शिक्षक, विद्यार्थी र अभिभावकमा अनुरोध

-नरेन्द्रबहादुर थापा
आदरणीय शिक्षक, विद्यार्थी, अभिभावकज्यूहरू लगायत शिक्षा सरोकारवाला सम्पूर्ण महानुभावहरू, अभिवादन!
अहिले देशमा शिक्षक महासङ्घको नेतृत्वमा सामुदायिक विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीहरूद्वारा शिक्षक आन्दोलनको नाममा शैक्षिक आन्दोलन चलिरहेको कुरा सर्वविदित नै छ । यही आन्दोलनको बारेमा केही कुरा राख्दै म तपाईंहरुसँग अनुरोध गर्न चाहन्छु । त्यो भन्दा पहिले तपाईंहरुसँग आफ्नो कुरा राख्ने म को हो ? पाठकहरुमा यो जिज्ञासा हुन सक्छ । त्यसैले म तपाईंहरुलाई अफ्नो छोटो परिचय दिन चाहन्छु ।

म विगत २०३६ साल देखि नै नेपालको शिक्षक आन्दोलनको नेतृत्व गर्दै शिक्षकको तत्कालीन सबैको साझा मञ्चको रूपमा स्थापना भएको एकमात्र साझा संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन (ल्ल्त्ब्)को स्थापना कालदेखि २०६६ सालमा भएको यस संगठनको दशौँ राष्ट्रिय अधिवेशनसम्म आइपुग्दा तत्काल भुमिगत रहेको हाम्रो २०४३ सालमा स्थापित अखिल नेपाल शिक्षक संघको अध्यक्षको रूपमा रहँदै आएको थिएँ। साझा संगठन ने.रा.शि.सं.को नीति विपरीत तत्कालीन नेतृत्वमा गलत प्रवृत्तिको विकास भएकोले त्यस संगठनबाट विद्रोह गरी भूमिगत रहेको अखिल नेपाल शिक्षक संघलाई ट्रेड युनियन ऐन अनुसार श्रम मन्त्रालय, श्रम विभागमा दर्ता गरी २०६७ सालमा सार्वजनिक गर्दै २०७१ सालसम्म यस संगठनको अध्यक्षको रूपमा नेतृत्व गर्दै आएको पूर्व शिक्षक भएको कुरा यसै पत्रद्वारा अवगत गराउन चाहन्छु । यद्यपि मैले अहिले नेपाल शिक्षक महासंघको नेतृत्वमा चलिरहेको शैक्षिक आन्दोलनलाई पूर्णरूपमा समर्थन र सहयोग गरेको छु र ऐक्यबद्धता जनाएको छु ।

सेवा निवृत्त भइसकेपछि पनि २०७९ सालमा अखिल नेपाल शिक्षक सङ्घबाट विद्रोह गरेको विद्रोही पक्षको नेतृत्व गर्दै आएको र हाल एकीकरणको प्रक्रियामा रहेका तीनवटा शिक्षक संगठनहरू अ.ने.शि.संघ ,अ.ने.रा.शि.संगठन र अ.ने.शि.संगठनको एकता संयोजन समितिको संयोजक समेत रहेको कुरा जनाउँदै अहिले चलिरहेको शिक्षकहरुको शैक्षिक आन्दोलनको विषयमा स्वभाविक रुपले नै चिन्ता र चासो भएको कारण यस विषयमा तपाईँहरु समक्ष यो संक्षिप्त अनुरोध जाहेर गर्न चाहन्छु ।

अहिले चलिरहेको यो आन्दोलन नेपाल शिक्षक महासंघको नेतृत्वमा भएको हुनाले होला यसलाई धेरै जसो मानिसहरूले शिक्षक आन्दोलन भनेर बुझ्ने गरेको पाइन्छ । तापनि यसलाई शैक्षिक आन्दोलन मान्न सकिन्छ । यो आन्दोलनको उद्देश्य २०८० सालमा नेपाल शिक्षक महासंघको नेतृत्वमा भएको शिक्षक आन्दोलन वा शैक्षिक आन्दोलनका आन्दोलनकारी र नेपाल सरकारका बीच भएको सहमति कार्यान्वयन गर्दै गुणस्तरीय शिक्षा अभिबृद्धि गर्नको लागि शिक्षक, विद्यार्थी तथा कर्मचारी मैत्री नयाँ खालको विद्यालय शिक्षा ऐन जारी गराउनु रहेको छ । गत चैत्र २० गतेदेखि अनिश्चितकालीन काठमाडौँ केन्द्रित सडक आन्दोलन सुरु भएको थियो । देशभरिका लाखौं शिक्षकहरू र विद्यालय कर्मचारीहरू निरन्तर काठमाडौँ केन्द्रित सडक आन्दोलनमा जुटिरहँदा सरकारले चासो नदिएको कारण चैत्र २५ गतेदेखि उक्त आन्दोलन अनिश्चितकालीन आम शैक्षिक हड्तालमा परिणत भएको छ । आज यो आन्दोलन सुरु भएको १९औं दिन बितिसक्दा पनि आन्दोलन रोकिने कुनै सङ्केत देखिएको छैन । आन्दोलनकारीहरूको यो दोस्रो चरणको आन्दोलन हो ।
यो चरणबद्ध आन्दोलनमा पहिलो चरणको आन्दोलन २०८१ माघ २० गतेदेखि सुरु भएको थियो । यस आन्दोलनमा सरकारको स्थानीय तहदेखि शिक्षा विकास तथा समन्वय इकाइ र प्रदेश तह हुँदै संघीय सरकारको शिक्षा मन्त्रालयमा समेत ज्ञापनपत्र पेश गर्दै, धर्ना, घेराउ, अनसन जस्ता विभिन्न प्रकृतिका आन्दोलनहरु हुँदै आएका थिए । त्यसलाई सरकारले बेवास्ता गरेपछि चैत्र २० गतेदेखि दोस्रो चरणको काठमाडौँ केन्द्रित सडक आन्दोलनको रूपमा यो आन्दोलनको विकास भएको हो । अहिले विद्यालय बन्द गरेर सबै शिक्षक र विद्यालय कर्मचारीहरू आम शैक्षिक हड्ताल घोषणा गरी काठमाडौँ केन्द्रित सडक आन्दोलनमा क्रियाशील रहेको अवस्था छ । यस आन्दोलनमा सहभागी हुने आम शिक्षक समुदाय र विद्यालय कर्मचारी साथीहरू समयानुकूल विद्यालय शिक्षा ऐनको अभावमा शैक्षिक जगतमा आइपरेका कठिनाइ र समस्याहरु बारे जानकार नै हुनुहुन्छ । तर शिक्षा शिक्षक र विद्यालय कर्मचारीको मात्र सरोकारको विषय भने होइन । शिक्षा विषयका सरोकारवाला विद्यार्थी, अभिभावक, शिक्षा संचालक र ब्यवस्थापक पनि हुन । विद्यार्थी भनेका विद्यालयमा शिक्षा आर्जन गर्ने धनी र गरीव, उच्च वर्ग र निम्न वर्ग, शिक्षक, प्राध्यापक, डक्टर , इन्जिनियर, वकिल, पत्रकार, किसान, मजदुर, ब्यापारी, उद्योगपति सबैका छोराछोरी हुन् । त्यसैले शिक्षा सबैको सरोकारको विषय हुन जान्छ । यसरी सबैको सरोकारको विषय शिक्षालाई संचालन र ब्यवस्थापन गर्ने विद्यालय शिक्षा ऐन आम नेपालीहरुको सरोकारको विषय हो । त्यसकारण अहिले विगत केही महिनादेखि चलिरहेको शैक्षिक आन्दोलनलाई आम नेपालीले समर्थन जनाउने मात्र होइन कि यस आन्दोलनमा सहभागिता समेत जनाउँदै ऐक्यबद्धता जाहेर गर्नु पर्दछ । त्यसैकारण मैले यस सन्दर्भमा सबै शैक्षिक सरोकारवालाहरुलाई यो ऐतिहासिक र निर्णायक शैक्षिक आन्दोलनमा सहभागी हुन यही पत्रमार्फत् विनम्रताका साथ अनुरोध गर्न चाहन्छु ।
आदरणीय आन्दोलनरत शिक्षक साथीहरू,
हामीहरू अहिले यो निर्णायक आन्दोलनमा जुटिरहेका बेला हामीमध्ये कोही बिरामी पर्न सक्नु हुन्छ । बिरामी भए उपचार गरौं र स्वास्थ्य लाभ गरौँ । शुभकामना ! कसैलाई केही व्यक्तिगत समस्या परेको हुन सक्छ । समय मिलाएर समस्या टारौं । आन्दोलन नछाडौँ । धैर्यता साथ निर्णायक आन्दोलनको रफ्तार अगाडि बढाऔं । अहिले नेपाली शिक्षकको जुन अवस्था छ त्यो पनि विगतका कैयौँ आन्दोलनको बलबाट यहाँसम्म आएका हौँ । आन्दोलनबिना अधिकार मागेर मात्र पाइँदैन । अझ यो संसदीय व्यवस्था ‘झुक्याउने व्यवस्था हो ।’ भन्ने कुरा कयौंपटक सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने यो सरकारको रबैयाले प्रमाणित गरिसकेको छ । अहिले पनि सरकारले वार्तामा बोलाउँदैछ । के का लागि वार्तामा बोलाइन्छ ? विगतमा वार्ताबाट नै सम्झौता भैसकेको हो।त्यहि सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने मात्र हाम्रो एक सूत्रीय माग हो । त्यसैले पुनः वार्ताको औचित्य छैन । विगतको सहमति अनुसारको शिक्षा ऐन जारी गरेर मात्र आन्दोलन रोकिनु पर्दछ । यद्यपि अस्ति यो दोश्रो चरणको आन्दोलनको सत्रौं दिन अर्थात वैशाख ५गते राति ९.०० बजे प्रधानमन्त्रीको चाहनाअनुसार शिक्षक महासंघका प्रतिनिधिहरुसँग भेट भएर सामान्य छलफल मात्र भयो । छलफलमा शिक्षक कर्मचारीको मुद्दा र विद्यालय शिक्षा ऐन जारी गर्ने सम्बन्धमा महासंघको धारणा प्रस्तुत भयो । प्रधानमन्त्रीले यसबारे अध्ययन र छलफल गरी सम्बोधन गर्न सकिने कुरामा निर्णय गर्ने र ऐन जारी गर्न यथाशक्य छिटै प्रयत्न गर्ने कुरा बताउनुभयो । शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी भएमात्र आन्दोलन रोकेर विद्यालय फर्किने कुरा बताउनुभयो भने प्रधानमन्त्रीले यथासक्य छिटो ऐन जारी गर्न सहमति जनाउनु भयो । तर यो भेट औपचारिक वार्ताको लागि थिएन ।त्यसपछि सभामुखसँग ११.३०बजे राति यस्तै प्रकारको भेट भयो र सोही विषयमा छलफल भयो । सभामुखले ऐन जारी गर्न प्रक्रिया पु¥याउन केही समय लाग्ने कुरा उल्लेख गर्दै सकेसम्म चाँडै गर्ने प्रयत्न गर्ने बचन दिनु भयो ।
महासंघको प्रतिनिधि मण्डलमा अध्यक्ष लक्ष्मी किशोर सुवेदी सहित सह– अध्यक्ष नानु मैया पराजुली महासचिव तुलबहादुर थापा, उपमहासचिव मदनराज जोशी र आबद्ध संगठन एकीकृत अ.ने.शि. संगठनका मानबहादुर पाण्डे हुनुहुन्थ्यो।

आदरणीय आन्दोलनरत शिक्षक कर्मचारी साथीहरू, हामी यो आन्दोलनबाट उत्साहित भएका साथीहरूलाई पंचायती शिक्षा ऐन २०२८ पछि ५४ वर्ष सम्म अर्थात लोकतान्त्रिक गणतन्त्रात्मक संविधान आएको १० वर्ष वितिसक्दा पनि ब्यवस्था र समयानुकूल विद्यालय शिक्षा ऐन जारी गर्न नसक्ने सरकारले हामीलाई निरुत्साहित गर्न हेप्ने, अपमान गर्ने, खिसीट्युरी गर्ने गर्न सक्दछ । सरकारको त्यस्तो ब्यवहारबाट हामी निरुत्साहित र विचलित कदापि हुनु हुँदैन ।
यो राज्य व्यवस्थाका संचालकहरुले फुटाउने र शासन गर्ने नीति अवलम्वन गर्ने पनि गर्दछन । शिक्षक संगठनको इतिहासमा हिँजो पंचायतीकालदेखि नै यस्तो हुने गरेको छ । निर्दलीय पंचायती कालमा प्रा.वि.संघ र मा.वि. संघ बनाएर शिक्षकहरूलाई फुटाउने प्रयत्न गरिएको थियो । २०४६ मा बहुदलीय व्यवस्था आए पछि शिक्षकहरूलाई प्रत्येक दलको भातृसंगठनको रूपमा बिभाजन गरी फुटाइयो । यस्तो काम सर्वप्रथम नेपाली कांग्रेसबाट कृष्ण प्रसाद भट्टराई अन्तरिम कालको प्रधानमन्त्री भएको बेला भएको थियो । त्यसपछि अन्य दलहरूले पनि शिक्षकका भातृ संगठन बनाउँदै गए । त्यसपछि पनि शिक्षकहरू नेपाल शिक्षक युनियन र शैक्षिक गणतान्त्रिक मञ्च गरी दुई कित्तामा २२ वटा शिक्षक संगठनहरू विभाजित भए । यो अवस्थामा शिक्षकको शक्ति कमजोर हुनपुग्यो र आन्दोलन हुन सकेन । आन्दोलन भइहाले पनि केही उपलब्धि प्राप्त हुन सकेन । त्यसकारण शिक्षक जगत एउटा चिन्ताको विषय बन्न पुग्यो । यसै प्रसङ्गमा मलाई एउटा त्यो सम्झना आयो कि २०६८ सालमा शिक्षक संगठनहरूका तत्कालीन अध्यक्षहरू अखिल नेपाल शिक्षक सङ्घको अध्यक्ष म नरेन्द्रबहादुर थापा , नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम अधिकारी र शैक्षिक गणतान्त्रिक मञ्चका अध्यक्ष गुणराज लोहनी सुन्धारामास्थित जनप्रिय गेस्ट हाउसमा बसेर सबै शिक्षक अटाउन सक्ने एक छाता संगठन शिक्षक महासङ्घको अवधारणा बनाएर पहिलो पहल सुरु गरेका थियौँ। त्यसपछि यसको लागि प्रायः सबै संगठनका शिक्षक नेताहरूले यसलाई समर्थन जनाएर सक्रियताका साथ लाग्नुभयो र सफलता पनि मिल्यो । सोही अनुरूप अहिले हामी नेपाल शिक्षक महासंघको छाता संगठनमा गोलबन्द भएका छौँ । यो एकता अनन्त कालसम्म कायम रहोस् । शुभकामना । शिक्षक कर्मचारी एकता – जिन्दावाद !
आन्दोलनको मैदानमा उपस्थित हुन असमर्थ हुनुभएका आदरणीय शिक्षक तथा कर्मचारी साथीहरू,
तपाईं बिरामी हुनुहुन्छ ? वा कुनै विशेष कारणले काठमाडौ केन्द्रित सडक आन्दोलनमा अनुपस्थित रहनुभयो ?
तपाईं बिरामी हुनुभएको भए उपचाररत हुनुहुन्छ होला । शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । अन्य कुनै बिशेष कारणबस आन्दोलनको मैदानमा उपस्थित हुन असमर्थ हुनुभएको भए समय मिलाएर आन्दोलनमा सहभागिता जनाउन तपाईंको प्रयत्न रहोस् । यो बेलामा तपाईंको सहभागिताले ठूलो महत्व राख्दछ । आन्दोलनको मैदानबाट त्यस विषयमा नबुझेका धेरै कुराहरू बुझ्न मदत मिल्दछ । तपाईं आन्दोलनमा सहभागिता जनाउन सक्नुभएन भने आन्दोलनको बलबाट प्राप्त उपलब्धि हासिल गरी ग्रहण गर्न पनि नैतिक रूपमा अलिकति अप्ठ्यारो महशुस भएर आफुलाई आत्मग्लानी जस्तो पनि हुन सक्छ । यद्यपि आन्दोलनमा सहभागिता जनाउन नसके पनि आन्दोलनबाट उपलब्ध सुविधा प्राप्त गर्न तपाईँको पूर्ण अधिकार रहन्छ । अन्त्यमा तपाईंले आजसम्म आन्दोलनमा सहभागिता जनाउन असमर्थ भएपनि अवदेखि समय मिलाएर सहभागी बन्न विनम्र अनुरोध गर्दछु ।
प्रिय विद्यार्थी भाइबहिनीहरू,
यो आन्दोलन शिक्षक आन्दोलन भनिए तापनि शैक्षिक आन्दोलन भएको मान्नुपर्छ । शैक्षिक आन्दोलन शिक्षासँग सरोकार राख्ने सबै शिक्षा सरोकारवालाहरूको हुन्छ । शिक्षा हासिल गर्ने मुख्य पात्र विद्यार्थीहरु नै हुन् । शिक्षा ऐन बिनाको शिक्षा योजना, नीति र कार्यक्रम सही हुन सक्दैन । शिक्षा ऐन बिनाको शिक्षा आर्जन गर्ने कुरा अँध्यारोमा तारो हान्ने जस्तै हुन्छ । धेरै पटक टालो हालेको २०२८ सालको राजा महेन्द्रको पंचायती शिक्षा ऐन आजको सन्दर्भमा जबर्जस्ति लादिएको र त्यसले कामै नगरेको अवस्था छ । त्यसैले समयानुकूल नयाँ शिक्षा ऐन जारी गराउन विद्यार्थीहरूको महत्वपूर्ण भूमिका रहने हुनाले तपाईंहरु पनि सक्रिय रूपमा यो शैक्षिक आन्दोलनमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछु ।
आदरणीय अभिभावक महानुभावहरू,
तपाईँ हामी आफ्ना सन्तानहरूले राम्रो र गुणस्तरीय शिक्षा हासिल गरेको देख्न चाहन्छौं । राम्रो र गुणस्तरीय उपलब्धिमूलक शिक्षाको लागि समयानुकूल शिक्षा ऐन, शिक्षा नीति र कार्यक्रमको आवश्यकता पर्दछ । पञ्चायती शिक्षा ऐन २०२८ ले आजको लोकतान्त्रिक गणतन्त्रात्मक युगको शिक्षाको प्रतिनिधित्व गर्न सक्दैन । जसको कारणले गर्दा अहिले २८ सालको शिक्षा ऐनलाई टालटुल गरेर चलाएको हुनाले यो शिक्षा प्रणालीबाट उत्पादित जनशक्ति हामीलाई काम दिन नसकेको मात्र होइन कि त्यो जनशक्ति यहाँ बस्नै नसकेर विदेश पलायन भएको छ ।
यसै सन्दर्भमा नेपाल शिक्षक महासङ्घको नेतृत्वमा नेपालमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न ५४ वर्ष पुरानो पञ्चायती शिक्षा ऐन खारेज गरी समयानुकूल गुणस्तरीय शिक्षा, शिक्षक, विद्यार्थी र विद्यालय कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यले नेपाली शिक्षक र विद्यालय कर्मचारीहरूद्वारा एक सुत्रिय माग राखेर यो शैक्षिक आन्दोलन सुरु गरिएको छ ।

समयानुकूल नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने कुरा अत्यन्त समय सान्दर्भिक छ । शिक्षा ऐन शिक्षकको लागि मात्र नभएर सबै नेपालीको लागि भएकोले सारा अभिभावकज्यूहरूले शिक्षक र विद्यालय कर्मचारीहरुको यो शैक्षिक आम हडतालका कारण आफ्ना बालबालिकाले पढ्न नपाएको चिन्ता गर्नुको साटो आन्दोलनप्रति समर्थन, सहयोग र सहभागिता को लागि हार्दिक अनुरोध गर्दछु । समयानुकूल अग्रगामी शिक्षा ऐन ल्याउनको लागि केही दिन पढाई स्थगन हुनुलाई क्षति भएको मान्न हुँदैन ।
आदरणीय शिक्षक, विद्यार्थी र अभिभावक मित्रहरू,
समयको गतिसँगै सबै चिजमा परिवर्तन अनिवार्य हुन्छ । अहिलेको अवस्थामा शिक्षामा हामीले खोजेको परिवर्तन यही हो जो अनिवार्य छ र अवश्यम्भावी छ । तर यो परिवर्तन सदाको लागि भने हुँदैन । अहिलेको अवस्थामा विगतको सहमति सहितको गुणस्तरीय शिक्षा, शिक्षक, विद्यार्थी र कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी भएपछि त्यो कति व्यवहारिक, वैज्ञानिक र जनपक्षीय हुन्छ । त्यसको प्रयोगबाट मात्र थाहा हुन्छ । अनि त्यसपछि यो भन्दा अग्रगामी विद्यालय शिक्षा ऐनको आवश्यकता महहुस भएमा पुनःआन्दोलनको आवश्यकता पर्दछ । सरकारले यी सीमित मागहरू पूरा नगरेमा आन्दोलन विकसित रूपमा अगाडि बढ्दै जानेछ र त्यसको मूल्य वृद्धि हुँदै पनि जानेछ । जसको मूल्य चुकाउन सरकारलाई कठिन साबित हुनेछ । विद्यमान लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थाको यो सरकारले शिक्षकका यी जायज मागहरू सम्बोधन गर्न नसकेमा नेपाली जनताले विद्यमान व्यवस्थाको विकल्पमा अग्रगामी राज्य व्यवस्थाको खोजी गर्नुपर्ने अनिवार्य आवश्यकता हुने कुरा निश्चित छ । अहिलेलाई यहीँ टुङ्ग्याउँछु ।
मिति २०८२ वैशाख ७ गते

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित