नेपालमा जातीय विभेदको रुप निकै भयावह छ । जातीय विभेदले गर्दा समाजमा तल्लो जाति बनाइएकाहरुले निकै कष्ट भोग्नु परिरहेको छ । समाजमा मान्छेलाई मान्छेले गर्दै आइरहेको विभेदले गर्दा समाजमा तल्ला जाति बनाइएकाहरुले जुनसुकै स्थानमा पनि विभेद सहनु परिहेको छ । समाजमा मान्छेले मान्छे माथि गरेको विभेदको कारण बहिस्करणमा पर्ने मार्ने , यातना दिने, अन्तरजातीय प्रेममा रहेका तथा विवाहीहरुलाई समाजमा सहज तरिकाले बस्न, टिक्न नदिने बहिस्करण गर्ने, छुवाछुत गर्ने चलन नयाँ होइन ।
समाजमा जातीय विभेदको अन्त्य गर्न भन्दै विभिन्न संघ संगठन खुल्न थालेको पनि पचास वर्ष भन्दा बढी भएको छ । विभिन्न राजनीतिक दलहरुनिकट दलित संगठनहरु बनेका छन् । देशमा लोकतान्त्रिक गणतन्त्र आएको छ । राजनीतिक व्यवस्थामा परिवर्तन भएको छ । जनताका छोराछोरी देशको सर्वोच्च अंगमा पुगेका पनि छन् । २०६३ साल जेठ २१ गते देशलाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको थियो । देशलाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको १८ वर्ष भइसकेको छ तर पनि समाजमा जातीय विभेद कायमै रहेको छ । समाजको तल्लो तहसम्म छुवाछुत विभेदले जरा गाडेर बसेको छ भन्ने कुरा सिराहाको औराही गाउँपालिकाको घटनाले जनाएको छ । सिराहाको औराहीमा फागुन १० गते महायज्ञ गर्ने भनिएको स्थान नजिकै दीपक मलिक डोमको घर रहेकोले यज्ञस्थलमा दलितको घर हुनुु र उनीहरु आवत जावत भएमा महायज्ञ अपवित्र हुने भन्दै घरमा डोजर लगाएर भत्काउन लगाइएको थियो । घर भत्काइए पछि दलितले छोएको माटो अपवित्र हुने भन्दै केही माटोलाई ताछेर फाल्न लगाइएको थियो ।यो घटनामा गाउँपालिकाको अध्यक्ष तथा महायज्ञ मूल आयोजक समितिको संयोजक शिवजी यादवको निर्देशन थियो भने पूर्व औराही ५ का पूर्व वडाअध्यक्ष तथा समितिका सचिव दिलिपकुमार यादव र बजरअंगी बाबाले घरमा डोजर लगाउन आदेश दिएका थिए ।
यो घटना नजानेर भएको हैन ,समाजले तल्लो जाति बनाएकामाथि यो विभेद समाजमा जान्ने बुझ्ने भन्ने बाट नै भएको छ । देशको नियम कानुन लागू गराउन निर्वाचित भएर आएको जनप्रतिनिधिको उपस्थिति मै यो हर्कतको व्यवहार भएको छ । ३० वर्षदेखि बस्दै आएको परिवारको उठिबास भएको छ । उनको परिवारलाई टाढा लगेर राखिएको छ । समाजमा यो जत्तिको विभेद के होला ? यो जति मानवअधिकारको उल्लंघन अरु के होला ? एक परिवारलाई महायज्ञ अपवित्र हुन्छ भन्दै घर भत्काएको बास नै उठाइएको छ । त्यसका साथै घटना बाहिरिए पछि यो कुनै जबरजस्ती नगरी मञ्जुरीमा भत्काइएको भनेर किर्ते मञ्जुरीनामा पनि बनाइएको छ । मञ्जुरीमा अर्काको घर किन भत्काईन्छ ? घरबार विहीन बन्न पुगेको परिवारलाई अझै धम्काउने मानसिक यातना दिने जस्ता कुकार्य भएको समाचारहरु आइरहेका छन् ।
यो घटनामा दोषी गाउँपालिका अध्यक्ष पूर्व वडा अध्यक्ष गिरफ्तार भएका छन् भने प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा तानिएको छ । यतिले मात्रै पीडित परिवारले न्याय पाउँदैन । देशभर रहेका लाखौं दलित समुदायले न्याय पाउँदैन । यो घटनाले नेपाली समाजमा विभेदको जरा कति गडेर बसेको छ ? भन्ने कुरा स्पष्ट पार्दछ ।उसले छोएको माटो समेत अपवित्र हुने अन्धविश्वास एक्काइसौं शताब्दीमा पनि हुनु र दलितमाथि भएको विभेदको जति नै निन्दा गरे पनि कमी हुन्छ ।
पीडकलाई हदैसम्मको कारबाही हुनु पर्दछ । गिरफ्तारहरुलाई कुनै पनि शक्तिको धाक धम्कीबाट छुटकारा दिनु हुँदैन । पीडितलाई आफ्नो स्थानमा ससम्मान पुर्नबासको व्यवस्था मिलाउनुका साथै भत्काइएको घरको पुनःनिमाण गरिनु पर्दछ ।भविष्यमा सम्पूर्ण समाजका दलित समुदायमाथि यस्ताखालका अमानवीय घटना नघटोस् भनेर राज्य,राजनीतिक दलहरु ,संघ संस्थाहरु ,मानवअधिकारवादीहरु सबैले विशेष ध्यान दिनु पर्दछ । समाजमा साँस्कृतिक रुपान्तरणकोलागि विशेष जागरणका कामहरु हुनु पर्दछ ।

