जितामित्र सुनार
आजभोलि चलचित्र हेर्न त्यति जोडबल गर्दिनँ । कुनै समय भने एकै दिनमा दुई–दुई वटा चलचित्र पनि हेरेको छु। एउटा हलबाट निस्केर फेरि अर्को हलमा छिरेको सम्झना अझै ताजा छ । त्यसबेला प्रदर्शन भएको हिन्दी चलचित्र ‘कारण अर्जुन’ मलाई निकै मन परेको थियो ।
मैले भारतीय चलचित्र ‘देवदास’ पाँच पटक हेरेको छु। त्यसो त उक्त चलचित्रको आधार रहेको ‘देवदास’ उपन्यास पनि पढेको छु। शरतचंद्र चट्टोपाध्याय (क्जबचबत ऋजबलमचब ऋजबततयउबमजथबथ) द्वारा लिखित यो उपन्यास सन् १९१७ मा प्रकाशित भएको हो । मेरो बाजेको झोलामा भेटिएको जिर्ण प्रति पढ्दा म करिब १६–१७ वर्षको थिएँ । ‘देवदास’ उपन्यास २० भन्दा बढी भाषामा अनुवाद भएको र १५ भन्दा बढी भाषामा चलचित्र बनेको बताइन्छ।
’देवदास’ सामन्ती वर्गीय संरचना र मानवीय संवेगबीचको भीषण टक्कर हो । यसले कसरी एउटा कुलीन वर्गले आफ्नो सामाजिक प्रतिष्ठा र सम्पत्तिको अहंकार जोगाउन व्यक्तिगत स्वतन्त्रता र प्रेमको बलि चढाउँछ भन्ने कुरालाई उजागर गर्छ । देवदासको विनाशले उत्पादनशील कार्यमा संलग्न नहुने विलासी बुर्जुवा वर्गको अन्त्यलाई संकेत गर्छ भने, पारो र चन्द्रमुखीको अवस्थाले पितृसत्तात्मक समाजमा महिलाको आर्थिक र सामाजिक परनिर्भरतालाई पुष्टि गर्दछ । फिल्मले वर्गीय खाडल र पुँजीवादी आडम्बरले मानिसलाई कसरी वियोग र मृत्युको मुखसम्म पु¥याउँछ भन्ने यथार्थतालाई चित्रण गरेको छ ।
थमन भण्डारी नेपाली चलचित्र निर्माण जगतको भर्भराउँदो नाम हो । उनले ’पण्डित बाजेको लौरी’ र ’एक्टर टेक वान’ नामक दुई चलचित्रको निर्माण गरेकाछन् । गाँउको हिसाबले हामी एकै गाउँका हौ ।
एकदिन बिहानै फोन सम्पर्क भयो । मैले ’लालीबजार’ चलचित्रको बारेमा बुझ्न खोजे । उनले बुझ्नको लागि चलचित्र नै हेर्न अनुरोध गरे । त्यसपछि काठमाडौंबाट बुटवलको भाटभटेनीमा रहेको त्तँह् ऋष्लझबक मा बिहानको शोका लागि टिकट बुकिङ गरिदिए ।
‘लालीबजार’लाई लिएर समाजमा तर्क–वितर्कको आँधी चलिरहेको थियो । बहिष्कारका स्वरहरू पनि चर्का थिए । तर मनमा उठेका प्रश्नहरूको जवाफ आफैं खोज्नुपर्ने ठानेर म हलतर्फ लागेँ । पहिलो दिनको बिहानी शो—हलमा करिब ३०–३५ जना दर्शक मात्र थियौँ । षट्कोण आट्रसले बनाएको यस चलचित्रका निर्देशक याम थापा हुन् । कथा बिक्रम सम्बत २०४५ वरिपरी देखाउन खोजिएको छ ।
लालीबजार नेपाली समाजको जातीय र वर्गीय संरचनालाई चित्रण गर्न खोजिएको सामाजिक धारमा बनेको चलचित्र हो । यसले बादी समुदायको जीवन–संघर्षलाई केन्द्रमा राखेर राज्य, समाज र सत्तासँगको टकराव प्रस्तुत गर्न खोजेको छ । फिल्मले उत्पीडित वर्गको आवाजलाई अगाडि ल्याउने प्रयास गरेको छ, तर प्रस्तुति र संरचनामा केही कमजोरीहरु देखिन्छन् ।
चलचित्रको सबल पक्ष यसको विषयवस्तु हो । जातीय र वर्गीय विभेद नेपाली समाजमा अझै जटिल यथार्थ हो । कथाले वर्ग संघर्षलाई स्पष्ट रूपमा देखाएको छ । एकातिर आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा सीमान्तकृत समुदाय; अर्कोतिर राज्यसत्ता र प्रभुत्वशाली वर्ग ।
‘लालीबजार’ मधुबालाको पीडा, प्रेम र प्रतिरोधको कथा हो । उनको घरको चुलो देहको कमाइले चल्छ । विकल्पहीन जीवनमा हुलाकी नारायण पन्थी आउँछन् । पत्र बोक्ने ती हुलाकी बिस्तारै उनको प्रेमी बन्छन् । पहिलोपटक आफूलाई ‘मानिस’ ठान्दछिन् । तर सामन्ती समाजको कठोरताले त्यो प्रेम एक अर्काको विवाहमा परिणत हुन सक्दैन । नारायण पन्थीले सामाजिक विद्रोह अथवा पारिवारिक विद्रोह गर्न सक्दैनन् । मधुबाला फेरि लालीबजारमै फर्किन बाध्य हुन्छिन् । र नारायणपन्थीको गर्भबाट एउटा छोरी जन्मिन्छ ।
गाउँमा सामन्ती राजा साहेबको दबदबा छ; बालिकाको नथिया छेडेर अधिकार दाबी गर्ने कुप्रथा मधुबालाकी छोरीमाथि पनि तेर्सिन्छ । विरोधमा उभिएका नारायणको हत्या गरिन्छ । पुलिस प्रशासनको मिली भगतमा नारायणले आत्महत्या गरेको बनाईन्छ ।
त्यसपछि मधुबालाले विभिन्न हन्डर खान्छिन् । कमजोर पारिवारिक अवस्था, सामाजिक अपहेलना र दमनको प्रतिरोध गर्ने उनीसँग यथोचित हिम्मत हुँदैन । उनलाई समाजमा साथ दिने कोही पनि हुँदैन । उनी आफू देह व्यापारमा नलाग्ने र आफ्नो छोरीले पनि उक्त पेशाबाट टाढा राख्ने निधो गर्छिन् । माओवादी जनयुद्धको प्रभावले अलि सहज बनेको सामाजिक वातावरणमा उनले छोरीलाई स्कुल भर्ना गर्न सक्छिन् । छोरीलाई पढाउँदै, गिटी कुट्दै, उनी अन्ततः छोरीलाई सामन्ती ओछ्यानमा नचढाउने अडान लिन्छिन् । यही अडानसँगै कथा अघि बढ्छ ।
२०५२ सालबाट शुरु भएको माओवादी जनयुद्धको प्रभावले समाजमा केही सामाजिक सुधारहरू भएको देखाउन खोजिएको छ । गाउँबाट राजासाहेब विस्थापित हुन्छन् । सामन्तको चाकडी गरेर खाने मान्छेहरूको बिल्लीबाठ हुन्छ । तर माओवादी जनयुद्ध शान्ति प्रक्रियामा आइसकेपछि जनयुद्धका मूल्य र मान्यताहरूको विघटन भएका दृश्यहरू देखाइएको छ । जनयुद्धका कमाण्डरहरु दलाली गर्न लाग्छन् । राजा महाराजाहरूको वरिपरी बस्छन् । चलचित्रमा केही कमान्डरहरू सम्पत्ति आर्जनको खेलमा सत्तामा चुर्लुम्म भएको दृश्य पनि देखाइएको छ ।
शान्ति प्रक्रियापछि राजा महाराजाहरू समाजमा सलबलाउन थाल्छन् । पुराना आफ्ना हर्कतहरू समाजमा पुन स्थापित गर्न खोजेका छन् । नथिया प्रथा फेरि दोहोरिन्छ । मधुवालाकी छोरी महारानीलाई महाराजा को कामुकताको शिकार बन्नुपर्ने परिस्थिति तयार हुन्छ । मधुवाला आफ्नो छोरीलाई यस प्रकारको घृणित कार्यमा नलगाउने याचना गर्न महाराजाको दरवारमा पुग्छिन् । तर उनी दरबारबाट निर्मम दण्डित हुन्छिन् । महाराजाको कामुकताको सिकारबाट बचाउन छोरीलाई भगाउँदा भगाउँदै फेरि उनीहरूकै चंगुलमा पर्छिन् । बन्धक बनाई छोरीको जवरजस्ती करणी हुने अवस्था आएपछि मधुवालामा विद्रोहको आगो दन्किन्छ र उनी प्रतिकारमा उत्रिन्छन् । यही प्रतिकारको घटनामा उनले महाराजाको हत्या गर्छिन् । चलचित्रको कथावस्तु यसरी टुंगिएको छ ।
चलचित्रमा मधुवाला पात्रलाई सङ्घर्षको केन्द्रबिन्दुमा राखिएको छ । तर उनलाई राज्य व्यवस्थाको विरुद्धमा बादी समुदायभित्र जबरजस्ती लादिएको अन्याय, अत्याचार र दमनको विरुद्धमा संगठित सामाजिक विद्रोहको सन्देश देखिने प्रकारको भूमिकामा देखाइनुपर्ने थियो । एउटा एउटा परिवारको समायोजन नै समाज हो । समाजको समस्या साझा समस्या हो । अन्याय अत्याचार साझा हुन्छ । साझा समस्याको विरुद्धमा सबै जातजाति र समुदायले संघर्ष गर्नुपर्छ भन्ने प्रकारको सन्देश दिनबाट यो चलचित्र चुकेको छ । यसले वर्गीय द्वन्द्वलाई गहिराइभन्दा बढी सामान्य सुधारबाट हुने अनुभूति दिन खोजेको छ ।
चलचित्रका केही सहायक पात्रहरू, धेरै सरल र एकै प्रकारका छन् । उनीहरूमा मानवीय पक्ष कम देखिन्छ । यसले समाजको वर्गीय द्वन्द्वलाई गहिरो रूपमा देखाउनुभन्दा सीधै विरोध र समर्थनको रूपमा प्रस्तुत गरिएको जस्तो लाग्छ ।
चलचित्रले सामाजिक यथार्थ प्रस्तुत गर्न खोज्दा कतिपय दृश्यहरू अत्यधिक नाटकीय भएका छन् । जीवन जगतका अन्तर्विरोधहरू स्वाभाविक ढंगले देखाउनुपर्छ । यहाँ केही ठाउँमा भावनात्मक प्रभाव बढाउन खोज्दा सन्देश प्रत्यक्ष र उपदेशात्मक जस्तो हुन गएको छ ।
फिल्मको वैचारिक बल भनेको यसले सीमान्तकृत वर्गको पीडालाई “व्यक्तिगत” नभई “संरचनात्मक समस्या”का रूपमा देखाएको छ । एकातिर सामन्ती सत्ता (राजा साहेब), अर्कोतिर शोषित (मधुबाला), बीचमा शक्तिहीन मध्यमवर्ग (नारायण), र भविष्यको सम्भावना (छोरी) । तर फिल्मको कमजोरी भनेको यही संरचनात्मक द्वन्द्वलाई पूर्ण रूपमा गहिराइमा नलगी धेरै ठाउँमा व्यक्तिगत भावनात्मक कथामा सीमित गरिएको छ, जसले गर्दा समाधानको तहमा पुगेपछि कथा केही हदसम्म व्यक्तिगत संघर्षमै सीमित भएको छ । यसकारण चलचित्रमा व्यापक वर्गीय आन्दोलन वा सामूहिक चेतनाको चित्रणलाई बलियो रूपमा विकास भएको देखाउन सकेको छैन ।

