोधका कार्यक्रम पनि संचालन गरेका थियौं । ती कार्यक्रमहरु मा सहभागी भयौं । भारतस्थित नेपाली मजदुर साथीहरुका बीचमा एकता समाजलाई विस्तार गर्ने काम ग¥यौं ।

० तपाई सिक्किममा पनि मजदुरीको काम गर्नु भयो । सिक्किमको अनुभव के छ ?
–उत्तर सिक्किममा टिष्टा ३ को हाइड्रोपावरको काम चलिरहेको थियो । सन् २००७ बाट २०११ सम्म म त्यो हाइड्रोपावरको काममा रहें । त्यहाँ भरत शाहीको ठेक्का थियो । म उहाँसँगै काम गरेर बसें तर सांगठनिक काममा सक्रिय हुन सकिएन । त्यो प्रोजेक्ट एकान्त ठाउँमा पनि थियो । हिमाचलमा जस्तो भाकपा (मार्क्सवादी) को प्रभाव थिएन ।

० नेकपा (मसाल) सित तपाई कहाँ कसरी जोडिनु भयो ?
–म हिमाचल प्रदेशमा एकता समाजमा काम गर्दाखेरी २००२ तिर नेकपा (मसाल) सित जोडिएँ । मित्रलाल शर्मा भारत शाखाको सेक्रेटरी हुँदा पार्टी सदस्य भएँ । २०११ मा नेपाल फर्किएर पार्टी सम्पर्कमा आउन साथीहरुलाई खोजें । पूर्वी नेपालमा सुरेन्द्र भण्डारी र योगेन्द्र ढकालहरुसित सम्पर्कमा आएँ । पहिलो चोटी हरिकान्त शर्मा, योगेन्द्र ढकाल, पुरुषोत्तम काफ्ले मेरो घर आउनु भएको थियो । त्यसरी पार्टीमा निरन्तरता दिइयो ।

० मसालमा आएको विभाजनलाई कसरी हेर्नु हुन्छ ?
–नेकपा (मसाल) को बहुमत पक्षका नेतृत्व पंक्ति प्रतिक्रियावादी सत्ता प्रति लिप्त भएको, आर्थिक पारदिर्शता नभएको, भारतलाई अवस्तुवादी ढंगले साम्राज्यवाद भनेको, पार्टीको आन्तरिक जनवादलाई दबाएको, अनुशासनको नाममा केन्द्रीयता थोपर्ने कुराले मलाई बहुमत पक्ष सही नलागेको र सिद्धान्ततः अल्पमत ठीक लागेर नेकपा (मशाल) तर्फ आबद्ध भएँ ।

० तपाई नेपाल फर्किए पछि व्यवसायिक कृषिमा क्रियाशील हुनुहुन्छ । कृषि क्षेत्रको अनुभव के छ ? समस्याहरु के छन् ?
– जसरी राजनीतिलाई सही दिशामा लैजान सही राजनीतिको आवश्यकता पर्दछ । ठीक त्यसैगरी स्वस्थ जीवनका लागि स्वस्थ खाद्यको आवश्यकता पर्दछ । आफैले उत्पादन गरेपछि स्वस्थ खाना मिल्छ । स्वास्थ्य ठीक भयो भने चेतना पनि सही हुन्छ । मान्छेले सही किसिमले सोच्न सक्दछ ।
नेपालमा कृषिका लागि उपयुक्त वातावरण छ । एक, त्यो उपयुक्त वातावरणलाई उपयोग गर्नुपर्दछ भन्ने सोंचाई ममा आयो । दुई, हामी उत्पादनसित जोडिनै पर्दछ भन्ने पनि मलाई लाग्यो । त्यसकारण म व्यवसायिक कृषिको क्षेत्रमा प्रवेश गरेको हुँ । अहिले मैले उत्पादनसँग जोडिदा उपयुक्त क्षेत्र कृषिलाई देखें ।
नेपालमा कृषि क्षेत्रमा थुप्रै समस्या र चुनौतीहरु छन् । नेपालमा कृषि क्षेत्रको अनुसन्धान अत्यन्त कम छ । अनुसन्धान नभइकन गुणस्तरीय विउ उत्पादन हुँदैन । कृषि क्षेत्रमा उपयोग हुने उपकरण, जैविक तत्वको विकास हुन सकिरहेको छैन । ती कुराहरुमा सरकारको लगानी अत्यन्त न्यून छ । त्यसकारण कृषि क्षेत्रमा अनुसन्धानका लागि सरकारले लगानी बढाउनु पर्दछ । कृषि उत्पादनबाट विदेशी आयातलाई घटाउन सक्दा देश आत्मनिर्भर बन्दै जाने हो । तर दुःखको कुरा नेपाल कृषि प्रधान देश भनिए पनि ठूलो पैमानामा विदेशी खाद्य आयात गर्न देश बाध्य छ ।

० कृषि क्षेत्रमा के के काम गर्नु भएको छ ?
–मेरो परिवारले तरकारी उत्पादन र बाख्रा पालनमा विशेष ध्यान दिएको छ ।

० सरकारबाट पनि केही अनुदान प्राप्त गर्नु भएको छ कि ?
–स्थानीय सरकारबाट केही कृषि औजार र विउ आदिमा सामान्य सहयोग प्राप्त भएको छ ।

० देशको राजनीतिक परिस्थितिलाई कसरी बुझ्नु भएको छ ?
– देशको राजनीतिक परिवेश भ्रष्ट छ । भ्रष्टाचारमा नेता र कर्मचारीहरु चुर्लुम्म डुबेका छन् । पार्टीहरु बदनामित भएका छन् । आफ्नै पार्टीभित्र पनि पैसाको मुठो बुझाउनेले मात्र टिकट पाउँदछ । यो व्यवस्थाकै विकल्प तयार नहुँदासम्म यी पार्टीहरुले देशको अवस्था सुधार गर्लान् भन्ने मलाई लाग्दैन ।
विदेशीहरु सितको कुटनीति पनि विफल छ । आन्तरिक सुरक्षा कमजोर छ । भू–राजनीतिक दृष्टिकोणले हामी अत्यन्त संवेदनशील ठाउँमा छ । देशको सेनालाई नै घटाउनु पर्दछ भन्ने विचार राख्ने पार्टीहरु पनि छन् । राष्ट्रियता अत्यन्त संकटमा छ ।

० अहिलेको नेपालको कम्युनिस्ट आन्दोलनलाई कसरी बुझ्नु हुन्छ ?
– अहिले नेपालको कम्युनिस्ट आन्दोलनको अवस्था दयनीय अवस्थामा पुगेको छ । सत्तामा गएका एमाले, माओवादी केन्द्र जस्ता पार्टीहरुले गरेका भ्रष्टाचार, कुशासन आदिका कारण “कम्युनिस्ट” भन्ने शब्दलाई बदनाम गरिएको छ । तिनीहरुका कारणले जनतामा कम्युनिस्ट शब्दप्रति वितृष्णा उत्पन्न भएको छ ।

० कम्युनिस्ट आन्दोलनलाई ठीक ढंगले अगाडि बढाउन के गर्नु पर्दछ ?
–कम्युनिस्ट आन्दोलनको सही विचारलाई बचाउन जरुरी छ । परिस्थितिको ठीक आँकलन गरेर योजनाहरु बनाउँदै अगाडि बढ्नु पर्दछ । राष्ट्रिय सरोकारका मुद्दाहरुमा बोल्नु पर्दछ । आम जनताका समस्याहरुलाई उठान गर्नुपर्दछ ।

० संगठनमा काम गर्दाको कुनै उत्साहजनक क्षण ?
– म २००४ सालतिर हिमाचलको कुल्लु मनालुमा एकता समाजमा काम गर्दा पुजा गिती नाटक प्रदर्शन गरिएको थियो । नेपालीहरुका बीचमा त्यो नाटक निकै लोकप्रिय भएको थियो । सबै खालका नेपालीहरुको उपस्थिति थियो । हल खचाखच भरिएको थियो । त्यो मेरो जीवनको संगठनमा काम गर्दाको उत्साहजनक क्षण थियो ।

० संगठनमा काम गर्दाको नरमाइलो क्षण ?
–म कुल्लु हिमाचलमा रहेकै बेला कुल्लुको गड्सा भन्ने ठाउँमा बाढी आएर पूरै मजदुरहरुको क्याम्प बगायो । धेरै मजदुरहरु मरे । नेपाली मजदुरहरु पनि धेरै मरे । एकता समाजले स्थानीय प्रशासन सँग मिलेर राहत र उद्धार कार्यमा भूमिका खेलेको थियो । त्यो मेरो सांगठनिक जीवनको नरमाइलो क्षण हो ।

० हाँक साप्ताहिक मार्फत् केही भन्नु छ कि ?
– हाँक साप्ताहिक लामो इतिहास बोकेको पत्रिका हो । यो देश र जनताको पक्षमा लगातार सही विचार र सूचना प्रवाह गर्दै आएको पत्रिका हो । आगामी दिनमा पनि यस पत्रिकाले आफ्नो दायित्व पूरा गर्न सफल होस् भन्ने शुभकामना व्यक्त गर्न चाहान्छु ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित