इरान–इजरायल युद्ध

काठमाडांै । गत जुन १३ (वि.सं. २०८२ जेष्ठ ३० गते) देखि शुरु भएको इरान– इजरायल युद्ध सम्बन्धमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आफ्नो धारणा प्रष्ट गरेको छ । उक्त पार्टीले अमेरिकी साम्राज्यवादको संरक्षकत्वमा इजरायलले इरानमाथि गरेको भीषण सैन्य आक्रमणलाई इरानको सार्वभौमिकता माथिको ठाडो हस्तक्षेप भनेको छ । पार्टीका कार्यवाहक महासचिव गौरवद्वारा २०८२ असार ३ गते जारी वक्तव्यमा इजरायलद्वारा इरानमाथि गरिएको आक्रमणलाई घोर निन्दा गरिएको छ । वक्तव्यमा साम्राज्यवादी अन्तर्विरोध चर्किंदै गएका बेला क्रान्तिकारी तथा साम्राज्यवाद विरोधी शक्तिहरुका बीचमा संयुक्त मोर्चा बनाई साम्राज्यवादी युद्धका विरुद्धमा खडा हुनुपर्ने आवश्यकतामा जोड दिइएको छ । कार्यवाहक महासचिव गौरवद्वारा जारी वक्तव्यको पूर्ण पाठ यसप्रकार छ–“अमेरिकी साम्राज्यवादको संरक्षकत्वमा इजरायलले इरानमाथि गरेको भीषण सैन्य आक्रमण पछि मध्यपूर्व भयानक युद्धको चपेटामा परेको छ र सर्व साधारण जनता युद्धको शिकार भएका छन् । सर्वप्रथम हाम्रो पार्टीे इजरायली सैन्य आक्रमणलाई इरानको सार्वभौमिकता माथिको ठाडो हस्तक्षेप मान्दछ र त्यसको घोर निन्दा गर्दछ ।
पछिल्लो केही समयदेखि विश्वमा अन्तर साम्राज्यवादी अन्तरविरोधहरु चर्केर गएका छन् । पुरै विश्व विध्वंशक युद्धको भुंवरीमा फस्दै गएको छ । पछिल्लो इजरायल–इरान युद्धमात्र होइन, रुस–युक्रेन युद्ध पनि छिटै अन्त्य हुने संकेत देखिंदैन । विश्वमा साम्राज्यवादी तथा विभिन्न शक्ति केन्द्रहरुका बीचको ध्रुवीकरण बढेर गएको छ । युद्धका नयाँ मोर्चाहरु खोलिने र पूरा विश्व तेस्रो विश्वयुद्धको भुँवरीमा फस्ने खतरा थप टडकारो बनेको छ । यो सबैका पछाडि साम्राज्यवादी शासकहरु जिम्मेवार छन् र त्यसमा प्रमुख भूमिका अमेरिकी साम्राज्यवादको रहेको छ ।
यस स्थितिमा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु महान संभावना र गंभीर खतराका बीचमा खडा छन् । क्रान्तिका दुश्मनहरुका बीच युद्धहुनु भनेको क्रान्तिका लागि अनुकूल परिस्थिति निर्माण हुनु हो । यो स्थितिमा क्रान्तिकारी कम्युनिस्टहरु एउटा साम्राज्यवादी शक्तिका विरुद्ध अर्को साम्राज्यवादी शक्तिको पछि लागेर होेइन क्रान्तिकारी तथा साम्राज्यवाद विरोधी शक्तिहरुका बीच संयुक्त मोर्चा गरी साम्राज्यवादी युद्धका विरुद्ध खडा हुनु र क्रान्तिको तयारीमा लाग्नु अहिलेको आवश्यकता हो । क्रान्तिकारी कम्युनिस्टहरुसँग महान संभावनालाई यथार्थमा बदल्ने यो बाहेक अर्को विकल्प छैन ।”
भा.क.पा. (मा.ले.) रेड स्टारको अन्तर्राष्ट्रिय विभागले २०२५ जुन १३ मा नै वक्तव्य जारी गरी इरानसित तनाव बढाएर यूरोपियन नाटो देशहरुलाई अमेरिकी–यहुदीवादी धु्रवको पछाडि लतारिन बाध्य बनाउन खोजिएको छ भनिएको छ । चिनियाँ सरकारका प्रवक्ता ग्यू ज्यू कानले इरान–इजरायलका बीचमा युद्ध विराम गर्न जोड दिएका छन् । संसारभरिका देशहरुले आफ्ना नागरिकहरुलाई इरान र इजरायलबाट फिर्ता हुन आह्वान गरेका छन् ।
इरान–इजरायल युद्धमा आज ५ औं दिन यो समाचार तयार पार्दासम्म इजरायलको आक्रमणबाट इरानमा २सय २० भन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ भने इरानद्वारा इजरायलमाथि गरिएको आक्रमणमा २० भन्दा माथि मानिसहरुको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले बताएका छन् । उता अहिलेसम्मको युद्धमा इजरायलद्वारा प्यालेस्टाइनमाथि गरिएको आक्रमणमा परी ५४ हजार ४ सय ३२ जनाको मृत्यु भएको र १लाख ९२ हजार भन्दा बढी घाइते भएको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । जि–७को बैठकमा पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्यानडाबाट अमेरिका फर्किएका छन् उनले इजरायल इरान युद्ध विराम गर्ने होइन, कि वास्तविक रुपमा युद्धको अन्त्य कसरी गर्न सकिन्छ भनेर खोजी गरिरहेको संचारमाध्यमलाई बताएका छन् । उनले इरानको राजधानी तेहरान खाली गर्ने धम्की दिएपछि तेहरान छोडेर जाने मानिसहरुको ठूलो भीड देखिएको छ । यो युद्ध बढ्दै जाँदा पूरै मध्यपूर्व क्षेत्रभरी युद्ध फैलिने खतरा छ । आम विश्वभरीका शान्तिप्रेमी जनताले युद्ध छिटो भन्दा छिटो रोकिए हुन्थ्यो भनेर कामना गरिरहेका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित