(क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको वि.सं. २०८१ मंसिर १३ देखि २३ सम्म काठमाडौंमा सम्पन्न राष्ट्रिय एकता महाधिवेशनमा महाधिवेशन आयोजक समितिका संयोजक कमरेड किरणद्वारा प्रस्तुत र पारिति राजनीतिक प्रतिवेदनको “जनदिशा र जवस–मोर्चा” खण्ड )
६. जनदिशा र जवस–मोर्चा
श्रमशक्ति तथा उत्पादन कार्यका अधिष्ठाता र मानव जातिको इतिहासका निर्माता जनसमुदाय नै हुन् । क्रान्तिको इतिहासमा जनसमुदायको भूमिका निर्णायक नै हुने गर्दछ । क्रान्तिकारी कम्युनिस्ट पार्टी जनतासँग जोडिएको र जनतामा भिजेको हुनुपर्दछ । पार्टीलाई जनसमुदायसँग जोड्नको लागि जनदिशा र जनवर्गीय मोर्चाहरुको आवश्यकता अपरिहार्य हुन्छ । जनदिशा जनताबाट लिएर जनतालाई दिने पार्टीको कार्यशैलीसँग सम्बन्धित छ भने जवस–मोर्चा पार्टीको जनदिशालाई जनतासँग जोड्ने महत्वपूर्ण साधन हुन् । पार्टीले संगठन र संघर्षका कामहरुलाई अगाडि बढाउनका लागि विभिन्न जनवर्गीय मोर्चाहरुको निर्माण र जनपरिचालनका कामहरु गर्दै आएको छ । वर्तमान सन्दर्भमा त्यसप्रकारका मोर्चाहरुबारे संक्षिप्तमा उल्लेख गर्न आवश्यक छ ।
जनवर्गीय मोर्चाहरुमध्ये सबैभन्दा अग्रणी मोर्चा मजदुर मोर्चा हो । २००३ सालको आसपासदेखि नेपालमा मजदुरहरु संगठित हुने र आन्दोलनमा जाने प्रक्रिया अगाडि बढ्यो । राणाकालदेखि पन्चायती काल हुँदै अहिलेसम्म आउदा नेपाली मजदुर आन्दोलन एकातिर संगठन तथा संघर्षका अनेकौ अनुभवद्वारा समृद्ध हुदै आएको छ र अर्कोतिर प्रतिधु्रवीय संशोधनवादी र क्रान्तिकारी सहितका विभिन्न धाराहरुमा विभाजित बन्दै आएको छ । आज नेपाली मजदुर आन्दोलनले नवउपनिवेशवाद नवउदारवाद तथा दलाल नोकरशाही पँुजीवादद्वारा हुने विभिन्न शोषण उत्पीडन तथा दमनको सामना गर्नु परिरहेको छ । मजदुर मोर्चालाई अझै राम्रोसित संगठित तथा आन्दोलित तुल्याउन सकिएको छैन र त्यसतर्फ विशेष दृष्टि दिन जरुरी छ ।
सामन्तवादी, अर्धऔपनिवेशिक तथा अर्धसामन्ति सहित अहिले नव औपनिवेशिक तथा नव उदारवादी शोषण उत्पीडनको शिकार हुँदै इतिहासको पछिल्लो कालखण्डमा संगठनात्मक तथा आन्दोलनको संगठन तथा आन्दोलनको प्रक्रियाम अगाडि वढदै आएको किसान आन्दोलनको लामो ऐतिहासिक परम्परा छ । २००७ सालमा संगठित क्रान्तिकारी किसान संघद्वारा पुर्वी तराईमा संचालित किसान आन्दोलन, २०१० सालतिर भीमदत्त पन्तद्वारा सुदूरपश्चिम नेपालमा चलाइएको सशस्त्र किसान संघर्ष र त्यस यताका २०३६÷२०३७ सालका विभिन्न किसान आन्दोलन विशेष उल्लेखनीय रहेका छन् । परन्तु अहिलेसम्म देशमा क्रान्तिकारी भूमिसुधार हुन सकेको छैन । यो बेला नेपालका किसानहरु एकातिर अर्धबेरोजगारी तथा बेरोजगारीका कारण विशाल संख्यामा विदेशमा जान बाध्य हुनुपरेको छ भने अर्कोतिर साम्राज्यवादी नवउदारवादी तथा दलाल नोकरशाही पुँजीवाद एवं अझै बचेका सामन्तहरुद्वारा ठूलो शोषण उत्पीडनमा छटपटाइरहेका छन् । आज कृषि क्षेत्रमा व्यावसायिक विविधता आइरहेको छ र किसान आन्दोलनलाई संगठित तथा विकसित गर्ने काम पनि त्यसै विविधतासित जोडिएका छन् । किसान संगठनलाई व्यापक बनाउने र विभिन्न व्यावसायिक कृषि कार्यमा संलग्न किसानहरुलाई संगठित गर्ने कार्यमा आवश्यक ध्यान दिन सकिएको छैन । साथै यस सन्दर्भमा तल्लो तहका किसान, हरुवा, चरुवा, हली, गोठाला र कमैया आदिका समस्या, संगठन तथा आन्दोलनमा पनि यथेष्ट ध्यान दिन जरुरी छ ।
नेपाली जनआन्दोलनको इतिहासमा विद्यार्थीहरुले राणाहरुको अन्त्यदेखि नै संगठित तथा आन्दोलित हुँदै निरङकुश पन्चायतीकालमा पार्टीहरुमाथि प्रतिबन्ध लगाएको स्थितिमा आन्दोलनको अग्र मोर्चामा रही जुझारु ढंगले अगाडि बढदै र अहिलेको स्थितिमा पनि उल्लेखनिय भूमिका खेल्दै आएका छन् । विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुको स्रोत विद्यार्थी मोर्चा तथा आन्दोलन नै रहेको तथ्य सुस्पष्ट नै छ । विद्यार्थी मोर्चाको ठुलो भूमिका हुँदाहुँदै पनि अहिले हामीले संगठन र आन्दोलन दुवै क्षेत्रमा यस मोर्चालाई प्रभावकारी बनाउन सकिरहेका छैनौं । यसबारे गंभीर बन्न जरुरी छ । यसैगरी संगठन र आन्दोलनको क्षेत्रमा शिक्षक, प्राध्यापक तथा बुद्धिजीविहरुको पनि उल्लेखनीय भूमिका रहिआएको छ र त्यसतर्फ पनि आवश्यक दृष्टिदिनु पर्दछ ।
सामन्तवाद र पितृसत्तावाद दुवैबाट वर्गीय तथा लैङिगक उत्पीडनको शिकार हुँदै आएका महिलाहरु राणाकालको अन्तिम अवधिदेखि आन्दोलित तथा संगठित हुँदै र विभिन्न संगठनहरुमा विभाजित रहिआएका छन् । महिलाहरुको उत्पीडन सबैभन्दा बढी सामन्तवाद र हिन्दु ब्राह्मणवादद्वारा हुँदै आएको छ । विभिन्न प्रकारका जनसंघर्षहरुमा महिलाहरु संगठन तथा संघर्षमा लामबद्ध हुँदै आएका छन् र दश वर्षीय जनयुद्धको समयमा जनमुक्तिसेनामा समेत लामबद्ध भई युद्ध मोर्चामा अग्र पंक्तिमा रहेर लड्ने काममा समेत उनीहरुले अदभूत शौर्यको प्रदर्शन गरेका छन् । आन्दोलनको क्रममा उनीहरुले केही अधिकारहरु प्राप्त गर्दै गएपनि अझैपनि महिलाहरुको विशाल हिस्सा तुच्छ घरेलु काममा खुम्चिनु परेको छ । आन्दोलनको बेला नेतृत्वको विकास भएपनि अहिले हाम्रा सामु यो समस्या गम्भीर बन्दै गएको छ र संगठन तथा संघर्षमा महिला सहभागिता विना पुरुषले मात्र कही कतैपनि विजय हासिल गर्न सक्दैनन् भन्नेबारे स्पष्ट हुन र महिला नेतृत्वको विकास गर्नका लागि विशेष जोड दिन जरुरी छ ।
नेपालमा केन्द्रीय सामन्ती राज्यसत्ताको विस्तार तथा स्थापना भए यता विभिन्न स्तर तथा प्रकारका जातीय समुदायहरु हिन्दु उच्चजातीय अहंकारवादद्वारा भाषिक, राजनीतिक, आर्थिक, धार्मिक र सांस्कृतिक लगायतका उत्पीडनको शिकार हुँदै आ–एका छन् । त्यसै गरी विभिन्न तहमा मधेशी समुदाय पनि पहाडिया उच्च जातिय अहंकारवादद्वारा क्षेत्रीय, भाषिक, राजनीतिक तथा आर्थिक रुपले ठुलो उत्पीडनमा पर्दै आएका छन् । यसरी नै सुदुरपश्चिम तथा कर्णाली क्षेत्रमा पनि राज्यसत्ताद्वारा राजनीतिक–आर्थिक रुपमा अनेकौं उत्पीडन र विकास निर्माणका काममा पनि अत्यन्तै उपेक्षा गर्ने काम हुँदै आएको छ । नेपालमा एकातिर जातीय तथा क्षेत्रीय रुपमा अधिकार प्राप्तिको लागि संगठित हुने र अर्कोतिर विभिन्न आन्दोलनहरु संचालन गर्दै आउने काम भएका छन् । विभिन्न जनआन्दोलन, जातीय तथा क्षेत्रीय मुक्ति आन्दोलन, जनयुद्ध तथा मधेश आन्दोलनको बलमा केही अधिकार प्राप्त भएपनि अझै वास्तविक मुक्ति हुन सकेको छैन । यस स्थितिमा हामीले जातिय तथा क्षेत्रीय मोर्चाहरुलाई अझै राम्रोसित संगठित गर्ने र आन्दोलनलाई ब्राह्मणवादी संकीर्णतावाद र साम्राज्यवादी–विस्तारवादी विखण्डनवादबाट मुक्त तुल्याउने काममा विशेष प्रयत्न गर्दै जातीय–क्षेत्रीय मुक्ति तथा वर्गीय मुक्ति आन्दोलनलाई एकीकृत गर्नुपर्दछ ।
हिन्दुधर्मको वर्ण व्यवस्था र सामन्ती ब्राह्मणवादद्वारा अन्य दक्षिण एशियाली देश सहित नेपालमा पनि लामो समयदेखि दलित समुदाय अत्यन्तै क्रुर तथा कठोर उत्पीडनमा पर्दै आएका छन् । यो उत्पीडन सामाजिक, आर्थिक, राजनीतिक, भाषिक, सांस्कृतिकतथा मनोवैज्ञानिक पक्ष र छुवाछुत प्रथामा आधारित रहेको छ । दलित समुदायद्वारा पनि विभिन्न संगठन निर्माण तथा आन्दोलन संचालन गर्ने काम हुँदै आएका छन् । विभिन्न जनआन्दोलन र विशेषतः जनयुद्धको क्रममा छुवाछुत प्रथालाई निस्तेज तुल्याउने कार्यमा केही उपलब्धिहरु हासिल गरिएपनि अहिले आन्दोलन सेलाएको अवस्थामा त्यो प्रथा सहित समग्र विभेदको प्रक्रिया जारी नै रहेको छ । यद्यपि हामीले दलित मोर्चाको निर्माण गरी उनीहरुलाई संगठित तथा आन्दोलित गर्ने कार्यमा सक्दो प्रयास गर्दै आएका छौं, तर त्यो अपर्याप्त रहेको छ र यसमा बढी जोडदिन जरुरी छ ।
नेपालमा मुस्लिम समुदाय पनि उत्पीडित रहिआएको छ । यो मूलतः धार्मिक समुदाय हो र यो सामन्ती ब्राह्मणवादी हिन्दुधर्मद्वारा सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक उत्पीडिनको मारमा पर्दै आएको छ । यो समुदाय संगठन निर्माण तथा आन्दोलन संचालनको क्षेत्रमा कमजोर रहि आएको छ । मुस्लिम समुदायलाई राज्यद्वारा संरक्षण प्राप्त हुनसकेको छैन र यस समुदायलाई हिन्दु साम्प्रदायिकताबाट आतङ्कित तुल्याइएको छ । सामाजिक रुपान्तरण र क्रान्तिको लागि यस समुदायको महत्वपूर्ण भूमिका हुन सक्दछ । पार्टीद्वारा मुस्लिम समुदायलाई संगठित तथा आन्दोलित तुल्याउने प्रयास गर्दै आएपनि त्यो पर्याप्त रहेको छैन र त्यसबारे आवश्यक दृष्टि दिन जरुरी छ ।
भूमण्डलीकृत साम्राज्यवाद, विस्तारवाद र दलाल नोकरशाही राज्यसत्ताद्वारा साना तथा मझौला उद्योग व्यवसायी तथा व्यापारीहरु निकै प्रताडित रहिआएका छन् । राष्ट्रिय पुँजीपतिवर्ग अत्यन्तै कमजोर रहिआएको अवस्थामा यस प्रकारका उद्योग व्यवसायी तथा व्यापारी हरुले देशभक्तिपूर्ण तथा जनवादी आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछन र उनीहरु लाई संगठित तथा आन्दोलित बनाउने कार्यले विशेष महत्व राख्दछ । यसबारे आवश्यक ध्यानदिनु पर्दछ ।
सबै जनआन्दोलनका साथै जनयुद्धको प्रक्रियामा वीरगति प्राप्त गरेका सहिद तथा वेपत्ता योद्धाहरुका परिवारजन र घाइते अपाङ्ग योद्धाहरुका समस्याहरुबारे राज्यद्वारा पर्याप्त ध्यान दिने काम हुन सकेको छैन । उनीहरुको राहत, उद्धार र संरक्षणका विषयलाई लिएर आन्दोलनलाई अगाडि बढाउने र उनीहरुलाई संगठित तुल्याउने काममा आवश्यक दृष्टि दिन सकिएको छैन । यस सन्दर्भमा विशेष ध्यान दिन जरुरी छ ।
नेपालमा नयाँ जनवादी क्रान्ति गरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा जानका लागि सामन्तवाद, साम्राज्यवाद तथा विस्तारवादका विरुद्ध लेखक, कलाकार तथा संस्कृतिकर्मीहरुलाई संगठित गरी सांस्कृतिक आन्दोलनको संचालन र विकास गर्ने काम लामो समयदेखि हुदै आएको छ । सांस्कृतिक आन्दोलन विचारधाारात्मक पक्षसित सम्बन्धित छ र राजनीतिक सत्ता प्राप्त गर्न तथा प्राप्त भएपछि पनि सत्तालाई टिकाउनका लागि यस क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ । सांस्कृतिक आन्दोलनलाई संगठित र संचालित गर्ने कार्यमा सक्दो दृष्टि दिइए पनि पार्टीद्वारा यस क्षेत्रमा पर्याप्त ध्यान दिन सकिएको छैन । साहित्यिक क्षेत्रमा हाम्रो ध्यान गएपनि गीत–संगीतको क्षेत्र र कलाकारहरुको संरक्षण गर्ने काममा खासै ध्यान दिन सकिएको छैन । यसप्रकारको कमी–कमजोरी तथा सीमातर्फ विशेष दृष्टि दिदै सांस्कृतिक आन्दोलनबारे सही दिशाबोध तथा दिशा निर्देश गर्न आवश्यक छ ।
पुरानो राज्यसत्तालाई ध्वस्त पारी नयाँ राज्यसत्ताको स्थापना, रक्षा तथा विकास गर्ने र समाजवाद हुँदै साम्यवादतर्फ अगाडि बढ्ने कार्यमा युवाहरुको विशिष्ट भूमिका रहन्छ । नेपालमा सामाजिक रुपान्तरणका विभिन्न कार्य आन्दोलन र जनयुद्धको क्रममा युवाहरुको विशिष्ट योगदान रहिआएको छ । नेपालमा अझै क्रान्ति सम्पन्न भएको छैन र क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउनका लागि युवा शक्तिलाई संगठित तथा अनुशासित तुल्याउन जरुरी छ । आज रोजगारीको अभावको कारण नेपाली युवाहरु विदेशमा जान वाध्य पारिएका छन् । युवाहरुलाई संगठन र आन्दोलनमा आकर्षित गर्न, उनीहरुलाई सैद्धान्तिक तथा राजनैतिक रुपमा समृद्ध तुल्याउँदै देश र जनताको सेवाका लागि उत्प्रेरित गर्न यथेष्ट ध्यान दिन सकिएको छ्र्रैन । यस कार्यमा हामीले विशेष जोड दिनुपर्दछ ।
राजनीतिक प्रतिवेदन
Comments

