(क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको वि.सं. २०८१ मंसिर १३ देखि २३ सम्म काठमाडौंमा सम्पन्न राष्ट्रिय एकता महाधिवेशनमा महाधिवेशन आयोजक समितिका संयोजक कमरेड किरणद्वारा प्रस्तुत र पारित राजनीतिक प्रतिवेदनको “राष्ट्रिय परिस्थिति” खण्ड)
३. पार्टी एकताको ऐतिहासिक महत्व
तीन पार्टीहरु नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र नेकपा (मशाल)ले २०७९ देखि पार्टी एकताका लागि वार्ता गरेको र वार्तामा तीन पार्टी बीच पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल राख्ने र अन्य कैयौं मतभेदका विषयहरु टुङ्गिए पनि मुख्यतः माओवाद वा माओ विचारधारा, जनयुद्धको समीक्षा र राज्यको पुनर्संरचना जस्ता विषयमा रहेका मतभेद नटुङ्गिए पछि तत्कालीन मशाल समेतको सहमतिमा दुई पार्टीहरु नेकपा (क्रान्तिकारी माओवादी र नेकपा (बहुमत)का बीच २०८० वैशाख १७ गते पार्टी एकता सम्पन्न भयो । त्यसको ठीक एक वर्ष पछि टुङ्ग्याउन बाँकी रहेका माओवाद वा माओ विचारधारा, जनयुद्धको समीक्षा र राज्यको पुनर्संरचनालाई एकता महाधिवेशनसम्म खुला बहसमा लैजाने र पछि आवश्यकता अनुसार महाधिवेशनले निर्णय गर्ने सहमति सहित २०८१ साल वैशाख १८ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) का बीच एकता अधिवेशन सम्पन्न भयो । यस प्रकारको एकताले नेपाली सर्वहारा वर्ग, क्रान्तिप्रेमी जनसमुदाय र नेपाली कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी कम्युनिस्टहरूका बीच एकता चाहने शुभेच्छुक मित्रहरुलाई उत्साहित तथा प्रसन्न तुल्याएको छ । क्रान्तिका लागि वस्तुगत परिस्थिति अनुकूल बन्दै गए पनि आत्मगत परिस्थिति प्रतिकूल रहेको वर्तमान समयमा यो एकताले क्रान्तिकारी कम्युनिस्टहरू गोलबन्द बन्दै छन् भन्ने नयाँ सन्देश प्रवाहित गरेको छ । वस्तुतः नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध तुल्याउँदै क्रान्तिलाई नयाँ र सशक्त ढंगले अगाडि बढाउने दिशामा यस एकताको विशेष ऐतिहासिक महत्व रहेको छ ।
यो पार्टी एकता ऐतिहासिक आवश्यकताको अभिव्यक्ति हो र यस एकताका विचारधारात्मक, राजनीतिक तथा सांगठनिक आधार एवम् मान्यता यस प्रकार रहेका छन् ।
१. माक्र्सवाद–लेनिनवाद–माओवाद÷माओ विचारधारालाई पथप्रदर्शक सिद्धान्त मान्ने ।
२. नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद तर्फ अगाडि बढ्ने ।
३. नयाँ जनवादलाई आम तथा वैज्ञानिक समाजवादलाई आधारभूत कार्यक्रम र साम्यवादलाई अन्तिम लक्ष्यका रुपमा अंगीकार गर्ने ।
४. क्रान्तिमा बलप्रयोगको भूमिकालाई स्वीकार गर्ने र त्यससम्बन्धी मान्यतालाई विकसित तुल्याउने ।
५. सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्तिको निरन्तरताको सिद्धान्तलाई अवलम्बन गर्ने र महान् सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गर्दै जाने ।
६. सर्वहारा अन्तराष्ट्रियतावादलाई स्वीकार गर्ने ।
७. जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार संगठन परिचालन गर्ने ।
८. पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल राख्ने ।
हामीले पार्टी एकताको प्रक्रिया र आधारलाई तयार पार्ने सिलसिलामा भौतिकवादी द्वन्दवादको विधि, सहमतिय विधि तथा जनवादी केन्द्रीयताको विधिलाई अवलम्बन गर्दै र सहमतीय विधिमा जोड दिँदै आएका छौं । यिनै विधिका आधारमा अगाडि बढ्दै हामी यहाँसम्म आउन सफल रहेका छौं ।
अब एकातिर समग्र नेपाली कम्युनिस्ट आन्दोलन र अर्कोतिर विशेषतः पछिल्लो अवधिमा विभाजित भए यता हामीमा देखा परेका सकारात्मक तथा नकारात्मक अनुभवहरूको सही संश्लेषणका आधारमा आवश्यक शिक्षा लिँदै र भविष्यमा पार्टी एकतालाई विचारधारात्मक, राजनीतिक, सांगठनिक तथा भावनात्मक रुपमा सुदृढ तथा समर्थ तुल्याउँदै अगाडि बढ्नका लागि संकल्पबद्ध हुन जरुरी छ ।
एकातिर विभिन्न प्रकारका देशी तथा विदेशी वर्ग दुश्मनसहित साम्राज्यवाद र संशोधनवादद्वारा नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध हुन नदिन र क्रान्तिमा विभिन्न प्रकारका अवरोध पैदा गर्नका लागि योजनाबद्ध रुपमा अनेकौं कसरत तथा षड्यन्त्र गर्दै आएका छन् र भविष्यमा पनि गर्दै जानेछन् । हामी उच्च प्रकारको सतर्कताका साथ यस प्रकारका कसरत तथा षड्यन्त्रहरूको सामना गर्दै आगामी दिनमा कुशलतापूर्वक अगाडि बढ्न जरुरी छ ।
कम्युनिस्ट एकता र क्रान्तिका लागि प्रतिक्रियावाद तथा संशोधनवाद मात्र होइन आफ्नै पंक्तिमा विद्यमान निम्न पूँजीवादी मानसिकता र तद्जन्य विभिन्न प्रकारका गलत चिन्तन तथा प्रवृत्ति पनि अवरोधक बन्न सक्दछन् । यी कुराहरुप्रति पनि हामी अत्यन्तै सतर्क तथा सचेत बन्न जरुरी छ । यस सन्दर्भमा हामीले माक्र्सवाद–लेनिनवाद– माओवादको सैद्धान्तिक आलोकद्वारा निरन्तर पथप्रदर्शित रहेर, सही राजनीतिक, सामरिक तथा सांगठनिक कार्यदिशाको निर्माण तथा विकास गरेर, पार्टीमा विद्यमान अन्तरसंघर्ष तथा दुई–लाइन संघर्षलाई स्वस्थ एवम् मैत्रीपूर्ण ढंगले विकसित तुल्याएर र क्रान्तिको प्रक्रियामा दृडतापूर्वक अगाडि बढेर नै यस प्रकारका तमाम अवरोधहरूको सामना गर्न सक्दछौं र गर्नुपर्दछ ।
हाम्रो यो पार्टी एकता नेपालमा नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्ने समग्र सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक क्रान्ति र साम्यवादको गन्तव्य तथा गन्तव्यतर्फ अगाडि बढ्न प्रतिबद्ध रहिआएका छौं । यही नै हाम्रो पार्टी एकताको विशेष ऐतिहासिक महत्व हो र यसलाई राम्रोसित आत्मसात गर्न जरुरी छ ।
राजनीतिक प्रतिवेदन
Comments

