प्यालेष्टाइनी भूमि गाजामा दिनानुदिन मानवीय संकट गहिरिँदै गएको छ । सन् २०२३ अक्टोबर ७ मा प्यालेष्टाइनमा क्रियाशील हमास लडाकु समुहले इजरायली भूमिमा आक्रमण गरेर १२ सयको हत्या र २ सय ५० जनाको ज्यान गए पछि हमास समुहको कार्यको बदलास्वरुप भन्दै इजरायलले थालेको सैन्य कारवाही जारी छ । इजरायलको आक्रमणलाई पूर्ण रुपमा अमेरिकाको साथ सहयोग र समर्थन रहेको छ । युद्ध रोक्न वार्ताहरु भए पनि त्यो वार्ता निश्कर्षमा पुग्न सकेको छैन ।
झण्डै १८ महिनाको युद्धमा मारिनेहरुको संख्या प्यालेष्टाइनमा ५४ हजार ४ सय ७० को हाराहारी पुगेको छ । घाइतेहरुको संख्या १ लाख २४ हजार ७ सय रहेको छ । मारिनेहरु कैंयौं भग्नावशेषमा पुरिएका समाचारहरु आउँछन् । मारिनेहरुमा अधिकांश महिला ,बालक केटाकेटी रहेका छन् । यहाँ सहायता प्रदान गर्न खटिएकाहरु ७५ जना भन्दा बढीको मृत्यु भएको छ र ४ सय भन्दा बढि घाइते भएका छन् । मर्ने र मारिने क्रम जारी छ । लगातारको हमलाको कारण स्कूल ,अस्पताल शरणार्थी शिविरहरु ध्वस्त हुन पुगेका छन् । विस्थापितहरुको अवस्था अत्यन्त चिन्ताजनक रहेको छ । अहिले सहायता बोकेर गाजामा प्रवेश गर्न खोज्ने ट्रकहरुलाई इजरायली सेनाले प्रवेश रोक लगाउँदै आएको छ । भोक र प्यासले मर्नेहरुको संख्या दिनानु दिन बढिरहेको छ । खाना अभावमा ३ सयको संख्यामा बच्चाहरु मरेको भन्ने खबर छ । खानाको जोहो गर्न वरपर दौडन विवश बच्चाहरुको तस्विर सबैलाई रुवाउने खालको छ । इजरायलले विस्थापितहरु,बालबच्चाहरुको मानव अधिकारको कुनै वास्ता गरिरहेको छैन । युद्धको नियम भनेको आमने समाने भएर लड्ने बाहेक कसैको पनि मानव अधिकारको हनन गर्नु हुँदैन । युद्धमा विपक्षी नै भए पनि उसको मानव अधिकारको रक्षा हुनु पर्दछ । कति धेरै पीडाजनक समाचार छ कि सहायता लिन लाइनमा बसेको अवस्थामा ३१ जना प्योष्टाइनीहरुको इजरायली सेनाले गोली हानेर हत्या गरेको छ । दिनानुदिन सहायता लिन बसेकाहरुलाई आक्रमण भएको छ सबै क्षेत्रबाट हवाइ ,समुद्र ,आकाश आक्रमण जारी राखेको इजरायली सैनिक बललाई सबै बन्धक रिहा नगरे हमासलाई ध्वस्त गर्न इजरायली रक्षा मन्त्री इजरायल कात्जले निर्देशन दिएका छन् । उनले आफ्नो सेनाले पूर्ण शक्तिका साथ आक्रमण बढाइरहेको अब कुनै पनि कुराकानी बिना हमासका सबै क्षेत्रमा हमासलाई नष्ट गर्न सबै क्षेत्रमा लागेको बताएका छन् ।
इजरायली आक्रमणका कारण गाजाको ९५ प्रतिशत खेतीयोग्य जमिन नष्ट भएको एजेन्सीहरुले बताएका छन् ।इजरायललाई सबै मानवीय सहायताहरु उपलब्ध गराउन र युद्धका नियमहरुको पालना गर्न संयुक्त राष्ट्रसंघले पटक पटक अनुरोध गरे पनि त्यसको वास्ता इजरायलले गरको छैन ।
इजरायलले गाजा लगायत प्यालेष्टाइनी भूमिमा जारी राखेको आक्रमणले उसको मुख्य उद्देश्य हमास सक्नु भन्दा पनि उसको विस्तारवादी नीतिको कारण भइरहेको छ । पहिला यो स्थानमा आक्रमण हुँदैछ भन्ने खाली गर्न निर्देशन दिने ,खाली नगरे वमले उडाउने,भग्नावशेष तुल्याउने,वार्तामा बसेको समयमा गाजा खाली गर्न र अन्यत्र स्थानान्तरणको कुरा ल्याउने र उनीहरुलाई भगाउन चाहने कुरा निकै खेदजनक रहेको छ ।
इजरायलले आक्रमण जारी राखेको छ । उसले प्यालेष्टाइनमाथि जुन निर्शसंता प्रदर्शन गरिरहेको छ , इजरायलले प्यालेष्टाइनमाथि जुन नीति लिइरहेको छ त्यसको सबैले विरोध गर्नु आवश्यक छ । त्यहाँका बच्चा महिला ,घाइते अपाङ्गहरुको बाँच्न पाउने अधिकार,मानव अधिकारको रक्षाको लागि ध्यान दिनु जरुरी छ । युद्धमा साथ दिइरहेको अमेरिकी नीतिको सबैले विरोध गर्नु पर्दछ । प्यालेष्टाइनी जनताको बाँच्न पाउने अधिकारको रक्षा हुनु पर्दछ । इजरायलबाट युद्धको नाममा निर्दोष प्यालेष्टाइनीहरुमाथि भइरहेको अमानवीय गतिविधि तत्काल बन्द हुनु पर्दछ । युद्ध छिटोभन्दा छिटो अन्त हुनु पर्दछ । युद्ध विरामकोलागि सबैले दबाब दिनु पर्दछ ।

