कमरेड नारायण सापकोटाजीको सम्झना

-रामबहादुर बुढा
कमरेड नारायण सापकोटाको निधन भएको एक वर्ष पूरा भयो । २०८१ साल जेष्ठ २८ गते ४९ वर्षकै उमेरमा उपचारकै क्रममा उहाँको वीर अस्पतालमा मृत्यु भएको थियो । सापकोटाजीले हामीलाई छाडेर गएको पनि यति छिटै एक वर्ष पूरा भइसकेछ ।
मैले नारायण सापकोटाजीलाई सबै भन्दा पहिले भेटेको २०५२ साल माघ ४ गते हो । अनेरास्ववियु (छैठौं) को तेह्रौं राष्ट्रिय सम्मेलन २०५२ माघ ५ देखि ७ सम्म पोखरामा सम्पन्न भएको थियो । म त्यतिबेला रेसुङ्गा बहुमुखी क्याम्पस, तमघास गुल्मीमा आई.ए. प्रथम वर्षमा पढ्दै थिएँ । नारायण जी बागलुङको महेन्द्र बहुमुखी क्याम्पसमा पढ्दै हुुनुहुन्थ्यो । तमघासबाट गुल्मीको पेंगा आएर , पेंगाबाट लक्ष्मण पाण्डे र म गुल्मीको वडागाउँ, वडिघाट तरेर दरमखोलाको किनारैकिनार बागलुङको गल्कोट हुँदै घोडा बाँधेको डाँडा क्रस गरेर काठे खोलामा एक होटेलमा बास बसेका थियौं । अर्कोदिन विहानै पैदल यात्रा गर्दै बागलुङ बजार पुगेका थियौं । बागलुङबजारमा नेकपा (मसाल) को सम्पर्क कार्यालयमा कृष्णराज पौडेल र परी थापा, अनि अनेरास्ववियु (छैठौं) को जिल्ला कार्यालयमा नारायण सापकोटा लगायतका साथीहरुलाई हामीले भेटेका थियौं । भर्खरको युवा, दाह्री पालेका, प्रष्ट वाक कला भएका नारायण सापकोटालाई मैले पहिलो पटक भेटेको थिएँ । त्यतिबेलै हामीले नेपाली विद्यार्थी आन्दोलनका वैचारिक धारहरुका बारेमा कुरा गरेका थियौं ।त्यसै सन्दर्भमा नारायणजीले एमालेको चरित्रबारे भन्नुभएको थियो– कांग्रेस भएका ठाउँमा गए भने हामी अरु कम्युनिस्ट जस्तो होइनौं, प्रजातान्त्रिक छौं भन्छन्, यहाँ बागलुङ आए भने मसाल भन्दा पनि अझ क्रान्तिकारी नै हुन् कि जस्ता भाषण गर्छन् । म र लक्ष्मण भोलिको उद्घाटन भन्दा पहिले दिन पोखरा तिर लाग्यौं । नारायण सापकोटा त्यतिबेला अनेरास्ववियु (छैठौं) बागलुङको जिल्ला अध्यक्ष हुनुहुन्थ्यो ।


अखिल (छैठौं) को इतिहासमा त्यसै सम्मेलनबाट पहिलो पटक राष्ट्रिय परिषद्को सांगठनिक संरचना राखिएको थियो । नारायण सापकोटा तेह्रौं राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्य बन्नुभयो । म तेह्र्रौं राष्ट्रिय सम्मेलन पछि बनेको केन्द्रीय समितिको बैठकबाट केन्द्रीय समितिको शैक्षिक तथा तथ्यांक विभागको सदस्य नियुक्त भएको थिएँ ।
२०५३ सालको भाद्र २ देखि ५ गतेसम्म अनेरास्ववियु (छैठौं) को राष्ट्रिय परिषद्को प्रथम बैठक मकवानपुरको हेटौंडामा सम्पन्न भएको थियो । नारायणजी बागलुङबाट र म गुल्मीबाट हेटौंडा पुगेका थियौं । परिषद् बैठकमा नारायणजीले आफ्ना कुरा राख्नु भएको थियो । कार्यकर्तालाई चाहिने माक्र्सवाद र विद्यार्थी आन्दोलनका आधारभूत शिक्षा हामीले प्राप्त गरेका थियौं । मोहन विक्रमसिंह, रामसिंह श्रीस, दीनानाथ शर्मा लगायतले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रमको अन्तिम दिन जुलुश र सभा हेटौंडा बजारमा सम्पन्न भएको थियो । वक्ताका रुपमा परी थापा, लिलामणि पोख्रेल लगायत हुनुहुन्थ्यो ।
२०५५ साल मंसिरमा अनेरास्ववियु (छैठौं) को चौधौं राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न भयो । कृष्ण अधिकारीको नेतृत्वमा नारायण जी र म दुवै केन्द्रीय सदस्य भयौं । तर नारायणजी म भन्दा पहिले नै चौधौं राष्ट्रिय सम्मेलन आयोजक समितिको सदस्य भइसक्नु भएको थियो । भर्खरका प्रायः १९÷२० देखि २५ वर्षका छैठौंका जिल्ला समितिका अध्यक्ष, सचिवहरुलाई ल्याएर बनाइएको त्यो जोशिला युवाहरुको टिमले लामो समयसम्म राम्रै काम ग¥यो । आज पनि त्यो टिमका साथीहरु देशका विभिन्न भागमा फरक फरक भूमिकामा देश र समाजलाई योगदान पु¥याइरहनु भएकै छ । २०५६ असोजमा विराटनगरमा राष्ट्रिय परिषद् बैठक गरी १५ दिन सम्म पूर्वी नेपालका जिल्लाहरुमा १५ दिने फिल्डवर्क गरेका थियौं । म धनकुटातिर लागेको थिएँ भने नारायण सापकोटाजीको नेतृत्वमा एउटा टोलीले तेह्रथुममा फिल्डवर्क गरेको थियो । २०५७ मा धनगढीमा पन्ध्रौं राष्ट्रिय सम्मेलन भयो । नारायणजी सचिव हुनुभयो म कोषाध्यक्ष रहें । २०५९ असोज ८ र ९ मा अनेरास्ववियु (छैठौं) र अनेरास्ववियु (२०२२) का बीचमा एकता भएर अनेरास्ववियु (एकीकृत) बन्यो । कृष्ण अधिकारी अध्यक्ष, निर्मल बराल उपाध्यक्ष, प्रकाश पोख्रेल महासचिव, नारायण सापकोटा सचिव, जीवन गौतम कोषाध्यक्ष रहेको अखिल (एकीकृत) को नयाँ समिति बन्यो । नारायण जी सचिव हुनुभयो । कृष्ण शर्मा (पूर्व महासचिव), लोकराज गौतम (उपाध्यक्ष), रामबहादुर बुढा (कोषाध्यक्ष) पूर्व छैठौंका हामी सचिवालय सदस्य रही काम ग¥यौं । नारायणजी बागलुङबाट काठमाडौं जानुभयो । म यता अखिल (एकीकृत) ४ नं. क्षेत्र (बागलुङ, लुम्बिनी, राप्ती) को इन्चार्ज भएर काम गरें । क्षेत्रबाट कार्यालयमा नारायण सापकोटाजीसित सांगठनिक कामले हाम्रो फोनमा कुरा भइरहन्थ्यो ।
०५९ सालमा राम्रो र ठूलो पार्टी बनाउने भनेर बनेको नेकपा (एकताकेन्द्र–मसाल) २०६३ सम्म फुटेर ३ पार्टी बने । पार्टी विभाजन दुःखद थियो । जति सुकै दुःखद भए पनि फेरि अगाडि बढ्नु नै थियो । पुरानो छैठौंलाई अगाडि बढाउन २०६२ मा नै पोखराको को–अर्डिनेशन, नेपालगन्ज भेला हुँदै २०६३ मा सोह्रौं राष्ट्रिय सम्मेलन गरेर अखिल (छैठौं) को नाम पुनस्र्थापना गरिएको थियो । २०६२ को नेपालगन्ज भेलाबाट विद्यार्थी मोर्चाबाट नारायण सापकोटाजीले विदा लिनुभयो । पछि उहाँले लामो समय मजदुर मोर्चाको महासचिव र अध्यक्ष भएर काम गर्नुभयो । म भने २०६५ सम्म विद्यार्थी मोर्चामा रहेर काम गरेर १४ वर्षसम्म जनजाति मोर्चामा काम गरें ।
०६३ सालमा पार्टी निर्णय अनुसार हाम्रो पाल्पा छोडेर काठमाडौं आयौं । करिव ७ महिना घट्टेकुलो बस्दा नारायणजीको परिवार र हाम्रो परिवार एउटै घरमा वल्लोपल्लो कोठामा बसियो । पछि नारायणजीहरुले कोठा सरेर वत्तिसपुतली जानुभयो । नारायणजीको कान्छी साली शान्ति पौडेलको सिफारिसमा उहाँहरुले हामीलाई पनि संगै लिएर जानुभयो । एउटै घरमा करिव ७ वर्षसम्म नारायण जीको परिवार र हामी वल्लोपल्लो कोठामा बस्यौं । वर्षौंसम्म हामी पारिवारिक वातावरणमा रह्यौं । कोठा सर्ने क्रम शुरु भयो । हामी सबैले वत्तिस पुतली छाड्यौं तर पनि हाम्रो पार्टीगत र सांगठनिक सम्बन्धले हामी बारम्बार भेट भइरहन्थ्यो ।
०७२ पछि नेकपा (मसाल) मा केही गम्भीर सैद्धान्तिक तथा राजनीतिक विषयमा मतभेद भए । त्यो मतभेद एकता–संघर्ष रुपान्तरणतर्फ जानु पर्दथ्यो । त्यो नभएर विभाजनमा परिणत भयो । २०७८ मंसिरमा एक भेला गरी हामी अल्पमत पक्षले सन्तबहादुर नेपालीको संयोजकत्वमा नेकपा (मसाल) केन्द्रीय समन्वय समिति बनायौं । ०७९ असोजमा नेकपा (मसाल) केन्द्रीय समन्वय समितिको आयोजनामा विशेष महाधिवेशन भयो । विशेष महाधिवेशनबाट नेकपा (मशाल) पार्टीको नामाकरण गरियो ।
२०७९ मंसिरदेखि नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल) का बीचमा पार्टी एकताका लागि वार्ता प्रक्रिया अगाडि बढ्यो । नारायण सापकोटा वार्ता कमिटीका सदस्य हुनुहुन्थ्यो । समन्वय समितिको बैठक बसिरहेका बेला एक दिन पोखरामा नारायणजीलाई टाउको दुःख्ने र अलि बढी नै समस्या भयो । पछि जाँच गर्दै जाँदा क्यान्सर भन्ने थाहा भयो ।
उहाँ क्रान्तिकारी आन्दोलनको लागि ध्रुवीकरण गरेर जानुप
र्छ भन्ने सच्चा कम्युनिस्टहरुको एकताका पक्षधर हुनुहुन्थ्यो । उहाँ नेकपा (मसाल) काठमाडौं जिल्ला समितिको कार्यवहाक सेक्रेटरी, वागमती क्षेत्रीय व्यूरोको सदस्य, राष्ट्रिय परिषद् सदस्य, नेकपा (मशाल) को पोलिटव्यूरो सदस्य हुँदै क्रान्तिकारी कम्युिनस्ट पार्टी नेपालको राष्ट्रिय महाधिवेशन आयोजक समितिको सचिवालय सदस्यको जिम्मेवारीमा रहेर काम गर्नुभयो ।
उहाँ इमान्दार हुनुहुन्थ्यो । गलत कुरालाई नलुकाइकन भन्न सक्नु हुन्थ्यो । नारायणजी भएको भए त मलाई आलोचना गर्नुहुन्थ्यो नि भनेर उहाँकै अभाव महशुस हुन्छ । साथीहरुबाट ढिलाढाला भनेर उहाँको आलोचना हुन्थ्यो । तर वचनका पक्का हुनुहुन्थ्यो । उहाँको लेख, रचना र उहाँ प्रतिको संस्मरण प्रकाशन गर्न बाँकी नै छ । त्यसप्रति अवश्य सबै सहकर्मी सहयोद्दा साथीहरुले अवश्य ध्यान दिनुहुनेछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित