महिला मुक्तिको आन्दोलन विरुद्ध सामन्ती पितृसत्ता साथै नारीवाद पनि अर्को भ्रम खडा भइरहेको छ

– अम्बिका मुडभरी, संयोजक क्रान्तिकारी महिला संगठन
१) ) क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन भर्खरै सम्पन्न भएको छ । राष्ट्रिय एकता महाधिवेशनले महिलाका सम्बन्धमा गरेका निर्णय के के छन् ?
–क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको भर्खरै सम्पन्न राष्ट्रिय एकता महाधिवेशनले महिला आन्दोलन र यसका समस्याका विषयमा गम्भीर छलफल गरेको छ । महाधिवेशनमा प्रस्तुत दस्तावेजमा महिला आन्दोलन सम्बन्धी छुट्टै प्रस्ताव पेश भएको छ । यसले महिला आन्दोलनप्रति पार्टीको गम्भीरतालाई प्रष्ट पार्दछ । महाधिवेशनले नेपाली समाजमा विद्यमान पितृसत्तात्मक सामन्ती उत्पीडन र उत्पादन सम्बन्धका कारण पछाडि पारिएका महिलाहरुलाई क्षतिपूर्ति स्वरुप विशेषाधिकार सहित अधि बढाउने व्यवस्था गरिनु पर्ने निर्णय गरेको छ । पार्टी (आन्दोलन) भित्र महिला नेतृत्व विकासको निम्ति विशेष अवसर सृजना गरेर अघि बढाउने र समान स्तरका कमरेडहरु मध्ये अघि बढाउँदा महिलालाई प्राथमिकता दिने निर्णय गरेको छ ।
२) राष्ट्रिय एकता महाधिवेशनलाई समष्टिगत रूपमा कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
टुटफुट र बिभाजनको अनेकौं शृङ्खला बेहोरिरहेको नेपाली कम्युनिस्ट आन्दोलनमा यो महाधिवेशन फरक फरक सांगठनिक अभ्यास गरिरहेका तीन माक्र्सवादी पार्टीहरुबिच बैचारिक ÷ राजनैतिक र सांगठनिक एकताको एक अवसरको रुपमा सम्पन्न भएको छ । हामीले नेपाली कम्युनिस्ट आन्दोलनको राजनीतिक कार्यदिशा, कार्यक्रम र कार्य योजनाका बारेमा बिहंगम छलफल ग¥यौं । कैयौं विषयहरु धेरै दूरगामी महत्वका र कतिपय विषयहरु कार्यक्रमिक पनि छ । महाधिवेशनको करिब चार महिना अघि देखि नै मुल प्रस्ताव , प्रस्तावहरु माथिको फरकमत र कतिपय प्रस्तावका पुरक प्रस्तावहरु समेत पुस्तक नै प्रकाशित गरेर जिल्ला जिल्लामा छलफल र बहसका निम्ति पठाएका थियौं । त्यसरी बहसमा जाँदा एकता, संघर्ष र रुपान्तरणको विधि स्थापित भएको छ । बैचारिक र सांगठनिक रुपले पार्टी एक ढिक्का बनेको अनुभुत भएको छ । विश्व र नेपाली कम्युनिस्ट आन्दोलनका चुनौतीहरु सामना गर्ने राजनैतिक ÷बैचारिक दृष्टिकोण निर्माण , त्यसलाई कार्यन्वयन गर्ने संगठन निर्माणको अर्थमा महाधिवेशन सफल रहेको अनुभुति भएको छ ।
३) नेपाली महिलाका समस्याहरूलाई संक्षिप्तमा बुँदागत रूपमा भन्नु पर्दा के भन्नु हुन्छ ?
नेपाली समाज सामन्ती पितृसत्तात्मक समाज भएकाले महिलाहरू आज पनि दोश्रो दर्जाका नागरिक सरह छन् । शासकिय संरचना र उत्पादन सम्बन्धले मनोविज्ञान पनि त्यस्तै निर्माण गद्र्छ । घर, परिवार , समाज, परम्परा र संस्कारको बिंडो महिलाले धान्नु पर्ने तर सम्पत्तिमाथि अधिकार नहुँदा इतिहासदेखि नै नेपाली महिलाहरु दोश्रो दर्जाको जीवन बिताउँदै आएका छन् र अझैसम्म पनि त्यो स्थिति कायम नै छ ।
शिक्षा र रोजगारीको अवसरबाट पछाडि पारिएका र आर्थिक अधिकार ÷ सम्पत्तिको अधिकारबाट बञ्चित भई पराश्रीत जीवन बाचिरहेका छन्, दाइजो, तिलक, बालविवाह, बहुविवाह, छाउपडी, घुम्टो जस्ता कुरिती एवं कुप्रथाबाट समाज आजपनि माथि उठ्न सकेको छैन, सामन्ती चिन्तनको निरन्तरतामा आजपनि महिलाहरुलाई नेतृत्वमा स्वीकार गर्न हिच्किचाउने प्रवृतिका कारण क्षमतावान र संघर्षशील भएर पनि महिलाहरू अपमानित बनाइएका छन् ,
सामाजिक , आर्थिक , धार्मिक – सांस्कृतिक , राजनैतिक रुपमा महिलामाथि उत्पीडन कायमै छ । हरेक कार्यक्षेत्रमा मनोबैज्ञानिक हिंसा भोग्न बाध्य पारिएको छ ।
पुँजीवादले अवसरका नाममा मनोरञ्जन, उपभोग र विज्ञापनको साधन बनाइ बस्तुकरण गरिरहेको छ । नेपाली महिलाहरु फेरिएको स्वरूपमा घरेलु दासीको जीवन जिउन बाध्य परिएका छन ।
४) नेपाली महिलाका समस्या समाधानका उपाय के हुन सक्छ ?
नेपाली महिलाहरुको समस्या मुख्यत आर्थिक उत्पादन सम्बन्ध र राजनैनिक व्यवस्थाको प्रश्न हो । त्यसकारण यसको हल समाज रुपान्तरणको राजनैतिक आन्दोलन मार्फत खोजिनु जरुरी छ । महिला मुक्तिको आन्दोलन विरुद्ध सामन्ती पितृसत्ता साथै नारीवाद पनि अर्को भ्रम खडा भइरहेको छ । त्यसकारण एउटा सुसंगत र तीब्र बैचारिक संघर्ष आवश्यक छ । तत्कालीन समस्या निम्नानुसार समाधान गर्न सकिन्छ
विशेषाधिकार सहित राज्यका हरेक तहमा समानुपातिक सहभागिता अनिवार्य गराइनु पर्नेछ ।
समान प्रतिस्पर्धाका लागि विशेष अवसर, तालिम र क्षमता अभिवृद्धिका लागि ठोस योजना वा कार्यक्रम आवश्यक छ ।
महिलामाथि हुने लैंगिक उत्पीडनका मामिलामा पीडकलाई सामाजिक बहिष्कार गरी कानुनी सजाय र पीडितको सम्पूर्ण जिम्मा राज्यले लिएर सामाजिक पुनस्र्थापना गरिनु पर्दछ ।
सामाजिक कुरीति, कुसंस्कार र धार्मिक अन्धविश्वास विरुद्ध बृहत् अभियान सहित आन्दोलन सञ्चालन गरिनु पर्दछ ।
महिलालाई भोगविलासको साधन ठान्ने चिन्तन विरुद्ध राज्यले नै शैक्षिक पाठ्यक्रम बिकास गर्नु पर्दछ ।
हरेक स्थानीय निकायले बालिका वा महिला माथि हुने हिंसा विरुद्ध प्रतिरोधको निम्ति शैक्षिक सामग्री नै विकास गरी शारीरिक अभ्यास संचालन गरिनु पर्दछ ।
५)) नेपाली महिला आन्दोलनले उठाउँदै आएको मुख्य माग मध्येमा पैतृक सम्पत्तिमा समान अधिकार पनि हो । संविधानले नै त्यो अधिकार प्रदान गरिसक्दा पनि व्यवहारमा किन कार्यान्वयन हुन सकेन ?
’महिलामुक्तिको पहिलो आधार , पैत्रिक सम्पत्तिमा समान अधिकार ’ महिला मुक्ति आन्दोलनको नारा हो । महान जनयुद्ध र जन आन्दोलनको बलमा संविधानमा सम्पत्तिको अधिकार त लेखियो तर व्यवहारमा कार्यान्वयन हुन सकिरहेको छैन । आजपनि छोरी अर्काको घर जाने जात र पन्छाउने चीज हो भन्ने मान्यताबाट समाज माथि उठ्न सकेको छैन । दाइजो दिएर तमाम अनावश्यक खर्च गरेर धुमधामले विवाह गरिदिन तयार हुने परिवार त्यो खर्चको सट्टा दाइजो दिन्न अंश दिन्छु भन्न सक्दैन । छोरा सरह छोरी पनि अंशियार हो भन्ने आन्दोलन बिना यो कानुन अझै कैयौं वर्षसम्म कार्यान्वयनमा आउने छैन । यसो हुनु सामन्ती पितृसत्तात्मक राज्य वयवस्थाको चिन्तन कै निरंतरता मात्रै हो ।
बनेका कानुनहरु लागु गराउने जिम्मा राज्यको हो । राज्यका सबै तहका सञ्चालक ÷ नेतृत्वहरु , कर्मचारीहरुले अनिवार्य छोरीलाई अंश दिनुपर्ने मान्यता कार्यान्वयन गर्ने हो भने छिट्टै लागू गराउन सकिन्छ । यो लागू नभएको हैन राज्य लागू गर्न तयार नभएको हो ।
६) वर्तमान परिस्थितिमा महिला आन्दोलनले उठाउनु पर्ने विषयहरू के के हुन् ?
वर्तमान परिवेशमा महिलाहरु सामन्ती पितृसत्तात्मक उत्पीडन र पुँजीवादी शोषणको दोहोरो जातोमुनी पिसिरहेका छन् । यस सन्दर्भमा महिला आन्दोलनले उठाउन पर्ने विषयहरु तत्कालीन र दीर्घकालीन दुवै हुन्छन् जसलाई निम्न अनुसार राख्न सकिन्छ
विद्यमान कानुनी व्यवस्था अनुसार पैत्रिक सम्पत्तिमा समान अधिकार, आमाको नामबाट नागरिकता लगायत महिला अधिकारहरुलाई तत्काल कार्यन्यनका लागि संघर्ष गर्ने,
गम्भीर प्रकारका यौन दुर्ववहार, हिंसा, बलात्कारमा परेका बालिका÷ महिलाहरुको सम्पूर्ण दायित्व राज्यले लिनको निम्ति दवाब सृजना गर्ने,
महिलाहरुले गर्दै आएको घरेलु श्रम (कृषि, पशुपालन, पारिवारिक व्यावस्थापन) लाई पनि मुल्य निर्धारण गरी कुल ग्राह्स्त उत्पादनमा जोड्नु पर्ने, सदियौं देखि पितृसत्तात्मक सामन्ती उत्पीडनले पछाडि पारिएका कारण क्षतिपूर्ति स्वरुप विशेषाधिकार लागू गर्नका निम्ति संघर्ष गर्ने, महिलाहरुको क्षमता अभिवृद्धिको लागि निशुल्क, खुल्ला विश्वविद्यालय र तालीम केन्द्रहरु संचालन गर्न संघर्र्ष गर्ने सामाजिक विकृति, विसंगति र महिला उत्पीडनका विरुद्धमा राज्यले सामाजिक रुपान्तरणको अभियान चलाउन दबाव दिदै संघर्ष उठाउदै महिला आन्दोलन अधि बढाउनु पर्दछ
७) अन्य महिला संगठन र तपाईले नेतृत्व गर्नु भएको क्रान्तिकारी महिला संगठनका बीचमा भिन्नता के छ ?
–अन्य महिला संगठन र हामीले नेतृत्व गरेको क्रान्तिकारी महिला संगठनका बीच राजनैतिक बैचारिक दृष्टिकोण मै भिन्नता छ । हामी संसदवाद र दक्षिणपन्थी संशोधनवादका विरुद्ध संघर्षरत छौं ।
हाल नेपालमा महिला आन्दोलनको क्षेत्रमा सत्तामा रहेर आंशिक सुधारको मात्र कुरा गर्ने सुधारवादी प्रवृति , नारी स्वतन्त्रताको वकालत गर्दै सहकर्मी पुरुषहरुका विरुद्ध लड्नुपर्छ भन्ने उग्र नारीवादी प्रवृत्ति र महिला मुक्तिलाई अन्ततः वर्गीय मुक्तिकै प्रश्नको रुपमा लिने क्रान्तिकारी धारा गरी मुख्यतः तीनवटा धारा एवं प्रवृति क्रियाशील छन् । हामीले तेस्रो वा क्रान्तिकारी धाराको प्रतिनिधित्व एवं नेतृत्व गर्दछौं ।
८) आगामी दिनमा महिला आन्दोलनलाई कसरी अगाडि बढाउनु पर्दछ भन्ने ठान्नु हुन्छ?
आगामी दिनमा महिला आन्दोलन अघि बढाउन हामीले बैचारिक काम (बहस ÷ अन्तर्संवाद÷ छलफल÷ सेमिनार लगायत, राजनैतिक कार्यक्रम महिलामाथि हुने हिंसा विरुद्धका कार्यक्रम संगै राष्ट्रियता र जनजीविकाको पक्षमा विविध कार्यक्रम र सांगठनिक काम (भेला, बैठक, प्रशिक्षण सहित जनस्तरमा संगठन निर्माण ) का योजना सहित हामी क्रियाशील छौँ ।
९)महिला नेतृत्व विकासका सम्बन्धमा तपाईको दृष्टिकोण ?
राजनैतिक आन्दोलनमा महिला नेतृत्व विकास असाध्यै जटिल प्रश्न हो । युगौं देखि आर्थिक , सामाजिक र सांस्कृतिक रुपले पछाडि पारिएका महिलाहरु राजनीतिमा आउनु नै धेरै चुनौती सामना गर्नु पर्ने स्थिति छ । त्यसमाथि राजनैतिक आन्दोलनमा टिकेर नेतृत्वको रुपमा विकास गर्न झन गाह्रो छ । सापेक्षित रुपमा सजिलो संसदवादी राजनितीमा समेत महिला नेतृत्व बिकासको चुनौती छ भने हाम्रो जस्तो कठीन क्रान्तिकारी पार्टीमा झन अप्ठ्यारो स्थिति छ । जटिलताका बीच पनि यदि हामीले महिलाहरुलाई संगठित गर्ने र उनिहरुको नेतृत्व विकासमा ध्यान दिन सकेनौं भने समानताको नारा केवल कुरामा मात्रै सीमित हुन पुग्नेछ । त्यसकारण महिला नेतृत्व विकासका लागि पार्टी , घर–परिवार र समाजका सबै क्षेत्रमा विशेष अवसरको सृजना गरिनु पर्दछ । पार्टी भित्र विशेष तालिम÷प्रशिक्षणको व्यवस्थापन गरेर जिम्मेवारी दिइनु पर्दछ । समय व्यवस्थापनका लागि घरेलुु काम महिलाको मात्रै जिम्मा हैन भन्ने मान्यता कम्तिमा पनि पार्टी भित्र लागू गर्नु पर्दछ । उत्तिकै क्रियाशील श्रीमान श्रीमतीमा सांगठनिक जिम्मेवारी छाडेर पारिवारिक जिम्मेवारी धान्ने काम श्रीमतीको मात्रै हो भन्ने भ्रम स्थापित छ र कैयौं महिला नेताहरु घरगृह्स्थीमा फर्कनु परेको नराम्रो अनुभव हामीले भोग्दै आएका छौं । यस्तो जटिल परिस्थितिमा पुरुषले घर सम्हालेर महिलालाई राजनैतिक काममा सक्रिय गराउन विशेष नीति निर्माण गरिनु पर्दछ । पुरुष बाहुल्य रहेकाले सांगठनिक कामहरु महिला मैत्री छैनन् , यसबारे पनि ध्यान पु¥याउन जरुरी छ ।
आर्थिक स्वतन्त्रता सहित सामाजिक , सांस्कृतिक र धार्मिक बारबन्धन भत्काएर परिवारलाई नै राजनीतिकरण गर्न जरुरी हुन्छ ।
१०) के देशको राजनीति ठीक ढङ्गले चलेको छ ?
हाल नेपालको राजनीति पश्चगामी,यथास्थितिवादी, दक्षिणपन्थी संशोधनवादी शक्ति र अग्रगामी क्रान्तिकारी शक्ति गरी दुई ध्रुवमा विभाजित छ । यथास्थितिवादी शक्ति राज्य सञ्चालनको नेतृत्व गरिरहेको छ । स्वाभाविकै हिसाबले देशको राजनीति ठीक ढंगले चलेको छैन ।
राज्यका तीनवटै अंगहरु कार्यपालिका , व्यवस्थापिका र न्यायपालिका असफल साबित भइ सकेका छन् । बारम्बारको सरकार परिवर्तन, न्युनतम संसदीय मर्यादा विपरीत भ्रष्टाचारका मामिलामा सांसदहरू नै सामेल हुनु , न्यायलय राजनीतिको अखडा बन्नुले संसदीय व्यवस्थाको असफलता स्पष्ट पारेको छ । दैनिक जनजिविकाका मुद्दाहरु बिकराल बन्दै गैरहेको छ । संसद भवन अगाडि मान्छेहरु आत्मदाह गर्न विवश छन ।
राज्य असफल भएको छ र जनतामा चरम निराशा छाएको छ । यो निराशालाई आशा र आन्दोलनमा बदल्न जरुरी छ । यो आन्दोलन अवस्थामा सामान्य सुधारका लागि हैन व्यवस्थाको अन्त्यको लागि हुनुपर्दछ ।
११) हाँक साप्ताहिक मार्फत थप भन्नु केही छ कि ?
लोकप्रिय वैचारिक पत्रिकाले जनतामा क्रान्तिकारी आशावाद जोगाइ राख्न गरिरहेको मेहनतप्रति सम्मान छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन र वर्तमान महिला आन्दोलनका विषयमा आफ्ना धारणा र मत संप्रेषण गर्ने अवसर दिनु भएकोमा धन्यवाद ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित