क्रान्तिकारी योद्वाहरूले गलत नीतिसित सम्झौता गरेनन्

– धिर्गबहादुर तिरुवा , समाजसेवी
धिर्गबहादुर तिरुवा स्थायी घर बझाङ जिल्ला जुजि नगरपालिका दुर्गाथली गाउँपालिका वडा नम्बर १ पर्दछ । उहाँकोे जन्म २००८ पौस महिनामा भएको हो । उहाँले लामो समयदेखि एकता समाजमा आवद्ध रही काम गर्दै आउनु भएको छ । हाल उहाँ प्रवासमा रही समाजसेवामा सक्रिय हुनुहुन्छ । उहाँसंग हाँक साप्ताहिकका वेङ्लोर संवाददाता करण दयालले २०८० फागुन १८ गते गर्नुभएको कुराकानीको अंशहरुः

० तपाईंको बाल्यकाल कसरी बित्यो कति वर्षको उमेरमा परदेशिनु भयो ?
–धन्यवाद , मेरो जीवनमा घटेका घटनाहरू सम्बन्धी बुँदागत रूपमा दिन सकिन्न । बुँदागत रूपमा गए ठूलै किताब बन्नसक्छ । त्यसबेलाको समस्याको वर्णन गर्नु भनेको कुनै चानचुने कुरा होइन, त्यसबेलाको कुरा लिएर आजभोलिका नयाँ पिंढीहरूसँग कुरा साझा ग¥यौ भने हाँस्ने गर्छन । किन भने बुवाले त्यतिकै हाँसो गरेका हुनकि भन्ने लाग्छ । मैले आफुले झेल्नुपरेको समस्याहरू अहिले पनि आँखामा झल्किरहेको हुन्छ । आफू जातीय रूपमा दलित भएका कारण दलित माथि छुवाछूतको विषयमा बोल्दा त्यसबेला पञ्चायती सामन्तवादीहरूको बोलवाला थियो। मुखले बोलेका शब्दहरू नियम कानुन हुने गर्दथ्यो । उनीहरूले बोलेका शब्दहरू निर्देशनको रूपमा मान्नुपर्ने बाध्यता थियो । दलितहरूले मन्दिर बनाउने मन्दिरमा चाहिने जतिका गर गहना बनाउनु पर्ने, मन्दिरमा गइसकेपछि ती गरगहनाहरूलाई छुन नहुने दलितको सीप चल्ने, श्रम चल्ने अनि महिला पनि चल्ने, तर अछुत भनेर अमानवीय व्यवहार भोग्नु पर्ने सिथति थियो । मानव भएर पशुको जस्तो जीवन धान्न पर्ने दलितमाथि अन्याय, अत्याचार भइरहुनु पर्ने, दलितले सजाय भोगिरहनु पर्ने, यस्ता विकृति दलितले खेप्नुपर्ने स्थिति थियो । यस्ता दुःख कष्टका कालखण्ड झेलेर जीवन निर्वाह गरेको व्यक्ति हो। उपल्लो जातिहरूले भनेका कामहरू बिना शर्त मान्नु पर्ने, बिना ज्यालामा काम गराए पनि गर्नुपर्ने, दलितहरूसँग नामको अगाडि डुम लगाउने, फलानो डुम भन्ने चलनलाई सहर्ष स्वीकार्नु पर्ने, दलितहरूको बाध्यता थियो । घर अगाडि पटकानमा पनि सोधेरै जानुपर्ने बाध्यता हुन्थ्यो । त्यसबेलाको त्यो कठिन अवस्थाले मेरो १३ वर्षको उमेरमै परदेशी जीवन भयो ।
० तपाईंलाई एकता समाजको सदस्य कसले दिएको थियो ?
–राम्रो प्रश्न गर्नु भयो मलाई १९९५ मा जातीय समता समाजको सदस्यता चन्द्रबहादुर वि.क., दशरथ वि.क., मानसिंह विकले दिनु भएको थियो । उनीहरूले एकता समाजबारे स्पस्ट रूपमा जानकारी गर्नुभयो । हामी पनि एकता समाजका सदस्य भयौं ।
० भारतमा बसेर नेपालमा कसरी परिवर्तन गर्न सम्भव छ भन्ने लागेन ?
–१३ वर्षमै परदेशी जीवन घरको गरिबी त छँदै थियो । त्यो भन्दा जटिल समस्या भनेको छुवाछूत प्रथा थियो । दलितहरूको लागि त्यो मैले माथि नै बताईसकेको छु । कुरा रह्यो एकता समाजको, मैले एकता समाजमा प्रवेश गर्दा जातीय समता समाजको समता सन्देश, एकता समाजको बुलेटिन भन्ने पत्रिका पढ्ने गर्दथ्यौं । त्यो पत्रिका र बुकहरूमा आफ्नो देशको क्रान्ति गर्न अर्काको देशमा अध्ययन र अभ्यास गर्नुपर्ने थुप्रै देशका गतिविधि पढेका थियौ । त्यसैले परिवर्तन सम्भव छ भन्ने आत्मविश्वासका साथ जातीय समता समाजको सदस्य भएर संगठनको जिम्मेवारीमा रहेर काम गरें । एकता समाजमा हामी दुइटै श्रीमान श्रीमतीले काम गरेकै थियौं । छोरा छोरीहरूलाई साँस्कृतिक कलाकारमा समावेश गरायौं । कलाकारतर्फ एक छोरा, तीन छोरीहरू साँस्कृतिक कला क्षेत्रमा थिए।हामीले एकता समाजको कामलाई आफ्नो काम हो भन्ने जिम्मेवारीका साथ काम गरेका थियौ।अखिल भारत नेपाली एकता समाजको पाँचौ राष्ट्रिय सम्मेलन हैदराबादमा भएको थियो त्यो सम्मेलनले झन एकता समाजप्रति विश्वास भयो ।
हामी पुरै परिवार सम्मेलनमा गएका थियौं । देशलाई परिवर्तन गर्न हाम्रो संगठनले गर्न सक्छ भनेर मनमा ठान्यांै । त्यसपछि नेकपा (मसाल) ले भारतभरिका जनवर्गीय संगठन माइनस गरेर एकता समाज मात्र राख्यो । त्यसले समाजको गतिविधिमा केही कमजोरी देखिन लाग्यो । खासै ठूलो असर त परेन । तर पनि केही कमजोरी देखियो । मेरो आफ्नो परिस्थितिले गर्दा म पछाडि परे मेरो श्रीमती ज्ञानमति वि.क.छोराछोरीहरूले संगठनमा निरन्तरता दिए । मैले मेरो घर चलाए । छोराछोरीले काम गर्दै गए साथ साथै छोराछोरीको विवाह भयो । विवाह भइसकेपछि संगठनमा नैतिक समर्थन मात्र गरेका छन् । मेरो म्याडम अहिले पनि सक्रिय रहेर काम गरीरहेकी छन् ।
०एकता समाजमा विभाजन आएको छ यसको असर कस्तो परेको छ ?
–एकता समाजमा विभाजन आएको छ । तर एकता समाजमा फुटको कारण भनेको लालची मनसायले भएको हो भन्नू गलत हुने छैन । किनभने एकता समाज भारतमा कार्यरत नेपाली मजदुरहरूको हक हितको लागि मात्रै कार्यरत रहेको संगठन होइन । एकता समाजले त नेपालको जनतान्त्रिक वामपंथी आन्दोलनमा अग्रसर भूमिका खेल्ने, देश र जनतामा भइपरि आउने समस्यामा महत्वपूर्ण भूमिका रहने खेलेको छ । त्यसैले एकता समाजमा देखिएको दक्षिणपन्थी अवसरवादको विरूद्धमा क्रान्तिकारीहरूले क्रान्तिकारी भूमिका खेलेका थिए । त्यसैले एकता समाज फुटेको हो र नेतृत्वले कार्यनीति सिद्धान्तलाई रणनीतितिर ढाल्न थुप्रै प्रयत्न गरेका कारण क्रान्तिकारी योद्वाहरूले गलत नीतिसित सम्झौता गरेनन् । त्यसकारण एकता समाज फुटेको हो भन्ने लाग्छ । अवसरवादीहरूको पार्टीभित्र बहुमत हुने गरी घुसपैठ भयो । क्रान्तिकारीहरूलाई कारवाही गर्ने कसैलाई नेपाल सरूवा गर्ने जस्ता षड्यन्त्र गरेर भारतमा एकता समाजलाई फुटालेर एकता समाज दुई चिरामा विभाजन भयो । बेंगलोरको हकमा नाम मात्रका एकाध गए होलान् । यहाँ हाम्रा नेता, कार्यकर्ता साथीहरूले अखिल भारत नेपाली एकता समाजलाई विश्वास गरेर यही एकता समाजमा नै रहेका छन् । एकता समाज पहिले भन्दा अहिले तीव्ररूपमा अगाडि बढेको छ । समाजको अविरल यात्रा गन्तव्यमा पुग्ने विश्वास हामीले गरेका छौ । एकता समाजका नेताहरु भारतस्थित नेपालीहरुको सेवामा रातदिन खटिएका छन् । हाम्रा नेताकार्यकर्ताहरू जहाँ समस्या परेको हुन्छ त्यहाँ तुरुन्तै खटिने गरेका छन् । हामीले सदस्यता दिएका साथीहरूले आज संगठनको जिम्मेवारी निभाएका छन् । सत्यको जित निश्चित हुन्छ भएको पनि छ।
० अन्तमा हाँक साप्ताहिकलाई केही भन्नहुन्छ कि ?
–म मेरो हृदयको गहिराइबाट हाँक परिवारलाई धन्यवाद दिन चहान्छु । हामी सुदुरपश्चिमका विकट जिल्लाका पीडित जनताको मर्म हाँकद्वारा पोख्न पाउँदा खुशी महशुस भएको छ यसैगरी हाँकको निरन्तरता रहोस् ।
हाँकसाप्ताहिक पत्रिका भनेको क्रान्तिकारीहरूको मार्गदर्शन पत्रिका हो । नेपालको वामपंथी आन्दोलनलाई र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई पनि टेवा पु¥याउने पत्रिकालाई रोडमा फालेर हाँक समाप्त पार्ने कोशिस भएको थियो तर हाँकको निरन्तरता कायम रहेको छ । हाँकले अवसरवादहरूसित सम्झौता होइन, संघर्ष गरेका कारण हाँकलाई विसर्जन गर्न खोजेका थिए तर हाँक झन धारिलो बन्दै गयो । हाँकले क्रान्तिकारीहरूको विचारलाई झन उर्जा थपिरहेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित