ई.पी.जी प्रतिवेदनको दीर्घकालीन महत्व छ

– भेषबहादुर थापा
कुटनीतिज्ञ तथा पूर्व परराष्ट्रमन्त्री तथा संयोजक,नेपालको तर्फबाट प्रबुद्ध व्यक्ति समूह

० यहाँको स्वास्थ्य अवस्था कस्तो छ ?
–बुढेसकालमा स्वास्थ्य अवस्था राम्रो हुने कुरा भएन । यस्तै छ । ८९ वर्षको भएँ ।
०जीवनमा के बन्छु भन्ने सोच्नु भएको थियो ? के हुनुभयो ? अमेरिकामा पढ्दापढ्दै राजा महेन्द्रले बोलाएपछि २४ वर्षकै उमेरमा नेपाल सरकारको योजना आयोगको सदस्य सचिव बन्नुभयो ।
–तनहुँ जिल्लाको एउटा आर्मी परिवारमा जन्मे, हुर्केको मान्छे हुँ । त्यतिबेला छोरा भए आर्मीमा भर्ती हुने, छोरी भए राम्रो घरमा विवाह गराइदिने भन्ने आम सामाजिक सोंचाई हुन्थ्यो । घर परिवारमा कुराकानी गर्दा तिनै कुरा हुन्थे । मैले हाइस्कूल पढ्दापढ्दै २००७ को क्रान्ति भयो । त्यसले मानिसको सोचाईमा परिवर्तन ग¥यो । भर्ति नै हुनुपर्दछ भन्ने छैन, राम्रो पढाई लेखाई गरेर कर्मचारी, अफिसर बन्न सकिन्छ भन्ने मेरो सोचाई बन्यो । मैले कलेज पढ्दै गर्दा दुईवटा अंग्रेजी पत्रिका निस्कन्थे मदरल्याण्ड र कमाण्डर । पत्रिकामा अमेरिकामा पढ्न इच्छुक, विद्यार्थीहरुका लागि छात्रवृत्तिको विज्ञापन खोलिएको थियो । मैले त्यसमा प्रतिस्पर्धा गरें । मेरो नाम निस्कियो । परराष्ट्रमन्त्रालयले मलाई प्रधानमन्त्रीको अनुमति लिनुपर्दछ भन्यो । त्यतिखेर प्रधानमन्त्री डा. के.आई.सिंह हुनुहुन्थ्यो । प्रधानमन्त्रीलाई भेट्न अप्ठ्यारो थिएन । लाइन लाग्नु पर्दथ्यो । आफ्नो पालोमा भेट्न पाइन्थ्यो । मेरो पालोमा मैले प्रधानमन्त्रीजीलाई भेटें । किन विदेश जान लागेको भनेर सोध्नुभयो । मैले भने पढेर देशको सेवा गर्न । उहाँले भन्नुभयो– देशको सेवा गर्न अमेरिका पढ्न जानु पर्दैन । मेचीबाट पसेर महाकाली पुगेर फर्केर आउनु । म जागिर दिन्छु ।
प्रधानमन्त्रीको कुराले मलाई नरमाइलो लाग्यो । प्रतिस्पर्धा गरेर अमेरिका जाने मौका पाएको । त्यही पनि भिसा मिल्ने भएन भनेर चिन्ता लागेको थियो । के.आई.सिंह जम्मा तीन महिना प्रधानमन्त्री हुनुभयो । उहाँ छिट्टै प्रधानमन्त्री पदबाट अवकास हुनुभयो । त्यसपछि मलाई परराष्ट्र मन्त्रालयले अमेरिका पढ्न जाने भिसा दियो । अमेरिकामा पढ्दा मैले राम्रै नतिजा लिन सफल भएँ । मैले ४ वर्ष अमेरिका पढें । मैले त्यहाँ पढ्दापढ्दै राजा महेन्द्रको अमेरिका भ्रमण भयो ।
भ्रमणका क्रममा क्यालिफोर्नियामा मेरा प्राध्यापकहरुसित पनि राजाको भेट भएछ । उहाँहरुले राजासित तपाईको देशको विद्यार्थीले अमेरिका आएर पढाईमा अब्बलता कायम गरेको सुनाउनु भएछ । त्यतिबेला क्यालिफोर्नियामा जम्मा ३ जना नेपाली थियौं । राजाको बोलावट भएपछि मैले राजालाई भेटे । पढाई पुरा हुँदा वित्तिकै मलाई खवर गर्नु म फर्कने भाडा पठाइदिन्छु भन्नुभयो । पढेर आफ्नै देशको सेवा गर्नु पर्दछ भन्नुभयो । भर्खरको युवा थिएँ । उत्साहित भएँ । फर्किए पछि म २४ वर्षकै उमेरमा योजना आयोगको सदस्य सचिव भएँ ।
० त्यतिबेला संचारको सुविधा थिएन । घर परिवारसित कसरी सम्पर्क हुन्थ्यो ?
–अमेरिकाबाट यहाँ गाउँमा फोन गर्ने सुविधा हुने कुरै भएन । काठमाडौंमा पनि सुरुमा ब्रिटिश दुतावासमा र पछि भारतीय दुतावासमा फोन गर्न सकिन्थ्यो अमेरिकाबाट । धेरै पहिले नाम टिपाएर पालो पर्खिएर मात्र सम्पर्क गर्न सकिन्थ्यो । त्यो पनि निकै महंगो थियो । ४ वर्ष अमेरिका पढ्दा एक पटक पनि फोन सम्पर्क भएन । मेरो वुवा आमालाई त्यसबारे ध्यानै भएन । सम्पर्कको मुख्य माध्यम भनेको चिठीपत्र थियो ।
० जीवनको अनुभवलाई समेटेर यहाँले “राष्ट्र–परराष्ट्र” शीर्षकमा पुस्तक लेख्नु भएको छ । त्यो पुस्तकले नेपाली समाजमा निर्माण भएको भाष्य वा आम बुझाईलाई खण्डन गरे जस्तो वा काउण्टर गरे जस्तो लाग्यो । जस्तो कि नेपालमा बुझाई के छ भने राजा महेन्द्र अनुदार थिए तर उनका छोरा वीरेन्द्र उदार थिए । तर तपाईले राजा वीरेन्द्र भन्दा महेन्द्र उदार थिए भन्नु भएछ ।
–हैन । मैले राजा महेन्द्र उदार थिए भनेको छैन । राष्ट्रवादी थिए भनेको छु । (नोटः यस सम्बन्धमा लेखकको पुस्तक राष्ट्र–परराष्ट्रको “नेपालका राजा र प्रधानमन्त्रीहरु” टपिक पढ्नु हुन पाठकहरुलाई अनुरोध छ –सम्पादक)
० अर्को कुरा नेपालमा आम बुझाई के छ भने पंचायती व्यवस्थाका मुख्य योजनाकार राजा महेन्द्र पछि डा. तुलसी गिरी हुन । यतिसम्म कि “पंचायतका बाबु महेन्द्र र आमा तुलसी गिरी” समेत भनिन्थ्यो । तर तपाईले त्यो भाष्यलाई खण्डन हुने गरी विश्व बन्धु थापालाई पंचायती व्यवस्थाको फ्रेमिङ्ग गर्ने योजनाकार भन्नु भएछ ?
–मैले त्यसलाई खण्डन नै गरेको त नभनौं कि ! एउटा कुरा चाहिं सत्य हो कि विश्वबन्धु थापा पंचायतकालमा प्रधानमन्त्री बन्न नसकेका तर पंचायती व्यवस्थाको मुख्य योजनाकार अवश्य पनि थिए । राजाले बनाएको ५ जना मन्त्री मध्ये एक जना थिए । पंचायती व्यवस्थालाई दार्शनिकीकरण गर्ने व्यक्ति थिए ।
० तपाईले आफ्नो पुस्तक “राष्ट्र–परराष्ट्र” मा राजा महेन्द्रले भारतीय सेना बसेको कालापानी क्षेत्र नेपालकै हो भनेका थिए भनेर लेख्नु भएको रहेछ । महेन्द्रले अहिले चीन–भारत युद्ध भइरहेको छ । यस्तो बेलामा कुरा गर्दा भारत चिढिन्छ । युद्ध समाप्त होस्, अनि सेना हटाउनेबारे भारतसित कुरा गरौंला भन्नु भएको रहेछ । राजा महेन्द्रले भनेका यी कुरा तपाई आफैले सुनेका कुरा हुन् ?
–हो, मैले आफूले नै सुनेको हो । राजा महेन्द्र सितका भेटघाटका सन्दर्भमा उहाँले बोलेको कुरा मैले सुनेको हो । त्यति मात्र हैन, त्यहाँ सि.डि.ओ. पठाएको पनि हो । लडाई चलिरहेको बेला यो विषय उठाउनु चीनतिर लागे जस्तो हुन्छ भनेर अहिले कुरा नगरौं पछि कुरा गरौंला भन्नु व्यवहारिक र स्वाभाविक हो । सुरक्षा संयन्त्रविहीन असुरक्षित क्षेत्र ठानेर भारतले कालापानीमा सेना राखेको हुनुपर्दछ ।
० तर राजा महेन्द्रले त्यसपछि भारतसित कालापानीबाट सेना हटाउनेबारे कुरा गरेनन नि ?
–मलाइ त्यसबारे थाहा छैन ।
० राजा त्रिभुवनले नेपाल भारतको एउटा प्रान्त हुनुपर्दछ । नेपाल भारतमा गाभिनु पर्दछ भनेको पनि सुनिन्छ नि ?
–राजा त्रिभुवनले त्यो कुरा भनेका हुनु वा भनेका हैनन् । यो कुरा विवादास्पद छ । यदि त्यो कुरा भनेको हो भने गलत हो । तर राजाले चाहेको भए बुझाउन सक्थे । किन बुझाएनन् ? यो कुरा कतै पुष्टि भएको कुरा हैन ।
० तपाईले २०५८ को दरबार हत्याकाण्डमा पर्याप्त अनुसन्धान हुन सकेन भन्नुभयो किन ?
–मेरो मात्र किन कुरा गर्नु हुन्छ ? दरबार हत्याकाण्ड बारे अहिले पनि धेरैको मनमा द्विविधा छ । दरबार हत्याकाण्ड हुँदा म नेपालको तर्फबाट दिल्लीमा राजदुत थिएँ । दरबार हत्याकाण्डको छानवीन आयोगले मलाई भारतको ग्वालियरमा बस्दै आएकी युवराज दीपेन्द्रकी प्रेमिका देवयानीलाई भेटेर हामीले पठाएका प्रश्नको जवाफ ल्याइदिनुस् भनेको ग्वालियर भनेको भारतको एउटा राज्य थियो । दिल्ली नजिकैको एउटा राज्य थियो । पशुपति शमसेरकी श्रीमती पनि ग्वालियरकी हुन् । देवयानी हामीसित कुरा गर्दा धेरै रोइन । उनले दिएको उत्तरलाई दरवार हत्याकाण्ड सम्बन्धी आयोगको प्रतिवेदनमा पनि राखिएको छ ।
० टंकप्रसाद आचार्य प्रधानमन्त्री हुँदा उनले नेपालको परराष्ट्र नीतिको जग बसाल्ने काम गरेका हुन् भनिन्छ । उहाँ तपाईले संगत गरेको व्यक्ति हुनु हुन्छ । त्यो भनाईमा सत्यता छ ?
–सही हो । त्यो भनाईमा सत्यता छ । यहाँ बानेश्वर हाइटमा जग्गा किनेर हामीले सँगै घर बनाएका थियौं । यो काठमाडौंको बानेश्वर हाइटमा, यो डाँडामा बबर शमसेरको नाति आदित्य शमशेरको जग्गा थियो । यो टोलभरीका हामीले आदित्य शमसेरबाट जग्गा किनेर घर बनाएका हौं । यो सडकलाई टंक प्रसाद मार्ग भन्दछ । देशको हितलाई उच्च प्राथमिकता दिने प्रधानमन्त्री हुनुहुन्थ्यो उहाँ । उहाँले नेपालको परराष्ट्र सम्बन्धलाई विश्वव्यापी बनाउनमा महत्वपूर्ण योगदान पु¥याउनु भएको थियो ।
० भारतले २०२६ मा नेपालको उत्तरी सिमानामा राखेका सुरक्षा पोष्टहरु हटाएको थियो । त्यतिबेला प्रधानमन्त्री कीर्तिनिधि विष्ट थिए । यदि कीर्तिनीधि विष्टको ठाउँमा अर्को व्यक्ति प्रधानमन्त्री भएको भए भारतीय चेक पोष्ट हटाउन सक्दैन थियो होला कि ?
–त्यसबारेमा मैले भन्न सक्दैन । हटाउन सक्थ्यो वा सक्दैनथ्यो भन्ने कुरा हाइपोथेटिकल कुरा हो । कीर्तिनिधि विष्टले भारतीय चेकपोष्ट हटाउन राम्रो भूमिका खेल्नु भएको हो । उहाँ प्रधानमन्त्री भएको बेला म नेपाल सरकारको सचिव थिएँ । भारतले नेपालको उत्तरी सुरक्षा चेकपोष्ट हटाउनु पर्दछ भनेर उहाँले पत्रकार सम्मेलन गरेर दबाब नै दिनु भएको थियो । भारतको टाइम्स अफ इण्डियालाई पनि अन्तर्वार्ता दिनु भएको थियो ।
० तपाईले आफ्नो पुस्तकमा “म राजदुत हुँदाकै बखत हामीले नन पेपर भनी सन् १९५० को सन्धिलाई प्रतिस्थापन गर्ने नयाँ सन्धि पेश गरेका थियौं ।” भन्नु भएको रहेछ । यसलाई अरु स्पष्ट गरिदिनु हुनु अनुरोध छ ?
–कुटनैतिक मामलामा औपचारिक पत्राचार वा आधिकारिक सन्धि सम्झौता नगरिकन बाहिर प्रचारमा नआउने गरी केवल आफ्नो धारणा जानकारी गराउन लेखिएको पत्र वा कागजलाई “नन पेपर” भन्दछ । त्यो कागजमा कतिपय कुरा सिधा र स्पष्ट लेखिएको हुन सक्छ भने कतिपय सांकेतिक रुपमा पनि हुन सक्छ । म नेपालका तर्फबाट पत्रकार भारतका लागि राजदुत, नेपालका परराष्ट्रमन्त्री कमल थापा भएका बेला तत्कालीन भारतीय प्रधानमन्त्री आई.के. गुजराललाई त्यो नन पेपर दिइएको थियो । त्यस पेपरमा १९५० का सन्धिले पारेका समस्याहरु समाधानका उपायहरुबारे उल्लेख गरिएको छ ।
० नेपाल–भारत सम्बन्धलाई पुनर्मुल्यांकन गर्न र समस्या समाधानका उपाय सुझाउन गठन गरिएको प्रबुद्ध व्यक्ति समूह (ई.पि.जि.) को नेपालतर्फको संयोजक तपाई हो । तर अहिलेसम्म भारतको प्रधानमन्त्रीले तपाईहरुले तयार गरेको प्रतिवेदन बुझ्न मानेका छैनन्, किन होला ?
–त्यो कुरा मैले भन्न सक्दैन । भारतलाई नै सोध्नुस् ।
० दुवै देशका प्रधानमन्त्रीले ५ बुँदे कार्यादेश तयार गरी तपाईहरुलाई प्रतिवेदन तयार गर्ने जिम्मा दिइएको थियो । दुवै देशको सहमतिमा तयार भएको प्रतिवेदन अर्थात् आफैले दिएको कामको रिपोर्टिङ लिनु पर्ने हो नि, हैन र ?
–लिनु पर्ने हो । तर अर्काको कुरा मैले कसरी भन्न सक्छु र ।
० इ.पि.जि. प्रतिवेदनमा १९५० को सन्धिलाई पुनर्मूल्यांकन गरी त्यसको ठाउँमा आजको नयाँ सन्दर्भमा नयाँ मैत्री सन्धि गर्नुपर्दछ भन्ने कुरा लेखिएको र भारत १९५० को सन्धि पुनर्मूल्यांकन गर्न नचाहने हुँदा भारतले प्रतिवेदन बुझ्न मानेको छैन भन्ने सुनिएको छ । त्यस्तै हो र ?
–नेपालले एक पक्षीय रुपमा तयार पारेको प्रतिवेदन हैन । दुवै देशका ४÷४ जना प्रबुद्ध व्यक्ति समूहले तयार गरेको हो । भारत तर्फका एक सदस्य प्राध्यापक वि.शि. उप्रेती मृत्यु भइसक्यो । इ.पि.जि. प्रतिवेदनमा के लेखिएको छ भन्ने कुरा मैले बोल्न मिल्दैन किनभने दुई देशको सम्बन्धको कुरा छ । यो प्रतिवेदन बाहिर आउन ढिलो भएर यसको महत्वमा कमी आउँदैन । हामीले त्यस प्रतिवेदनमा नेपाल र भारतका विगतका सन्धि, सम्झौता, सीमा, व्यापार लगायतका द्विपक्षीय सम्बन्धलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर दुवै पक्षका बीचमा गहन छलफल गरेर प्रतिवेदन तयार पारेका छौं । त्यो प्रतिवेदनको महत्व रहिरहने छ ।
० तपाई परराष्ट्रमन्त्री भएका बेला नेपालमा भुटानी शरणार्थी समस्या समाधान गर्न सहमति भएको थियो नि है ?
–हो, भुटानी परराष्ट्रमन्त्री वाङ्गचुक र मैले सहमतिमा हस्ताक्षर गरेका थियौं । तरपछि भूटानमा फेरि विद्रोह भयो । त्यो सहमति कार्यान्वयन हुन सकेन । शरणार्थीहरुलाई फर्काउने काम हुन सकेन ।
० तपाई नेपाल राष्ट्रबैंकको गभर्नर पनि हुनुभयो । आफ्नो समयको कामबारे केही ?
–नेपाली मुद्राको अवमूल्यन भउको बेला म त्यहाँ गएँ । भारतको मुद्रा अवमूल्यन भएको थियो । त्यसको प्रभाव नेपालमा पनि प¥यो । १०० भारुको १०१ भएको थियो । पछि विस्तारै सुधारियो १०१ बाट १३४ भयो र पछि १६० भयो ।
० तपाईले जीवनमा तीनवटा राजा महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्रलाई बेहोर्नु भयो, पंचायत, संवैधानिक राजतन्त्र र गणतन्त्र तीनवटै व्यवस्था वेहोर्नु भयो । यति लामो जीवनकालमा सत्ता र राज्यलाई नजिकबाट देख्नुभयो । के रहेछ राज्य र सत्ता ?
–विश्वव्यापी रुपमा राज्यको स्थापनाको आधार कहीं धार्मिक, कहीं जातीय, कहीं राजनीतिक विचारधारा बनेको पाउन सकिन्छ । ती आधारहरुमा नै राज्यका संरचनाहरु बने ।
कतै दार्शनिक, वैचारिक, कतै आर्थिक, कतै भूगोल विभिन्न कारणले लडाई चल्यो । नेपालको पृथ्वीनारायणको एकीकरणलाई नै हेरौंं । हामी स्वतन्त्र रह्यो । भारत साम्राज्यवाद अहिले अर्को परिवर्तनको संघारमा पुग्न लागेको हो कि भन्ने लाग्छ । (५५)
० तपाईको पुस्तक “राष्ट्र–परराष्ट्र” बारे अरुले मूल्यांकन गर्ने आफ्नो ठाउँमा छ । तर आफ्नो पुस्तकबारे आफैले भन्नुपर्दा के छ भनाई ?
–म ६ वर्ष मन्त्री भएँ, १२ वर्ष नेपाल सरकारको सचिव भएँ, राजदुत भएँ, नेपाल राष्ट्र बैंकको गभर्नर भएँ । योजना आयोगको सदस्य सचिव भएँ । जीवनका अनुभवहरुलाई संगालेको छु ।
० भर्खरै परराष्ट्रमन्त्री आरजु देउवाको भारत भ्रमणबारे ?
–केही छैन । मैले त्यसबारे अध्ययन गरेको छैन ।
० अन्त्यमा केही छ कि ?
–हाँक पत्रिकालाई शुभकामना छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित