कविता -कोपिलालाई जोगाउँ

मनु वि.क.
कोपिला नै निमोठिए फल लाग्ने कहाँ
कोपिलालाई जोगाउन अघि सरौं यहाँ
फूलले नै दिन्छ हेर संसारमा सुवास
कोपिलाहरु निमोठिँदा रहेन केही आस ।

एक आउँछ निमोठ्छ ,अर्को गर्छ त्यही
फूल चुड्न नदिन संसारमा चाल कदम केही
फूल्न चाहने फूललाई कोपिलामै चुड्यौ
जीवन छ कोपिलामा किन सबै भूल्यौ ?

साना साना कोपिलालाई चुड्ने दुष्ट हात
कोपिलाको प्राण सक्ने अपराधी छ माथ
कोपिलाका नानीलाई किन सक्छौ सँधै ?
कोपिला बिना सुवास छैन बुझ्दैनौ र अझै ?

किन होला हराएको सुद्धिबुद्धि यहाँ
कोपिलालाई जोगाउने चिन्तन गयो कहाँ ?
सुध्रेलाकि भन्ने सोच्दा अर्को फेरी चुँड्यौ
एक पछि अर्को गर्दै किन मारिदियौ ?

कोपिला नै आमा थिइन्,दिदी,बहिनी थिइन्
देश,घर, आँगनको बत्ती जस्तै थिइन्
मायालु कोपिलाको प्राण सकेपछि
संसार नै रित्तो हेर,रित्तो अघिपछि ।

वसन्तमा फुल्न खोज्ने कोपिलालाई मारी
वसन्त नै हरायो है ,छैन वारीपारि
कोपिलालाई जोगाउन खुल्ला कहिले माथ ?
कोपिलालाई जोगाउन लागौं  सबै  साथ ।

कोपिलालाई जोगाउन अपराध कर्म सकौं
सबै लागौं, सबै जागौं, यही मनमा जपौं
कोपिलालाई बचाउन बार बन्धन गरौं
सबै मिली नानीहरुको जीवन रक्षा गरौं ।
मिति २०८२ फागुन २९
सुर्खेतमा इनिशा वि.क.को बलत्कार र हत्यापछि

 

 

 

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित