–नरेन्द्रबहादुर थापा
नेपाल सरकारले २०६५ सालदेखि प्रत्येक वर्ष भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाउँदै आएको छ। विक्रम सम्वत १८६९ भदौ १५ गते शुक्रबार तत्कालीन राजा गिरवाण युद्ध विक्रम शाहको शासनकालमा पुस्तकालय स्थापना गर्ने कानुनमा लालमोहर लगाएको ऐतिहासिक दिन भएकोले सोही दिनको स्मृतिमा नेपालमा विसं २०६५ सालमा पहिलो गणतान्त्रिक प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भएको बेलादेखि यो दिवस मनाउन थालिएको छ।त्यसैले यो अठारौँ राष्ट्रिय पुस्तकालय दिवस हो ।
यस वर्षको पुस्तकालय दिवसको आदर्श नारा “हाम्रो पुस्तकालय, हाम्रो भविष्य, आवर लाइब्रेररी आवर फ्युचर” तय गरेको बताइएको छ। देशभर विविध रचनात्मक, शैक्षिक तथा सन्देशमूलक कार्यक्रम आयोजना गरेर यो दिवस मनाइदैछ भनिएको छ ।
तत्कालीन राजा गिरिवाण युद्धविक्रमले पुस्तकालय स्थापना नगरेपनि कानुनमा लालमोहर लगाउनु र नेपालको प्रथम गणतान्त्रिक प्रधानमन्त्रीले समाजवाद उन्मुख शिक्षा नीति ल्याउन नचाहे पनि पुस्तकालय दिवस मनाउने प्रचलन बसाल्नु सकारात्मक नै मान्नुपर्दछ। यद्यपि नेपालमा समाजवाद उन्मुख शिक्षा नीतिको आवश्यकता छ । यो नीति भनेको जनवादी शिक्षा प्रणालीमा हुन्छ। जनवादी शिक्षा प्रणाली लागू गर्न यो सरकारले चाहँदैन ।
पुस्तकालय क्षेत्रका गतिविधि , चुनौती र आवश्यकताबारे जनचेतना फैलाउने, पुस्तकालय प्रयोगको संस्कृतिलाई प्रोत्साहन गर्ने र ज्ञान, शिक्षाको आधारलाई मजबुत बनाउनु यस दिवसको उद्देश्य हो र यसको विशेष महत्व रहेको कुरा पनि बताइएको छ ।
नेपालमा विभिन्न प्रकार र स्वरूपका पुस्तकालयहरू छन्, जसले ज्ञानको विकासको लागि हुने अध्ययन र अनुसन्धानमा महत्त्वपूर्ण योगदान पुर्याएका छन् ।ती हुन् –
शैक्षिक पुस्तकालय, सामुदायिक पुस्तकालय र ई. पुस्तकालय ।
शैक्षिक पुस्तकालयले विशेषगरी विद्यालय, महाविद्यालय तथा विश्वविद्यालयसँग सम्बन्धित पुस्तकालय जनाउँछ । जस्तै त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय शैक्षिक पुस्तकालय हो ।
स्थानीय समुदायको पहलमा सञ्चालन हुने पुस्तकालय , जसले सर्वसाधारण स्थानीयलाई ज्ञान प्राप्त गर्न पहुँच दिलाउँछ त्यसलाई सामुदायिक पुस्तकालय भनिन्छ।
ई .पुस्तकालय भनेको डिजिटल माध्यमबाट पुस्तक सामग्री र जानकारी गराउने आधुनिक स्वरूपको पुस्तकालय हो।
हाल नेपालमा यी तीन प्रकारका पुस्तकालयहरू मात्र रहेका छन् । यस्तै राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारेर सरकारले यो देशमा एउटा जनवादी तथा समाजवादी पुस्तकालय पनि स्थापना गर्नुपर्ने आवश्यकता छ । यो आजको युगको माग पनि हो।
पुस्तकालय ज्ञान ,सिप , शिक्षा र अनुसन्धानको मूल स्रोत , सामाजिक संस्कृति र बौद्धिक चेतनाको अभिवृद्धि गर्ने केन्द्र र विद्यार्थी, शोधकर्ता र पाठकलाई जीवनभर अध्ययन गर्ने प्रेरणा दिने स्थल भएकोले राष्ट्रिय पुस्तकालय दिवसको महत्व छ ।
पठनपाठन अनुसन्धान र सन्दर्भ सामग्री प्राप्त गर्न, अध्ययन संस्कृति र आलोचनात्मक सोचको विकास गर्न,पुस्तक , पत्रिका ,डिजिटल सामग्री लगायत विविध ज्ञान–श्रोतमा पहुँच बढाउन पुस्तकालयको उपयोग गरिन्छ ।
आज नेट, इन्टरनेट ,मोबाइलगुगल च्याट जिपिटी जस्ता डिजिटल स्रोतहरूको युगमा धेरै मानिसहरूले पुस्ताकालयको आवश्यकता देख्दैनन्। आजको यो युगमा पुस्तकालयको महत्त्व झन् बढेर गएको छ। किनभने ज्ञानको विविधता र विस्वंसनीयता, इतिहास र संस्कृतिको संरक्षण, समान पहुँच, पठन संस्कृति र ध्यान केन्द्रित गर्ने अभ्यास, समुदाय र संवादको थलो र डिजिटल युगसँग सहकार्य गर्नको लागि महत्त्वपूर्ण भूमिका पुस्तकालयबाट नै हुन्छ। त्यसैले पुस्तकालयको महत्त्व बढेर गएको हो। १८औँ राष्ट्रिय पुस्तकालय दिवसको सबैलाई शुभकामना धन्यवाद ।
मिति ः२०८२ भदौ १५ गते
–

