अमेरिकी साम्राज्यवादी सत्तामा मानवताको चित्कार

-अपत्य शर्मा
जुनसुकै शासन सत्ता भए पनि व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका आदि शासनयन्त्र त्यो वर्गीय हुन्छ र आफ्नो वर्गीय स्वार्थपूर्ति गर्नका लागि निर्माण गरिएका हुन्छन् । आफ्नो वर्गीय सत्ताप्रति औंला ठड्याउने, विद्रोह वा क्रान्ति गर्नेहरुलाई दमन गर्छ । यसकारण शासकहरुलाई जेल, नेल, पुलिस र सेनाको आवश्यकता हुन्छ । दास व्यवस्था, सामन्तवादी, दलाल नोकरशाही पुँजीपति, पुँजीवादी तथा साम्राज्यवादी शासन वा सर्वहारावर्गको तानाशाही आदि व्यवस्था विश्वमा प्रचलित छन् । सर्वहारावर्गले मात्र आफ्नो वर्गीय तानाशाही सत्ता टिकाउन सम्पूर्ण शोषक वर्गमाथि मात्र आफ्नो अधिनायकवाद अनिवार्य रुपले लागु गर्नै पर्छ । यदि शोषक वर्गमाथि सर्वहारावर्गले अधिनायकवाद लागु गरेन भने एकछिन पनि आफ्नो सत्ता कायम गर्न सक्दैन । सर्वहारावर्ग सबैभन्दा शोषित, पीडित, दमित, अपमानित र दैनिक ज्यालादारी दासताले जकडिएको वर्ग हो । सर्वहारावर्गले सम्पूर्ण शोषक वर्गीय आर्थिक आधार र संरचनाको अन्त्यसँगै आफ्नो वर्गको पनि अन्त्य अर्थात् विलोप नै हुन्छ । यसकारण सर्वहारावर्गले सम्पूर्ण शोषित, पीडित, दमित र अपमानित वर्गलाई नै मुक्त गर्छ ।
विश्वको कुनै पनि मुलुकमा सर्वहारावर्गको शासन सत्ता छैन । अवश्य पनि सर्वहारावर्गको पार्टी कम्युनिस्ट पार्टीको नाममा पुँजीवादी बजार व्यवस्थालाई अँगालेका छन् । कम्युनिस्ट पार्टीले सत्ता हातमा लिएपछि सर्वहारा समाजवाद लागु गर्छ । आम मानिस तथा श्रमजीवी वर्गलाई भ्रममा पार्न समाजवादी व्यवस्था लागु गर्ने लक्ष्य लिएको भनेर समाजवादी व्यवस्था अर्थात् पुँजीवादी व्यवस्था र दासता नै थोपारेका छन् । नेपालका संशोधनवादीका विभिन्न गुट उपगुटहरुले पनि आफूलाई कम्युनिस्ट पार्टी नामाकरण गरेका छन् । यस्ता तथाकथित कम्युनिस्ट लोगो भिर्नेहरुले घोर प्रतिक्रियावादी नेपाली कांग्रेससँग घाँटी जोडेर मिलिजुली चुनाव लड्नेदेखि शासनसत्ता नै चलाएका छन् । यी प्रतिक्रियावादी शासकहरुले प्रजातान्त्रिक पुँजीवादी मूल्य मान्यता र सिद्धान्तलाई नै लत्याएर भ्रष्टाचार, राष्ट्रघात र जनविरोधी श्रृंखलाहरुलाई निरन्तरता दिरहेछन् । आम नेपाली जनता पाइला पाइलामा ठगिएका शोषित, पीडित र दमित छन् । रोजगारीका कुनै पनि अवसर नपाएर लाखौं युवा विदेशमा रगत पसिना बगाउन बाध्य छन् ।
खाडीको ५० डिग्री सेल्सियसको तातोमा धन कमाउने आशामा त्यहाँबाट अंगभंग भएर, कोमामा पुगेर र काठको बाकसमा बन्द भएर नेपाल फर्किनेका आफन्त आँसुको दहमा, ऋणमा डुब्न बाध्य छन् । विदेशका पुँजीपतिले लाचार मजदुर नेपालीको क्रुरतम रुपले शोषण, उत्पीडन, दमन गर्नुका साथै अपमानित गर्दै विना मजदुरी रित्तो हात फर्काउँछन् । नेपालका प्रतिक्रियावादी शासकहरु उत्पादनशील क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्नुको साटो अनुत्पादक क्षेत्रहरुमा मोटो रकम लगानी गर्नमा र आफ्ना नाता गोता पोस्न क्रोनी क्यापाटिलिजमलाई अपनाउँदैछन् । अर्बौं रकम सेवा क्षेत्रहरुमा लगानी गर्दै भ्यू टावरहरु बनाउँदै निजीकरणको नाममा सरकारी स्वामित्वमा रहेका जमीन, कलकारखानाहरु सिन्कीको मूल्यमा बेच्दैछन् । राष्ट्र बैंकमा गभर्नर, विश्व विद्यालयका कुलपतिहरु, प्राधिकरणका प्रमुखहरु, न्यायलयका न्यायमूर्तिहरु सबैमा भागबन्डा छ । दण्डहीनता र राजनैतिक भ्रष्टाचार पराकाष्टामा छ । नेपाली शोषित, पीडित जनताको धैर्यको बाँध कहिले फुट्ने हो । त्यो अनिश्चित भए पनि अवश्य एकदिन जनताले विद्रोह वा क्रान्तिद्वारा नौलो विहानी ल्याउने छन् ।
एसियाली, अफ्रिकाली, ल्याटिनी तथा अमेरिकाली जनता पनि समानता, न्यायपूर्ण समाज, पूर्ण मानव अधिकार, सामाजिक सुरक्षा, निःशूल्क शिक्षा, स्वास्थ्य आदिको सुनिश्चितता चाहन्छन् । तर विश्वको महाशक्ति नरभक्षी अमेरिकी साम्राज्यवादी शक्ति नै ठूलो बाधकको रुपमा रहेको छ । किनभने विश्वको कुनै पनि मुलुकमा समानता, राष्ट्रियता तथा अमेरिकी साम्राज्यवादका विरुद्ध खडा हुने राष्ट्रवादी सत्ताका विरुद्ध आर्थिक नाकाबन्दी, आतंक हस्तक्षेप र त्यहाँका प्रतिक्रियावादी फासिष्ट अमेरिकी साम्राज्यवादका समर्थक पार्टी तथा समूहलाई सबै किसिमका सहायता समर्थन गरेर आफ्नो आर्थिक तथा राजनैतिक स्वार्थपूर्ति गर्दै आएको छ । अमेरिकाले क्यूवा, इरान, उत्तर कोरिया, रुस र भेनेजुएलालाई आर्थिक नाकाबन्दी लगाउँदै आएको छ । क्युवालाई अमेरिकाले आर्थिक नाकाबन्दी लगाएको दशकौं भइसक्यो । जब अमेरिकी साम्राज्यवाद विरोधी क्रान्तिकारी फिडेल क्यास्ट्रोले सत्ता समालेदेखि नै अमेरिकाले क्युवामाथि आर्थिक नाकाबन्दी लगाउँदै आएको छ । इज्रायलको विस्तारवादी नीति भएकाले र सिरियाको गोलान हाइटमाथि १९६७ को ६ दिने लडाइँमा इज्रायलले अधिकार जमाएर १९८१ मा आफ्नो सीमाभित्र मिलायो । यसरी इज्रायलमा गाभेको अन्तर्राष्ट्रिय जगतले अस्वीकार ग¥यो । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले पनि अस्वीकार गरेको थियो । सिरियाका राष्ट्रपति बसर अल असद कट्टर प्यालेस्टिनी जनताका पक्षमाा हुनुका साथै इज्रायली विस्तारवादी यहुदी जातिवादीका विरुद्ध लडिरहेका थिए । असदको सरकारलाई इरान र रुसको समर्थन थियो । इज्रायली विस्तारवादीका विरोधी भएकाले इज्रायली सत्ताको समर्थक अमेरिकी साम्राज्यवादी र उसका मतियारहरुले सिरियाका असद विरोधीहरु जो अल कायदासँग सम्बन्धित भनेर अमेरिकाले नै आतंकवादी भनेको थियो । अहिले त्यही संगठनका सिरियाका अस्थायी राष्ट्रपति अहमद अल सारालाई अमेरिकाले समर्थन गरेर आर्थिक नाकाबन्दी पनि हटाउने घोषणा गरेका छन् । सिरियामाथिको आक्रमण इज्रायलले जारी राखेको छ । इज्रायलको उद्देश्य सिरियामाथि पूर्ण अधिकार जमाउनु र ग्रेटर इज्रायल बनाउनु हो । स्मरणीय छः अहमद अल साराको टाउकोका लागि एक करोड डलरको घोषणा गरिएको थियो ।
लोकतन्त्र, मानवता र समानताको रट लगाएर नथाक्ने अमेरिकी साम्राज्यवादीले आफ्नै मुलुकमा आफ्नै नागरिकहरुप्रति चरम भेदभाव र असमान व्यवहार गर्नुका साथै रंगभेद, जातिभेदको शिकार बनाइरहेछन् । अमेरिकी साम्राज्यवादीकै तथ्यांक अनुसार प्रत्येक घण्टा ७८ जना महिला जवरजस्ती बलात्कृत हुन्छन् र प्रत्येक दिन १,८७१ महिला बलात्कारको शिकार भइरहेछन् । आठ जना अमेरिकी महिलामा ७ जना महिला बलात्कारमा पर्छन् अथवा १२.१ मिलियन महिलालाई बलात्कार गरिन्छ । यस्तो डरलाग्दो बलात्कार हुने मुलुकका सबै राज्यहरुमा गर्भपतन गर्ने अधिकार छैन । अमेरिकामा ५० वटा राज्यहरुमध्ये १९ वटा राज्यमा गर्भपतनलाई प्रतिबन्ध लगाइएको छ । बलात्कारमा परेका र गर्भपतन नगर्दा ज्यानै जाने भए पनि गर्भपतन गर्न नपाएर तड्पितड्पि मर्नुको पीडा डरलाग्दो छैन र ?
अमेरिकामा काला गोराका बीचको भेदभाव, तेस्रो लिंगीहरुप्रति चरम भेदभाव गरिन्छ । अमेरिकी कानुन नै अफ्रिकी मुलका अमेरिकी नागरिकलाई र गोरा अमेरिकीलाई भेदभाव गरिने गरी बनाइएका छन् । किनभने गोरा पुलिसले अफ्रिकी मूलका अमेरिकी नागरिकलाई हातखुट्टा भाँच्ने गरी कुट्नु गोलीले भाग्न लागेको भनेर हत्या गरे पनि निर्दोष भनेर अदालतले छाडिदिन्छ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना नीति नियमहरुको पालना गर्ने न्यायधीशहरु नियुक्त गर्दैछन् । अमेरिकामा ५० लाख मानिस निगरानीमा छन् । करिब बीस लाख बन्दी संघीय जेलमा छन् । अमेरिकामा २००,००० आजीवन जेल सजाय भोग्ने छन् । (जुन ८, २०२५ को तथ्यांक) अमेरिकी जेलमा ३२ प्रतिशत काला बन्दी छन् भने ३१ प्रतिशत गोरा बन्दी छन् । अमेरिकामा कुल १.८ मिलियन बन्दी छन् ।
अमेरिकाको जेलमा परेपछि त्यो बन्दी कहिल्यै मुक्त हुँदैन । किनभने मुद्दा लड्न मोटो रकम चाहिन्छ । गरिबसँग मुद्दा लड्ने सामथ्र्य नै हुँदैन । धनी जेल परे धेरै समय जेल बस्नु पर्दैन । अमेरिकी जेलमा ज्यादै अमानवीय यातना दिएर बन्दीहरुलाई राखिन्छ । कैयौं जेलमा विना कसुर मर्दछन् ।
ग्वान्तानामो जेलमा दिइएका २००१÷९÷११ का आशंकित अभियुक्तहरुलाई दिइएका यातनका बारेमा (न्यूयोर्क टाइम मई.२, २०२५ ) मा प्रकाशित सानो विवरण यहाँ उल्लेख गरौं । बन्दीलाई जमीन मुनिको कालकोठरीमा हतकडी नेल लगाउनुदेखि एकान्तमा राख्नु, सन् २००३ देखि २००६ सम्म प्रश्नहरु लगातार गरेकोगरै गरेर आफ्नो अपराध स्वीकार गर्न लगाउने प्रयत्न गरिएको थियो । ९÷११ का अभियुक्त प्रतिवादी अमर अल बलुचीलाई पैसाहरु र अन्य सहयोग समर्थन गरेको अभियोग लगाइयो । जुन घटनामा ३००० मानिस मारिएको दावी अमेरिकी सरकारको छ । बलुचीलाई २००३ को प्रारम्भमा पाकिस्तानमा गिरफ्तार गरेर २००६ मा गोन्तानामो जेलमा सारियो । उनलाई न वकिलसँग सम्पर्क गर्न दिइयो नत अन्तर्राष्ट्रिय रेडक्रसलाई नै सम्पर्क गर्न दिइयो । बलुचीको क्युवाको गोन्तानामो जेलको पहिलो दिन ८२ घण्टा सुत्न नै दिइएन । हात खुट्टामा हतकडी नेल लगाएर नांगै उभिन लगाउनुका साथै टाउकोमा (हुड) छतरी बाँधियो र आतंकित बनाउन नक्कली वाटर बोर्डिङ प्रविधि (बन्दीको अनुहार र श्वास प्रश्वासका मार्गहरु घोप्ने कपडामाथि पानी खन्याइन्छ । जसले गर्दा बन्दीले डुबेको सम्झन्छ । यो बोर्डिङ विधिमा बन्दीको अनुहार कपडा वा पातलो पदार्थले छोपिन्छ । १० देखि २० डिग्री झुकावमा पछाडि स्थिर गरिन्छ । यातना दिनेहरुले श्वास प्रश्वासका मार्गहरुमा अनुहारमा पानी खन्याउँछन् र बन्दी डुबेको अनुभव गर्छ । ) प्रयोग गरेर यातना दिइयो । बलुचीलाई अलकाइदाको बारेमा र उसको २००१÷९÷११ मा कस्तो भूमिका रह्यो भनेर १००० पल्ट प्रश्नहरु गरेपछि त्यहाँ ल्याइएको थियो । तीन जना एजेण्टहरुले चार दिनसम्म २००७ जनवरीमा प्रश्नहरु गरिरहे । बेलुचीलाई कतिसम्म गरिएको थियो भने अरुको कुरा सुन्न र अरुसँग कुरा गर्ला भनेर नदेख्ने गरेर आँखा छोपिएको थियो भने कान र मुख पनि थुनिएको थियो । बेलुचीलाई डाइपर लगाएर एउटा सिटमा पट्टा लगाइएको थियो अथवा भुँइमा पनि पट्टा लगाइएको थियो मानौं कार्गोलाई जसरी एक ठाउँबाट अर्को ठाउँसम्म बन्द गरेर माल पठाइन्छ । भनेर न्यायधीशले नै बताएका हुन् ।
अमेरिकाबाट आप्रवासीलाई गैर कानुनी रुपले बसेकालाई निकाल्न क्यूवामा रहेको ग्वान्तानामो जेलमा ३० हजार आप्रवासीलाई राख्ने र अन्यलाई एल साल्भाडोरमा पठाउँछ । स्मरणीय छः अमेरिकी साम्राज्यवादीले साल्भाडोरमा सुधार र क्रान्तिलाई रोक्न हस्तक्षेप ग¥यो । सन् १९६० केनेडी प्रशासनले तालिम प्राप्त दुईवटा प्यारा मिलिटरी समूह बनायो । जुन पछि केन्द्रीय मुलुकको मृत्युदण्ड दिने संरचनाकै निर्माण भयो ।
अमेरिकी साम्राज्यवादी आफ्ना नागरिकहरुप्रति त क्रुर, बर्बर, संवेदनारहित असमान अमानवीय व्यवहार गर्छ भने विदेशी नागरिकप्रति संवेदनशील र मानवीय हुने आशा गर्नु बगरेले काटिने जनावरप्रति दया माया गर्छ भन्नु जस्तै हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित