प्रथम शिक्षक सहिद टंक भूसाल

जेठ २ काठमाण्डौ । आज जेष्ठ २ गते सहिद टंक भूसालको ४४औं स्मृति दिवस हो । सहिद भूसालको सम्झनामा अर्घाखाँचीको सन्धिखर्कमा वहाँको स्मृृृृृृृृृृृृृृृृृृृति दिवस मनाइन्छ । वहाँलाई नेपाल कै प्रथम शिक्षक सहिद मानिन्छ ।
वहाँको जन्म २०११ साल पौष १ गते अर्घाखाँची जिल्लाको तत्कालीन अर्घा गाउँ पञ्चायतमा भएको थियो । वहाँका बुवा जीवलाल भूसाल र आमा केशवति भूसाल हुनुहुन्थ्यो ।वहाँ तीन भाइ मध्ये माहिलो छोरा हुनुहुन्थ्यो । वहाँ अर्घा गाउँपञ्चायतको रजस्थल निमाविको स्थायी शिक्षक हुनुहुन्थ्यो । वहाँले प्रमाणपत्र तहसम्म अध्ययन गर्नु भएको थियो । वहाँले विशेषतः गणित विषय पढाउनुहुन्थ्यो । वहाँले सरल भाषामा राजनीति ,संगठनका बारेमा जनतालाई बुझाउने क्षमता राख्नुहुन्थ्यो । वहाँले वार्ताशैलीमा जनताले बुझ्नेगरी पुस्तिका पनि लेख्नु भएको थियो।
पञ्चायती व्यवस्थाको विरोध गरेको आरोपमा कक्षा कोठामा पढाइरहेकै अवस्थामा टंकप्रसाद भुसाललाई २०३९ वैशाख २८ गते गिरफ्तार गरी जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेको जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखेको थियो। टंक प्रसाद भूषालसहित खुबिराम आचार्य ,इश्वरी बञ्जाडे लगायतलाई गिरफ्तार गरी हिरासतमा राखिएको थियो । त्यतिबेला ७२ जनालाई वारेन्ट जारी गरिएको थियो । २०३९ साल जेठ दुई गते हिरासतमा राखेकै अवस्थामा कुटीकुटी, शरीरका हरेक ठाउँका हाडहरू टुक्राटुक्रा हुने गरी भाँचिदिएर क्रुर हत्या गरिएको थियो। उहाँ त्यस समयमा २८ वर्षका जवान शिक्षक हुनुहुन्थ्यो।
उहाँलाई सुरक्षाकर्मीले “राजतन्त्र जिन्दावाद भन्, पञ्चायती व्यवस्था जिन्दावाद भन्, माफी माग, तँलाई छोडिदिन्छौँ“ भन्दा “म गणतन्त्र ल्याउने अभियानको मान्छे हुँ, तिमीहरूको वंशीय राजतन्त्र र निरङ्कुश पञ्चायत मुर्दावाद भन्छु तर माफी माग्दिनँ” भन्दै गर्जनुभएको थियो । पञ्चायती व्यवस्थासामु आत्मसमर्पण नगरेकाले वहाँको हत्या भएको थियो । वहाँले हिरासतको समयमा भित्तामा आफ्नै रगतले “क्रान्ति जिन्दावाद ”भनेर लेख्दै प्राण त्याग गर्नुभएको थियो।
टंक भूसालले २०३७ सालमा सरस्वती खनालसित विवाह गर्नु भएको थियो ।वहाँहरुको छोराछोरी थिएनन् । वहाँ जीवनभर विधवा,सहिद पत्नीको रुपमा रहनुभयो । वहाँ अहिले सन्धिखर्क नगरपालिकाको विहार भन्ने ठाउँमा एक्लो जीवन बिताइरहनुभएको छ ।२०४६ पछि सरकारले एकलाख रुपिया सहिद परिवारलाई सम्मान गरेको थियो । २०४६ पछि सन्धिखर्क शान्ति वगैंचामा नेकपा मसालको अगुवाइमा सहिद टंक भूसालको शालिक र सहिद बगैंचा निर्माण भएको छ । टंक भूसाल शिक्षक आन्दोलन र समग्र क्रान्तिकारी आन्दोलनमा बिर्सनै नहुने नाम हो । हरेक वर्ष आउने जेठ २ ले वहाँको त्याग, तपस्या, वलिदानको स्मरण गराउँछ ।

यो सामग्री नरेन्द्रबहादुर थापा समेतको सहयोगमा तयार पारिएको हो

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित