शालिकराम भण्डारी
भाद्र २३–२४ को घटना भएको ५ महिना पूरा भैसक्यो । जेन जीका माग राखेर आन्दोलनको रुप दिएको थियो । आकर्षक मागहरु थिए– आवश्यक पनि एकाएक अकस्मात भएको दृश्यले जनतालाई अचम्म पारेको थियो । चारैतिर तैंचुपमैचुप थियो । एकै दिन एकै समयमा सिठ्ठीको भरमा घटना विस्तार हुनुलाई चानचुने तयारीको काम भन्न सकिंदैन । तथ्यले पनि त्यस्तै देखाइरहेको छ । जस्तै ः महत्वपूर्ण माग सहित स्कूले बच्चाहरुलाई पहिले फ्रन्टमा राखिनु योजनाकार षडयन्त्रकार काखापाखा भाग्ने, बहुमतको तानाशाहीमा मक्ख परेको निरंकुश तानाशाही गठबन्धन (ओली देउवा) सरकारलाई पत्तै भएन । जाल अर्कै बुनिएको रहेछ । भीड नियन्त्रण गर्न पुलिसले गोली चलायो ।
प्रदर्शनकारी मारिए–सेना निश्क्रिय रह्यो । अर्कोतिर सुशिला कार्कीको क्याविनेट गठन भयो । स्कूले बच्चा मारिए– नामका जेनजीहरुको हालीमुहाली छ–कमाण्डर बालेन्द्र शाह आफै घोषित छन्, सक्रिय छन् । संसद विघटन गरियो । निर्वाचन मिति तोकियो–त्यसैको तयार गरिएको सरकार भन्दैछ के कस्तो हुने हो भन्न सकिंदैन, भए पनि कस्तो हुने हो ? जनताको आन्दोलनबाट सिर्जित परिवर्तन हुन गएको भए अडकल काट्न सकिन्थ्यो । यहाँ सम्भव देखिंदैन । अहिले सबै राजनैतिक दल, विभिन्न बुद्धिजीवी, संघसंस्था, साहित्यकार, कलाकार चुप छन् । जनतालाई वास्तविक ज्ञान दिन हिचकिचाईरहेका छन् । मूल स्रोत नै सुके कसरी पानी खाने । एकथरी समझ्दारीको अभावले गर्दा बोल्दैनन् । अर्काथरी डर, त्रास, लोभ, स्वार्थले देखिन चाहँदैनन् । तर सबै एकनम्बरले भन्छन् । जेनजी आन्दोलन जेनजी विद्रोह अब परिवर्तन । परिवर्तन भयो । सत्तामा ओलीको ठाउँमा सुशिला । पुँजीवादी लोकतन्त्रको स्थानमा अहिलेलाई प्रतिगमनतिर जाने निर्णय भयो । लोकतान्त्रिकहरुले मालिकहरुलाई सन्तुष्ट पार्न सकेका रहेनछन् । यस्तै बुझियो । मालिकहरु भन्नु नै अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद । संसारका जेन जी अवस्थाका युवाहरुले अत्यन्त प्रेरणादायी भूमिका खेलेका छन् ।
अमेरिका र भारतलाई औपनिवेयिशक दासताबाट मुक्त गर्ने यिनको श्रम, त्याग, बलिदान हो, नेपाललाई दुवै खालका जहानियाँ शासनबाट स्वतन्त्रता दिलाउन पनि यिनीपछि कहिले परेनन् । तर २३,२४ गतेका युवा भन्नेहरु फरक थिए । उनले निर्देशित काम गरेको बुझियो । आदेशात्मक काम मात्र गरेका छन् । जता आदेश पाए–उतैको नोक्सान गरेका छन् । आगजनी, लुटपाट, ऐतिहासिक भवन नष्टगरेका छन् । संसदभवन जलाएका छन्, व्यापारिक प्रतिष्ठान खरानी पारेका छन्, बहुसंख्यक जनताको हित हुने एउटा पनि काममा हात हालेका छैनन् । बहुमतको तानाशाही सरकारलाई सत्ता च्यूत गरे, त्यही काम जनताले गर्नुपर्ने थियो– त्यो दिगो हुन्थ्यो–आक्रोश पोख्न लगाइयो । रिस म¥यो, सामसुम भयो । २३,२४ का जेनजीहरुको चरित्र यही हो ।
अहिले यो जेनजीहरु नयाँ अपरिपक्वहरु सँग नाता जोडिरहेका छन्, पुराना जोगीहरुले पनि साख्खै नसा जोड्न बेला बखतमा आँट गरिरहन्छन् । त्यो समयमा जति मरे निर्दोष स्कूले बच्चा अथवा त्यस्तै प्रदर्शनकारीहरु मरे, मारिए । बहुमतको तानाशाही सरकारले नग्न रुपले गोली वर्षायो । आई.एनजीओद्वारा तालिम प्राप्त व्यक्ति मूह, सबै उमेरका थिए । बाह्य शक्तिलाई नेपालमा बलियो एकल आज्ञा पालक चाहिएको छ– त्यो अहिले उनीहरुले भू.पू. राजतन्त्रमा देखेका छन् । भविष्यमा अर्कैतिर पनि मोडिन सक्छ । जता आफ्नो फाइदा देख्छन् उतै काम गर्छन–नेपालको राष्ट्रियता, जनजीविका लोकतन्त्रसँग कुनै मतलव हुँदैन ।
अशान्तिपूर्ण वातावरण सिर्जना गरियो, त्यसेको निहुँमा तत्कालिन सरकारलाई बसिखान असम्भव भयो । त्यसको ठाउँमा सुशिलाको सरकार भर्ना भएको मात्र हो । अरु केही परिवर्तन भएको हैन, ०८४ को चुनाव ०८२ ल्याइएको हो । यो आफैमा उचित हो , हैन फैसला जनताले गर्नैपर्छ । तर पुराना पुँजीवादी प्रजातन्त्रवादी पार्टीहरु नेपाली कांग्रेस र कम्युनिस्ट भै जन्मेका तर लिक छोडेकाहरु यही निर्वाचनमा बहुमत ल्याउन ठूलो कसरत गरिरहेका छन्, समाजवाद प्राप्त गर्ने प्रतिज्ञा गरिरहेछन््, कसैले समाजवाद पनि भन्दैनन् “बहुमत मात्र” उनको नारा छ । सुशिलाको मन्त्रीमण्डलमा २३–२४ का जेनजीहरु, बालेन्द्र शाह, दुर्गा प्रसाई र विहरुको मात्र पकड छ । उनी स्वयंले पनि मौका, मौकामा यस्तै संकेत गर्छिन ।
त्यसैले २३,२४ को घटना परिवर्तनको निम्ति गरिएको आन्दोलन हैन, त्यस्तो भन्न मिल्दैन । यो त पूर्व निर्धारित षडयन्त्रको उपज हो । पुँजीवादी संसदीय व्यवस्थाको ठाउँमा पुनः सामन्तवादी शासन पद्धति फिर्ता गर्ने प्रयास मात्र हो । नयाँ जनवाद हुँदै समाजवादी क्रान्तिको निम्ति ठूलाठूला संघर्ष गर्न बाँकी नै छ ।
सामन्तवादको राजनैतिक रुपले अवसान पछि स्थापना भएको संसदीय व्यवस्थाका खेलाडीहरु पहिले कांग्रेस र पछि धेरै कम्युनिस्टहरु माक्र्सवाद लेनिनवादमा आधारित समाजवाद, नेपालको अवस्था अनुसार नयाँ जनवाद हुँदै समाजवादमा पुग्न सकिने काम संसदीय व्यवस्थाबाट पनि हुन सक्ने निष्कर्षमा पुगे । यसरी अर्को शब्दमा भन्ने हो भने संशोधनको सरल तरिकाले उदय भयो। यही भ्रमले माक्र्सवादको मौलिकतामा विषय छरिरहेको छ ।
०७२ को संविधानमा समाजवाद उन्मूख उल्लेख गरेर छल्ने काम गरिएकै थियो, भाद्र २३,२४ मा बाह्य शक्ति समेतको बलले भित्री शक्तिलाई टेवा दिएर अर्को हस्तक्षेपकारी रचना रचियो । त्यही समाजवाद उन्मूख, लोकतान्त्रिक नामको संविधानको स्पीरिटलाई मारियो, तर पनि कम्युनिस्ट छाप टाँसेका लोकतन्त्र बहाल गरेकाहरु एक शब्द नबोली त्यसपछि भर्ना भएको सुशिला कार्कीको सरकारले तोकेको मितिमा निर्वाचनमा भाग लिन तीव्र प्रतिपर्धा गर्दैछन् । अरु च्याउ सरह उम्रेका पार्टीहरु जसरी उम्रे त्यसरी नै अस्तित्वविहीन हुनेछन् । २३,२४ को घटनालाई आन्दोलन भन्न मिल्दैन । यसको उद्देश्य अरु केही थिएन । नेपाललाई रणभूमि बनाउने अमेरिकी योजना मात्र हो । एमसिसि, एसपिपि पछि जेनजी नामको तेस्रो रहस्यमय कार्यक्रम आएको हो । यसले, त्यस संसारका मानिसलाई प्रेरणा दिएको छ । वर्षौंदेखि भारतमा निर्वासित धर्मको आडमा निरंकुश शासन संचालन गर्ने दलाई लामा अति प्रशन्न भएका छन् ।
त्यसबेलाका नामधारी जेनजीहरुलाई मुरी मुरी धन्यवाद दिएका छन् र आशा व्यक्त गरेका छन् । उनलाई पनि ल्हासा फर्काइ दिने छन् । प्रतिक्रियावादीहरुको शरण स्थल संयुक्त राज्य अमेरिका हो । उसैको संकेतमा यूरोप र अन्य देशमा पनि जस्तै जापान, दक्षिण कोरियामा समेत मानिसहरु ओइरिन्छन् । ती दीक्षितहरुलाई आ–आफ्ना देशमा कमसल काम गर्न लगाइन्छ । हाम्रो नेपालमा काम गर्ने राजनीति पार्टीहरु मध्ये केहीको धन्दा नै त्यही छ । नीति सिद्धान्त, विचार, राष्ट्रियतासँग तिनीहरुको कुनै नातो हुँदैन । बदला वर्षौं वर्ष काम गरेका, राष्ट्रवादी, लोकतान्त्रिक, गणतन्त्रका पक्षधर पार्टीहरुको श्रेणीमा नाम दर्ता गर्न खोज्नेहरु पनि तीन, चार वर्षको बीचमा जन्मेका नक्कली च्याउसरह भएका छन् । वास्तविक जनता, बहुसंख्यक नेपाली जनता मज जमुदर, किसान, मध्यमवर्गीय किसान, निम्न मध्यम वर्गीय पुँजीपति, राष्ट्रिय पुँजीपति पनि पर्दछन्, तिनले टाउको उठाउन पाएका छैनन् । सबै अर्थतन्त्र र राजनीति दलाल तथा विशिष्ट खालका नोकरशाही पुँजीपतिको कब्जामा छ । त्यसैले शोषण र दमन गर्न सके शक्ति पनि तिनैमा छ । २३,२४ गतेको विध्वंशकारी घटना अमेरिकी साम्राज्यवाद र घरेलु प्रतिक्रियावादको मेलमिलापको परिणाम मात्र हो । लोकप्रिय नाम जेनजी दिएमा प्रशंसा पाउनु हुने आशा बाहेक अरु केही होइन ।

