–दीपक शाही
केन्द्रीय सचिवालय सदस्य तथा ६ नम्बर प्रदेश संयोजक, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल
१) आगामी मंसिर १३ देखि २३ गते सम्म क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको राष्ट्रिय एकता महाधिवेशन काठमाडौमा सम्पन्न हुँदैछ । तपाई पार्टीको ६ नम्बर प्रदेशको संयोजक हुनुहुन्छ । प्रदेश नम्बर छ मा महाधिवेशनसँग सम्बन्धित पार्टीको काम कसरी अगाडि बढ्दै छ ?
–हाम्रो प्रदेशमा १० वटा जिल्ला छन् । जस मध्ये महाधिवेशनको पूर्व सन्ध्यामा स्थानीय पालिकाका भेला÷सम्मेलन र धेरै जसो जिल्लामा भेला र सम्मेलन सम्पन्न गरी प्रतिनिधिहरु छनोट गर्ने काम भयो र सबै कामहरुमा केही कमि कमजोरी भए पनि उत्साह जनक ढंगले महाधिवेशन तयारी चलिरहेको छ ।
२) महाधिवेशनको प्रचारको सिलसिलामा ६ नम्बर प्रदेशमा फ्लेक्स प्रिन्टलाई भित्तामा टाँस्ने, मोटरसाईकल ¥याली गरी प्रचार प्रसार गर्ने, होर्डिङबोर्ड राख्नेसम्मको काम गरेको पाइयो । प्रचारात्मक काम अरू के गर्दै हुनुहुन्छ ?
– स्थानीय संचारका सबै क्षेत्रमा सुचना र जिङ्गलहरु बजाउने, पत्रपत्रिकामा समाचार विज्ञापन दिने, हाम्रो महाधिवेशन बारे जनतासँग सल्लाह सुझावहरु लिने, र जनताका गुनासोहरु सुन्ने, हाम्रो पार्टीको आगामी काम र राजनैतिक र वैचारिकरुपमा सचेत पार्ने, पर्चा र भित्तेलेखन गर्ने, आगामी मंसिर १६ गते हुने प्रतिक्रियावादी दलाल व्यवस्थाको उप निर्वाचन बहिष्कार किन गर्ने भन्ने विषयमा जनतालाई हाम्रा विचारहरुको प्रचार गर्ने काम भएको छ ।
३) छ नम्बर प्रदेशमा पार्टीको जिल्ला भेला, सम्मेलन र फोरमको अनुभव के कस्तो रह्यो ?
– हाम्रो प्रदेशमा हुम्ला, कालीकोट, दैलेखमा भेला र जाजरकोट र डोल्पामा बैठक मात्र भयो, जुम्ला र मुगुमा सम्पर्क मात्र छ । सुर्खेत, बाँके र वर्दियामा जिल्ला सम्मेलन सम्पन्न भए, फोरम बाँके बाहेक अरु जिल्लामा सामान्य रह्यो ।
४) कर्णाली प्रदेशमा कम्युनिस्ट आन्दोलनको विगतलाई फर्केर हेर्दा कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
– कर्णाली प्रदेशको कम्युनिस्ट आन्दोलनको विगत अत्यन्तै गौरवपूर्ण छ । देशको अति दुर्गम र पिछडिएको क्षेत्र र राज्यद्वारा पनि उत्पीडनमा परेको क्षेत्र भएकाले यहाँको जनजीवन पिछडिएको छ । थोरै दलाल शासक र सामन्त सुरुले मात्र अवसर पाएकाले वर्गीय उत्पीडन पनि चरम छ, यस हिसाबले यहाँका जनता कम्युनिस्ट पार्टीलाई विशेष माया गर्छन् । लगभग २००८ सालमा कामी बुढा र भवानी शर्मा, निर्मल लामाबाट सुरु भएको कम्युनिस्ट आन्दोलन विभिन्न धारा उपधारामा समूह उपसमुह छन् । खासगरी नेमकि संगठन, माले, एमाले, पातलो मसाल, मोटो मसाल, हुँदै माओवादी आन्दोलन लगायतका कम्युनिस्ट पार्टीहरुका संगठनहरुले कर्णाली प्रदेशमा काम गरेको देखिन्छ । ऐतिहासिक जनयुद्धमा जनवादी व्यवस्था हुँदै, वैज्ञानिक समाजवादमा जाने उद्देश्य साथ जनताको ठूलो हिस्सा लगभग ७०% सहभागी बने । कर्णालीको कम्युनिस्ट आन्दोलन मुख्यतः यसरी बुझ्दा राम्रो होला, पहिलो कामी बुढाहरुले गरेको संघर्ष, दोश्रो निर्मल लामाले चलाएको संघर्ष, तेश्रो सुर्खेतको दशरथपुरमा भएको संघर्ष, चोथो, २०२८ पछि गरिएका विभिन्न संघर्षहरु जनमत संग्रह, वम काण्ड, कम्युनिस्ट पार्टीहरुको विभाजन, पाचौं २०४६ सालको आन्दोलनमा खेलेको भुमिका, र २०५२– २०६२ सम्मको संघर्षमा कर्णालीले खेलेको भुमिका र वलिदानीको उच्च मुल्यांकन गर्न सकिन्छ ।कर्णालीमा मुख्यतः कम्युनिस्ट आन्दोलनमा विशेषगरी उच्चतहका अगुवा नेता कार्यक्रर्ताको तहबाट दक्षिणपन्थी, प्रतिक्रियावादी संसोधनवादी धारामा पतन भएर जाने खालको समस्य बढी देखिन्छ तर भेरी कर्णालीमा तल्लो वर्गका किसान मजदुर श्रमजीवी सर्वहारा जनता कम्युनिस्ट पार्टीलाई समर्थन गर्दछन् ।
५) जि.एम. आर. सँग नेपाल सरकारले गरेको माथिल्लो कर्णाली परियोजना कर्णाली प्रदेशमै पर्दछ । काम पनि अगाडि नबढाउने म्याद थप्ने र नदी ओगट्ने काम मात्र भइरहेको थियो । जि.एम. आर.ले अहिले त्यस क्षेत्रमा के गर्दैछ ?
– नेपालको राजनीतिक परिवर्तन संगै नेपालका राष्ट्रघाती लेण्डुपहरुले भारतलाई बुझाउँदै आएको इतिहास छ, उदाहरणका लागि गण्डक सम्झौता, कोशी सम्झौता, पञ्चेश्वर, महाकाली सम्झौता, माथिल्लो कर्णाली सम्झौता, लगायत थुप्रै असमान सन्धि सम्झौता गरी नेपालका प्रकृतिक श्रोत साधनहरु छिमेकी मुलुकहरुलाई कौडीको मुल्यमा सुम्पने परम्परा जस्तो चलेको छ, माथिल्लो कर्णाली जस्तो संसारकै सबै भन्दा कम लागतमा निर्माण गर्न सकिने र ४१०० मेगावाट विद्युत उत्पादन क्षमता भएको परियोजना भारतको जिएमआर कम्पनीलाई विद्युत उत्पादन र निर्माणको लाईसेन्स दिएर म्याद थप्दै गरिएको छ । जिएमआर सितको सम्झौता तोडेर यस परियोजनालाई नेपाली जनताको लगानीमा निर्माण गरिनुपर्छ ।
६) फुकोट कर्णाली जस्तो स्वदेशी लगानीमा निर्माण हुन थालेको जलविद्युत परियोजनालाई प्रचण्डले प्रधानमन्त्री भएका बेला भारतको स्वामित्वमाथि हुने गरी सम्झौता गरेर आए । तपाईं एउटा कर्णाली क्षेत्रमा राजनीतिकर्ममा लागिरहेको सचेत नागरिकको हैसियतले यो सम्झौतालाई कसरी हेर्नु हुन्छ ?
– यो दलालहरुको व्यवस्था भएकाले संसदवादी दलाल र कठपुतली सरकारहरुले आफ्नो राजनीतिक स्वार्थका लागि देशका नदीनालाहरुलाई बन्धक बनाउने र दलाली गर्ने गरेका छन् । यस सन्दर्भमा देशका नदीनालाहरुलाई ठूला राजनीतिक पार्टीहरुले भागवण्डा गरेर, देशलाई कङ्गालीकरण गरेका छन् । यी सब देश विरोधी राष्ट्रघाती सम्झौताहरु हुन, त्यसैले जोसुकै प्रम भए पनि ती सबैले सरासर जनघात र राष्ट्रघात गरेका छन् । यो सब यो व्यवस्थाको दोष हो ।
७) कर्णाली प्रदेशका समस्याहरू के के छन् ? जनताको पक्षबाट त्यहाँका के कस्ता विषयहरूको उठान गर्नु पर्ने ठान्नु हुन्छ ?
– कर्णाली प्रदेशका मुख्य समस्याहरु निम्न अनुसार छन् र समस्या समाधानका लागि उठाउनु पर्ने मुख्य विषय यसप्रकार छन्ः
–भूमाफिया विरुद्धको अभियान चलाउनु पर्दछ ।
–कृर्षि क्षेत्रमा आधुनिककरण गर्नुपर्दछ ।
–कृर्षि उत्पादनलाई मूल्य निर्धारण प्रत्यक वडामा संकलन केन्द स्थापना गरी उपभोक्तालाई बिक्री वितरण गर्ने,
–कृषकलाई उन्नत जातको मलबीउ उपलब्ध गराउन संघर्ष गर्ने ।
–स्वास्थ्य र शिक्षा पूर्ण निःशुल्क र अनिवार्य गर्न संघर्ष सञ्चालन गर्ने, एउटै किसिमको शिक्षा प्रणाली लागु गर्न संघर्ष गर्ने ।
–ठूला जमिनदारको जमिनलाई क्रान्तिकारी भुमिसुधार लागु गर्न संघर्ष गर्ने ।
–लागु औषध ओसारपसार र कारोबार गर्नेका विरुद्ध संघर्ष गर्ने ।
–भ्रष्टाचारी, कालोबजारी, तस्करी गर्नेहरुको पहिचान गरी कार्वाही गर्ने ।
–सहकारी, बैंक, वित्तीय संस्थाहरुले जनतालाई चर्को व्याज लागि विभिन्न ढंगले फसाउने विरुद्ध संघर्ष गर्ने ।
–मिटर व्याज, छिनुवा अटोपास गर्नेहरुको विरुद्ध संघर्ष संञ्चालन गर्ने ।
–चेलिबेटी बेचविखन र देह व्यापार विरुद्धको संघर्ष गर्ने ।
– स्वास्थ्य शिक्षा क्षेत्रका माफिया विरुद्ध संघर्ष चलाउनु पर्ने ।
–नेपाली पैसाको खुलेआम रुपमा भैरहेको अवैध कारोबारोमा रोक लगाउन संघर्ष गर्नु पर्ने,
– भारतमा विभिन्न पेशा व्यवसाय गरी नेपाल फर्किने नागरिकहरुकको पैसा सटहीका नाममा हुने ठगी र नागरिक माथि सिमानामा हुने सबै प्रकारका समस्याका विरुद्ध संघर्ष गर्नु पर्ने ।
– क्यासिनो व्यवसायमा हुने नेपाली पैसा अपचलन र गलत धन्दाका विरुद्ध संघर्ष गर्ने ।
– यातायात मजदुर, होटल रेष्टुरेन्ट मजदुर, ढुवानी मजदुर, रिक्सा मजदुर, उद्योग कल कारखाना ।
– मजदुर र दैनिक ज्यालादारी मजदुर लगायतका न्यूनतम तलव, भत्ता, दैनिक ज्याला, जोखिम सुरक्षाको सन्दर्भमा संघर्ष चलाउनु पर्ने ।
– नयाँ उद्योग कलकारखाना स्थापना गर्न औद्योगिक क्षेत्रहरुको निर्माण गर्न संघर्ष गर्नु पर्ने ।
८) कर्णाली प्रदेशको सामाजिक अवस्था र सामाजिक अन्तर्विरोधको स्थिति के छ ?
– मुख्यतः वर्गीय अन्तर्विरोध छ । जातीय अन्तरविरोध पनि छ, शिक्षा र स्वास्थ्यमा समस्या छ, उत्पादन प्रणालीमा समस्या छ, सत्ताले कर्णालीलाई हर्ने दृष्टिकोणको समस्या छ, आर्थिक, सामाजिक, कृषि, भौतिक पूर्वाधार निर्माण, रोजगार र शिक्षा स्वास्थ्य हरेक क्षेत्रमा कर्णालीलाई उपेक्षाबाट गरिन्छ ।
९ ) तपाईहरू क्रान्तिकारी शक्तिहरूको ध्रुर्वीकरणमा लागिरहेको बेला धर्मेन्द्र बास्तोला लगायत पार्टीबाट बाहिरिनु भयो । कर्णाली प्रदेशमा उहाँहरूको बहिर्गमनको असर कस्तो रह्यो ?
– हाम्रो आकार प्रकारमा कुनै समस्या देखिएन, विचार दृष्टिकोणमा देखिएको स्खलनले क्षणिक पीडा मात्र बोध गरायो
१०) राष्ट्रिय एकता महाधिवेशन सफल पार्न जनतासँग भन्नू पर्ने केही छ कि?
– बाँकी रहेको अधुरो क्रान्तिलाई पूरा गर्नु आजको अनिवार्य आवश्यकता हो, यो मुक्ति अभियानमा सवै देशभक्त कम्युनिस्ट क्रान्तिकारीहरु एकतावद्ध हुन अनुरोध गर्दै, यो वर्गीय मुक्ति अभियानमा जुट्न हार्दिक अनुरोध छ ।
११) सहकारी ठगीको आरोपमा गिरफ्तार भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने । बारे के भन्नुहुन्छ ?
– यो ठगहरुको व्यवस्था हो, एक ठगले अर्को ठगलाई ठग भन्छ, यो सव नाटक हो, आफ्नो सत्ता स्वार्थमा प्रतिकृयावादी संसदीय व्यवस्थामा नयाँ ठग र पुराना ठगहरुका गोहीका आँसु मात्र हो, यस व्यवस्थामा यस्तै हुन्छ, यिनका विरुद्ध जनता र सबै सचेत नागरिकले यिनलाई सामाजिक बहिस्कार गर्नु पर्छ, टोल टोलबाट लखेट्ने अभियान चलाउनु पर्दछ ।
१२) यहाँको राजनीतिक जीवन कसरी सुरुवात भयो र आजसम्मको भूमिका, अनुभव के छ ? संक्षिप्तमा जानकारी पाउँ न ।
– २०४३ सालदेखि स्कुल एकाई समिति विद्यार्थी राजनीतिबाट सुरु भयो । नेमकि संगठनको भातृ संगठन नेक्रावि संघमा जोडिएर दैलेख, बाँके जिल्लामा काम गरें । भक्तपुरमा विद्यार्थी संगठनमा काम गरें । बाँकेमा पार्टीको काम गरें । २०५६ बाट केही समय, निस्क्रिय रहेँ । २०५७ को अन्तिमतिर बाँके नेपालगन्ज तत्कालीन नेकपा माओवादीको सम्पर्कमा कमरेड अशोक, कमरेड राजन, कमरेड नेत्र लगायतसँग जोडिएर काम गरे । २०६५ मा नेकपा माओवादी जि क हुँदै तत्कालीन भेरि कर्णाली राज्य समितिको सचिवालयमा काम गरें । दुईलाइन संघर्षमा कमरेड मोहन वैद्य “किरण” ले लिएको जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशाको पक्षमा संघर्ष चलाउँदै, काठमाडौंको बौद्ध भेलाबाट बनेको नेकपा–माओवादीको केन्द्रीय सदस्य हँुदै निरन्तर वर्गीय मुक्ति अभियानमा नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सचिवालय सदस्य, ६ न. प्रदेशको सेक्रेटरी र पार्टी एकता पछि सह–संयोजक रहें । कंचन समूहको बर्हिगमन पछि संयोजकको भूमिकामा पार्टी काम गर्दैछु ।
१३)अन्त्यमा हाँक साप्ताहिक मार्फत थप भन्नु केही छ कि?
– यो वर्गिय मुक्ति अभियान र कम्युनिस्ट क्रान्तिकारीहरुको एकता, धुर्वीकरण र जनवादी क्रान्ति पूरा गर्दै वैज्ञानिक समाजवादमा जनताका लागि आवश्यक पर्ने सम्पूर्ण ज्ञान सीपहरुको प्रकाशन गरी सर्वहारा वर्गको मुक्ति अभियानको सारथी बनी रहोस शुभकामना ।

