संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा दिनानु दिन कालो पहाडमा परिणत हुँदैछ । हिमालहरु पग्लिँदै गइरहेका छन् । हिउँ पग्लिँदै जाँदा हिमतालहरु भरिने, फुट्ने र तल्लो भागमा रहेको बस्तीहरुमा जोखिम पु¥याउने, हिउँ पहिरोको जोखिम बढिरहेको छ । उच्चस्थानमा रहेका हिउँ तालहरुमा जम्मा हुने र पानीको सतह निरन्तररुपमा बढिरहेको छ । पानीको सतह बढेर फुट्ने जोखिममा रहेका हिमतालहरु साना ठूला गरेर धेरै रहेका छन् । २०८१ साल साउन २२ गते सोलुखुम्बुको थ्याङबो हिमताल फुटेको थियो । हिमताल फुटेर लेदो सहित आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेका १५ घरपूर्णरुपमा क्षति भएको थियो । नेपालमा रहेका २१ वटा हिमतालहरु फुट्ने जोखिममा रहेको केही वर्ष पहिले अन्तर्राष्ट्रिय संस्थाहरुले भनेका थिए । नेपाललाई असर गर्ने गरी नेपाल, तिब्बत र भारतमा रहेका ४७ वटा हिमतालहरु फुट्ने जोखिममा रहेका छन् । पर्यावरणवादीहरुले तथा नेपालको भौगर्भिक स्थितिको जानकारहरुले उच्च स्थानमा रहेको हिमतालहरु कुनै पनि बेला फुट्न सक्ने भन्दै चेतावनी दिँदै आएका छन् । २०६९ वैशाख २३ गते सेती नदीमा बेमौसमी भीषण बाढी आएको थियो । बाढीले त्यो बेला ठूलो क्षति पु¥याएको थियो । २८ जनाले ज्यान गुमाउनुका साथै ३० जना वेपत्ता भएका थिए । त्यो बाढीमा परी तल्लो तटीय क्षेत्रमा रहेका स्थानहरुमा निकै असर गरेको थियो । माथि हिमाली भेगमा हिउँ पहिरो गएकाले त्यो बाढी आएको थियो । २०८२ जेठ १ र २ गते हुम्लाको तिलगाउँमा हिमताल फुटेर गाउँ तहस नहस बनाएको छ । १८ घरपरिवार पहिरोका कारण घरबारविहीन हुनुप¥यो ।
पानीका मुहानहरु सुक्दैछन् , तापक्रम बढ्दो छ । प्रकृतिमा अतिवृष्टि,अनावृटि तथा अल्पवृष्टि भइरहेका छन् । बाढी, पहिरो,डुबान जस्ता प्राकृतिक प्रकोपहरुबाट पीडित हुनु परेको छ । विश्वका धनी देशहरुले गरेको कार्वन उत्सर्जनले गर्दा वातावरणीय सन्तुलन बिग्रँदै गइरहेको छ । पर्यावरणीय संकट समाधान गर्न विभिन्न देशहरु,अन्तर्राष्ट्रिय संघ संघठनहरुले विभिन्न सम्मेलन, गोष्ठी जस्ता कार्यक्रमहरु गर्दै आएका छन् । पर्यावरणमा देखिएको संकटले विकासोन्मुख तथा विकासशील देशका जनताहरु बढी प्रभावित हँुदै आएका छन् ।
नेपाल सरकारले २०८२ जेठ २ देखि ४ गतेसम्म जलवायु कालापत्थरमा परिणत हुँदै गएको सगरमाथाको अवस्थालाई विश्वसामु जानकारी गराउने बारेमा सगरमाथा संवादको आयोजना गरेको छ । नेपालले आयोजना गरेको सगरमाथा संवादमा संसारभरबाट १२ देशका मन्त्रीस्तरीय, विभिन्न देशका १५० प्रतिनिधिको उपस्थिति रहेको थियो । दुईदिनसम्म जारी सगरमाथा संवादले संसार सामु हिमालयदेखि टापु राष्ट्रहरुले सामना गरिरहेका जलवायु परिवर्तनको चुनौतीसँग जुध्न २५ बुँदे महत्वपूर्ण आह्वान गरेको छ ।
जलवायु परिवर्तन हिमाल र मानवताको भविष्यको मुख्य विषय रहेको संवाद जलवायु परिवर्तनले निम्त्याउने खतरा ,हिमालदेखि टापु राष्ट्रहरुलाई जोड्न हरित अर्थतन्त्रलाई प्राथमिकता दिन,जलवायु परिवर्तनबाट निम्त्याउने हानी नोक्सानीबाट बच्न जलवायु न्याय तथा मानवताको भविष्यकालागि आवाज उठाउने ,विश्व तथा क्षेत्रीय साझेदारी बढाउन ,जलवायु मैत्री प्रविधिमा पहँुच र क्षमता विकासमा जोड दिने,जलवायु परिवर्तनबाट प्रभावितहरुले पाउनु पर्ने क्षतिपूर्ति तथा सहायताको विषयमा आवाज उठाउने, विश्वको बढ्दो तापमानलाई १.५ भन्दा माथि बढ्न नदिने लगायतका बुँदाहरु रहेका छन् ।
पर्यावरणीय संकटको विषय निकै पेचिलो विषय बन्दै गइरहेको छ । विश्वका ठूला तथा औद्योगिक मुलुकहरुले अवलम्वन गरेको विकास नीति पर्यावरणमा गम्भीर संकट पैदा गर्दै लगेको छ ।
नेपाल पर्यावरणीय संकटबाट निकै प्रभावित भएको कुरा काला हिमाल र प्राकृतिक प्रकोपहरुले देखाइरहेका छन् । नेपालले सगरमाथा संवादले आह्वान गरेका बुँदाहरु कार्यान्वयन गर्न सबै देशहरुलाई झक्झकाउनु पर्दछ । पर्यावरणीय समस्या समाधानका विषयहरु र नेपालले भोग्नु परेका समस्याहरुका विषयमा अन्तर्राष्ट्रिय मञ्चहरुमा उठाउनु पर्दछ । पर्यावरणीय संकटको समाधान एकल पहल तथा प्रयासले मात्रै सम्भव हुँदैन । सबै देशको पहल,प्रयास र गम्भीरताले मात्रै समस्या समाधान हुन सक्दछ । पर्यावरणीय संकट समाधानमा सबै राष्ट्रहरुले ध्यान दिनु पर्दछ ।
सगरमाथा संवाद र पर्यावरणीय संकट
Comments

