२०८१ सालमा लिइएको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) को रिजल्ट २०८२ असार १३ गते राति प्रकाशित भएको छ । ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । उत्तीर्ण विद्यार्थी संख्या २,७१,२९९ जना रहेको छ । एसईईमा कुल ४,३८,८९६ परीक्षार्थी सहभागी थिए । १२ कक्षा सम्म माध्यमिक शिक्षा भनिने हुँदा र एसइइ सम्म पढेकै विद्यालयमा १२ कक्षा सम्म पढाई हुन सक्ने विद्यालयमा एसइइ पछि पनि सोही विद्यालयमा प्राय विद्यार्थीहरुले अध्ययन गर्दछन् । १२ कक्षा सम्म अध्ययन नहुने विद्यालयका विद्यार्थीहरुले भने १२ सम्म पढ्नका लागि अर्को विद्यालय खोज्नु पर्ने हुन्छ ।
विद्यार्थीहरु एसईई पास भइ सके पछि कुन विषय पढ्ने ,कहाँ जाने ? सरकारीमा जाने कि प्राइभेटमा जाने ? कुन स्तरको रकम खर्च गर्ने सम्मको पढाइ हुने स्थानमा जाने भन्ने अन्यौलता विद्यार्थी तथा अभिभावकमा हुने गर्दछ । जो शहरमा बसेका छन्,जसको साधन स्रोतको कमी छैन, सम्पन्न छन, ती अविभावकले विद्यार्थीहरुको आवश्यकताहरु पूरा गरिदिन सक्छन् उनीहरुलाई त जे जस्तो विषय पढ्छु ,पढाउँछु भने पनि, जुन ठाउँमा बसेर पढ्छु, पढाउँछु भने पनि सुविधाको कमी नहुन सक्छ ।
विद्यार्थीहरुको माध्यमिक शिक्षा सम्मको पढाई निःशुल्क गर्ने भन्ने संविधानमा व्यवस्था भएपनि नेपालमा संविधानमा भएका प्रावधानहरुको कार्यान्वयन भएका छैनन् । शिक्षामा निजीकरण र व्यापारीकरण छ । सीपमूलक, उच्चस्तरको शिक्षा पैसा हुनेहरुको लागि मात्रै जस्तो भएको छ ।
एसईई पास भइसकेपछि पढाइलाई अगाडि बढाउन नसक्ने अवस्थामा कति विद्यार्थी तथा अविभावकहरु छन् कतिपय तिक्ष्ण दिमाग भएका विद्यार्थीहरु पनि आर्थिक अभावका कारण पढाई छाडेर विदेशतिर जानुपर्ने बाध्यताहरु छन् । उनीहरुकाबारेमा सरकार, स्थानीय सरकार र समाजले विशेष ध्यान दिन जरुरी छ ।
विद्यार्थी तथा अविभावकहरुमा शहरमा पढेमात्रै राम्रो हुन्छ । गाउँमा रहेका प्लस टुमा भन्दा शहरमा रहेका प्लसटुमा पढाइ राम्रो हुन्छ भन्ने खालको धारणा विकास हुँदैछ । सरकारी भन्दा प्राइभेट प्लसटुहरु राम्रो भन्ने धारणाको विकास हुँदैछ । शहरका प्लसटुहरुले जबरजस्ती विज्ञापनहरु गरेर भौतिक साधन स्रोत भए पनि नभए पनि सम्पन्न छन् भन्ने योग्य शिक्षक देखाएर, जनशक्ति भए पनि नभए पनि चर्को विज्ञापन गरेर विद्यार्थीहरुलाई तान्न खोजिरहेका हुन्छन् । विद्यार्थी, अविभावकले विज्ञापनले मात्रै उत्कृष्ट पढाइ हुँदैन ,शहरमा रहेकामा मात्रै उत्कृष्ट विद्यार्थी उत्पादन हुन सक्दैन , निजीमा मात्रै विद्यार्थीको भविष्य राम्रो हुँदैन भन्ने कुरा बुझ्न विद्यार्थी र अविभावक दुवैले बुझ्न जरुरी छ ।
कैयौं अविभावक र विद्यार्थीहरुमा प्राविधिक विषय पढेमा मात्रै राम्रो हुन्छ भन्ने धारणा छ । कैयांैमा सामान्यखालका विषयहरु लिएर पढ्न नचाहने , सामान्य विषयलाई नगन्ने खालको सोचाई विकास भएको हुन्छ । तर विषय प्राविधिक पढे पनि सस्तो, महंगो जुन विषयको पनि समाजमा खाँचो छ भन्ने कुरा बुझ्न बुझाउन जरुरी छ । जे पढे पनि त्यो विषयमा विज्ञता हासिल गर्न सकेमा कुनै विषय आफैमा ठूलो सानो हुँदैन । सरकार जिम्मेवार भएको भए यो विद्यार्थीलाई यो विषयमा लगाएर देशको सेवा गर्ने बनाउन पर्छ भनेर सोही अनुसार विद्यार्थी उत्पादनमा निःशुल्क शिक्षाको व्यवस्था हुने थियो तर यहाँ सरकार नै शैक्षिक निजीकरण र माफियाकरणमा लागेको छ । सत्ता सञ्चालक दलका कार्यकर्ताहरु नै सो धन्दामा छन् । निःशुल्क शिक्षाको कुरा संविधानमा मात्रै सीमित भएको छ ।
जुन विषय जहाँ पढे पनि विद्यार्थीहरुले पढेर लेखेर ज्ञान हासिल गरेपछि सो ज्ञानले समाज सेवा गर्ने हो । समाजको लागि योगदान दिने हो । त्यसकारण विद्यार्थीहरुले महंगो कलेजमा शहरमा नै, वा निजी कलेजमा नै पढनु पर्छ भन्ने छैन । धेरै खर्च नै गरेर मात्रै राम्रो पढाइ हुँदैन । आफ्नै गाउँठाउँमा रहेका प्लसटुहरुमा दिइने शिक्षा सहज र सस्तो तरिकाले हासिल गरेर थप उच्च शिक्षा यही नेपाल मै लिन सकेमा र नेपाली विद्यार्थीहरु भविष्यमा नेपाललाई नै काम लाग्ने बन्न सकेमा हुने थियो ।

