राजेश्वरी सुवेदी
प्रवक्ता, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल
० फागुन २१ को निर्वाचनलाई यहाँको पार्टीले बहिस्कार गर्ने निर्णय गरेको छ ,निर्वाचन बहिस्कारको औचित्यता कसरी पुष्टि गर्नु हुन्छ ?
–फागुन २१ को निर्वाचन प्रचारप्रसार सँगसँगै त्यस निर्वाचनलाई बहिस्कार गर्ने कार्यक्रम पनि अगाडि बढ्दै छ । पहिलो कुरा त यो नियमित निर्वाचन होइन । २०८४ मा हुनु पर्ने निर्वाचन जेनजी विद्रोहका कारण करिब २ वर्ष अगावै गरिँदैछ । हरेक विद्रोहका पछाडि असन्तुष्टि, समस्या र विकल्पको खोजी भइरहेको हुन्छ । के कति कारणले जेनजी विद्रोह भयो ? यो व्यवस्थाले जनतालाई किन यति धेरै असन्तुष्ट बनायो ? व्यवस्थाले सिर्जना गरेका समस्याहरु के के हुन्? समस्या समाधानको उपाय र विकल्प के हुन सक्छ? यी अहम प्रश्नहरुमाथि छलफल नगरिकन केही व्यक्तिहरुलाई मन्त्री बनाउने केही व्यक्तिलाई सरकारमा लैजाने काम गरियो । जेनजी विद्रोह, केवल केही व्यक्तिलाई मन्त्री बनाउन केहीलाई सरकारमा जानकालागि गरिएको विद्रोह थिएन । विना कुनै छलफल कसैबाट निर्देशित भएर बनाएको सरकारले सम्पन्न गर्ने निर्वाचनले देश र जनताको समस्या समाधान गर्ने वाला छैन । समस्या यहाँ व्यवस्थाको छ । कुनै एक व्यक्तिलाई अगाडि सारेर समस्या समाधान हुन्छ भन्ने कुरा गलत हो । ती तमाम समस्याहरुलाई कुनै व्यक्तिलाई अगाडि सारेर समाधान हुने वाला छैन । तसर्थ हामीले निर्वाचन बहिस्कार गर्ने निर्णय गरेका छौं ।
० सरकार र कतिपय संसदवादी पार्टीहरुले देशलाई संविधानको लयमा फर्काउनकालागि चुनावमा जानु बाहेक अरु कुनै उपाय थिएन भनिरहेका छन् त ?
– यो देशमा संसदवादी पार्टीहरु मात्रै छैनन् । यहाँ यो दलाल संसदीय व्यवस्थाको विकल्पकालागि लडिरहेका प्रगतिशील तथा क्रान्तिकारी शक्तिहरु पनि छन् । यो देशमा देशभत्त राष्ट्रवादी शक्तिहरु पनि छन् । संसदवादी पार्टीहरु ,क्रान्तिकारी शक्तिहरु, सबैको बीचमा सर्वपक्षीय छलफल हुनु पथ्र्यो । त्यस्तो कुनै छलफल नगरिकन विदेशी शक्तिकेन्द्रहरुले रुचाएको मानिसलाई , साम्राज्यवादी दातृ निकायहरुले दिएको सहयोगका भरमा प्रोजेक्ट चलाएका व्यक्तिहरुलाई पार्टी विरोधी व्यक्तिहरुलाई सरकारमा ल्याएर,त्यस किसिमको सरकारले चुनाव गरेर देश र जनताको समस्याको समाधान हुने देखिँदैन ।
० तर प्रधानमन्त्री शुशीला कार्कीले त राजनैतिक दलहरु र जेनजी विद्रोहीहरुको सल्लाहले नै आफ्नो नेतृत्वमा सरकार बनेको भनिरहेकी छन् नि ?
–उनको त्यस भनाइमा सत्यता छैन । राजनैतिक दलहरुको सल्लाहले नै सरकार बनेको हो भन्ने कुरा त कतिपय संसदवादी पार्टीहरुले अस्वीकार गरिरहेका छन् ,विरोध गरिरहेका छन् । कार्की नेतृत्वको सरकारमा आएका व्यक्तिहरु चुनावकोलागि मन्त्री बनेको जस्तो देखिन्छ ।
सरकारमा आएर केही दिन लोकप्रिय हुने र त्यस लोकप्रियताको आधारमा चुनाव लड्ने गरी मन्त्री भएको जस्तो देखिन्छ । चुनाव गराउने जिम्मा लिएर सरकारमा गएका मन्त्रीहरु चुनाव लड्न भागदौड गरेको देखियो । त्यसले गर्दा यो कुनै परिपक्व तरिकाले सरकार बनाइएको थिएन भन्ने प्रष्टै छ ।
० जतिसुकै यो सरकारको विरोध गरे पनि, निर्वाचन बहिस्कारका जस्तासुकै कार्यक्रम बनाए पनि अन्ततःचुनाव हुने हो र देश अगाडि बढ्ने हो । त्यसकारण निर्वाचन बहिस्कार कार्यक्रमको कुनै अर्थ छैन भनिरहेका छन् त ?
–कुनै पनि संघर्षको कार्यक्रमको अहिले नै सबै परिणाम आउँछ भन्ने होइन,हरेक संघर्षको आफ्नै सैद्धान्तिक महत्व हुन्छ ,हरेक संघर्षको ऐतिहासिक महत्व हुन्छ । सुगौली सन्धिको विरोध हुँदै आएको छ । १९५०को असमान सन्धिको वर्षौंदेखि विरोध हुँदै आएको छ, के त्यसको महत्व छैन ? नेपालमा यो सत्ता र व्यवस्था भन्दा बाहिरबाट देश र जनताको विकल्प खोज्ने क्रान्तिकारी शक्तिहरु पनि छन् । उनीहरुले यो सत्ता र व्यवस्थाको विरोध गरिरहेका छन् । हामीले आफ्नै प्रकारको समाजवादी अर्थतन्त्र र समाजवादी मोडेलको खाका तयार पारेका छौं । त्यसलाई जनताकोबीचमा लगेर प्रचार गरिरहेका छौं ।संसदवादीहरुकालागि चुनाव बहिस्कार गर्नु अर्थहीन हुन सक्ला तर हामीले चुनाव बहिस्कार गर्नुको अर्थ केवल बहिस्कारको कुरा मात्र हैन । दलाल संसदीय व्यवस्थाको विरुद्ध लामो संघर्षको एउटा पक्ष हो । झिल्को सानो हुन्छ तर झिल्को सानो हुँदैमा त्यसको महत्व कम हुँदैन ।
० फागुन २१ को निर्वाचन बहिस्कारकोलागि संयुक्त संघर्ष समिति पनि बनाउनु भएको छ । संयुक्त संघर्ष समितिका आगामी कार्यक्रमहरु के के छन् ?
– निर्वाचन बहिस्कार सम्बन्धी पहिलो चरणका कार्यक्रम हामीले सम्पन्न गरिसकेका छौं । काठमाण्डौ उपत्यका बन्द,गोष्ठी,मशाल जुलुश, सभा,कोणसभा, पर्चा वितरण लगायतका कार्यक्रमहरु पहिलो चरणमा सम्पन्न भएका छन् । संयुक्त संघर्ष समितिको तर्फबाट दोस्रो चरणको कार्यक्रम पनि घोषणा भएको छ । यस चरणको कार्यक्रममा पनि प्रत्यक्ष जनताका बीचमा गएर आफ्ना विचारहरु राख्ने र फागुन २१ को निर्वाचनलाई अस्वीकार गर्न जनतालाई अपील गर्ने खालका कार्यक्रमहरु छन् । जतालाई सचेत गराएर बहिस्कार आन्दोलनलाई व्यापक र प्रभावकारी बनाउने हाम्रो सोचाइ छ । दोस्रो चरणको कार्यक्रम माघ २० देखि फागुन ३ सम्मको हुनेछ । दोस्रो चरणको मूर्त योजना स्थानीय संघर्ष समितिले बनाउने छ ।
निर्वाचन बहिस्कारको आन्दोलन व्यवस्था परिवर्तनको आन्दोलनसँग जोडेर लैजानु पर्ने आवश्यकता छ । अहिलेको राजनीतिक परिस्थिति हेर्दा देशलाई अग्रगमनतिर लैजानु पर्नेमा राजनीतिक परिस्थिति नै पश्चगमनतिर गइरहेको अवस्था छ । पुराना संसदवादी पार्टीहरुले राष्ट्रघात, जनघात गरिरहेकै थिए । नयाँ भनिएका पार्टीहरुले पनि वैदेशिक हस्तक्षेप र विदेशी सहारामा सत्तामा जान चाहेको देखियो ।नयाँ भनिएका पार्टीहरुले पनि राष्ट्रिय स्वाधीनताको मुद्दा ,वैदेशिक हस्तक्षेपको मुद्दा, नेपाललाई आत्म निर्भर बनाउने मुद्दा ,पिछडिएका जाति समुदायका मुद्दा, एल.जि.बि.टी क्यू.आइ.प्लशका मुद्दा उठाएको पाइएको छैन । यी सबै कुराहरुलाई लिएर बहिस्कार आन्दोलनलाई हामीले अगाडि बढाइरहेका छौं ।
० बहिस्कार कार्यक्रमको प्रचारप्रसार कसरी गर्दै हुनुहुन्छ ?
–आजको युग विज्ञान र प्रविधिको समय भएकोले डिजिटल्ली नै करोडौं जनताकोबीचमा हाम्रा विचारहरुलाई पु¥याउने कार्यक्रम बनाएका छौं । प्रचार–प्रसार, गोष्ठीका कार्यक्रमहरु हुने नै छन् ।
० शान्तिपूर्ण तरिकाले बहिस्कार आन्दोलनमा लागेका राजनैतिक दलका प्रतिनिधिहरुमाथि सरकारले दमन बढाउँदै लगेको देखिन्छ यसबारे यहाँको भनाइ?
– दलाल संसदीय व्यवस्था दमनकारी व्यवस्था हो भन्ने कुरा उसले आफ्नो व्यवहारबाट पुष्टि गर्दैछ । सरकारको दमन, विरोध, धरपकडबाट हामी डराउँदैनौं । हामीले हाम्रो कार्यक्रमलाई निरन्तर अगाडि बढाउँछौं । हामीले खुलेआम भनिरहेका छौं कि यो व्यवस्था हाम्रो व्यवस्था होइन । हामी यो व्यवस्थालाई बदलेर अर्को नयाँ व्यवस्था स्थापना गर्न चाहन्छौं ।
प्रतिक्रियावादी सत्ता कसरी आउँछ त्यसलाई हामीले हेरिरहेका छौं । प्रतिक्रियावादी सत्ताको दमनका विरुद्ध हामी पनि आफ्नै ढंगले अगाडि बढ्छौं । एमसीसीका मतियारहरु,राष्ट्रघातीहरु, जनताका ठगहरु नै फेरि पनि सत्तामा आउने सम्भावना छ । त्यसैले सुविचारित ढंगले क्रान्तिकारीहरुले संघर्षलाई अगाडि बढाउनु पर्ने देखिन्छ । हर्क साङपाङ जे भए पनि उनले यो सरकार र उनका आसेपासेहरुलाई विदेशी शक्तिका दलाल भने नि ! अहिलेको चुनावमा जो व्यक्ति महिला अधिकारको पक्षमा कहिल्यै बोलेन ऊ व्यक्ति नै समानुपातिकबाट महिला कोटामा उम्मेदवार बन्दैछ । जो व्यक्ति दलित अधिकारको विरोधी हो वा उसले कहिल्यै दलित अधिकारको पक्षमा बोलेन त्यस्ता व्यक्तिहरु दलित कोटाबाट उम्मेदवार बन्दैछन् । अनि कसरी यिनले पिछडिएका जनता र समुदायको पक्षमा काम गर्छन्?
० तपाइँहरुले यो व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादको पैरवी गरिरहनु भएको छ ,संक्षिप्तमा वैज्ञानिक समाजवादको विशेषता के हुनेछ ?
– एक –निजी सम्पत्तिको उन्मूलन गर्ने काम हुनेछ । दुःख र सुखलाई समुह मै बाँडिने छ । दुई – पितृसत्तात्मक उत्पीडनबाट महिलाहरु प्रताडित छन् ।महिलाहरुका समस्यालाई वर्गीय समस्या समाधानसँगै हल गरिने छ । तीन –आजको युग विज्ञान र प्रविधिको युग हो । मुख्य उत्पादन शक्ति विज्ञान र प्रविधिलाई मानेर त्यसलाई भरपुर उपयोग गरिने छ । जस्तैःराज्यले ने हरेक घर घरमा वासिङ मेशिनको व्यवस्था गरिदिने हो भने महिलाहरुले कपडा धुन खर्च गर्ने समय र परिश्रमलाई अर्को सिर्जनात्मक कार्यमा लगाउन सक्नेछन् ।चार–दलित र उत्पीडित समुदाय ,आदिवासी,मधेशी समुदाय माथिको शोषण अन्त्य गरिनेछ । जात व्यवस्था उन्मूलनमा ध्यान दिइने छ ,उत्पीडित समुदायहरुको बाहुल्यता हुने गरी प्रदेशको विभाजन गरिने छ ।
० तपाइँहरुले आफुलाई क्रान्तिकारी धाराको पार्टी भन्नु हुन्छ तपाइँको पार्टी र अन्य क्रान्तिकारी पार्टीहरुका कार्यकर्ताहरु त पार्टी छाडेर अन्य पार्टीमाप्रवेश गरी चुनाव प्रचारप्रसारमा लागेका देखिन्छन् नि ?
–कुनै व्यक्रि संघर्षबाट विक्षिप्त भएर चुनावतिर लाग्न सक्छन् ,त्यस्तो त भइरहन्छ । आफैले बनाएको कार्यदिशाप्रति आफैलाई विश्वास नभएपछि त्यसको त समस्या समाधानको उपाय हुँदैन ।
० निर्वाचन बहिस्कार सम्बन्धी ६ दलको मोर्चा भन्नुहुन्थ्यो, अहिले पाँच दलमात्रै देखिन्छ किन हो ?
–समाजवादी कम्युनिष्ट पार्टी नेपालका साथीहरु शुरुमा हामी पनि बहिस्कारमा जान्छौं भनेर बैठकमा आउनु भयो तर घोषणा सभामा मन्तव्य दिन पनि आउनु भएन ।अहिले नआउने रे भन्ने सुनिन्छ ,खै कुन्नि किन आउनु भएन हामीलाई थाहा भएन । तर हाम्रो संयुक्त आन्दोलन अगाडि बढ्छ ।
०हाँक साप्ताहिक मार्फत थप भन्नु केही छ कि ?
–प्रथम –युवा पुस्ताहरुमा छिटो छिटो निराशा र उत्साह देखिएका छन् । हरेक वर्तमान इतिहासको जगमा उभिएको हुन्छ । वर्तमानको संघर्ष ले नै भविष्यको निर्माण गर्ने हो । यस्ता कुराप्रति युवाहरुको निकै कम ध्यान गएको देखिन्छ । यस्तो किन भइरहेको छ हामीले गहिरोसँग अध्ययन गर्नु पर्छ । दोस्रो– नयाँ राजनीतिको नाममा लहडको पछि दौडिने चलन बढेको छ । त्यसप्रति सतर्क हुन जरुरी छ । तेस्रो –पुराना दलभित्र देखा परेका अवसरवाद र जनविरोधी चरित्रलाई पर्दापास गर्नु पर्छ । नयाँ दलका नाममा देखा परेका सिद्धान्तहीन गतिविधिलाई पनि पर्दाफास गर्नु पर्दछ । चार– नेपाली समाजको समस्या समाधान गर्न सर्वप्रथम नेपाली समाजकै गहिरो अध्ययन हुनु पर्दछ ।

