– राम बहादुर बुढा
२० औं शताब्दीको अन्त्य भई २१ औं शताब्दीको प्रारम्भ हुँदा मानिसहरुले यो शताब्दी बारे अनेकौ कल्पना गरेका थिए । बुर्जुवा प्रजातन्त्रमा विश्वास गर्नेहरुले २१ औं शताब्दी लोकतान्त्रिक युग हुने छ भन्ने कल्पना गरेका थिए भने कम्युनिष्टहरुले समाजवादको युग हुने छ भनेका थिए । २१ औं शताब्दीको २५ वर्ष वित्दै छ ।यो शताब्दी पूरा हुन ७५ वर्ष बाँकी नै छ । यो २५ वर्षमा मानव समाजले हरेक क्षेत्रमा अनेकौं परिवर्तन ल्याएको छ । १९९० मा सोभियत संघ ढलेपछि कतिपयले अब विद्रोह र क्रान्तिको युग समाप्त भयो पनि भनेका थिए । तर यो एक्काइसौं शताब्दीको २५ वर्षले संसारमा विद्रोह जारी छ भन्नेकुरा पुष्टि गरेको छ ।
० अमेरिकाको वाल स्ट्रिट विद्रोह
वाल स्ट्रिट विद्रोह अमेरिकाका वेरोजगारहरुले चलाएको आन्दोलन थियो । २०११ सेप्टेम्बर १७ मा न्यूयोर्क सहरको फाइनान्सियल डिस्ट्रिक्टको जुुकोटी पार्कबाट सुरु भएको थियो । अमेरिकामा २००८ को आर्थिक मन्दीपछि आम मानिसहरूमा बेरोजगारी, वित्तीय संस्था र बैंक,कम्पनीहरुको ठूलो शोषण,सामान्य जनताको अभावको जिन्दगी —यी सबैले वाल स्ट्रिट विद्रोह जन्माएको थियो । उनीहरुले धनी र गरीव बीचको असमानताका विरुद्ध आवाज उठाएका थिए । शान्तिपूर्ण प्रदर्शन, बहस, सार्वजनिक सभाहरू आयोजना गरिएका थिए । २०११ नोभेम्बर १५ मा प्रहरीले ज़ुकोटी पार्क खाली गरायो, धेरै प्रदर्शनकारीहरू पक्राउ परे। आन्दोलनकारीहरुको क्याम्पलाई प्रहरीले उठाइदियो । महिनौं दिनसम्म आन्दोलनकारीहरु सडक र पार्कमा सुतेका थिए । अमेरिकी सरकार यो आन्दोलनलाई दमन गर्न सफल भए पनि आर्थिक असमानताबारे सार्वजनिक चेतना जगाउन , अमेरिका र विश्वभर आर्थिक असमानता र वित्तीय संस्थाहरूको जवाफदेहीताबारे जनचर्चा चलाउन यो आन्दोलनले प्रेरित ग¥यो ।
० अरव क्षेत्रको वसन्त विद्रोह
अरव क्षेत्रको ट्युनिसियाको वसन्त विद्रोह २०१०–२०११ मा चलेको एक महत्वपूर्ण जनविद्रोह थियो । यो डिसेम्बर १७, २०१० मा सुरु भएको थियो । एक युवा सडक व्यापारी तारेक एई ताएव मोहम्मद बौजीजीले सरकारी अधिकारीहरुको अपमान र ज्यादतीको विरोधमा सडक मै आत्मदाह गरेका थिए । तिनै व्यापारीको आत्मदाहबाट उठेको विद्रोहले ट्युनिसियाको राजनीतिमा मात्रै परिवर्तन ल्याएन त्यो विद्रोह अरबका देशहरुमा फैलियो र विश्वभरि विद्रोहको सन्देश सन्चार ग¥यो । यही ट्युनिसियाको आन्दोलन नै अरव क्षेत्र भरी विस्तार भयो । उनको मृत्युले देशभरि आक्रोश फैलियो र हजारौं नागरिक सडकमा उत्रिए। आन्दोलनको स्वरूप शान्तिपूर्ण प्रदर्शनहरू ,सामाजिक सञ्जालको प्रयोग , मजदुर संगठन, वकिल, विद्यार्थी, सर्वसाधारणको समर्थक सडकमा उत्रिए । यस आन्दोलनले २०११ जनवरी १४ मा राष्ट्रपति जिन एल अवि दिन विनको शासनलाई समाप्त गरिदियो र उनी साउदी अरेबिया भागेका थिए । ट्युनिसियामा संक्रमणकालीन सरकार स्थापना भयो। संविधानको सुधार गर्दै नयाँ निर्वाचन भएको थियो । इजिप्ट,सिरिया ,लिबिया, यमनमा अरब विद्रोह फैलियो । लिवियामा कर्णेल गद्दाफीले सैन्य शक्तिको प्रयोग गरी सन् १९६९मा सत्ता हत्याएका थिए । सत्ता हातमा लिए पछि उनले लिवियाको संविधान अन्त्यको घोषणा गर्दै नयाँ कानुन ल्याए । जसलाई दि इन्टरनेश्नल थ्यौरी भनिएको थियो । सन् २०११ मा मध्यपूर्वमा फैलिएको विद्रोहले चार दशक भन्दा लामो गद्दाफीको शासनलाई अन्त्य गरेको थियो । बिर्सनै नहुने कुरा के छ भने गद्दाफी विरोधी प्रदर्शनलाई फ्रान्स, अमेरिका,बेलायत सहितको पुरै सहयोग थियो । नेटो गठबन्धनको सेनालाई लिवियामा खटाइएको थियो । नेटो आक्रमणबाट गद्दाफीको शासनलाई कमजोर पारियो र गद्दाफीलाई उनकै गृह नगर शीर्तमा सडक र नालीहरुमा घिसारी घिसारी क्रुरतापूर्वक हत्या गरियो । त्यो विद्रोहलार्ई समष्टिगत रूपमा अरब वसन्त विद्रोह पनि भनिन्छ।
होस्नी मुवारक इजिप्टमा राष्ट्रपति तथा सैनिक कमाण्डर थिए । उनी १९८१ अक्टोबरदेखि २०११ सम्म झण्डै तीन दशक सत्तामा रहेका थिए र २०२० मा उनको मृत्यु भइसकेको छ । इजिप्टमा होस्नी मुवारकको शासनको अन्त्य भयो । होस्नी मुवारक इजिप्टमा राष्ट्रपति तथा सैनिक कमाण्डर थिए । उनी १९८१ अक्टोबरदेखि २०११ सम्म झण्डै तीन दशक सत्तामा रहेका थिए र २०२० मा उनको मृत्यु भइसकेको छ ।
श्रीलंकाको अरगलया विद्रोह – २०२२
“अरगलया विद्रोह ” श्रीलंकाको २०२२ को एक विद्रोह हो । तमिल भाषामा अरगलया शब्दको अर्थ संघर्ष भन्ने हुन्छ । जनतालाई लगाइएको आर्थिक संकट र सरकारको गलत व्यवस्थापन विरुद्धको संघर्ष नै अरगलया संघर्ष थियोे । श्रीलंकामा आर्थिक संकट यति गहिरो भयो कि कागजको अभावले विद्यार्थीहरुले परीक्षा दिन समेत पाएका थिएनन् । आर्थिक कठिनाईहरू बढ्दै गए, ईन्धन, खानाको अभाव भयो, जनआन्दोलन शुरू भयो । अन्त्यमा, राष्ट्रपति गोटाबाय राजपाक्षले संसदका सभामुखलाई राजीनमा बुझाएर देश छोडेर भागेका थिए । अहिले आफूलाई वामपन्थी बताउने दक्षिणपन्थी पार्टी सरकारमा आएको छ । उसले साम्राज्यवादी वित्तीय संस्था आइएमएफको नीति अनुसरण गरेर देशको अर्थतन्त्र सञ्चालन गरेको छ ।
बंगलादेशको विद्यार्थी विद्रोह –२०२४
विद्यार्थीहरुले सबैभन्दा पहिले सरकारी जागिर प्रणालीमा रहेको ‘कोटा प्रणाली’ लाई लिएर विरोध शुरु गरे। विशेष गरी, बङ्गलादेश सर्वोच्च अदालतले “ मुक्ति योद्धा” सेनानीको वारिसहरुलाई सरकारी जागिरमा दिइने ३० प्रतिशत कोटाको विरोध गर्दै प्रदर्शन गरेका थिए । आन्दोलन शान्तिपूर्ण रुपमा शुरु भए तापनि प्रदर्शनमा व्यापक दमन भयो ।
आन्दोलनले बङ्गलादेशमा ठूलो परिवर्तन ल्यायो । प्रधानमन्त्री शेइख हसिनालाई अन्ततः राजीनामा दिन बाध्य पारियो । एउटा अन्तरिम सरकार गठन गरियो । उनी अहिले भारतमा निर्वासित जीवन बिताइरहेकी छन् ।
इन्डोनेशियाको –नेपो वेवी अभियान
इन्डोनेशियामा शुरु भएको भ्रष्टाचार र शक्ति दुरुपयोग विरुद्धको ‘नेपो बेबी’ अभियान जस्तै यस अभिया विशेषगरी राजनीतिक, संवैधानिक, र कार्यकारी पदमा रहेका व्यक्तिहरूले आफ्ना परिवारका सदस्य वा नातेदारलाई अनुचित लाभ पुर्या एर उनीहरूको जीवनमा अवसर प्रदान गर्ने प्रवृत्तिलाई लक्षित गरेको छ। युवाहरूले सामाजिक सञ्जालमा राजनीतिज्ञहरूको छोरा छोरी र उनीहरूको विलासी जीवनशैली देखि रहनसहन सम्मका तस्वीरहरू साझा गर्दै आक्रोश पोखेका छन् । जुन अन्दोलन अहिले पनि टुङगोमा पुगेको छैन ।
नेपालमा ०६२ – ०६३ को विद्रोह ( जनआन्दोलन)
यो राजाको प्रतिगामी कदमका विरुद्धमा ७ राजनीतिक दल र विद्रोही माओवादीको सहकार्यमा चलाइएको आन्दोलन थियो । लाखौंलाख जनता सडकमा उत्रिएर राजतन्त्रलाई घुँडा टेकाइ विघटित संसदलाई पुनस्र्थापना गरेको घोषणा गर्न बाध्य भएका थिए ।
नेपालको जेन्जी आन्दोलन
मन्त्रिपरिषद्को ९ भदौको निर्णयमा एक साता भित्र सूचना तथा सञ्चार मन्त्रालयमा दर्ता गर्ने आह्वान थियो र त्यसपछि दर्ता नगरेको सामाजिक सञ्जाल निष्क्रिय गरिने भनिएको थियो । तदनुसार फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, एक्स (ट्विटर) , युट्युब सहित २६ प्रमुख सामाजिक सञ्जालहरू माथि सरकारले प्रतिबन्ध लगाएपछि यो आन्दोलन देशव्यापी रूपमा सुरु भएको थियो। नतिजा स्वरुप २३ भदौ २०८२, सोमबार, जेन जीले सामाजिक सञ्जाल माथिको प्रतिबन्धको लागि मात्र विरोध नभइ समग्र भ्रष्टाचारको विरोधमा रहेको जनाउँदै देशका विभिन्न शहरहरूमा दिनभर प्रदर्शन गरिरहे। सोही दिन नेपालका प्रमुख सहरहरूमा प्रदर्शन भए भने राजधानी काठमाडौँमा हिंसात्मक आन्दोलन भएको थियो। आन्दोलनका क्रममा देशभर १९ जनाको मृत्यु भएको र ४०० भन्दा बढी घाइते भएका थिए । २०८२ भदौ २२ मा, नेपालको सर्वोच्च अदालतले सामाजिक सञ्जालमा लगाइएको रोक विरुद्धको रिट दर्ता गर्न अस्वीकार गरेको थियो।
‘नेपोबेबिज’ अभियान इन्डोनेसियाबाट सुरु भएको भ्रष्टाचार र शक्ति दुरुपयोग विरुद्धको ‘नेपो बेबी’ अभियान जस्तै
२३ भदौ मा, काठमाडौँमा, विशेष गरी माइतीघर मण्डला र सङ्घीय संसद भवन, नयाँ बानेश्वर वरपर ठुला जमघटहरू भएका थिए जहाँ दशौँ हजार सहभागीहरू थिए। विरोध प्रदर्शनको कुनै औपचारिक नेतृत्व थिएन, भ्रष्टाचार र सामाजिक सञ्जालमा प्रतिबन्धको विरोध गर्ने व्यक्तिहरू स्वेच्छाले यसमा सामेल भएका थिए। प्रदर्शनकारीहरूले नेपालको सङ्घीय संसदमा प्रवेश गर्ने प्रयास गर्दा प्रदर्शनहरू बढेको थियो । जसको जवाफमा सुरक्षा बलहरूले अश्रुग्यास, पानीको फोहरा, रबरको गोली र गोली प्रहार गरेका थिए। प्रहरीले अश्रुग्याससहित गोली प्रहार गरेपछि स्थिति हिंसात्मक बनेको थियो। दिउँसो १ ः३० सम्ममा कम्तीमा एक प्रदर्शनकारी गोली लागेर गम्भीर घाइते भएका थिए र वरिपरि रगताम्य दृश्य देखिएको थियो। देशभरी नै विरोधका कार्यक्रम शान्त रुपमा गरिने भनिए पनि अवस्था तनावग्रस्त र रक्तपूर्ण बन्न पुग्यो। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर क्षेत्रमा सोमबार दिउँसो १२ ः३० बजेबाट राति १० बजे सम्म कर्फ्यु लागू गरेको थियो। यो कदम संसद् भवनमा केही प्रदर्शनकारीहरूले प्रहरीको अवरोध तोडेर प्रवेश गरेपछि उठाइएको थियो। कर्फ्यु पछि अन्य क्षेत्रहरूमा पनि फैलाइयो, जसमा राष्ट्रपति भवन शीतल निवास र उपराष्ट्रपति निवास, लैनचौर समावेश थिए। प्रदर्शनकारीहरूले रुखका डाँठ र पानीका बोतलहरू प्रयोग गरेर प्रतिरोध गरेका थिए।सोही दिन, सरकारले सामाजिक सञ्जाल सेवाहरू माथिको प्रतिबन्ध हटाएको थियो र गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका थिए। काठमाडौँ, वीरगञ्ज, भैरहवा, बुटवल, पोखरा, इटहरी र दमक लगायत धेरै प्रमुख सहरहरूमा कर्फ्यु लगाइएको थियो। सुनसरीको इटहरीमा प्रहरीको गोली लागेर २ जना र झापाको दमकमा १ जनाको मृत्यु भएको थियो।
२०८२ भाद्र २४ मा प्रशासनिक मुख्यालय सिंहदरबार,नेपालको सर्वोच्च अदालत, राष्ट्रपतिको निवास शीतल निवासमा र बालुवाटारमा रहेको प्रधानमन्त्रीको निवासमा पनि आगजनी भएको थियो। हिंसात्मक कार्यहरूले काठमाडौँका साथै देशका धेरै प्रमुख सहर तथा स्थानहरूलाई लक्षित गरेका थिए। संसद भवन, विभिन्न जिल्लाका सरकारी कार्यालय सहित मन्त्री र सांसदहरूको घरहरूमा पनि प्रदर्शनकारीहरूले आगजनी गरेका थिए। एमाले र काङ्ग्रेसको केन्द्रीय कार्यालयमा पनि तोडफोड गरिनुका साथै पार्टीको झण्डा उतारिएको थियो र जलाइएको थियो। आगजनी र विनाशका बढ्दो घटनाहरूलाई नियन्त्रण गर्ने प्रयास गर्दै, नेपाली सेना सहित सुरक्षा बलले प्रभावित क्षेत्रहरूबाट राजनीतिज्ञहरूलाई सुरक्षित स्थानहरू तर्फ सारेका थिए।
२०८२ भाद्र २६ बिहान राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र जेन जीका प्रतिनिधिहरू सहभागी भएको बैठक बसेको थियो। अन्तरिम नेता चयन गर्ने प्रयासको रूपमा भद्रकाली स्थित जङ्गी अड्डामा बैठक भएको थियो। सुशीला कार्कीले अन्तरिम प्रधानमन्त्रीको रूपमा शपथ ग्रहरण गरेकी थिइन्। उनकै सिफारिसमा प्रतिनिधि सभा विघटन भएको थियो र उक्त अन्तरिम सरकारले ६ महिना भित्र प्रतिनिधि सभाको निर्वाचन गर्ने गरि सहमति भएको थियो।
सारांश
२१औं शताब्दीको यस २५ वर्षकाबीचमा शान्तिपूर्ण र सशस्त्र दुवै प्रकारका विद्रोहहरु विश्वव्यापी रुपमा भएका छन् । यसैबीचमा अफ्रिकी मुलुक बुर्किनाफासोमा सैनिक विद्रोह भइ त्यहाँ सैनिक नेता ट्राउरे सत्तामा आएका छन् र १९६० मा मुक्त भइसकेपछि पनि फ्रान्सेली सेनाहरु बुर्किनाफासोमा बस्दै आएकोमा उनले फ्रान्सेली साम्राज्यवादी सेनालाई त्यहाँबाट निकाल्न सफल भएका छन् । त्यसै मेसोमा पश्चिम अफ्रिकाका अन्य देशहरुबाट पनि फ्रान्सेली साम्राज्यवादी सेना निस्काशित भएका छन् । फ्रान्सेली मुद्रा पश्चिम अफ्रिकी देशहरुमा नचलाउने प्रक्रिया अगाडि बढाइएको छ । यसरी २१ औं शताब्दी राष्ट्रिय मुक्ति आन्दोलनको युग पनि बन्दै गएको छ ।
पाँच जना लेखकहरु इशावेल अर्टिज, सारा बुर्क, मोहम्मद विराड, हर्नानसेन्जलले एउटा पुस्तक लेखेका छन् , “वल्र्ड प्रोटेस्ट ः अ स्टडी अफ कि प्रोटेस्ट इस्युज इन द ट्वान्टी फस्ट सेन्च्युरी ” । त्यस पुस्तकमा २००६ देखि २०२० सम्म विश्वका ९३ प्रतिशत संख्या ओगट्ने १०१ देशका विरोध प्रदर्शनहरुको अध्ययन गरिएको छ । त्यस पुस्तकमा अहिंसात्मक विरोधको २५० वटा तरिकालाई परिशिष्टमा दिइएको छ । र त्यस पुस्तकमा विश्वव्यापी राजनीतिक अस्थिरता सँगै सामाजिक असमानता बढ्दै गएको निश्कर्ष निकालिएको छ । त्यस पुस्तकबाट विश्वव्यापी संघर्षका रुपहरुको बारेमा जानकारी मिल्दछ ।
अमेरिकाको वाल स्ट्रिट आन्दोलन एक प्रकारको शोषित वर्गीय आन्दोलन थियो । त्यो आन्दोलनको निश्चित राजनीतिक वैचारिक दिशा थिएन । त्यो आन्दोलनलाई असफल पार्न अमेरिकी सरकार सफल भयो तर त्यस आन्दोलनले संसारभरि पारदर्शीता,उत्तरदायित्व बोधकालागि शिक्षा फैलाउने काम ग¥यो । वाल स्ट्रिट आन्दोलनपछि मध्यपूर्वमा फैलिएको वसन्त विद्रोहमा वालस्ट्रिट आन्दोलनको प्रेरणा पक्कै पनि थियो ।
मध्यपूर्वमा २०१०देखि २०१४ सम्म फैलिएको वसन्त विद्रोहले वषौं वर्षदेखि जरा गाडेर बसेको एक प्रकारको निरंकुश शासनलाई अन्त्य गर्ने काम ग¥यो जस्तै ट्युनिसियामा जिन अल अवि दिनको २४ वर्षको शासन ,लिवियामा गद्दाफीको ४० वर्षको शासन ,यमनमा शालेहको २२ वर्षको शासन,इजिप्टमा होस्नी मुवारकको ३० वर्षको शासनलाई बढार्ने काम ग¥यो । अरब विद्रोहमा कतै साम्राज्यवादका विरुद्धमा जनताको विद्रोह आएको देखिन्छ भने कतै जनताको असन्तुष्टिलाई साम्राज्यवादीहरुले प्रयोग गर्ने काम गरे । तर यमनमा अमेरिकी साम्राज्यवाद पक्षधर सालेहको शासनलाई इरानसमर्थित हुथी विद्रोहीहरुले समाप्त गरिदिए । इजिप्ट र लेवनानमा जनविद्रोह सफल भइसकेपछि अमेरिकाको कठपुतली सत्ता स्थापना भयो ।साँच्चै भन्ने हो भने लेवनानमा त नेटो सेना प्रयोग गरेर युद्धको नेतृत्व नै गरेर प्रत्यक्ष रुपले सत्ता कब्जा गरी अमेरिकाले आफ्नो कठपुतली शासन स्थापना ग¥यो । गत साल २०२४ मा वंगलादेशमा शेख हसिनालाई सत्ताबाट अपदस्थ गर्नमा अमेरिकाको राम्रैसित घुसपैठ भएको रहेछ भन्ने कुरा प्रष्ट हुँदै गएको छ । प्रधानमन्त्री युनुसले वंगलादेशमा अमेरिकी सेनालाई संयुक्त सैन्य अभ्यासका नाममा पर्याप्त मात्रामा खेल्ने अवसर दिएका छन् ।
विद्रोहलाई विभिन्न शक्तिकेन्द्रहरुले आफ्नो पक्षमा पार्ने कोशिश गर्दछन् । माथि भनिए जस्तै लेवनानमा अमेरिकाले, यमनमा इरानले, वंगलादेशमा अमेरिकाले विद्रोहलाई आफ्नो पक्षमा पारेजस्तै नेपालमा जेन्जी आन्दोलनलाई राजावादी ,भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादले आ –आफ्नो पक्षमा उपयोग गर्न कोशिश गरे । राजावादीहरुले सोचेअनुसार सफता हासिल गर्न सकेका छैनन् ।अहिले पनि उनीहरुको प्रयत्न जारी छ । परम्परागत दलहरुले यही व्यववस्थालाई जोगाउने प्रयत्नमा छन् । बदलिँदो परिस्थितिलाई विदेशी शक्तिकेन्द्रहरुले सक्दो आफ्नो स्वार्थको पक्षमा प्रयोग गर्ने कोशिश गर्दैछन् । यस स्थितिमा नेपालका क्रान्तिकारी शक्तिहरुले सचेततापूर्वक आफ्ना नीति,कार्यक्रमलाई अगाडि बढाउनु पर्ने आवश्यकता छ ।

