विगतजस्तै यसपटक चैत्र ५ गते सांस्कृतिक प्रतिरोध दिवस मनाइएको छ । यो २७ औं सांस्कृतिक प्रतिरोध दिवस हो । काभ्रेको अनेकोटमा २०५५ साल चैत्र ५ गते निशस्त्र जनताका कलाकर्मीहरुलाई शाही सेनाले घर घेराउ गरी हत्या गरेको थियो । च्याङवा लामा, (तिमाल, काभ्रे), चिनिमाया लामा,(होक्से काभ्रे) , गुम्वासिंह तामाङ (काभ्रे), निर्मला देवकोटा (अमले सिन्धुली), डम्बर श्रेष्ठ (सिन्धुपाल्चोक), शुभद्र सापकोटा (सिन्धुपाल्चोक) र मञ्जु कुँवर( महादेवस्थान सिन्धुली) लाई घरमा आगो लगाएर पाशविक ढंगले हत्या गरिएको थियो । जनयुद्धकालमा निर्मम ढंगले हत्या गरिएका ती सहिदहरु केवल माओवादी पार्टीको मात्र सहिद नभएर सम्पूर्ण परिवर्तनकामी न्यायप्रेमी जनताले सम्मान गर्नुपर्ने सहिदहरु हुन् ।
च्याङवा लामा तत्कालीन नेकपा (माओवादी) जिल्ला कमिटी सदस्य र सामना परिवारको केन्द्रीय कलाकार हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा कलाकारहरु अनेकोटामा जम्मा हुनु भएको थियो । २०६७ सालमा ७ जना सहिदहरुको सम्झनामा काभ्रेको अनेकोटमा सहिदपार्क बनाइएको छ । हरेक वर्ष काभ्रे र देशका अन्य भागमा सांस्कृतिक प्रतिरोध दिवस मनाइन्छ ।
सांस्कृतिक प्रतिरोध दिवस माइरहँदा सामना परिवारकी महान कलाकार चुनु गुरुङलाई विर्सन सकिंदैन । चुनु गुरुङ पाल्पा दोभानमा जन्मिएकी एक प्रतिभाशाली कलाकार हुनुहुन्थ्यो । जादुमय सुमधुर स्वरकी धनी उहाँले “प्यारो जलजला”, “श्रीनगर डाँडाले उठ भन्दैछ”, “आधा संसार” जस्ता चेतनामूलक जागृतिका गीतहरु गाउनु भएको थियो । नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलनमा चुनु गुरुङको योगदान सदा स्मरणीय रहनेछ । चुनुलाई आत्मसमर्पण नगरेकै कारण पोखरामा सैनिक व्यारेकमा हत्या गरिएको थियो ।
मानव स्वतन्त्रता, समानता मुक्तिको सपना सहिदहरुले बोक्नु भएको थियो । सहिदहरुको बलिदानीकै कारण आज देशमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र आएको छ । केही मौलिक अधिकार र समावेशी अधिकार प्राप्त भएको छ । तर साँचो अर्थमा देश र जनताको मुक्ति भएको छैन । सहिदहरुको सपना पूरा भएको छैन । सहिदहरुको निस्वार्थ त्यागबाट पाठ सिक्दै क्रान्तिकारी आन्दोलनमा क्रियाशील भएर मात्र सहिदहरुले देखाएको बाटोमा अगाडि बढ्न सकिन्छ । अहिले सहिदहरुको नाम भजाएर सहिदको सपनामाथि नै लात हान्ने अवसरवादी प्रवृत्ति पनि देखिएका छन् । त्यस्ताअवसरवादी प्रवृत्तिको विरोध नगरिकन क्रान्तिकारी आन्दोलन अगाडि बढ्न सक्दैन ।
सांस्कृतिक योद्धाहरुले गरेको त्याग र बलिदानलाई थप खोज अनुसन्धान गर्ने, उहाँहरुका रचनाहरुलाई प्रचारमा ल्याउने र तीबाट प्रेरणा लिंदै क्रान्तिकारी गीत, संगीत, साहित्यको सिर्जनामा नयाँ पुस्तालाई अभिप्रेरित गर्ने कामतिर विशेष ध्यान दिन जरुरी छ ।

