-रामबहादुर बुढा
सूर्य घिमिरे २०४६ सालको जनआन्दोलनका प्रथम शहिद हुनुहुन्थ्यो । वहाँ जनआन्दोलनका क्रममा २०४६ साल फागुन ७ गते पाल्पा जिल्लाको पूर्वी क्षेत्रको बजार रामपुरमा प्रहरीको गोली लागी शहादत प्राप्त गर्नु भएको थियो । वहाँको घर स्याङ्जा जिल्लाभएपनि आन्दोलनका क्रममा वहाँ रामपुर बजार आउनु भएको थियो । सूर्य घिमिरेको जन्म वि.सं. २०१४ पौष १४ गते रत्नपुर गा.वि.स ६ स्याङ्जामा भएको थियो ।वहाँको बुबाको नाम धोमाकान्त घिमिरे र आमाको भगवति घिमिरे थियो ।वहाँले श्री गंगालाल मा.वि स्याङ्जामा कक्षा १० सम्म अध्ययन गर्नु भएको थियो ।वहाँ सानै उमेरदेखि राजनीतिक स्वभावको मान्छे हुनुहुन्थ्यो । त्यस विद्यालयमा पढ्ने बेलामा नै राजनीतिक गतिविधिमा संलग्न भएकाले वहाँलाई शिक्षकहरुले विद्यालयबाट निकालिदिने चेतावनी दिएका थिए ।
अनेरास्ववियू छैठौं जिल्ला समिति पाल्पाको मुखपत्र युग प्रवाहमा सहिद सूर्य घिमिरेको जीवनी सोधिखाजी गरेर प्रकाशित गर्ने उद्देश्यले २०५८ को वर्षायामतिर संगठनमा सल्लाह गरेर अनिलकिशोर घिमिरे र जगु खड्कालाई सहिद घिमिरेको घर रत्नपुर ६ स्याङजा उनकी पत्नी राधा घिमिरेलाई भेटघाट गर्न पठाएका थियौं । २ जना विद्यार्थी नेताहरु घिमिरे खड्का वर्षाको बेला रुझ्दै भिज्दै प्लाष्टिक कागज ओढेर राधा घिमिरेलाई भेट्न पुगेका थिए । राधा घिमिरेबाट कैंयौं जानकारीहरु प्राप्त भएको थियो । ( नोटः जगु खड्का गुल्मी बलीथुमका हुनुहुन्थ्यो । वहाँले पाल्पामा पढ्ने बेला छैठौंमा काम गर्ने सिलशिलामा अनिलकिशोर घिमिरेसित जानकारी संकलन गर्न त्यहाँ जानु भएको थियो । जगु खड्काको केही वर्ष पहिले नै मृत्यु भइसकेको छ । )
शहिद पत्नी राधा घिमिरेले बताए अनुसार सूर्य घिमिरेले वहाँसित २०२९ सालमा विवाह गर्नु भएको थियो ।राधा घिमिरेका अनुसार सूर्य घिमिरेले लामो समय भारत प्रवासमा जागिर गर्नु भएको थियो र जागिर कै सिलसिलामा सुर्य घिमिरेले राधा घिमिरेलाई २०४० सालदेखि २०४५ साल सम्म भारतको गुजरात लिएर जानु भएको थियो । राधाका अनुसार भारत प्रवासमा सूर्य घिमिरेले प्रवासी संगठनमा काम गर्नु हुन्थ्यो । भारतमा रहँदा लगातार संगठनमा काम गर्ने वहाँको बानी थियो । नेपाल फर्किएको बेला घर र छरछिमेकमा राजनीतिक कुरा वहाँले गर्नु हुन्थ्यो ।
वहाँले प्रवासी संगठनमा कुन संगठनमा काम गर्नु भएको थियो भन्ने बारेमा अहिले पनि अस्पष्टता छ । नेपाली कांग्रेसले बेलाबखतमा आफ्नो पार्टीको सहिद दावी गरेर यदाकदा पाल्पामा स्मृति दिवश मनाएको पनि पाईन्छ ।तर उनी नेपाली कांग्रेसका थिए भन्ने बारेमा कांग्रेससित ठोस प्रमाण छैन । नेपाली कांग्रेसका २०६० –६१ सालतिरका जिल्ला सभापति राजन पन्तले युगप्रवाहका प्रतिनिधिलाई यो बताएका थिए, “सूर्य घिमिरेबारे नेपाली कांग्रेसको कार्यकर्ता भएको सदस्यता जस्तो भर पर्दो प्रमाण छैन । हामीसित पञ्चायत कालका क्रियाशील सदस्यहरुको रेकर्ड छ तर साधारण सदस्यहरुको रेकर्ड छैन ।उनको भाइ पर्ने विजय घिमिरे कांग्रेस भएकोले उनी पनि कांग्रेस नै हुन् भन्ने ठानेर उनलाई पनि सहिद मानेको हो ।” पक्कै पनि सहिद कुनै पार्टी विशेषको भन्दा आम न्यायप्रेमी जनताको साझा नै हुन्छन् तर मर्नु भन्दा पहिले सहिदको पनि आस्था हुन्छ । सहिद सूर्य घिमिरेको राजनीतिक आस्था के थियो भन्ने बारेमा तथ्यहरु खोजी गरेर स्पष्ट हुन सकेमा राम्रै हुने थियो । कांग्रेस नेता राजन पन्तले भने जस्तै नाता सम्बन्धमा आधारमा राजनीतिक आस्थाको पहिचान गर्नु तर्कसंगत देखिँदैन । उनकी श्रीमती राधा घिमिरेलाई पनि सूर्य घिमिरे नेपाली कांग्रसका थिए भन्ने विश्वास छैन ।सूर्य घिमिरे सम्बन्धी सामग्री संकलन गर्न स्याङ्जा रत्नपुर पुगेका युग प्रवाहका प्रतिनिधिहरुलाई उनका छ र छिमेकीहरुले पनि सूर्य घिमिरे कदापि नेपाली काग्रेसको नभएको र कम्युनिष्ट कार्यकर्ता नै भएको बताएका थिए ।
यो लेखका लेखक विद्यार्थी संगठनको कामको सिलसिलामा पूर्वी पाल्पा रामपुर क्षेत्रमा गएको बेला त्यहाँका धेरै शिक्षकहरुले सूर्य घिमिरे मसालका मान्छे थिए र मसालको प्रवासी संगठनमा काम गर्दथे भनेर सुनाएका थिए । अझ २०४६ सालको जनआन्दोलनको बेला पाल्पा रामपुरमा जनआन्दोलनमा सहभागी भएका तत्कालीन मालेका नेताहरुले लेखक सित उनी मसाल कै थिए भनेर बताएका थिए । यसबारे स्पष्ट हुनाकालागि लेखकले भारत प्रवासमा काम गरेका व्यक्तिहरुसित पनि सूर्य घिमिरेबारे सोधीखोजी गरेको हो ।अझै सम्म त्यसबारे स्पष्ट हुन सकेको छैन ।सहिद घिमिरेका श्रीमती राधा घिमिरे जतिबेला भारतको गुरातमा श्रीमान सँगै बसिन् त्यसबेला नै मसालमा विभाजन भएर मोटो मशाल र पातलो मसाल भएको थियो ।एकता समाज पनि त्यतिबेला दुइटा एकता समाज भएको थियो ।एकता समाज वा मसाल निकट उनी थिए भने पनि उनी कुन मसाल वा कुन एकता समाजमा थिए भन्ने कुरा अर्को खोजीको विषय हो । राधा घिमिरेले बताए अनुसार उनका देवर वा सूर्य घिमिरेका भाइ विजय घिमिरेले सूर्य घिमिरेका सबै डायरीहरु म पछि प्रकाशित गर्छु भनेर २०४७ सालमा लिएर गएका थिए । उनले ती डायरीहरुको आधारमा सहिद सूर्य घिमिरेबारे कुनै प्रकाशन गरेनन् र आफ्नी भाउजुलाई ती डायरीहरु कहिल्यै पनि फिर्ता गरेनन् ।यदि सूर्य घिमिरेका डायरीहरु फेला पार्न र हेर्न सकेको भए उनको राजनीतिक आस्था र उनका सांगठनिक जिम्मेवारीका बारेमा स्पष्ट हुन सक्थ्यो । (नोट ः विजय घिमिरे २०५६ सालमा पाल्पा क्षेत्र नं १ बाट नोपली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका थिए । केही वर्ष पहिले उनको पनि मृत्यु भइसकेको छ । )
२०४७ साल पछि सरकारको तर्फबाट सहिद सूर्य घिमिरेको परिवारलाई रु १ लाख प्रदान गरिएको थियो । २०५७ श्रावण ४ गते बुधबार , अंक १९१ नेपाल समाचार पत्र राष्ट्रिय दैनिकमा पत्रकार लक्ष्मण देवकोटाले सूर्य घिमिरेकी श्रीमती राधा घिमिरेको नाजुक पारिवारिक स्थितिको बारेमा चर्चा गर्दै “जग्गा बेचेर गुजारा गर्न विवश सहिद परिवारको चितकार सुन्ने कोही भएन”भन्ने शीर्षकमा समाचार प्रकाशित गरेका थिए । त्यो समाचार पढेपछि सहिदका दुइ छोराहरु सुवास घिमिरे कमल घिमिरेलाई बुद्ध एयरलायन्सका प्रोप्राइटरले काठमाण्डौको एउटा बोर्डिङ स्कूलमा पठन पाठनको व्यवस्था गरिदिएका थिए ।
सहिदहरुको राजनीति आस्थालाई जस्ताको तस्तै प्रकासमा ल्याउन आवश्यक छ । सम्भव भएसम्म सहिद सूर्य घिमिरेको राजनीतिक आस्था के थियो ? भन्ने बारे तथ्य बाहिर आउन सक्दा सहिद प्रति नै न्याय हुन्छ । सूर्य घिमिरे एउटा स्पष्ट राजनीतिक सोच भएका व्यक्ति हुनुहुन्थ्यो । २०४६ चैत्र ७ गते पाल्पाको रामपुर बजारमा जुलुस गर्नु भन्दा पहिले जुलुसबारे सल्लाहगर्ने कार्यमा पनि सूर्य घिमिरेको संलग्नता थियो भन्ने कुरा तत्कालीन आन्दोलनकारी मध्येका एक लेखनाथ पोख्रेलको भनाई छ । त्यतिबेला रामपुर गाउँपंचायतका प्रधानपञ्च देवराज ढकाल थिए । त्यो क्षेत्रका केही प्रधानपञ्चहरुको उक्साहटमा प्रहरलिे गोली चलाएको भन्ने घिमिरे परिवारको भनाई छ । लेखनाथ पोख्रेल लामो समय नेकपा (एमाले) मा क्रियाशील र पछिल्लो अवधिमा एकीकृत समाजवादीमा आबद्ध, ले बताए अनुसार घिमिरेलाई गोली लागेपछि अस्पताल लान खोज्दाखोज्दै घिमिरेको निधन भएको थियो । सूर्य घिमिरे लगायतका ०४६ को जनआन्दोलनका सहिदहरुले प्राणको आहुती दिएको झण्डै साढे तीन दशक भयो । ०६२÷६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र पनि स्थापना भयो तर सहिदहरुको सपना अझै अपूरै छ । देश र जनताको वास्तविक मुक्तिका लागि ०४६ को चैत्र २४ को जनताको स्पीरिटलाई पक्रनु पर्ने देखिन्छ ।
२०४६ सालको जनआन्दोलनका प्रथम शहिदः सूर्य घिमिरे
Comments

