महाकवि लक्ष्मीप्रसाद देवकोटाः नेपाली साहित्यका अमर ज्योति

 

– नरेन्द्रबहादुर थापा

पृथ्वीको आकाशमा सँधै चम्किरहने अजमरी तारा जस्तै नेपाली साहित्यको आकाशमा चम्किरहने अमर नाम हो – महाकवि लक्ष्मीप्रसाद देवकोटा । उहाँ नेपाली कविताको आत्मा , भाषाको गौरव र साहित्यको उज्यालो दीप हुनुहुन्छ। उहाँले नेपाली कवितालाई भावना, दर्शन र सौन्दर्यको उचाइमा पुर्‍याउनु भयो ।उहाँको जीवनी र कृतिहरुको बारेमा संक्षेपमा तल उल्लेख गरिन्छ ।

१.महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म सन् १९०९, नोभेम्बर १२ तारीख , तदनुसार विक्रम सम्वत १९६६ साल असोज २७ गते काठमाडौँको दिल्ली बजारमा भएको थियो। उहाँ तिहारको लक्ष्मी पूजाको दिन जन्मनु भएको हुनाले त्यही दिन नै उहाँको जन्म जयन्ती मनाउने चलन रहेको छ । त्यसैले आज लक्ष्मी पूजाको दिन उहाँको जन्मजयन्ती हो ।

२. लक्ष्मी प्रसाद देवकोटाको परिवार संस्कारी र शिक्षित थियो । बाल्यकालदेखि नै उहाँ अत्यन्त बुद्धिमान विद्यार्थी हुनुहुन्थ्यो। सानो उमेरमै कविता लेख्ने, वादविवाद कार्यक्रममा सहभागी हुने र संगीतमा रमाउने बानी थियो उहाँको ।

३.देवकोटाले त्रिचन्द्र कलेजबाट उच्च शिक्षा प्राप्त गर्नुभयो र पछि साहित्य, दर्शन र अङ्ग्रेजी विषयमा गहिरो अध्ययन गर्नुभयो।

४.उहाँले कविता र निबन्ध लेखेर आफ्नो साहित्यिक लेखन जीवनको सुरुवात गर्नुभएको थियोे। उहाँको शब्दहरूमा गहिरो भावना, समाजप्रतिको संवेदना र प्रकृतिप्रतिको प्रेम झल्किन्छ । उहाँको रचनाले नेपाली भाषालाई नयाँ मिठास र गहिराई दिएको छ ।

५. महाकवि देवकोटाका कृतिहरू अत्यन्त समृद्ध र विभिन्न प्रकारका छन्। उहाँका केही चर्चित र अमर कृतिहरू यसप्रकार छन्–
० मुना मदन – नेपाली साहित्यको महानतम काव्य कृति ।
यसमा एक साधारण नेपालीको परदेशी पीडा , प्रेम र मानवीय भावना मार्मिक रुपमा चित्रण गरिएको छ।
० शाकुन्तला– संस्कृत कवि कालिदासको नाटक अभिज्ञान शाकुन्तलाको उत्कृष्ट नेपाली रूपान्तरण ।
० सुलोचना, सिद्धार्थ गौतम ,कुञ्जिनी, महापुरुष, यथार्थवादको बाटो यी सबै कृतिहरूले उहाँको साहित्यिक प्रतिभा झल्काउँछन्।
० कविता संग्रह – केही कविता ,शकुन्तला काव्य, स्वर्ग र पृथ्वी, प्रवास पीडा , भ्रमर, आदि ।

६. देवकोटाको भाषा सरल, संगीतपूर्ण र दार्शनिक छ। उहाँले जनताको हृदय छुनेगरी कविता लेख्नुभयो ।

७ “ मानवको जीवनको मूल्य मानवता हो ” भन्ने सन्देश उहाँका हरेक कवितामा पाइन्छ। उहाँले नेपाली साहित्यमा मानवता, करुणा र सौन्दर्य बोध गर्नु भएको छ ।

८. उहाँले नेपाली साहित्यलाई परम्परागत सीमाबाट निकालेर आधुनिक धारमा ल्याउनुभयो । उहाँकै कारण नेपाली कविता केवल मनोरञ्जन होइन, जीवन बुझ्ने माध्यम बन्यो ।

९.देवकोटा विनम्र ,भावुक र अत्यन्त संवेदनशील व्यक्ति हुनुहुन्थ्यो। समाजका दुःखी र गरीवप्रति उहाँको माया असाधारण थियो। जीवनको अन्तिम समयमा पनि उहाँ सृजनशील रहनुभयो।

१०. विक्रम सम्वत २०१६ साल कार्तिक २९ गते उहाँको निधन भयो। तर उहाँका शब्द र विचार आज पनि जीवित छन्।
अन्त्यमा, महाकवि लक्ष्मीप्रसाद देवकोटा केवल कवि मात्र होइनन् । उहाँ नेपाली चेतनाका दार्शनिक , मानवीय प्रेमका सन्देशवाहक र भाषाका कलाकार पनि हुनुहुन्छ। उहाँको लेखनीले नेपाली भाषामा मानवता, प्रेम र देशभक्तिको ज्योति प्रज्वलित गरेको छ।

जन्म जयन्तीको यस अवसरमा मैले उहाँप्रति श्रद्धा सुमन व्यक्त गर्दै भन्न चाहन्छु (ू देवकोटा हाम्रो गौरव हुन्, उहाँको लेखनी हाम्रो पहिचान हो।नेपाली भाषा र साहित्य जिन्दावाद ! महाकवि लक्ष्मी प्रसाद देवकोटा –अमर रहुन। हामी सबैले यही कामना गरौं । धन्यवाद ।

मितिः२०८२ –०७–०३गते

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित