काठमाण्डौ । आठ मार्च अर्थात अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश क्रान्तिको उपलब्धि भएको वक्ताहरुले बताउनु भएको छ । ११६औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको सन्दर्भमा तीन महिला संगठनहरु क्रान्तिकारी महिला संगठन, अखिल नेपाल महिला संगठन, वैज्ञानिक समाजवादी महिला संगठनको आयोजनामा ललितपुरको कुपण्डोलमा आयोजित “आठ मार्चको महत्व र महिला मुुक्तिको प्रश्न” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा वक्ताहरुले सो कुरा बताउनु भएको हो । वक्ताहरुले आठ मार्च,अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश मजदुर महिलाहरुको संघर्षको फलस्वरुप आएको बताउँदै महिला मताधिकार, समान अधिकार र समाजवादी आन्दोलनकोलागि भएको संघर्षको परिणामस्वरुप आठ मार्च मनाउनु शुरु गरिएको र यसको क्रान्तिकारीपनलाई जोगाउँदै महिला मुक्तिको निम्ति संघर्ष गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो । वक्ताहरुले महिला मुक्तिकोलागि वर्गीय आन्दोलनसँगै महिला आन्दोलनलाई अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो । महिलामाथि पितृसत्ताको लामो उत्पीडन रहेको बताउँदै त्यसको विरुद्धमा महिलाहरु राजनैतिक रुपमा सचेत र संगठित हुँदै वर्गीय आन्दोलनलाई अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो ।
वैज्ञानिक समाजवादी महिला संगठनका संयोजक राजेश्वरी सुवेदीले कार्यक्रमको विषयमा धारणा राख्नु भएको थियो ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव सीपी गजुरेलले आठ मार्चको शुभकामना दिँदै आठ मार्चको सम्बन्ध सीधा क्रान्तिसँग हुने धारणा राख्नुभयो र जनयुद्धमा महिलाहरुको टिमले ठूला ठूला कारवाहीको नेतृत्व गरेको स्मरण गर्नु भयो । वहाँले क्रान्तिले धक्का खाए पनि आफुहरुले क्रान्तिको मार्ग नत्यागेको बताउँदै क्रान्तिकारी आन्दोलनले नै महिला मुक्ति सम्भव हुने औंल्याउनु भयो । वहाँले निर्वाचन बहिस्कारको बेला क्रान्तिकारी पार्टीहरुको संयुक्त संघर्ष समिति बनेको र क्रान्तिकारी पार्टीहरु मिलेर नै क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउने पनि उल्लेख गर्नु भयो । महिलाको अधिकार स्थापित गर्नेमा केही भूमिका नहुने
प्रधानमन्त्री भए पनि हिला आन्दोलनको नेताको रुपमा कसैले गन्न नसक्ने बताउनु भयो । वहाँले अहिले साम्राज्यवाद नाङ्गो रुपमा आएको भन्दै नेपाल पनि साम्राज्यवादको खेल मैदान बन्नसक्ने औंलाउनु भयो ।वहाँले नेपाललाई आधार बनाएर हामी माथिप्रहार गरे हामी रहँदैनौ भन्दै देश र जनतालाई बचाउन साम्राज्यवादसँग लड्नु पर्ने कुरा उल्लेख गर्नु भयो । क्रान्तिकारी महिला संगठन नेपालका सह संयोजक शारदा महतले आधा हिस्सा ओगटेका महिलाहरु परिवर्तन सहितको समाज निर्माणकोलागि महिला पुरुष सँगसँगै जानु पर्ने धारणा राख्नु भयो । वहाँले दलाल पुँजीवाद र साम्राज्यवादले महिलाहरुको उत्पीडनलाई बढाइरहेको बताउँदै त्यसका विरुद्धमा श्रमजीवि मजदुरहरुले संघर्ष गर्नु पर्ने बताउनु भयो ।
नेकपा बहुमतका सचिवालय सदस्य गम्भीरले महिला मुक्तिकोलागि क्रान्तिकारी चेतना र क्रान्तिकारी एकता आवश्यक रहेको उल्लेख गर्नु भयो । वहाँले क्रान्तिकारी आन्दोलन अगाडि बढाउन जनतालाई कसरी गोलबन्द गर्न सकिन्छ त्यसमा ध्यान दिनु पर्ने उल्लेख गर्नु भयो ।अखिल नेपाल महिला संगठनका सह संयोजक प्रतिमा बजगाइँले जनयुद्धमा लडेका महिलाहरु अहिले चुला चौकामा फर्किनु परेको पीडा सुनाउनु भयो । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका अध्यक्ष आहुतिले महिला मुक्तिको विषयलाई वर्गीय मुक्तिसँगै जोडेर लैजानु पर्ने धारणा राख्नु भयो । वहाँले अहिले यौनिकताको विषय पनि गम्भीरतापूर्वक उठिरहेकाले कम्युनिष्ट पार्टीहरुले ती विषयहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने कुरामा पनि सोच्नु पर्ने उल्लेख गर्नु भयो । उषा तितिक्षुले महिला मुक्तिकोलागि अझै गम्भीर भएर सोच्नु पर्ने समय आएको औंल्याउनु भयो ।
कार्यक्रममा कमला तामाङले ‘अब म चुप बस्दिन्न’अखिल क्रान्तिकारीका दिनेशले‘आमाको चेतना’विष्णु न्यौपानेले ‘म छोरी भएर ’ शीर्षकमा कविता वाचन गर्नु भएको थियो । कार्यक्रमको संचालन रुकु रणपालको रहेको थियो भने स्वागत क्रान्तिकारी महिला संगठनका सहसंयोजक मनु वि.क.को रहेको थियो । कार्यक्रममा ज्ञात अज्ञात शहिदहरुप्रति १ मिनेट मौनधारण गरिएको थियो । अन्तमा कार्यक्रमको संयोजन गर्नु भएको राजेश्वरीले कार्यक्रमको समापन गर्नु भएको थियो ।












