सवारी दुर्घटना रोक्न गम्भीर बन्न आवश्यक

सवारी दुर्घटना हुन्छ ,मानिसहरुको अकालमै मृत्यु हुन्छ , घाइते हुन्छन् सवारी साधन नष्ट हुन्छ । परिवारमा रुवाबासी हुन्छ, जो जसको मृत्यु हुनेको जीवन समाप्त हुन्छ ,घाइतेहरु दुर्घटनाको घाउ बोकेर बाँच्नु पर्छ । परिवारमा जसको सदस्य गुमेको छ उनीहरुले पनि परिवारको सदस्य गुमेको घाउ बोकेर बस्नु पर्छ । दुर्घटनाको समयमा सबैको चासो र चिन्ता प्रकट हुन्छ । राज्यले छानविन समिति बनाउँछ ,दुर्घटना के कारणले भएको हो ? दुर्घटना रोक्न के के गर्नु पर्छ लगायतका सुझावहरु पेश हुन्छन् । पेश भएका सुझावहरु कतै राखिन्छन् । दिनहरु बित्दै जाँदा दुर्घटनाको सबै कुरा बिर्से जस्तै हुन्छ । दुर्घटना हुन्छ यस्तै फेरि समाचार बन्छन्,समाचार छापिन्छन् राज्य तातेको जस्तो बन्छ, यस्तै हुँदै आइरहेको छ नेपालको सवारी दूर्घट्नाको सन्दर्भमा ।
यात्रुहरुको अनाहकमा अकालमै ज्यान गएको छ । यात्रुहरुको जीवनको सुरक्षा छैन । यात्रामा कतिबेला के हुने हो भन्ने त्रासमा हिँड्नु पर्ने अवस्था छ । घट्नाहरु हुनु भनेको त्यसबाट पाठ सिकेर त्योबाट जोगिने उपायहरु अवलम्बन गर्ने ,गराउने हो । सम्बन्धित सबै पक्ष सचेत र गम्भीर बनेर दुर्घटनालाई रोक्न प्रयास, पहल,प्रयत्न गर्नु पर्ने हुन्छ । तर हाम्रो देशमा त्यस्तो भएको छैन भन्ने कुरा पटक पटक भएका भयानक दुर्घटनाले बताइरहेका छन् ।
२०८२ फागुन १० गते राति पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १२३१ नम्बरको बस सडकबाट खसेर त्रिशूली नदी किनारमा खस्दा १९ जनाको ज्यान गयो । दर्जनौं घाइते भएका छन् । सोही दिन धादिङ सँगै उदयपुर र दाङमा समेत बस दुर्घटनाका खबर सार्वजनिक भए । साना सवारी साधनहरु दुर्घटनामा पर्ने र मृत्यु हुने तथा घाइते हुनेहरुको कहालीलाग्दो अवस्था छ । २८ माघका दिन अरनिको यातायात प्रालिद्धारा सञ्चालित सार्वजनिक बस दुर्घटनामा १२ यात्रुले ज्यान गुमाए । त्यही बेला बैतडीमा भएको बस दुर्घटनामा १३ जनाले अकाल मृत्यु हुन पुग्यो । नेपाल प्रहरीको तथ्यांक अनुसार नेपालका सडक दुर्घटनामा औसत दैनिक ७ जनाको मृत्यु हुने गरेको छ । यो तथ्याङ्कले सवारी दुर्घटनाप्रति चासो र चिन्ता राज्य ,सवारी साधन चालक, यातायात व्यवसायी कसैको पनि छैन भन्ने देखाउँछ । मर्नेहरु मर्छन् ,घाइते हुनेहरु हुन्छन् जनधनको क्षति हुनेहरुको हुन्छ ।
फागुन १० गते राति धादिङमा भएको सडक दुर्घटनामा पछि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल लगायत देशमा क्रियाशील पार्टी संघ ,संगठनले वक्तव्य जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको उपचारको माग गरेका छन् । सरकारले गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा पाँच सदस्सीय छानविन समिति गठन गरेको छ । छानविन समितिले दुर्घटनाको सत्य तथ्य सार्वजनिक गर्नेछ ।
सवारी दुर्घटना हुनभन्दा अगाडि नै अनेकौं सावधानीहरु अपनाउन जरुरी हुन्छ । सवारी साधनको अवस्था ,सडक, चालकको दक्षता, यात्रुहरुको जीवनप्रतिको जिम्मेवारीपना सबैकुरामा गम्भीर बन्नु पर्दछ । दुर्घटना हुने कारणहरु यी सबैको साथमा सवारी चलाउँदा अपनाउने सावधानी पनि प्रमुख कुरा हो । सावधानी विना सवारी चलाउने हो भने कतिबेला के हुन्छ थाहै हुँदैन । सडकमा आफु र आफ्नो सवारी साधन मात्रै त हुँदैन । आफु मात्रै गन्तव्यमा सकुशल पुग्ने पनि त होइन । सबैलाई नै गन्तव्यमा सकुशल पुग्नु पर्ने छ तर यी सबै कुरा बिर्सेर आफु मात्रै अगाडि जान खोज्ने,सवारी चलाउँदा ट्राफिक नियमहरुको पूर्ण रुपमा पालना नगर्ने, सिटमा बसेर अनेक गफहरुमा गफिने, सवारीको अवस्था खराब हुँदा हुँदै पनि चलाउने, सवारी साधनलाई नियमित जाँच नगर्ने ,साँगुरो सडक तथा घुम्ती मोडहरुमा अपनाउन पर्ने सावधानीहरु नअपनाउने , भौगोलिक अवस्थाको अज्ञानता ,लामो दुरीसम्म एकै चालकले चलाउने,सडक मर्मत सम्भार नगर्ने ,सडक छेउछाउमा बारको व्यवस्था नगर्ने जस्ता कार्य गर्दा सवारी दुर्घटना हुने गर्दछ ।
सडक दुर्घटना भएपछि पछुताएर काम छैन,नहुँदै अपनाउन पर्ने सावधानीहरु अपनाउनु पर्छ । राज्यले त्यो बारेमा बेलैमा ध्यान दिनु पर्दछ । दुर्घटनाबाट पाठ सिकेर राज्यले दुर्घटना रोक्न कदम चाल्नु पर्दछ । राज्यका साथ साथै यातायात व्यवसायी ,चालक तथा यात्रुहरुले दुर्घटना रोक्न सचेत पहल गर्नु पर्दछ । जो जसले ट्राफिक नियमहरुको पालना सही तरिकाले गरेका छैनन्,उनीहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित