प्रमोद धिताल
संयोजक, प्रतिरोध जनअधिकार आन्दोलन
अन्तर्वार्ता
प्रमोद धिताल ‘प्रतिरोधः जनअधिकार आन्दोलन’का संयोजक हुनुहुन्छ । गत वर्ष देशव्यापी रुपमा मनाइएको ‘लेनिन स्मृति शतवार्षिकी’मा उहाँ मूल आयोजक समितिको सदस्य हुनुहुन्थ्यो भने दाङमा गठित शतवार्षिकी समितिको संयोजक रहेर काम गर्नुभयो । झण्डै तीन दशकदेखि कम्युनिस्ट आन्दोलन र प्रगतिशील साहित्यिक–सांस्कृतिक आन्दोलनमा प्रत्यक्ष सहभागी धिताल हाल ‘राजनीतिक संवाद थालनी’को पनि सदस्य हुनुहुन्छ । धितालसँग ‘हाँक’ साप्ताहिकले गरेको कुराकानी
––––––––––––––––––––––––––––
तपाईं प्रतिरोधः जनअधिकार आन्दोलनको संयोजक हुनुहुन्छ । यो कस्तो प्रकृतिको संगठन हो र यसले के–के काम गर्दै आएको छ ?
नेपालमाजनवादी अधिकार स्थापनाको लागि चलेको झण्डै एक शताब्दी लामो आन्दोलनले एक चरण पार गरेको छ । यसले पुँजीवादी लोकतन्त्रका केही अधिकारहरु स्थापित पनि गरेको छ । तर अहिले पनि शोषणकारी राज्य व्यवस्था बदलिएको छैन ।उत्पीडनकारी सामाजिक व्यवस्था उस्तै छ । तसर्थ, जनअधिकारका क्षेत्रमा जागरण अभियान, संगठन निर्माण र प्रतिरोध आन्दोलन उठान गर्ने उद्देश्यले ‘प्रतिरोध’ नामक जनसंगठन गठन गरिएको हो । २०७८ सालमा पोखरामा भएको प्रगतिशील, वामपंथी र जनपक्षीय राजनीतिकर्मीहरुको भेलाले यो सङ्गठनलाई औपचारिक रुपमा स्थापित गरेको हो ।
यसले आफ्नो स्थापनादेखि यता जनजीविका, राष्ट्रियता र जनअधिकारसँग सम्बन्धित मुद्दाहरुमा विभिन्न जागरणमूलक कार्यक्रम, सडक प्रदर्शन, भेला–गोष्ठी, संयुक्त आन्दोलन निर्माण र विभिन्न वैचारिक काम गर्दै आएको छ ।हामीले २०७८मा गण्डकी र बागमतिमा “प्रतिरोध सांस्कृतिक यात्रा”, २०७९मा कर्णालीको जाजरकोट र रुकुममा ‘जातव्यवस्थाविरुद्ध भेरी प्रतिरोध मार्च’,काठमाडौमा मिटरब्याज पीडित किसान–मजदूर आन्दोलन ग¥यौं । त्यस्तै संयुक्त मोर्चाहरुमार्फत प्यालेस्टाइनी जनताका पक्षमा र साम्राज्यवादका विरुद्धमा विभिन्न कार्यक्रमहरुको संयोजन गर्ने र सहभागिता जनाउने काम पनि गर्दै आएका छौं ।
आजको नेपालको कम्युनिष्ट आन्दोलन र विभिन्न धारामा विभाजित कम्युनिष्ट पार्टीहरुबारे तपाईंको मूल्यांकन कस्तो छ ? ‘प्रतिरोध’ले यसबारे कुनै धारणा बनाएको छ कि?
कम्युनिष्ट आन्दोलनको नयाँ चक्रमा हामी छौं । अर्थात् नयाँ चरणमा नयाँ पार्टी र नयाँ आन्दोलन निर्माण गर्नुपर्ने ऐतिहासिक दोसाँधमा छौं । एकातिर इतिहासको सम्यक मूल्यांकन र समीक्षा गर्नुपर्नेछ, अर्कोतिर आजको नेपाली समाजको चरित्रको पहिचान गर्नुपर्नेछ । यो घडीमा नेपालमा मुख्यतः दुई धारमा कम्युनिष्ट आन्दोलन विभाजित छ । एउटा धार विचलित भएर संसदीय, संशोधनवादी बाटो हुँदै पुँजीवादी प्रतिक्रियावादी बाटोमा पुगिसकेको छ । त्यसमा पनि विभिन्न नामका पार्टीहरु छन् । अर्को धारा संसदबाहिर छ तर त्यसले बदलिएको आजको समाजअनुसारको सही कार्यदिशा तय गर्न सकिरहेको छैन । यस धाराभित्र पनि नयाँ गर्ने नाउँमा भड्कावमा परेका समूहहरु र सैद्धान्तिक हिसाबले गति पैदा गर्न नसकेका विभिन्न समूह तथा पार्टीहरु पनि छन् । तर, आधारभूत रुपमा संसदबाहिरको धारा क्रान्तिकारी स्प्रिट र संशोधनवादविरोधी अडानसहितको छ । हामी यो दोसाँधमा तेस्रो नयाँ धारा निर्माणको खाँचो देखिरहेका छौं, जसले मालेमावादी आदर्शलाई आत्मसात गर्दै आजको युग हाँक्नेगरी नयाँ कार्यदिशाको विकास गर्नेछ । यसका लागि प्रतिबद्ध सङ्गठनकर्ताद्वारा विचारधारात्मक सङ्घर्षलाई तीव्र पार्दै नयाँ पार्टी निर्माणको जग बसाउनुपर्ने छ । सही विचार, सही तरिका र सही कार्यदिशा बिना नयाँ सङ्गठन बन्न सक्दैन । नेपाली कम्युनिस्ट आन्दोलनको आजको मुख्य समस्या भनेकै विचारधारात्मक क्षेत्रमा छ । त्यसैले सङ्गठन र संघर्षका क्षेत्रमा पनि समस्या पैदा गरिरहेको छ । आन्दोलनका क्षेत्रमा तत्कालका राष्ट्रिय राजनीतिक समस्या एवम् अन्तर्राष्ट्रिय विषयमा मुद्दामा आधारित कार्यगत एकता वा मोर्चाबन्दी गरेर सङ्घर्षहरु सञ्चालन गर्न सकिन्छ । हामीले पछिल्लो समय ‘राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपाल’मार्फत् यसप्रकारका संघर्षहरु सञ्चालन गरिरहेका छौं ।
राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको चर्चा गर्नुभयो । यो मोर्चा कस्तो प्रकारको हो र यसले के–के गर्दै आएको छ ?
राष्ट्रिय क्रान्तिकारी मोर्चा साम्राज्यवाद र घरेलु प्रतिक्रियावादविरोधी मोर्चा हो । यसले साम्राज्यवादी हस्तक्षेपका बिरुद्ध विभिन्न सडक संघर्षका कार्यक्रमहरु, विचारगोष्ठी आदि गर्दै आइरहेको छ । त्यसैगरि जनताका साझा समस्या र सरोकारका विषयहरुमा पनि यसले आफूलाई क्रियाशील बनाइरहेको छ ।
तपाईं झण्डै तीन दशकदेखि जनपक्षीय कलासाहित्य, संस्कृति र सामाजिक रुपान्तरणका क्षेत्रमा निरन्तर क्रियाशील हुनुहुन्छ । नेपालको आजको जनसांस्कृतिक आन्दोलनका मुख्य–मुख्य समस्यार चुनौतीहरु के देख्नुहुन्छ ?
मूल रुपमा आजपुँजीवादी संस्कृतिले हाम्रो समाजलाई शासन गरिरहेको छ । अवशेषका रुपमा सामन्तवादी संस्कृतिको प्रभाव पनि बलियो छ तर त्यसलाई पनि पुँजीवादले आफूभित्र समाहित गरेको छ । त्यो एक्लै टिक्न सक्ने अवस्थामा छैन । उपभोक्तवादी संस्कृतिले जीवनका सबै पक्षहरुलाई यसरी गाँजेको छ कि मानिस थाहै नपाईं त्यसको मन्द बिषले लठ्ठिएको छ । यसलेमानिसभित्र ज्ञानको भोक मारिदिने, बुद्धिविवेकको विकासभन्दा पनि बोक्रे भव्यतातिर उन्मुख गराउने काम गर्दैछ । मानिसलाई आर्थिक र उपभोक्ता प्राणीमा सीमित गर्ने काम गर्छ उपभोक्तावादी संस्कृतिले । यसले हिंसा, पागलपन, उद्दण्डता, सतहीकरण, देखासिकी, फजुल खर्च, संवेदनहीनताको बजारीकरण गर्छ । आज जसरी राजनीतिक दुश्मनको हिसाबले हाम्रो मुख्य प्रहार पूँजीवादी व्यवस्था हुन आवश्यक छ, त्यसैगरि आजको सांस्कृतिक आन्दोलनको लागि प्रहारको मुख्य निशाना पनि पूँजीवादी उपभोक्तावादी संस्कृति नै हुनुपर्छ ।
एकातिर जुध्नुपर्ने यस्तो खालका बाह्य चुनौतिहरु छन् भने आन्तरिक समस्या पनि उत्तिकै छन् । कमजोर विचारधारात्मक धरातल,साँस्कृतिक आन्दोलनभित्र विद्यमान बुर्जुवा व्यक्तिवाद, अवसरवादी चरित्र, सांस्कृतिक आन्दोलनबारेकै निम्छरो बुझाई, दैनिक राजनीतिक कामकारबाहीको स्तरमा संस्कृति र सांस्कृतिक आन्दोलनलाई राख्न नसक्नु जस्ता समस्याहरु छन् । आजको वर्गसंघर्षको मुख्य मोर्चाहरु नै वैचारिक–सांस्कृतिक मोर्चाहरु भएका कारणले यी क्षेत्रहरुमा हामीले निकै मेहनत र गम्भीरतापूर्वक काम गर्नुपर्ने आवश्यकता छ । हाम्रो आन्दोलनमा बाह्य होस् या आन्तरिक सांस्कृतिक वर्गसंघर्ष निकै कम्जोर अवस्थामा छ ।
उत्तरआधुनिकतावादले नेपाली कम्युनिष्ट आन्दोलनमा पारेका प्रभावहरु के के छन् ?
उत्तरआधुनिकतावादले पहिचानवाद, नारीवाद, उत्तरमाक्र्सवाद र संशोधनवादलाई नै मलजल गर्ने काम गर्छ । यो कम्युनिष्ट आन्दोलनको विरुद्धमा उभिन्छ । यसको प्रभावबाट कम्युनिष्ट आन्दोलन पनि अछुतो छैन ।वर्गलाई छोडिदिने र टुक्रे अवधारणाहरुलाई मुख्य ठान्ने, मजदूर संगठन नबनाउने तर विभिन्न समुदायका संगठनहरुलाई महत्व दिने गर्छ । यसलेवर्ग, राजनीति, राज्यसत्ताभन्दा पृथक रहेर केवल लैंगिक अधिकार, निरपेक्ष जातीय मुक्ति, विशुद्ध पहिचान, केवल पर्यावरण रक्षाका कुराहरुलाई उठाउँछ ।यसको मुख्य कारण सैद्धान्तिक स्पष्टताको अभाव र तत्कालको राजनीतिक फाइदाका लागि विरोधी चिन्तन, पात्र र प्रवृत्तिहरुसँग सम्झौता गर्दै हिड्नु पनि हो । यतिखेर हामीले देखिरहेका छौं आफूलाई माक्र्सवादी–लेनिनवादी–माओवादी दाबी गर्ने पार्टी, तिनका भातृसंगठन र ती निकटका बुद्धिजीवीहरु नै वर्ग दृष्टिकोणबाट अलग रहेरजात, समुदाय, लिंग र क्षेत्रका कुराहरुलाई मुख्य बनाएर हिडेका छन् । वर्ग, वर्गदृष्टिकोण, वर्गीय पक्षधरता र वर्गसंघर्ष यिनीहरुको कार्यसूचिभित्र पर्दैनन् ।
विश्व सामाजिक मञ्चले साम्राज्यवादका विरुद्धमा भन्दै कार्यक्रम गरिरहेको छ । नेपालमा पनि त्यसप्रकारका कार्यक्रम हुने गरेका छन् । यसबारे तपाईं के भन्नुहुन्छ ?
विश्व सामाजिक मञ्च पूँजीपतिहरुको फन्डिङमा चल्ने संस्था हो । यस पूँजीवादलाई चुनौती दिएजस्तो गर्ने तर यही व्यवस्थाभित्र ‘अर्को दुनियाँ सम्भव छ’ भन्ने नारा दिएर कुनै आमूल परिवर्तनकारी संस्था या अभियान पो हो कि भन्ने भ्रम दिन्छ ।यसका आयोजक र सहभागीहरुको प्रकृति हेर्दा यो कुरा थप प्रष्ट हुन्छ । यसमा नानाथरी रंगीबिरंगी संशोधनवादी, जातीवादी, पहिचानवादी, नारीवादी र वर्गविरोधी पात्र प्रवृत्तिहरुको मेला लगाइन्छ र कथित अर्को विश्वको हल्लाखल्ला गरिन्छ । यस्ता संस्था र अभियानहरुले अन्ततः यही व्यवस्थालाई बलियो बनाउने र वर्गीय आन्दोलनलाई कम्जोर बनाउने नै हुन्, जसबाट कम्युनिष्टहरु सचेत हुन आवश्यक छ ।
तपाईं बुबा–आमाको एक्लो छोरा हुनुहुन्छ । बुबाको मृत्युमा तपाईंले परम्परागत ढंगले काजक्रिया गर्नुभएन । परम्पराको विरुद्धमा हिड्दा के समस्या आए ?
खासमा म परम्पराविरोधी होइन ।समाजविरोधी र जनविरोधी परम्पराको मात्र विरोधी हूँ ।परंपरामा यस्ता गौरबपूर्ण, जनउपयोगीर वैज्ञानिक विरासतहरु पनि छन् जसको निरंतरतामा हिड्न खोजेको मात्र हो । यो नितान्त नयाँ कुरा होइन । सांस्कृतिक रुपान्तरण अन्तर्गतको एउटा हिस्सा मात्र । सामन्तवादी, हिन्दू धार्मीक संस्कारमध्यको यो एउटा बलियो अवशेष भएका कारणले यसलाई हुबहु अनुसरण गर्नुहुँदैन भन्ने मान्यता सुरुदेखि नै थियो । जब हामी भाग्यवादी, रुढिवादी र अवैज्ञानिक परंपराको विरुद्धमा उभिन्छौं, त्यतिखेर हामीमाथि प्रहार नहुने कुरै भएन । विभिन्न तरिकाले वैचारिक आक्रमण गर्नेदेखि लिएर बहिष्कार गर्नेसम्मका व्यवहारहरु देखिए । तर त्यस्ता कुराहरुलाई बेवास्ता गर्दै आफूलाई सही लागेको तरिका अपनाइयों । यस्ता चुनौतीहरु सांस्कृतिक रुपान्तरणको बाटोमा हिड्ने जोसुकैले जतिखेर पनि सामना गर्नुपर्ने हुन्छ ।
तपाईं कुनै बेला एकीकृत ने.क.पा.(माओवादी)मा आबद्ध हुनुहुन्थ्यो । त्यो पार्टीबाट बाहिरिनुका कारण के थिए ?
म एकीकृत नेकपा(माओवादी)मा भन्दा पहिला ने.क.पा.(एकताकेन्द्रमा) थिएँ, त्यसपछि ने.क.पा.(मसाल)सँगको एकीकरणपछाडि ने.क.पा.(एकताकेन्द्र–मसाल)मा काम गरें । संविधानसभा, गणतन्त्र, माओवादीलाई हेर्ने सवालमा अन्तसंघर्ष चर्किदै जाँदा त्यहाँ विभाजन भयो । म फेरि एकताकेन्द्रकै नेतृत्वमै रहेर काम गरें । संविधानसभाचुनावपछि तत्कालीन नेकपा (माओवादी)सँग एकता भई एकीकृत ने.क.पा.(माओवादी) बन्यो, त्यसमा निरन्तर भूगोल तथा मोर्चाहरुको जिम्मेवारी लिएर काम गरियो । सुरुमा माओवादीबाट धेरै ठूलो अपेक्षा थियो । ‘त्याग, तपस्या र बलिदानबाट आएको क्रान्तिकारी पार्टी हो, यदि यो शक्तिले बाटो बिराएन भने नेपालको निर्णायक कम्युनिष्ट शक्ति बन्न सक्छ’ भन्ने लागेको थियो । तर काम गर्दै जाँदा थाहा भयो, माओवादी पार्टीबारे जे सोचिएको थियो र त्यसको नेतृत्वबाट जे अपेक्षा थियो, वास्तविकता त्यस्तो होइन रहेछ । यसको पछिल्लो यात्रा चुनावदेखि चुनावसम्म हुन थाल्यो रऊ प्रतिक्रियावादी राज्यव्यवस्थाको एउटा हिस्सा बन्नेतिर गयो । मालेमावादी दर्शनप्रति अब यो प्रतिबद्ध हुन सम्भव छैन भन्ने निष्कर्षमा पुगेपछि फेरि त्यही पार्टीमा बसिराख्नु झूठको खेतीमा सहभागीहुनुमात्र हो भन्ने ठहरसहित पार्टी छोडियो । यो पछिल्लो निर्णय जे गरियो, त्यो सही थियो भन्ने आज घटनाक्रमले थप पुष्टी गर्दैछन् ।पार्टी भनेको राजनीतिक सङ्गठन हो, आज पनि हामी फेरि विचार, प्रतिबद्धता र क्रियाशीलतालाई कायम राखेर नयाँ सङ्गठन निर्माणको अभियानमा छौं, आमूल रुपान्तरणकारी आन्दोलनमै छौं ।
देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन कसरी गर्नुहुन्छ ?
नेपालको आर्थिक र राजनीतिक चरित्र सामन्तवादी छैन । सांस्कृतिक रुपमा सामन्तवादका अवेशषहरु छन्, तर तीनको संरक्षक पनि पूँजीवाद नै भएको छ । यसरी हेर्दा पूँजीवादी शोषण थप बहुआयामिक, विस्तारित र मजबूत भएको छ । अब यसले नेपाली समाजमा मात्रै प्रगतिशील रुपधारण गर्न र जनताको सेवा गर्न संभव किन छैन भने आजको पूँजीवाद क्रान्तिकारी छैन । यो साम्राज्यवादी चरणको पुँजीवाद हो र समग्रमा यो प्रतिक्रियावादी छ । हामीसँग दुईवटा मात्र विकल्प छन्–कि जनताको सेवागर्ने नाउँमा पूँजीवादी–प्रतिक्रियावादी व्यवस्थाकै एउटा अंग बनेर देश र जनताको शोषणको हिस्सेदार बन्ने या त हरसंभव पूँजीवादी जनतान्त्रिक अधिकारहरुको उपयोग गर्दै शोषणकारी व्यवस्थाविरुद्धको संघर्षमा आफूलाई उभ्याउने । बाँकि बिचको बाटो जनतालाई झुक्याउने कुरा मात्र हुन् । जुन आज संशोधनवादी, सुधारवादी र संसदवादी पार्टीहरुले गरिरहेका छन् । संविधानमा उल्लेखित मौलिक हकहरुको कार्यान्वयनको पक्षमा आवाज उठाउनु, जनपक्षीय सुधारात्मक कामहरु, भ्रष्टाचारविरोधी आन्दोलन–अभियानहरु, सामाजिक सांस्कृतिक रुपान्तरणका मुद्दाहरु, पर्यावरण विनाससँग सम्बन्धित मुद्धाहरु, चुनावको क्रान्तिकारी उपयोग अहिले पनि हाम्रा लागि संघर्षका महत्वपूर्ण विषयबस्तु हुनसक्छन् । तर अहिलेकै यही व्यवस्थाअन्तर्गत, चुनावबाटै कायापलटै गर्न सकिन्छ, समाजवादमै जानसकिन्छ भन्ने जुन भ्रमको खेती भइराखेको छ, त्यसलाई हामीले चिरेर जानुपर्छ ।
नेपाली कम्युनिष्ट आन्दोलनलाई ठीक दिशामा अगाडि बढाउन के गर्नुपर्ने ठान्नुहुन्छ ?
पहिलो र महत्वपूर्ण काम भनेको सैद्धान्तिक र विचारधारात्मक संघर्षको काम हो । त्यो भनेको कम्युनिष्ट विचार दर्शनको प्रचार, अध्ययन र सही बुझाइका लागि प्रभावकारी ढंगले काम गर्नुपर्छ । आज पनि समग्रमै कम्युनिष्ट आन्दोलनभित्रका कार्यकर्ताहरुको वैचारिक स्तर निकै कमजोर छ । विचारधारात्मक हिसाबले माक्र्सवाद–लेनिनवादविरोधी मान्यता, बुझाइ र निष्कर्षहरुको रजगज चलिरहेको छ । तमाम सामाजिक, सांस्कृतिक उत्पीडनका समस्याहरुसँग लड्ने सवालहरुमा अनुभववादी समस्याहरु देखिने गरेका छन् । त्यसलाई हल गर्न माक्र्सवादलाई दोष दिएरभन्दा पनि आजको धरातलमा टेकेर सही सिद्धान्त निर्माणको आवश्यकता छ, जुन माक्र्सवादसम्मत होस् । संशोधनवादसँग निर्मम संघर्ष गरी त्यसलाई पराजित नगरेर माक्र्सवादको विकास गर्नखोज्नु भनेको संशोधनवाद या विचलनको सिकार बन्नु नै हो ।विचारधारात्मक एकताबिनाको संगठन, संघर्ष र क्रान्ति कति कमजोर हुन्छ भन्ने कुराको पाठ हामीले इतिहासबाट सिक्न आवश्यक छ । नारा भौतिकवादको छ, तर चिन्तन, संस्कृति र व्यवहार भौतिकवादी छैन, आदर्शवादी छ । जसले गर्दा विरोधी दर्शन, राजनीति र वर्गसँगको संघर्ष निकै कम्जोर हुन गएको छ ।
दोस्रो भनेको नेपालको कम्युनिष्ट आन्दोलनकै समीक्षाको काम हो । यस आन्दोलनका सबल र दूर्वल पक्षहरु के–के हुन् ? हिजोका दिनहरुमा भएका सैद्धान्तिक त्रुटीहरु के–के हुन् ? तीबाट आजको कम्युनिष्ट पुस्ताले सिक्नुपर्ने पाठ के हो ? यी विषयमा जुन स्तरमा समीक्षा हुनुपर्ने हो, त्यो हामीले गर्नसकेका छैनौं ।
तेस्रो काम भनेको नेपाली समाजको अध्ययन हो । क्रान्तिको कार्यदिशा निरुपण गर्नेसवालमा यो महत्वपूर्ण कार्यभार हो । आजको नेपाली समाजको चरित्र, उत्पादन सम्बन्ध र वर्गीय संरचना कस्तो खालको छ, सामाजिक–सांस्कृतिक उत्पीडनका आयामहरु के कस्ता छन् भन्ने विषयमा पर्याप्त काम हुन आवश्यक छ । तर आजसम्मको यथार्थ के हो भने हामीकहाँ अन्धानुकरणकै निरन्तरता छ । क्रान्ति आयात निर्यात गर्नसक्ने कुरा होइन र अन्धनक्कलबाट जोगिनुपर्छ भन्ने लेनिन, माओहरुले नै बारम्बार उठाउनुभएको कुरा हो । तर पनि नेपालका कम्युनिष्टहरुले त्यसबाट सिक्न खोजेको देखिएन । बरु कहिले ‘रसिएन मोडेल’ त कहिले ‘चिनीया मोडेल’ अनि कहिले दुबैको ‘मिश्रित मोडेल’ भन्दै कार्यदिशाको आयात गर्ने प्रवृत्तिकै शिकार भएको देखिन्छ ।
चौथो काम भनेको क्रान्तिकारी उद्देश्य अनुकूलको संगठन निर्माणको काम हो ।अहिले पनि संगठनको प्रश्नलाई एउटा प्राबिधिक गठजोडको रुपमा बुझ्ने या मानिसहरुको जमघटको रुपमा मात्रै लिने, तर त्यसलाई एउटा सैद्धान्तिक प्रश्नको रुपमा हल गर्न नखोज्ने चिन्तन–व्यवहार हावी रहेको देखियो । हामीले लिएको उद्देश्य के हो ? त्यसका लागि कस्तो प्रकृतिको संगठनात्मक स्वरुप चाहिन्छ ?श्रमजीवी वर्गको अग्रदस्ताका लागि आवश्यक पर्ने नेतृत्व कस्तो हुने ? त्यसको उद्देश्यलाई पूरा गर्नका लागि भिन्न–भिन्न भूमीकामा रहेका मानिसहरुको विशिष्ट भूमीका कस्तो हुन्छ भन्नेतिर ध्यान गएको देखिन्न । संगठनात्मक सिद्धान्त अन्तर्गत आज पनि लेनिनवादी भनिन्छ । तर अभ्यासमा जाँदा संगठन कति लेनिनवादी छ या छैन ? यसको नियमित समीक्षा–आत्मसमीक्षा शून्य जस्तै छ । जसले गर्दा कर्मकाण्डी कम्युनिष्ट बन्ने खतरा यथावत छ ।
पाँचौं काम भनेको क्रान्तिका मित्र शक्तिहरुसम्म पुग्ने र तिनलाई संगठित गर्ने काम हो । श्रमजीवी जनतासँगको नियमित र जिवन्त सम्बन्धबिना विचारले पूर्णता पाउन सक्दैन ।
छैठौं काम भनेको समााजिक सांस्कृतिक क्षेत्रको काम हो । आजको कम्युनिष्ट आन्दोलनले अपेक्षित आकर्षण पैदा नगर्नुको एउटा महत्वपूर्ण कारण उसँग सामाजिक सुधारका मुद्दाहरु र आन्दोलन नहुनु पनि हो ।अर्कोतिर कम्युनिष्ट नैतिकता निकै कम्जोर हुनु पनि हो । जनताको बिचमा कम्युनिष्टहरुप्रति टाढैबाट आकर्षण गर्ने र अरुबाट भिन्न देखाउने हतियार भनेको नेता कार्यकर्ताहरुको जीवनशैली र क्रान्तिकारी आचारण हो । बुर्जुवा आचरणभन्दा कुन–कुन सवालहरुमा कम्युनिष्टहरुको आचरण भिन्न छ त ? यो कुराको चित्तबुझ्दो जवाफ हामीसँग छैन ।सांस्कृतिक आन्दोलनलाई पनि जुन महत्वका साथ पार्टी जीवनमा चलाइनुपथ्र्यो त्यसो हुन सकिहरेको छैन । नेपालको कम्युनिष्ट आन्दोलनलाई ठीक दिशामा अगाडि बढाउन अहिले पनि गर्नुपर्ने केहि महत्वपूर्ण कामहरु यिनै हुन भन्ने मेरो बुझाइ हो ।
तपाईं दाङनिवासी हुनुहुन्छ । दाङमा अहिले कम्युनिष्ट गतिविधि र सांस्कृतिक गतिविधिहरु के कसरी चलिरहेका छन् ?
भौगोलिक हिसाबले म दाङमा बसेपनि विचारधारात्मक प्रभावको हिसाबले अन्यत्रझैं म जहाँ छु त्यो ठाउँ पनि अछुतो रहने कुरा भएन । चौतर्फी विचारमाथि त्यसमा पनि प्रगतिशील, क्रान्तिकारी र वैज्ञानिक विचारमाथि आक्रमण भइरहेको अवस्थामा यहाँको वैचारिक–सांस्कृतिक पर्यावरण पनि त्यस्तै छ, जस्तो अरु ठाउँमा छ ।विचारमाथि कुविचार(पूँजीवाद, उपभोक्तवाद र आत्मकेन्द्रित व्यक्तिवाद) हावी छ । समाजका पढालेखा बौद्धिक जमात यहाँ पनि अवसरवादको शिकार छ । आफूलाई कम्युनिष्ट र प्रगतिशील भनिटोपल्नेहरु पनि जब वर्ग, प्रतिबद्धता र वर्गीय विचारको पक्षमा उभिने कुरा आउँछ, तर्सिने र नाक खुम्च्याउने रोग यहाँ पनि छ । मुक्ति, स्वतन्त्रता र अधिकारका नाउँमा पहिचानवाद, नारीवाद, एन.जि.ओ.वाद र सुधारवाद हावी छन् ।
सही विचार,बाटो र क्रान्तिकारी निष्ठाबाट थाक्ने, भाग्ने, तिनलाई पुरानो करार गर्दै आफू चाँहि झनै पुरानो विचार र बाटोतिर फर्किने रोग यतातिर पनि संक्रमित छ । विरासतमा प्राप्त आफ्नो बुर्जुवा वैचारिक, सांस्कृतिक धरातललाई सही साबित गर्नका लागि कम्युनिष्ट सिद्धान्त र आदर्शमाथि नै हिजो छ्याप्ने ढोंगी प्रगतिशिलता यता पनि बलियो छ । यति हुँदाहुँदै पनि केही न केही प्रतिरोधी प्रयत्न र गतिविधिहरु दाङमा भइनैरहेका छन् । आमूल परिवर्तनको नारा दिइरहेका राजनीतिक शक्ति–संगठनहरुले केही न केही गरिरहेकै छन्, हामीले यही बिचमा काठमाडौ र पोखरामा जस्तै स्वतन्त्र पहलमा लेनिन ‘स्मृति शतवार्षिकी समिति’ बनाएर दाङमा केही कार्यक्रमहरु ग¥यौं ।माक्र्सवादी ज्ञानशालामार्फत् सांस्कृतिक कार्यशाला पनि सञ्चालन ग¥यौं । तर यी पर्याप्त छैनन्, गर्नुपर्ने धेरै कामहरु बाँकी छन् । हाम्रो बिचमा संभावनाले भरिएको युवापुस्ता छ । त्यसलाई सही विचारमा हिडाउनका लागिअगुवाई गर्ने नेतृत्वको खाँचो छ । प्रगतिशील दर्शन र वैज्ञानिक दृष्टिकोणलाई अगाडि बढाउनका लागि नयाँ पुस्तामा जाने र काम गर्ने योजना बनाइरहेका छौं ।
अन्त्यमा‘हाँक’ साप्ताहिकमार्फतथप केहि भन्नु छ कि ?
आज पनि हामी चरम वैश्विक संकटको बिचबाट गुज्रिरहेका छौं । पूँजीवाद समाधान नभएर भयानक समस्या बनेर मानवताको सामु उभिएको छ । मानवता र पृथ्वीको रक्षाका लागि यसको विकल्प खोज्नु नै एकमात्र समाधान हो । त्यो भनेको समाजवादको दिशातिर जानु हो । सचेतन प्रयत्न र वर्गसंघर्षबिना त्यो अभिभारा असंभव छ । यसतर्फ सम्पूर्ण न्यायप्रेमी तथा मुक्तिका पक्षधरहरु समर्पित भएर लाग्न अनुरोध गर्दछु । अन्त्यमा, आफ्ना विचारहरु राख्ने अवसरका लागि लामो इतिहास बोेकेको ‘हाँक’ साप्ताहिकलाई धन्यवाद भन्न चाहन्छु र निरन्तरताको कामना गर्दछु ।

