धनुषा जिल्लाको कमला नगरपालिका–६ सखुवा मरानस्थित मस्जिदमा पौष १९ गते राति तोडफोड र धर्म ग्रन्थमा आगजनी गरिएकोे थियो । त्यस घटनाको विरोधमा मुस्लिम समुदायले पौष २० गते आइतबार वीरगन्जमा प्रदर्शन गरेका थिए ।वीरगञ्जका मुस्लिम समुदायले सडकमा टायर बालेर प्रदर्शन गरे । मुस्लिम समुदायको प्रदर्शनको प्रतिक्रियामा हिन्दु समुदायले पनि आइतबार राति र सोमबार बिहानैदेखि प्रदर्शन गरेपछि वीरगन्जको स्थिति तनावग्रस्त भयो ।
प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गर्ने र छपकैया प्रहरी बिटमा तोडफोड गर्ने काम गरे । स्थिति तनावपूर्ण बनेपछि भीडलाई तितरबितर पार्न र स्थिति नियन्त्रणमा लिन प्रहरीले जवाफी कारबाही गरेको थियो । प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गर्न थालेपछि ५ राउण्ड अश्रुग्यास प्रहार गर्नु परेको थियो । घटनाक्रम कसरी विकसित भयो ? धनुषामादुई जना मुस्लिम युवकले हिन्दु समुदायको रक्षाबन्धन पर्वप्रति नकारात्मक सन्देश जाने भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। भिडियो सार्वजनिक भएपछि आक्रोशित स्थानीय युवाहरूले दोषीमाथि कारबाहीको माग गर्दै प्रहरी चौकी घेराउ गरेका थिए।
प्रहरीले लगत्तै भिडियो पोस्ट गर्ने दुवै युवकलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले आरोपितहरूलाई पक्राउ गरेर कानुनी प्रक्रिया अगाडि बढाइरहेकै समयमा केही युवाको समूहले मस्जिदमा पुगेर आक्रमण गरेको प्रहरीको भनाई छ ।
वीरगन्जमा सोमबार साँझ ६ बजेदेखि लगाइएको कफ्र्युलाई स्थानीय प्रशासनले निरन्तरता दिएको छ । सुरुमा सोमबार साँझदेखि मंगलबार बिहान ८ र त्यसपछि मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मका लागि कफ्र्यु जारी गरिएको थियो ।पौष २२ गते कफ्र्यु हटाउने सहमति भएको छ ।
यसअघि सोमबार दिउँसो १ बजेदेखि निषेधाज्ञा जारी गरिएकोमा स्थिति नियन्त्रणमा आउन सकेको थिएन । वीरगन्जको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शंकराचार्य गेट क्षेत्रभित्र कफ्र्यु लगाइएको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वपक्षीय बैठक पनि बसेको छ । धनुषामा टिकटक मार्फत अफवाह फैलाउने र विभिन्न किसिमको अपशब्द प्रयोग गरी समुदाय लक्षित गालिगलौज गरेको भिडियो पोष्ट गर्ने युवाहरुलाई पक्राउ गरिएको छ ।
टिकटकमा भिडियो बनाई पोष्ट गरेको विषयलाई लिएर शनिबारको समयमा मस्जिदमा तोडफोड तथा धार्मिक ग्रन्थहरु जलाइएकोमा पक्राउ परेका युवा विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १५५ बमोजिम धर्म सम्बन्धी कसुरमा धनुषा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।
टिकटक, फेसबुक, ह्वाट्सअप लगायतको सामाजिक सञ्जालमा कसैले धार्मिक आस्था माथि खलल पु¥याउने खालका स्टाट्स, अडियो तथा भिडियो पोष्ट, लाईक, शेयर तथा कमेन्ट गरेको पाइएमा प्रचलित कानून अनुसार कारवाही गर्न सकिने कानुनी व्यवस्था छ ।
हिन्दु र मुस्लिम दुवै समुदायको बसोबास भएका ठाउँहरु विशेषगरी नेपालगञ्ज, वीरगञ्ज, धनुषा जस्ता स्थानहरुमा बेलाबखतमा धार्मिक विवादले साम्प्रदायिक सद्भाव नै खलबलिने खतरा देखा पर्ने गरेका छन् । कतिपय नेपालको हित नचाहने तत्वहरुले नेपालीहरुमा द्वेष सिर्जना गर्न पनि यस्ता विवादहरु बढाउने गर्दछन् । पराईले फाटो पार्न र जुधाउन गरेका हर्कतबाट नेपालीहरु आफै संयम र सतर्क हुनुपर्दछ । समाजमा साम्प्रदायिक द्वैष फैलाउन खोज्ने तत्वहरुलाई स्थानीय जनताको सहयोगमा कानुनी कार्वाही गर्नुपर्दछ । जनता आफै सचेत नभई कानुनी कार्वाहीको पनि खासै अर्थ हुँदैन । शिक्षण संस्था, राजनीतिक दल, संघसंस्था र समाजका सबै क्षेत्रमा जातीय सद्भाव सम्बन्धी छलफल, प्रशिक्षण र चेतना जागृतिको काम गरिनु पर्दछ । सामाजिक सञ्जालको दुरुपयोग गरी धार्मिक वा जातीय सद्भाव विथोल्ने कार्यलाई निरुत्साहित गर्न घरघरमा सतर्ककताको जरुरी छ ।
धनुषाको घटनाले वीरगञ्ज तनाव
Comments

