११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

आगामी फागुन २४ अर्थात् मार्च ८ मा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । महिला मुक्ति आन्दोलनकी नेतृ क्लारा जेट्किनले १९१० मा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने प्रस्ताव राखेकी थिइन् । सोही प्रस्ताव अनुसार १९११ देखि मार्च ८ लाई यो दिवस मनाउन थालिएको हो । पहिलो पटक सन् १९११ मा अष्ट्रिया, डेनमार्क, जर्मनी र स्वीट्जरल्याण्डमा यो दिवस मनाइएको थियो । सन् १९७५ मा संयुक्त राष्ट्र संघले यो दिवस मनाउन सुरु गरेको थियो ।
नेपाल सरकारले नारी दिवसको दिन सार्वजनिक विदा दिन्छ । संयुक्त राष्ट्रसंघले यो वर्ष २०२५ का लागि “सबै महिला र केटीहरुका लागि ः अधिकार, समानता, सशक्तिकरण” भन्ने नारा तय गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा महिलाका समस्या र समाधानकाबारेमा छलफल गरिनु पर्दछ । प्रविधिमा महिलाको पहुँच बढाउनुपर्दछ । आर्थिक र सामाजिक सशक्तिकरणका निम्ति महिलालाई सहयोग गर्ने संरचनाहरुलाई सवल बनाउनुपर्दछ । महिला सशक्तिकरणका लागि सिर्जनात्मक कार्यक्रम संचालन गरिनुपर्दछ ।
परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर संघर्ष गरेको तथ्य इतिहास सिद्ध छ । देशको जनसंख्याको आधाभन्दा बढी भाग महिलाहरुको छ ।
नेपालको संविधानमा महिलाको हकलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको छ । राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गरिएको छ । संविधानमा नै महिलाको ३३ प्रतिशत संसदमा प्रतिनिधित्व सुरक्षित गरिएको छ । रोजगारीमा महिलाका लागि आरक्षणको व्यवस्थाले महिलाको प्रतिनिधित्व बढाउनुले केही हदसम्म महिला सशक्तिकरणलाई टेवा पुगेको छ । आर्थिक तथा सामाजिकरुपमा पछाडि परेका महिलाहरुले अवसर प्राप्त गर्ने गरी रोजगारी बृद्धि गर्नु आवश्यक छ ।
संविधान र कानुनमा महिला अधिकार स्थापित गरिएको भए पनि व्यवहारमा यथोचितरुपमा कार्यान्वयन हुन सकेको छैन । पैत्रिक सम्पत्तिमा छोरीलाई पनि छोरा सरह समान अधिकार भनिए पनि व्यवहारमा अत्यन्त कमै मात्र कार्यान्वयन हुने गरेको छ । महिलाहरुले प्राप्त गरेका समावेशी अधिकारलाई उत्पीडित वर्गका महिलाहरुले भन्दा पनि टाठाबाठा र उपल्लो वर्गका महिलाहरुले सुविधा उपभोग गरेका छन् । कैयौं ठाउँमा महिलाहरुले समान कामको समान ज्याला प्राप्त गर्न पाएमा छैनन् । विदेश गएका महिलाहरु कैयौं अलपत्र परेका छन् । समाजमा महिला हिंसा र बेचबिखनको समस्या कायमै छ ।
महिलाका केही प्रकृतिजन्य समस्या छन् । त्यस्ता समस्याहरुमा पुरुषहरुको पनि सहयोग चाहिन्छ । महिलाका समस्या मूलतः वर्गीय समस्या हो । त्यसकारण महिला र पुरुष सबै वर्गीय संघर्षमा सँगसँगै भाग लिनु पर्दछ ।महिला दिवसलाई केवल रमाइलो पर्वका रुपमा मात्र मनाइनु हुँदैन । महिलाका समस्या समाधानको आन्दोलनलाई अगाडि बढाउनका लागि विचार मन्थन र योजना निर्माणको अवसरका रुपमा यस दिवसलाई उपयोग गरिनु पर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित