अमेरिकी साम्राज्यवादको उत्थान र पतनको बाटो

अपत्य शर्मा
आजको विश्व एक ध्रुवीयबाट बहुध्रुवीयमा परिणत भएको छ । बेलायती उपनिवेशबाट मुक्त भएपछि अमेरिका बेलायती साम्राज्यवादले लिएको साम्राज्य विस्तारको बाटो अँगाल्दै आएको छ । सोभियत रुसको उदयले विश्व दुई ध्रुवीयमा परिणत भएको थियो । सोभियत रुसको अन्त्यपछि अमेरिका एक धु्रवीय भएर आफ्ना साम्राज्यविस्तार गर्दै आएकोमा चीनको उदयले अर्को विश्व दुई ध्रुवीय भएको छ । विश्व दुई ध्रुवीय हुनु भनेको शोषित, पीडित, दमित हुनबाट जोगिने बाटोमा हिंड्नु होइन । बरु विश्वमा धनी झन्झन् धनी हुने र गरिब झन्झन् गरिब हुँदै जानु हो । विश्वका धनीको तथ्यांक राख्ने फोबसर्् पत्रिका अनुसार ५ वर्षमा २० जना अमेरिकीको सम्पत्ति १.३ ट्रिलियन अमेरिकी डलरबाट बढेर ३ ट्रिलियन अमेरिकी डलर पुगेको जनाएको छ । अमेरिका विश्वको सबै भन्दा धनी मुलुकमा पर्छ । राष्ट्रपति ट्रम्पले अमेरिका पहिलोको घोषणा गरेका छन् । अवश्य पनि अमेरिका विश्वव्यापी रुपमा कमजोर गरिब तर अनेकौं बहुमूल्य खनिज पदार्थ र प्राकृतिक स्रोतले सम्पन्न एसिया, अफ्रिका र ल्याटिन अमेरिकी मुलुकहरुमा त्यहाँका प्रतिक्रियावादी क्रुर बर्बर शासकहरुलाई आफ्नो कठपुतली बनाएर ती देशका खनिज पदार्थहरु र प्राकृतिक स्रोतहरुको दोहन गर्नमा पहिलो छ । १९ औं शताब्दीको अन्त्यतिर संयुक्त राज्य अमेरिकाले विश्वमा अन्तरमहादेशीय केन्द्र विन्दुमा रहेर पश्चिमी क्षेत्रका विदेशी क्षेत्रहरुका भूमिलाई आफ्नो क्षेत्रमा मिलाउन थालेको हो । अमेरिकी साम्राज्यवादीले भूमि विस्तार गरेर नयाँ बजारहरुको आवश्यकता पूर्ति गर्ने रणनीति नै बनाएको थियो । अमेरिकाले के लक्ष्य राखेको थियो भने आफ्नो प्रभाव क्षेत्र अन्तर्राष्ट्रिय जगतमा बढाउन १८८० ताका छिमेकीका जमीनहरुलाई जोरजवरजस्ती बर्बर तरिकाले दमन गरेर आफ्नो भू क्षेत्र विस्तार ग¥यो । प्रारम्भमा अरु देशहरुलाई नियन्त्रण गर्न (गनबोट डिप्लोमासी) सामुद्रिक सैन्य शक्ति कुटनीति प्रयोग ग¥यो । अमेरिकाका लागि आफ्ना औद्योगिक आर्थिक आवश्यकता पूर्ति गर्न यूरोपेली शक्तिहरुसँग प्रतिस्पर्धा गर्नुप¥यो । सामुद्रिक सैन्य शक्ति कुटनीति पहिले बेलायतले प्रयोग गरेको थियो ।
अमेरिकाले आफ्नो साम्राज्य विस्तार गर्ने क्रममा आफ्ना युद्धपोतहरु विदेशी बन्दरगाहहरुमा लगेर राख्नु, विवादित क्षेत्रहरु नजिकै सामुद्रिक युद्ध अभ्यास गर्ने र त्यस क्षेत्रलाई अधिकार गर्ने योजनालाई बलियो बनाउने काम गर्दथे । ऐतिहासिक उदाहरणका लागि कमोडोरे माथ्युपेरिको १८५० को योजनाको लक्ष्य जापानलाई २०० वर्षदेखि आफै एक्लिँदै बसेको मुलुकलाई यसको बन्दरगाह खुलाएर अमेरिकासँग व्यापार गर्ने बाटो खोल्नु थियो । अमेरिकाले युद्धपोत टोकियोमा लगेर बल प्रयोग गर्ने धम्की दिएर पेरीले टोकुगावा शोगुनारेलाई कानागावाको सन्धि गर्न बाध्य पारे । यो सन्धि मार्च ३१,१८५४ मा भएको थियो । त्यस समयमा अमेरिका पुग्न धेरै महिला लाग्दथ्यो । १८६० मा जापानी प्रतिनिधि वासिंटन डि.सी. पुग्न युएसएस पोह्वाटन (अमेरिकाको हालको भर्जिनिया) भएर जान ३ महिला लागेको थियो । अहिले केही घण्टामै टोकियो पुग्न सकिन्छ । १९०४ देखि सैन्य शक्तिको धम्की अमेरिकी परराष्ट्र नीति नै बनेको छ । अमेरिकी पूर्व राष्ट्रपति थियो डोर रुजबेल्टले (१९०४) मा एउटा परराष्ट्रनीतिको घोषणा गरेका थिए, जुन मोन्दो डक्ट्रिनको एउटा विस्तार वा संशोधन थियो । रुजवेल्ट कोरोलारीले के प्रष्ट पारेका थिए भने यदि ल्याटिन अमेरिका वा क्यारिवियन क्षेत्रका कुनै पनि राष्ट्रहरुले “दीर्घकालीन गलत कार्य” गरेमा वा उनीहरुको आन्तरिक व्यवस्थापन निकै कमजोर भएमा, अमेरिकाले त्यस देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न सक्छ । क्यारिवियन (सागर) मुलुकहरुमा क्युवा, जमैका, हैटी, डोमिनिकन रिपब्लिक, ट्रिनिडाड, बार्बाडोस र वाहामाज पर्छन् ।
मुन्रो डक्ट्रिनबारे सानो चर्चा गरौं । पाँचौं राष्ट्रपति जेम्स मुन्रो १८२३ मा राष्ट्रपति भएका थिए । उनले यूरोपेली शक्तिहरुले उपनिवेशीकरण गर्न बन्द गर्नुपर्छ र पश्चिमी गोलार्धमा पनि हस्तक्षेप गर्न बन्द गर्नुपर्छ । मुन्रोले के पनि घोषणा गरे भने अमेरिकीहरु यूरोपेलीहरुका लागि उपनिवेशीकरण गर्न खुला गरिने छैन भन्दै भर्खर स्वतन्त्र भएका ल्याटिन अमेरिकी राष्ट्रहरुमा हस्तक्षेप गर्न पाउने छैनन् यदि गरे भने यो संयुक्त राज्य अमेरिकाको विरुद्ध गरिएको कदम मानिनेछ । यस्तो घोषणा १८२३ को कांग्रेसलाई दिएका थिए ।
उपरोक्त विवरणले के छर्लङ पार्छ भने संयुक्त राज्य अमेरिका १९ औं शताब्दीदेखि नै विश्व साम्राज्य विस्तार गर्ने चरणमा थियो । सोभियत रुसको उदयले विश्व दुई खेमामा विभाजित भयो । पुँजीवादले जन्माएको पुँजीवादी दासता, शोषण, उत्पीडन, दमन र पुँजीवादी दासताको अन्त्य गर्ने साम्यवादी सिद्धान्तले पुँजीवादी जगतलाई एकातिर एक बनायो । साम्यवादी सिद्धान्तले विश्वका शोषित, पीडित, दमित ज नतालाई पनि एक गरायो । सबै भन्दा पींधमा रहेका आफ्नो भन्ने कुनै पनि जीविकाका साधनबाट वञ्चित सर्वहारा वर्गको मुक्ति पुँजीवादी तानाशाही सत्तालाई पल्टाउनु र सम्पूर्ण शोषक वर्गमाथि शासन नगरेसम्म उत्पादनका सम्पूर्ण पुँजीपतिका उत्पादनका साधनमाथि सर्वहारा वर्गले अधिकार नजमाएसम्म पुँजीवादी दासताको अन्त्य हुन सक्दैन । सर्वहारावर्गको सत्ताको नाम लिन साथ पुँजीवादीहरुको मुटु काम्छ । यसकारण साम्यवादी दर्शन, साहित्य, संस्कृति शिक्षाका विरुद्ध पुँजीवादी विद्वानहरुले अनेकौं सिद्धान्तहरुको प्रचार प्रसार गर्दै आएका छन् । विश्व व्यापी रुपमा दिइने पुँजीवादी शिक्षाको मूल सिद्धान्त भनेको नै व्यक्तिवादिता हो अर्थात् राम्रो म, मैले मात्र खानु लाउनु मोजमस्ती गर्नुपर्छ अरु श्रमजीवीले चाहिं पुँजीवादी ज्यालादारीमा दास जीवन बिताउनु रहेको छ । पुँजीवादी शासन सत्ताको अन्त्य नभएसम्म दैनिक ज्यालादारीको पनि अन्त्य हुँदैन । यसकारण सर्वहारावादी क्रान्तिकारीहरुले पुँजीवादको अन्त्य गर्न पुँजीवादी सम्पूर्ण विषालु सिद्धान्तहरुको खण्डनमण्डन दृढतापूर्वक गर्नु आजको आवश्यकता हो ।
अमेरिकी साम्राज्यवादी मुन्रो वा हिटलर जसको बाटोमा हिंडे पनि पुँजीवादको अन्तिम अवस्थामा पुगेको साम्राज्यवाद हो । आज जस्तो कमजोर अवस्थामा अमेरिका कहिल्यै पनि पुगेको थिएन । अमेरिकी राष्ट्रपति ट्रम्पले चलाएको व्यापार युद्धले पनि सफलता पाउन सकेको छैन । सीमा शुल्कको धम्की आफ्ना प्रिय पात्र मुलुकहरुलाई पनि दिए । सीमा शुल्कमा लगाइएको अन्तशुल्कले महंगा मालसामान किन्न नसक्ने अवस्थामा अमेरिकी श्रमजीवी जनता नै पुगेका छन् । अमेरिकाका मित्र राष्ट्रहरु पनि सीमा शुल्कको वृद्धिको मारले गर्दा चिढिएका छन् । ट्रम्पले ग्रीनल्याण्ड धम्क्याएर आफ्नो अधिकारमा ल्याउने प्रयास पपिन असफल भयो । ग्रीनल्याण्डका जनताको मात्र विरोध नभएर यूरोपेली युनियनले पनि विरोध गरेकाले ट्रम्प पछि हट्न बाध्य भए । ट्रम्पले क्यानाडालाई पनि आफ्नो ५० तारे झण्डामा ५१ तारे झण्डा बनाउन क्यानाडालाई अमेरिकामा मिलाएर थोरै कर लगाउने र राम्रो स्वास्थ्यको व्यवस्था गर्ने भनाइलाई पनि क्यानेडियन ९० प्रतिशत जनताले अस्वीकार गर्छन् । क्यानाडेली जनता स्वतन्त्र राष्ट्र हुनुमा गर्व गर्छन् । ट्रम्पको स्वतन्त्र राष्ट्रलाई आफ्नो मुलुकमा मिलाउने आकांक्षाप्रति यूरोपेली मुलुकहरु असहमत छन् र क्यानडा पनि यूरोपेली मुलुकहरुसँग सम्बन्ध प्रगाढ बनाउँदैछ । अमेरिकी साम्राज्यवादीको प्रत्येक कदमको समर्थन गर्ने यूरोपेली मुलुकहरु दिन प्रतिदिन टाढिँदै छन् । नाटोमा आबद्ध ३२ ओटा मुलुकहरुले हरेक अमेरिकी आक्रमणमा साथ दिंदै आएकामा अब विराम लाग्न लागेको छ । पहिले अमेरिकीको नेतृत्वमा युगोस्लाभिया, इराक, लिविया आदि मुलुकहरुमा आक्रमण गर्दा नाटो मुलुकहरुले सहयोग र समर्थन गरेका थिए । अहिलेको इरान माथि अमेरिका र इज्रायलले गरेको आक्रमणमा साथ दिएका छैनन् । स्पेन, जर्मन, फ्रान्सले इरानमाथि आक्रमण गर्न अमेरिकालाई साथ नदिने घोषणा गर्नुका साथै माक्रोनले अर्को नाटो गठन गर्ने र यूरोपको रक्षा गर्ने पनि भनेका छन् ।
अमेरिकाको विश्वका ८० वटा मुलुकहरुमा मोटामोटी ७५० देखि ८०० सैनिक अखाडा छन् । तिनमा मुख्य सैनिक अखडा भएका राष्ट्रहरुमा जापान, जर्मनी र द. कोरिया छन् । धेरैजसो सैनिक अखडा नेटो मुलुकहरु, मध्यपूर्वका देशहरु, द. कोरिया, अस्टे«लिया र जापान छन् । सन् २०२५ को मध्यमा मध्यपूर्वमा ४०,००० देखि ५०,००० अमेरिकी सेना छन् ।
अमेरिका र इज्रायलले इरानमाथि आक्रमण गर्नुको ठोस कारण केही पनि छैन । राष्ट्रपति ट्रम्पको आँखा इरानको तेलमाथि छ । इरानमा मोसाद र सिआइएद्वारा अयातुल्ला अलि खामेनेईको सत्तालाई पल्टाएर इरानका अपदस्थ राजा पहल्वीका छोरालाई इरानको गद्दीमा राख्नु हो । इरानका असन्तुष्टलाई अमेरिका इज्रायली गुप्तचरहरुले आयातुल्ला खामेनेईको सत्ता पल्टाउने योजना गरेकाले इरानले आणविक बम नबनाउने भन्दा भन्दै अमेरिका र इज्रायलले इरानमाथि आक्रमण गरे । इरानले आणविक बम बनाउन सक्ने पुग्दो यूरोनियम जम्मा गरेको एकोहोरो प्रचारवाजी अमेरिकाले गरेर इरानमाथि आक्रमण गरेको हो । इरानमा खामेनेई सत्ताका विरुद्ध इरानी जनतालाई उत्तेजित पार्दै अमेरिका हरेक किसिमको सहायता समर्थन गर्न तयार छ भन्यो र आफ्नो युद्धपोतलाई इरानको नजिकै तैनाथ ग¥यो । इरानी सर्वोच्च धार्मिक नेतालाई गद्दार इरानीलाई प्रयोग गरेर इरानी उच्च पदस्थ अधिकारी तथा खामेनेईका सपरिवारको हत्या अमेरिकी इज्रायली गठबन्धनले गरायो । हत्या गरेपछि इरानमा सत्ता पलट हुने विश्वास गरेका इज्रायल र अमेरिकाको सपना अधुरै भयो । इरानले धर्म गुरुको हत्याको बदला लिने घोषणा गरेको छ ।
तीन चार दिनमै इज्रायल र अमेरिकाले के विश्वास गरेका थिए भने इरानी शासकहरुले घुँडा टेक्नेछन् । तर आज ७ मार्चमा अमेरिकी इज्रायलले इरानमाथि आक्रमण गरेको आठौं दिनसम्म पनि युद्ध जारी छ । अत्याधुनिक मिसायल, सेटलाइट, आइरन डोम र शक्तिशाली अत्याधुनिक राडरको प्रयोग गरे पनि इरानले आफ्ना अत्याधुनिक शस्त्र प्रयोगमा ल्याएको छैन । इरानले नक्कली हेलिकोप्टर पेन्टिङ गरेकोलाई पनि छुट्याउन नसक्ने सेटलाइटले सक्कली भनेर ५ मिलियन डलर पर्ने मिसाइल हानेर ध्वस्त ग¥यो । नक्कली हेलिकोप्टर पेन्टिङ गर्न १० डलर खर्च इरानले ग¥यो भने अमेरिकाले ५ मिलियनको मिसाइल खर्च ग¥यो । इरानले थकाउने लामो समयसम्म युद्ध जारी राख्ने र विस्तारै शक्तिशाली हतियार प्रयोग गरेर अमेरिका र इज्रायली जनताको आक्रोश बढाएर शासनसत्ताको विरोध बढाउनु हो । अमेरिकामा नै पनि अमेरिकी जनता अमेरिकी राष्ट्रपतिको व्यापक विरोधमा उत्रिएका छन् । अमेरिकी जनताले तिरेको कर दैनिक अमेरिकी इरानयुद्धमा ५ अरब अमेरिकी डलर खर्च छ भनेर साम्राज्यवादी संचारमाध्यमले जनाएका छन् । अमेरिकी सेना पनि इरान युद्धको विपक्षमा छ । विरोध गर्ने अमेरिकी सैनिक जवानलाई गिरफ्तार गरिंदैछ । १० दिन इरान अमेरिका युद्ध चल्यो भने अमेरिकासँग मिसाइलको अभाव हुन्छ भनेर पेन्टागनले जनाएको छ । ड्रोनहरु सस्तोमा बन्छ भने ड्रोन नष्ट गर्न लाखौं मूल्य पर्ने मिसायल खर्च गर्नुपर्छ । अमेरिकी सेन्ट्रल कमाण्डले मिसाइल र सेनाको ठूलो अभाव भएको जनाएको छ । पेन्टागनले अमेरिका इरान युद्ध १०० दिनसम्म चल्ने जनाएको छ । इरानी मिसाइललाई इज्रायली आइरन डोम (सबै किसिमका लामो छोटो रेन्जका रकेट मिसाइल आदि सबैलाई आकासमा नै गर्न सक्ने ) ले पनि सबै इरानी मिसाइल रोक्न नसकेकाले ४० वटा मिसाइल तेल अविवमा खसे । सयौं घरहरु ध्वस्त भएका र सयौं इज्रायली मारिएका छन् । इज्रायलको बनेगुरेन अन्तर्राष्ट्रिय हवाई अड्डा हो त्यहाँ पनि इरानले क्षेप्यास्त्र प्रहार गर्न सफल भएको छ । राष्ट्रपति ट्रम्पले पैदल सेना इरानमा उतार्ने बताएका छन् भने इरानले चिहान बनाउने बताएको छ । इरानले अमेरिकी सैन्य अखाडा भएका साउदी अरेविया, कतार, कुवेत, इराक र जोर्डनमा मिसायल आक्रमण गरेर ध्वस्त बनाएको छ । इरानले गरेको आक्रमणमा ५ सय अमेरिकी सेना मरेका छन् । यो सत्य हो भने अमेरिकी सेनाको मनोबल गिर्ने, अमेरिकी जनताले कडा विरोध प्रदर्शन देशव्यापी रुपमा गर्ने छन् । इरानले अमेरिकालाई परास्त गर्दै गएको विश्लेषण सैन्यविद्ले गरेका छन् । अवश्य पनि इरानमा ठूलो क्षति हुनुको साथै एक हजार भन्दा बढी इरानी मारिएका छन् र लामो युद्ध लड्ने मनस्थिति इरानले बनाएको छ । स्कूलका १५० इरानी बच्चाहरुको हत्या अमेरिकाले गरेकाले पनि अमेरिकाको विश्वव्यापी निन्दा भत्र्सना भइरहेछ । राष्ट्रपति ट्रम्प इरानसँगको युद्धमा सोचे जस्तो परिणाम नआएकाले हतास भएर पादरीहरुद्वारा कर्मकाण्ड गरेका समाचार पनि बाहिरिएका छन् ।
अमेरिका विश्वव्यापी रुपमा एक्लिँदै गएको छ । उसका मित्र शक्तिहरु पनि चर्को अन्तशुल्कको धम्की, इरानी हमलाले मध्यपूर्वका खाडीका तेल खानीहरु ध्वस्त हुनाले चर्को तेलको मुल्य र अभावले गर्दा विश्व अर्थतन्त्रमा ठूलो मन्दी निम्त्याउन सक्छ । आफ्नै मित्र शक्तिबाट एक्लिनु पतनको बाटोमा लम्कनु हो । आफ्ना मित्रशक्ति मुलुकहरु अर्को विपरीत ध्रुवमा सामेल हुनुले पनि अमेरिका ढिलो वा चाँडो पतन हुनेछ । तर आफै पतन नभएर ठूलो क्रान्तिकारी शक्तिको धक्काबाट मात्र हुन सक्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित