बनेपा । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेद्वारा उम्मेदवारी फिर्ता गर्न अपेक्षापत्र पठाइएको छ । पार्टीका जिल्ला सचिव परिवर्तनले २०८२ फागुन १२ गते अशोक कुमार ब्यान्जु श्रेष्ठ ( नेकपा एमाले क्षेत्र नम्बर २ काभ्रेका उम्मेदवार ), अमित तामाङ ( काभ्रे, निर्वाचन क्षेत्र नम्बर १ नेकपा एमाले),बदनकुमार भण्डारी ( राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रे क्षेत्र नम्बर २) ,वसुन्धरा हुमागाई (नेपाली कम्युनिष्ट पार्टी , क्षेत्र नम्बर २ काभ्रे) , मधुकुमार चौलागाई (काभ्रे क्षेत्र नम्बर १ राष्ट्रिय स्वतन्त्र पार्टी) दीनानाथ गौतम (नेपाली कम्युनिस्ट पार्टी काभ्रे क्षेत्र नम्बर १) , मधुप्रसाद आचार्य (काभ्रे क्षेत्र नम्बर २ ,नेकपा नेपाली कांग्रेस ) लगायतलाई अपेक्षा –पत्र पठाउनु भएको छ ।
अपेक्षा –पत्रको व्यहोरा
वर्तमान विश्व भूराजनीतिक शक्ति सन्तुलनको प्रभाव, आन्तरिक राजनीतिक अस्थिरता, नवदारवादी तथा नवऔपनिवेशिक हस्तक्षेप, कुशासन तथा निरन्तर जनअधिकारको कुण्ठित हुनुका कारण, हाम्रो देश गम्भीर राष्ट्रिय राजनीतिक संकटको भुमरीमा फस्दै गएको छ। जसका कारण राष्ट्रको स्वाधीनता, जनताको जनवादी अधिकार तथा मूल्य मान्यता र भविष्य नै जोखिममा पर्दै गएको यथार्थ हामी सबैको सामु प्रष्ट छ।
यस्तो संवेदनशील घडीमा केवल नियमित संसदीय निर्वाचन मार्फत मात्र राष्ट्रकोजटिल समस्या समाधान सम्भव छैन। बरु यो निर्वाचन प्रक्रियाले विध्यमान संकटलाई थप जटिल बनाउने खतरा देखापरेको छ।तसर्थ राष्ट्र, जनता र इतिहासप्रति उत्तरदायित्व बोध गर्दै राष्ट्रिय राजनीतिक सम्मेलनको माध्यमबाट स्वाधीन संयुक्त सरकार गठन गरी अग्रगामी निकासतर्फ डोर्याउनु अहिलेको परिस्थितिमा एकमात्र सर्वोत्कृष्ट राजनीतिक मार्ग हो।
यो मार्ग कुनै दलगत स्वार्थका लागि नभई सम्,पूर्ण नेपाली जनताको हित राष्ट्रिय एकता र भावी पुस्ताको सुरक्षित भविष्यका लागि हुनेछ ।
यसै सन्दर्भमा ,फागुन २१ गते हुने संसदीय निर्वाचनमा आफ्नो उम्मेदवारी स्वैच्छिक रूपमा फिर्ता लिई राष्ट्रिय राजनीतिक सम्मेलनका माध्यमबाट देशको स्वाधीनता रक्षा,जनताका अधिकार सुनिश्चितता ,आर्थिक, सामाजिक, राजनीतिक रूपान्तरण र दीर्घकालीन राष्ट्रिय राजनीतिक निकासका आधारहरू निर्माण गर्न, राष्ट्रप्रतिको साझा जिम्मेवारीलाई आत्मसात गर्दै तपाईँको सकारात्मक , दूरदर्शी र ऐतिहासिक निर्णयको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अपेक्षा गर्दछ।





