काठमाडौं । आज पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस हो । राजा पृथ्वीनारायण शाहको जन्मको सम्झनामा हरेक वर्ष पुस २७ गते यो दिवस मनाइन्छ । पृथ्वीनारायण शाहले स–साना राज्यहरूलाई एकीकरण गर्ने प्रयास गरेका थिए जसबाट अहिलेको नेपाल बनेको थियो। वि.सं. २००४ देखि वि.सं. २०६२ सम्म पृथ्वी जयन्ती मनाइँदै आएको थियो। ०६२ –०६३ को जनआन्दोलन पछि सरकारी तहबाट पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन छोडिएको थियो । तर २०७९ देखि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सरकारले मनाउँदै आएको छ । २०७७ सालमा, गोरखा नगरपालिकाका प्रमुखले पृथ्वीनारायण शाहको सम्झना र सम्मान गर्न र उनको सम्झनामा दिवस मनाउन पृथ्वी जयन्तीलाई नगरपालिकामा सार्वजनिक बिदाको रूपमा घोषणा गरेका थिए।ृयसपालि पनि सरकारले सार्वजनिक विदा दिएको छ । तर राष्ट्रिय एकता दिवसमा राष्ट्रपति , प्रधानमन्त्रीे कसैले पनि सार्वजनिक वक्तव्य दिएका छैनन् । नेपालमा पृथ्वी नारायण शाहलाइ राष्ट्रिय एकताको प्रतिक मान्ने र नमान्नेका बीचमा मतभिन्नता छ ।
राजावादीहरूले पृथ्वीनारायण शाहका वंशाणुगत उत्तराधिकारीहरूले नै यो देश नेपालको राष्ट्रप्रमुख बन्नुपर्छ भन्ने मान्यता राख्दछन्। केही बुद्धिजीवीहरू र केही वाम पार्टीले त्यस समयमा छरिएका राज्यहरूलाई सग्लो राज्य निर्माण गर्नमा खेलेको भूमिकालाई प्रगतिशील कदमको रुपमा लिने गर्दछन्। तर कतिपय कम्युनिस्ट समर्थकहरु र कतिपय जातीय तथा क्षेत्रीय संगठनहरुले पृथ्वीनारायण शाहले लिएको एकीकरणको कदमलाई एक प्रकारको साम्राज्य विस्तारको रूपमा पनि लिने गरेका छन्। पृथ्वीनारायण शाहको सम्बन्धमा दुई प्रकारको अतिवादी धार देखिन्छ । एउटा , पृथ्वीनारायण शाहको नामलाई भजाएर देशमा पुन :राजतन्त्र पुनर्स्थापना गर्न चाहने अतिवादी धार र अर्को , पृथ्वीनारायण शाहको सालिक तोडफोड गर्ने, पृथ्वी दिवसका दिन पृथ्वीनारायणको फोटोमा थुक्ने, जलाउने अतिवादी धार । दुुइटै अतिवादीधार भन्दा त्यतिबेलाको वस्तुगत परिस्थितिलाई हेरेर त्यससम्बन्धी सन्तुलित दृष्टिकोण राख्नु नै सही हुन जान्छ।

