निर्वाचन बहिस्कार सफल पारेर संसदीय व्यवस्था जनताको व्यवस्था हैन भन्ने पुष्टि गर्नु छ

–सी.पी. गजुरेल ‘गौरव’

( ६ कम्युनिस्ट पार्टीहरूले २०८२ पौष २५ गते काठमाडौँमा आयोजना गरेको निर्वाचन बहिष्कार सम्बन्धी घोषणा सभामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव तथा केन्द्रीय संयुक्त संघर्ष समितिका संयोजक सी.पी. गजुरेल ‘गौरव’ द्वारा व्यक्त विचार )

निर्वाचन सम्बन्धी विषय अहिले नेपालको राजनीतिमा महत्त्वपूर्ण विषय बनेको छ। जेन्जी विद्रोहका कारणले अहिले निर्वाचनको विषय आएको हो। नत्र अझै निर्वाचन हुनका लागि दुई वर्ष बाँकी नै थियो। जेन्जी विद्रोहलाई साम्य पार्नका लागि अन्तरिम सरकार र निर्वाचनको जालो फ्याकिएको छ । अहिले सबै त्यसैमा लटपटी रहेका छन्। जेनजी विद्रोहलाई निर्मूल पार्ने उद्देश्यले यो सबै निर्वाचनका नाटक गरिएको भएपनि विद्रोह शान्त हुने हामीले देखिरहेका छैनौं।

भाद्र २३ र २४ गते विद्रोह हुने कुरा धेरैलाई थाहा थिएन। त्यस्तै अर्को विद्रोह पनि हुन्छ हुन्छ यो हामीले किटान गरेर भन्न सक्छौं। किनभने जुन समस्याले गर्दा भदौ २३ र २४ गते विद्रोह भएको थियो त्यो समस्या हल भएको छैन। कतिपय हाम्रै कम्युनिस्ट आन्दोलनभित्रका पार्टीहरूले पनि यो चुनावलाई महत्व नदिएर यो चुनाव सँग हाम्रो कुनै लिनुदिनु छैन भनेको पनि सुनिन्छ र यो चुनावप्रति वेवास्ता गरेको पनि देखिन्छ । यहाँ हामीलाई संसद बन्नु पनि छैन, मन्त्री बन्नु पनि छैन, त्यसैले यो चुनावसँग कुनै लिनुदिनु छैन भनेको पनि सुनिन्छ। तर हाम्रो विचारमा त्यसरी वर्तमान जल्दो बल्दो राजनीतिक घटनाप्रति वेवास्ता गर्ने तरिका सही हैन । त्यसलाई कुनै महत्वको विषय नठान्ने तरिका राम्रो होइन भन्ने हाम्रो विचार छ। आम निर्वाचन भनेको कुनै पनि व्यवस्थाको निम्ति वा कुनै पनि सत्ताको निमित्त एउटा महत्वपूर्ण विषय हो। यस्ता राजनीतिक विषयलाई क्रान्तिकारी कम्युनिष्ट पार्टीले यत्तिकै हेरेर बस्ने वा वेवास्ता गर्ने भन्ने कुरा हुँदैन। यसप्रति स्पष्ट दृष्टिकोण बनाएर जनताको बीचमा जानुपर्दछ ।

यो देशको सरकारका मन्त्रीहरू र प्रधानमन्त्रीले यो चुनाव हुन्छ, हामी गराउँछौं र जसरी पनि हुन्छ भनेर बोलिरहेको सुनिरहेका छौ ।यो चुनावलाई हामी क्रान्तिकारीहरूले के गर्ने त ? हामीले यो चुनावलाई बहिष्कार गरिदिनुपर्दछ। किनभने यो चुनाव हुनु र नहुनुले यो देशको राजनीतिमा धेरै फरक पर्दैन । यो सरकारको वैधताका लागि, व्यवस्थाको वैधताका लागि उनीहरूले यो चुनाव गर्न खोजेका हुन्। यो व्यवस्थाको वैधताका लागि यो सरकारको वैधताका लागि र जनतालाई भ्रममा पार्नका लागि उनीहरुलाई यो चुनाव गर्नुपरेको छ। यो उनीहरूको बाध्यता हो। हाम्रो त्यसको ठिक उल्टो बाध्यता छ। हामीले भनिरहेका छौँ कि यो सुशीला कार्की नेतृत्वको सरकार अवैधानिक छ , संविधान काम लाग्दैन नयाँ संविधान निर्माण गर्नुपर्दछ। हामीले भनिरहेका छौं कि यदि बहिष्कार आन्दोलन सफल हुने हो भने हामीले भनेको कुरा पुष्टि हुनेछ। त्यसकारण हामीले यो निर्वाचन हुन नदिने वातावरण बनाउनुपरेको छ। बहिष्कार सफल हुनु भनेको जनताको विजय हुनेछ ।निर्वाचन बहिष्कारको सफलताले यो व्यवस्थाप्रतिको जनताको अविश्वास प्रकट हुनेछ। यो संविधानप्रतिको जनताको अविश्वास प्रकट हुनेछ ।

संसदीय व्यवस्था विश्वमा असफल भएको व्यवस्था हो। यो १० वर्षको बीचमा नेपालमा पनि यो व्यवस्था असफल भएको पुष्टि भइसकेको छ। उनीहरूले यो व्यवस्था जतिसुकै सफल भएको देखाउन खोजे पनि उनीहरु त्यसमा सफल हुन सकेका छैनन्। उनीहरूको त्यो असफलतालाई प्रमाणित गर्नका निमित्त हामीले यो चुनावलाई हुन दिनु हुँदैन।

अहिलेदेखि नै उनीहरूले चर्चा गर्न थालेका छन् कि बहिष्कारवालाहरूले तोडफोड गर्छन्, आग्जनी गर्दछन् ,ध्वंस गर्दछन् आदि आदि । उनीहरुले आफ्नो कामप्रति विश्वास नभएर हामीलाई गलत ढंगले प्रचार गरिरहेका छन्। म एउटा जिम्मेवार पार्टीको नेतृत्वको हिसाबले र यो केन्द्रीय संयुक्त संघर्ष समितिको संयोजकको हैसियतले भन्दछु कि हाम्रो निर्वाचन बहिष्कार शान्तिपूर्ण हुनेछ । यो बहिष्कार मूलतः शान्तिपूर्ण हुन्छ। जनताका समस्याहरूलाई स्पष्ट पारेर, जनतालाई रिझाएर जनताको मतबाट नै यो व्यवस्था असफल छ भन्ने कुरा हामी प्रमाणित गर्न गर्न गइरहेका छौं । । आज हामीले बहिष्कार सम्बन्धी कार्यक्रम घोषणा गरेका छौं र ती घोषित कार्यक्रमहरुलाई लागू गर्न हामी देशव्यापी रुपमा सक्रिय हुन्छौं। दाजुभाइ तथा दिदीबहिनीहरू सबैलाई आग्रह गर्न चाहन्छौं कि यो निर्वाचनलाई सफल हुन नदिऔं। यो संविधानको पक्षमा यो व्यवस्थाको पक्षमा जनता छैनन् भन्ने कुरा हामीले प्रमाणित गरिदिनुपर्छ। यो व्यवस्था जनताको व्यवस्था होइन जबरजस्ती जनतामाथि लादिएको व्यवस्था हो भन्ने कुरा निर्वाचन बहिष्कार गरेर प्रमाणित गरिदिनु पर्दछ । हामी घरमा बसेर बहिष्कार गर्ने होइन जनताको बीचमा गएर हाम्रा एजेन्डाहरुलाई प्रचार गरेर, जनताका एजेन्डाहरुलाई जनताकै बीचमा स्थापित गरेर हामीले बहिष्कार गर्नेछौँ। यो व्यवस्थाप्रति जनताको आक्रोश छ। तर हामीले सकभर आफ्नो तर्फबाट शान्तिपूर्ण ढंगले बहिष्कार आन्दोलनलाई अगाडि बढाउनेछौं । यहाँहरू सबै यो निर्वाचन बहिष्कार घोषणा कार्यक्रममा सहभागी हुनुभयो। आगामी कार्यक्रमहरूमा पनि यहाँहरु सक्रियतापूर्वक सहभागी हुनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु । हामी सबै मिलेर नेपालको इतिहासमा अपूर्व किसिमको बहिष्कार गर्नेछौं। यो बहिष्कारको कार्यक्रमपछि हाम्रो अरु सशक्त प्रकारको संघर्षको कार्यधmम अवश्य पनि बन्नेछ भन्ने आशा र विश्वासका साथ म विदा हुन्छुु । धन्यवाद !

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित