अनुहारले फेरिन्न देशको मुहार

अहिले समाज भीडको पछि लागिरहेको छ । कुनै पनि व्यक्ति चाहे त्यो विगतमा जुनसुकै कर्ममा लागेको भए पनि एकाएक उ उच्च स्तरको देखिने र देखाउने समय आएको छ । सामाजिक संजालहरुको माध्यमबाट एकाएक ऊ श्रेष्ठ बन्ने र एकाएक केही भूमिका नभएको देखिने र देखाउने गरिएको छ । एकाएक कसैको भनाइ श्रेष्ठ मानिने र कसैको भनाईलाई तुच्छ तुल्याउने गरिएको छ । मानिसहरु कुनै पनि कुराको गम्भीरतापूर्वक विचार विमर्श नगरी कुनै पनि व्यक्तिलाई एकैचोटी महान मान्ने र कुनै पनि व्यक्तिलाई एकै चोटी केही पनि होइन जस्तो बनाउने गरिएको छ । कसैको चाहना विपरीतका सूचनाहरु अनावश्यक रुपमा सबैकहाँ पुगिरहेको छ ।
योजनाबद्ध रुपमा मान्छेहरुलाई भीडको पछि लाग्ने बनाइएको छ । आफूलाई म कुनै पनि भीडको पछि लागिरहेको छु भन्ने जानकारी विना नै भीडको पछि लाग्ने बनाए पछि त फाइदा नै भयो । अहिले के बुढाबुढी के युवा युवती सबै नै यसरी नै लागेको देखिन्छ । मोबाइलमा आउने कुनै पनि सूचनाहरुको मूल्याङकन विना नै विश्वास गर्ने माहोल तयार पारिएको छ । केही सेकेण्डको कन्टेन्टहरुले नै मानिसको सोच्ने क्षमतालाई गुमाइदिएको छ । अब कुनै पनि व्यक्तिलाई विश्वास गर्नु परेमा उसले बोेकेको दर्शन केहो? उसले अँगालेको विचार केहो ? विचारको वर्गीय पक्षधरता के हो ?देश र जनताको पक्षमा हितकारी छ, कि छैन ? भनेर बोल्न र सोच्नै दिइएको छैन । दैनिक जीवनमा हिड्ने,डुल्ने,बोल्ने,खानेबेलाका हाउभाउहरुलाई आधार बनाएर ऊ नै महान हो भन्ने बनाउन खोजिएको छ । कसैले कसैलाई होच्याउने,खिसी ट्युरीको भाषामा बोल्ने,चर्को चर्को आवाजमा बोल्ने गरेमा यही नै सही हो भनेर विश्वास गर्ने बनाउन खोजिएको छ । अझै जसले बढी झुठ बोलिरहेको छ उसलाई नै सही हो भन्दै सामाजिक संजालहरुको दुरोपयोग गर्दै भीडहरु बढाइएको छ । भीडहरुलाई आफ्नो अनुकूल हुने गरी मार्न र मराउन पनि पछि नहट्ने पारिँदैछ ।
अहिले फागुन २१ को लागि संसदीय निर्वाचनको घोषणा गरिएको छ । निर्वाचन एक हिसाबले भन्दा विना विचारको हुँदैछ । प्रधानमन्त्री फलानालाई बनाउने हो भोट दिनुस भन्दै निकै प्रचार गरिएको छ । यो देशमा यो अनुहारको प्रधानमन्त्री नभएका कारणले नै विकास नभएको हो, जनताले चाहेको जस्तो नभएको हो भन्ने जस्तो पार्न खोजिएको छ । देशले भोग्नु परेका समस्याहरुको समाधानको अचुक औषधि यो अनुहारको प्रधानमन्त्री मात्रै हो भनेर निकै भ्रम छरिएको छ । जनतालाई आश्वस्त पार्न अनेक तौर तरिका अवलम्वन गरिएको छ । प्रधानमन्त्रीको दावेदारको पक्षमा जनलहर देखाउन खोजिएको छ ।
अहिले नेपाली जनताहरुले बुझ्नु पर्ने कुरा कुनै पनि अनुहारले देशको मुहार फेरिँदैन । देशको मुहार फेर्नकोलागि सबभन्दा पहिले विचार नै चाहिन्छ । विना विचार जति सुकै पैसावाला,रुपमा राम्रो,सुकिलो–मुकिलो,धनाढ्य, निर्वाचनमा भोट किन्न सक्ने, जनतालाई प्रभावमा पार्न सक्ने वा निर्वाचनको बुथ नै कब्जामा लिएर निर्वाचनमा जीत हासिल गर्न सक्ने भए पनि देशको मुहार फेरिन्न भन्ने कुरा नेपालको विगतलाई नै हेरे पुग्छ । विगतमा नेपालमा कुनै पनि शासक नभएर वा प्रधानमन्त्री नभएका कारण देश र जनताको अवस्थामा परिवर्तन आउन नसकेको होइन । नेपाली जनताले राजादेखि जनताका प्रतिनिधिसम्मको शासन भोगेका छन् । तर पनि नेपाली जनताले चाहेको जस्तो किन हुन सकेन ? किन नेपालीहरुले सँधै दुःख भोग्नु परिरहेको छ ? किन नेपाली जनताको अवस्थामा परिवर्तन आउन सकेको छैन ? यी प्रश्नहरुको समाधान नभइकन कुनै पनि अनुहारले मात्रै देशको समस्या समाधान हुन सक्दैन ।
देशमा भ्रष्टाचार व्याप्त छ, शोषण कायमै छ । शासकहरुले शोषणलाई नै प्रधानता दिने कानुन बनाउँछन् । मुठ्ठीभरको हातमा अर्थतन्त्र छ । देश विदेशी उत्पादनमा परनिर्भर हुँदैछ । व्यापार घाटाले अर्थतन्त्र ध्वस्त छ । प्राकृतिक साधन स्रोतको उपयोगमा असमानता छ । यस्ता कारणले देश र जनताको अवस्था फेरिएको छैन । देशका यी समस्याहरुको समाधान गर्ने, देशलाई अग्रगतिमा लैजाने भन्ने विचार हराएको छ । यो निर्वाचनमा भोट दिएमा यो अनुहारको प्रधानमन्त्री हुनेछ भन्दै प्रधानमन्त्रीकोलागि अनुहार देखाएर नेपाली जनतालाई भ्रममा पार्न खोजिएको छ । विचार विना अनुहारले देशको मुहार फेरिन्न । जनताहरुले कुनै पनि दलको राजनैतिक विचारलाई प्राथकिमता दिनु पर्दछ अनुहारलाई होइन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित