क्रिकेटप्रतिको आकर्षणलाई पूँजीका रूपमा बुझेर राज्यले प्राथमिकतामा राख्नु पर्दछ

– सरोज न्यौपाने स्ट्रगल
खेल समीक्षक
१) गत सोमबार क्रिकेट टि २० विश्वकपबाट नेपाली टोली बाहिरिएको छ । क्रिकेटबारे प्रारम्भिक कुरा बुझ्न चाहने जिज्ञासुका लागि बताई दिनुहोस कि टि २० भनेको के हो ?

– क्रिकेटको छोटो प्रारूपका रूपमा लिइने २० ओभरको खेललाई टी–२० आई क्रिकेट भनिएको हो । अत्यन्तै छोटो फर्म्याट खेलिने हुँदा चौका र छक्काको वर्षात् हुने भएकोले ५० ओभरको खेल भन्दा यो फर्म्याट बढी मनोरञ्जनात्मक हुने गर्छ ।
लामो समयसम्म कहिल्यै नटुङ्गीने खेलको रूपमा आलोचित हुन थालेपछि एक दीवसीय हुँदै २० ओभरको संस्करणमा पनि खेल्न थालियो । नयाँ ढाँचामा खेल्न थालेपछि भने अन्य देशमा समेत क्रिकेट बिस्तारित हुँदै गएको हो । यो खेल वर्तमान समयमा मुख्यतयाः पाँच दिनको टेस्ट क्रिकेट, एक दिनको एकदिवसीय अन्तर्राष्ट्रिय (वनडे क्रिकेट) र छोटो समयको २० ओभरको क्रिकेट (ट्वान्टी–२० अन्तर्राष्ट्रिय) गरी तीन प्रारूप खेल्न थालिएको छ । क्रिकेटको विकास र विस्तारका साथै लोकप्रियता बढाउन समेत टी–२० फर्म्याटले विशेष योगदान गरेको छ । खेल मैदानमा होस् या टेलिभिजन पर्दामा, दर्शकलाई आकर्षण गर्नेगरी द्रुत गतिमा खेलिने फर्म्याटलाई टी–२० क्रिकेट भनिएको हो । यो लगभग साढे दुई घण्टाको हुने गर्छ । जसमा प्रत्येक इनिङस ७० मिनेट र १० मिनेट ब्रेकगरी ८० मिनेटको हुने गर्छ । खेलाडी र समयको सुरक्षाका दृष्टिले यो फर्म्याट सफल हुँदै गएको र बढ्ता वैज्ञानिक पनि देखिन्छ ! दर्शकलाई चरम रोमाञ्चकता प्रदान गर्ने हेतुले १३ जुन सन् २००३ मा ईंग्ल्याण्डबाट आधिकारिक रूपमा २० ओभरको फर्म्याटमा टी–२० आई खेल्न थालिएको हो ।

२) अमेरिका र वेस्ट इन्डिजमा भएको क्रिकेटविश्व कपमा नेपालीको सहभागिता र प्रदर्शनबारे समीक्षा गर्नु पर्दा के भन्नू हुन्छ ?
–हजुर, नेपाली खेलाडीहरूले अपेक्षा अनुरुपकै खेल प्रदर्शन गरे भन्ने ठान्छु म । हाम्रा अनेकौं समस्याहरू छन्, सीमितताहरू छन् । बजेट, प्राथमिकता र प्रविधिका हिसाबले हाम्रा सीमाहरू थिए । तर, त्यसका बाबजुद नेपाली टिमले जुन स्तरको प्रदर्शन ग¥यो, त्यो साँच्चिकै सम्झनलायक छ । राज्यले समग्र बजेटको १ प्रतिशत पनि बजेट नछुट्याएको अवस्थामा, राज्यले प्राथमिकतामा नराखिरहेको अवस्थामा, एउटा पनि गतिलो मैदान नभईरहेको स्थितिमा र हाम्रा खेलाडीहरू फ्लड लाइटमा खेल्ने अभ्यास र अनुभव नभईरहेको स्थितिमा नेपालको प्रदर्शन साँच्चिकै उत्कृष्ट थियो । तर, मैदानको अवस्था र विश्वस्तरका खेलाडी र टिमसँगको अनुभव नभएका कारण नेपाली खेलाडीहरूले सोचेजस्तो रन बनाउन भने सकेनन ।
३) राणा प्रधानमन्त्री चन्द्र शमसेरको पालामा उनका छोरा मदन शमसेरले बेलायतमा अध्ययन गरी फर्कँदा क्रिकेटलाई नेपालमा पहिलो पटक भित्राएको भन्ने इतिहास छ । यति लामो समयसम्म नेपालमा क्रिकेट खेलको विकास हुन नसकेकै मान्नु पर्दछ, होइन र ?
–१६ औं शताब्दीको मध्यतिर इङ्ल्याण्डको कुनै गाउँमा केटाकेटीहरू खेल्दाखेल्दै क्रिकेटको सुरु भएको मान्यता छ । पछि १७ औं शताब्दीमा आइपुग्दा क्रिकेटले एउटा खेलको स्वरुप लिन सुरु गरेको थियो । इङ्ल्याण्डबाट सुरु भएको क्रिकेटमा उसको दबदबा रहने नै भयो । ब्रिटिस शासकहरू जता जता गए, क्रिकेट पनि उनीहरूसँग विस्तार हुँदै गयो । इस्ट इन्डिज कम्पनीले भारतमा शासन गरिरहेको समयमा १९ औं शताब्दीतिर ब्रिटिससँग निकट मानिएका राणाहरूले नेपालमा क्रिकेट भित्र्याएको इतिहास छ । सन् १९२० मा महाराज चन्द्र शम्शेर जबराका कान्छा सुपुत्र मदन शम्शेर जवराले नेपालमा अनौपचारिक रूपमा क्रिकेट भित्र्याएको मानिन्छ ।
क्रिकेटको विकास गर्ने उद्देश्यले वि.सं. २००३ मा क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) को स्थापना भएको हो । यसको झण्डै १२ वर्षपछि वि.सं. २०१५ मा राष्ट्रिय खेलकुद परिषद (राखेप) को स्थापना भयो र त्यसको दुई वर्षपछि क्रिकेट राष्ट्रिय खेलकुद परिषदमा समन्वयन भयो । यो सँगै स्थानीयस्तरमा क्रिकेट खेल्न थालियो, प्रतियोगिता हुन थाले ।
राजनैतिक कारण, भौतिक पुर्वाधार, यातायात, सूचना प्रविधिको समस्याका कारण नेपाली क्रिकेटको अपेक्षित विकास हुन भने सकेन । सन् ८० को दशकमा क्रिकेटप्रति आम चासो ह्वात्तै बढेर गयो । यसले सन् १९९० मा एशिया क्रिकेट काउन्सिलको एसिलिएट सदस्य बन्यो । यसको ४ वर्षपछि एसीसीको पूर्ण सदस्य नै बन्यो । दुई वर्षपछि सन् १९९६ तिर नेपाल आईसीसीको एसिलिएट सदस्यबाट एसोसिएट सदस्य बन्यो । कीर्तिपुर क्रिकेट ग्राउन्डको अहिलेको स्वरुप त्यतिबेला नै बनेको हो ।
सन् १९९६ मा नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएको थियो । नेपाली क्रिकेटको पहिलो कप्तानका रूपमा उत्तम कर्मचार्यको नेतृत्वमा एसीसी ट्रफी खेल्न मलेसिया गएको थियो । यसको २ वर्षपछि सन् १९९८ मा नेपालले आफैं एसीसी ट्रफीको आयोजना ग¥यो । त्यसपछि नै नेपालको क्रिकेट टिमको उज्ज्वल यात्रा आरम्भ भएको विश्वास गरिन्छ । नेपालले अन्तर्राष्ट्रिय स्तरमा फड्को मार्न सुरु गरेको सन्दर्भ कोट्याउँदा सन् २००१ मा आईसीसी प्रतियोगिता आईसीसी ट्रफी खेललाई लिन सकिन्छ ।
आज पनि नेपाली क्रिकेटमा आजको यो सफलता आईसीसी वर्ल्ड क्रिकेटलिग डिभिजन ५ देखिको संघर्षले जग बसालेको बुझ्न कठिन पर्दैन । त्यसपछि पनि नेपाली टिमले निरन्तर संघर्ष गर्दै आयो । सन् २०१६ अप्रिलमा क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) आईसीसीको निलम्बनमा परेपछि भने टिमले ठूलो क्षति बेहोर्नुप¥यो । समग्र क्रिकेट धर्मराउन पुग्यो । उक्त समय पनि बितेर गयो र सन् २०१८ मार्च १५ मा नेपालले एकदिवसीय मान्यता प्राप्त ग¥यो । र, त्यो मान्यता खेलाडीहरूको मेहनतले आज पनि दोहो¥याउन सफल भएका छन् । आईसीसी लिग डिभिजन २ मा दोस्रो स्थान हासिल गर्दै त्यति नै बेला नेपाल वर्ल्ड कप क्वालिफायर भएको थियो । यसरी हेर्दा, हाम्रो क्रिकेट इतिहास जति लामो छ, हाम्रा उतारचढाव त्यति नै धेरै छन् । तर, गति कम भएपनि बलियो आत्मविश्वास र संघर्षशील पृष्ठभूमिसहित नेपाल आजको समयमा आएको हो । आज नेपाली क्रिकेट हामीले गौरव गर्नसक्ने उचाइमा पुगेको छ ।

४) नेपाली खेलाडीहरूको वलिङ राम्रो भए पनि ब्याटिङ राम्रो नभएकाले नेपालले हार्नु परेको भन्ने आम बुझाईछ । त्यस बारे तपाईं के भन्नू हुन्छ ?
– यो असाध्यै पेचिलो प्रश्न हो अहिलेको । धेरैले नेपालको ब्याटिङ पक्षलाई लिएर चिन्ता गरिरहेको, कतै कतै प्रश्न गरिरहेको देखिन्छ । तर, यो प्रश्न नाजायज नै त नभनौं सान्दर्भिक भने छैन । हामीलाई थाहा छ– टी–२० फर्म्याटका खेलहरूमा २०० भन्दा माथि स्कोरहरू बन्ने र त्यसलाई प्रतिस्पर्धी टिमले सफलता पूर्वक भेटाउने गरेको अनुभव छ । हाम्रै कुरा गर्ने हो भने हामीले हङकङ विरुद्धको टी–२० खेलमा ३०० माथि रनको विशाल लक्ष्य खडा गरेका छौँ । अस्ति भर्खरै सम्पन्न इन्डियन प्रीमियर लिगमा पनि सजिलैसँग २०० रनका लक्षहरू प्रस्तुत हुने र भेटाउनेगरि नतिजा आए । तर, अमेरिकी र वेस्ट इन्डिजमा त्यस्तो देखिएन ।
अमेरिकी–क्यारीबियन पिच अधिकांश अस्थाई हुन् ! अमेरिका लामो क्रिकेट इतिहास बोकेको राष्ट्र होइन । उसले पहिलोपटक विश्वकप खेलेको हो । त्यसो हुँदा उसँग क्रिकेट संरचनाको अभाव हुने नै भयो । भलै विश्वकप आयोजनाका लागि भनेर उनीहरूले अस्थायी किसिमका स्टेडियम र मैदानहरू निर्माण गरेका थिए । र, ती मैदान ब्याटिङमैत्री नभएर बलिङमैत्री थिए । फास्ट बलर मात्रै नभएर स्पिन बलर समेतले राम्रो प्रदर्शन गर्न सक्दा ब्याट्सम्यानहरू भने चल्नै सकेनन् । स्थिति यस्तोसम्म देखियो कि विश्वकप क्रिकेटका दावेदार मानिएका टिमले समेत १०० रन वरिपरिको लक्ष्य पछ्याउन समेत हम्मेहम्मे प¥यो । साउथ अफ्रिका र बंगलादेशलाई सस्तैमा समेट्न सक्यौं । किनकि,हाम्रा बलरहरूले मैदानको फाइदा उठाउन सके । अन्यथा हामीले २०० भन्दा माथिको लक्ष्य बेहोर्नुपर्ने हुनसक्थ्यो । क्रिकेटको अन्तर्राष्ट्रिय नियामक निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले समेत मैदानको विषयलाई लिएर आयोजक राष्ट्रलाई प्रश्न गरेको छ । त्यसकारण हामीले समग्रमा ब्याटिङ पनि राम्रो गरेका छौँ । हाम्रो ब्याटिङस्तर बढेको छ । एक दुइटा खेलको नतिजालाई हेरेर हाम्रो व्याटिङ कमजोर भएको निष्कर्ष निकाल्नु अपरिपक्व हुन जान्छ ।
५) नेपाली क्रिकेटक्षेत्रको समस्याहरू के के छन् ?
–संक्षिप्तमा भन्दा क्रिकेट क्षेत्रको मुख्य समस्या राज्यले क्रिकेटलाई हेर्ने दृष्टिकोण नै हो । राज्यले क्रिकेटलाई बजेट र नीति तथा कार्यक्रम मार्फत प्राथमिकता दिन सकेको छैन । यसले पुर्वाधार निर्माणमा प्रगति हुन सकिरहेको छैन । खेलाडीहरूको सेवा सुविधादेखि गतिलो मैदान समेत छैन । स्रोत साधनमा सीमितताहरू छन् । अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धा गर्न सक्नेगरी अभ्यास पुगिरहेको छैन । घरेलु लिगहरू नगण्य हुन्छन् । राज्यको नीतिका कारण अरू क्षेत्रलाई पनि क्रिकेटमा लगानी गर्न निरुत्साहित गरेको छ । त्यसकारण राज्यले आफ्नो दृष्टिकोण बदल्नुपर्छ । १ प्रतिशत पनि बजेट छुट्याउन धौधौ मान्ने सरकारले समेक्षा हुनु पर्दछ । ।
६) क्रिकेट क्षेत्रका समस्या समाधान गर्न र क्रिकेटलाई अरू उच्चस्तरमा विकास गर्न कुन कुन पक्षले के के भूमिका खेल्नु पर्दछ ?
–नेपाली क्रिकेटको भविष्य प्रष्ट छ, उज्ज्वल छ । हाम्रो क्रिकेट फ्यान आधार धेरै नै ठूलो र उत्साही छ । नयाँ पुस्तामा क्रिकेटप्रति लोभलाग्दो आकर्षण र चासो छ ।

नेपालको ग्रासरुट क्रिकेटको विकास नै नेपाली क्रीकेटको विकास हो । त्यसकारण जिल्ला र प्रदेश तहबाट खेलाडीहरू पहिचान गर्ने र विभिन्न तहका टिममा जोड्ने कुरा महत्त्वपूर्ण हुन्छ । टिमको भविष्यको सफलता पनि हाम्रा नयाँ खेलाडीमा निर्भर छ । क्रिकेटप्रतिको आकर्षण र चासोलाई पूँजीका रूपमा बुझेर राज्यले प्राथमिकताका साथ काम गर्नसके हामीले धेरै राम्रो गर्न सक्छौं । मुख्य सरकारी तहको प्राथमिकता नै हो । यसले पुर्वाधार निर्माण, घरेलु लिग र खेलाडीको सेवासुविधामा सहयोग पुग्छ । मुख्य विषय बजेट हो, यसमा राज्यले अब कन्जुस्याइँ गर्नुहुन्न । क्यानलाई राजनैतिक हस्तक्षेपबाट टाढै राख्नुपर्छ । खेलाडीमाथि कुनै पनि हिसाबले विभेद हुनुहुन्न । खेलाडी आजको जस्तै अनुशासन र लगनशीलता सहित मेहनतमा जुट्नुपर्छ । दर्शकका रूपमा हामीले टिमको सफलतामा मात्रै होइन, असफलता र प्रतिकूलतामा पनि साथ दिनुपर्छ, हौसला दिनुपर्छ ।
७) अन्त्यमा थप केही छ कि?
– नेपाली क्रिकेटको सुनौलो समय आरम्भ भएको छ । टिममा प्रतिभाशाली खेलाडीहरू छन् । क्रिकेट संघको सक्रियता प्रशंसायोग्य छ । टिमको मिश्रित नतिजाले सरकारलाई क्रिकेटमा लगानी बढाउन र प्राथमिकतामा राख्न दबाब बढाएको छ । निजी क्षेत्रको लगानी सुरु भएको छ । व्यक्तिगत लगानीमा रुपन्देहीमा आवासीय एकेडेमी सहित क्रिकेट मैदान सम्पन्न हुने संघारमा छ । यसले हामीलाई असाधारण आशा जगाएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित