आज मे २२,अन्तर्राष्ट्रिय जैविक विविधता दिवस

काठमाडौं । अन्तर्राष्ट्रिय जैविक विविधता दिवस २०२६ (मे २२) को मूल नारा “स्थानीय कार्य, विश्वव्यापी प्रभाव” तय गरिएको छ। यो नाराले स्थानीय तहमा गरिने संरक्षणका साना प्रयासहरूले समेत विश्वव्यापी जैविक विविधतामा सकारात्मक प्रभाव पार्ने कुरालाई जोड दिन्छ। अन्तर्राष्ट्रिय जैविक विविधता दिवसले पृथ्वीमा रहेका जीवजन्तु, वनस्पति र सम्पूर्ण पारिस्थितिक प्रणालीको संरक्षणप्रति विश्व समुदायको ध्यान केन्द्रित गर्ने काम गर्छ । संयुक्त राष्ट्रसंघले सन् २००० देखि औपचारिक रूपमा यो दिवस मनाउन थालेको थियो । यो दिवस सन् १९९२ मे २२ मा भएको जैविक विविधता महासन्धि को सम्झनामा स्थापना गरिएको हो ।

विश्वको कुल भू–भागको केवल ०.०३ प्रतिशत क्षेत्रफल ओगटेको नेपाल जैविक विविधताको दृष्टिले भने अत्यन्त समृद्ध राष्ट्र मानिन्छ । जैविक विविधताको हिसाबले नेपाल विश्वमा ४९ औँ र एसियामा ११ औँ स्थानमा पर्दछ । जैविक विविधता घनत्वका आधारमा विश्वमै २५ औँ स्थानमा रहेको छ । नेपालमा विश्वका ज्ञात वनस्पतिको ३.२ प्रतिशत र जीवजन्तुको १.१ प्रतिशत पाइन्छ ।

जैविक विविधताले सांस्कृतिक, धार्मिक तथा आर्थिक महत्व पनि बोकेको छ । पर्यटन, कृषि, वन तथा जडीबुटी व्यवसायले देशको अर्थतन्त्रमा टेवा पुर्‍याइरहेका छन् । विविध पारिस्थितिक प्रणालीहरूले जलवायु परिवर्तनजस्ता वातावरणीय चुनौती सामना गर्न प्रकृतिलाई अझ लचिलो बनाउँछन् ।

नेपालमा ११८ प्रकारका पारिस्थितिक प्रणाली, २४२ वटा सिमसार क्षेत्र तथा १० वटा रामसार सूचीमा सूचीकृत सिमसार क्षेत्र रहेका छन् । यहाँ ६ हजार ६ सय ५३ भन्दा बढी फूल फुल्ने वनस्पति, २ हजारभन्दा बढी ढुंसी, १ हजारभन्दा बढी लेउ तथा सयौँ प्रकारका ब्रायोफाइट र टेरिडोफाइट पाइन्छन् । त्यसैगरी २१० स्तनधारी, ८७१ चरा, २२८ माछा, १३७ घस्रने प्राणी, ५३ उभयचर र १२ हजार ९ सयभन्दा बढी कीराका प्रजाति नेपालमा अभिलेख गरिएका छन् ।

नेपाल गुराँस, सुनाखरी तथा बहुमूल्य जडीबुटीका लागि विश्वमै परिचित छ । यहाँ ३० भन्दा बढी प्रजातिका गुराँस र ३ सय ६३ भन्दा बढी सुनाखरीका प्रजाति पाइन्छन् । कृषि जैविक विविधताका दृष्टिले पनि नेपाल धनी मानिन्छ । ५ सयभन्दा बढी खाद्य अन्नबालीमध्ये २०० भन्दा बढी प्रजातिको खेती नेपालमा गरिन्छ । कतिपय बाली तथा जडीबुटी नेपालकै रैथाने प्रजाति हुन् ।

नेपालका धेरै वनस्पति तथा वन्यजन्तु प्रजाति अन्तर्राष्ट्रिय साईटिस महासन्धिमा सूचीकृत छन् ।नेपालका ७३ स्तनधारी, ११३ चरा, २९ घस्रने प्राणी, २ उभयचर, ३ पुतली र ४१७ वनस्पति प्रजाति साईटिसमा सूचीकृत छन् । यिनको शिकार तथा व्यापार गैरकानुनी मानिन्छ ।

जैविक विविधताले मानव जीवन र पृथ्वीको अस्तित्वलाई सन्तुलित राख्न महत्वपूर्ण भूमिका खेल्छ । खाद्य सुरक्षा, स्वच्छ पानी र हावा, जलवायु सन्तुलन, परागसेचन, प्राकृतिक कीट नियन्त्रण तथा औषधीय स्रोत संरक्षणमा यसको प्रत्यक्ष योगदान रहेको छ । मौरी, चराचुरुङ्गी र अन्य कीराहरूले कृषि उत्पादनमा आवश्यक परागसेचन गर्छन् भने वनजंगलले कार्बन डाइअक्साइड अवशोषण गरी जलवायु सन्तुलन कायम राख्छ ।

जैविक विविधताले सांस्कृतिक, धार्मिक तथा आर्थिक महत्व पनि बोकेको छ । पर्यटन, कृषि, वन तथा जडीबुटी व्यवसायले देशको अर्थतन्त्रमा टेवा पुर्‍याइरहेका छन् । विविध पारिस्थितिक प्रणालीहरूले जलवायु परिवर्तनजस्ता वातावरणीय चुनौती सामना गर्न प्रकृतिलाई अझ लचिलो बनाउँछन् ।

तर पछिल्ला दशकहरूमा नेपालसहित विश्वभर जैविक विविधता संकटमा पर्दै गएको छ । वन फँडानी, सहरीकरण, अनियन्त्रित भौतिक पूर्वाधार निर्माण, वासस्थान विनाश, रासायनिक विषादीको अत्यधिक प्रयोग, जलवायु परिवर्तन, मिचाहा प्रजातिको विस्तार तथा अवैध वन्यजन्तु व्यापार जैविक विविधताका प्रमुख खतरा बनेका छन् ।

बढ्दो जनसंख्या र अत्यधिक प्राकृतिक स्रोत उपभोगका कारण पारिस्थितिक प्रणालीमा असन्तुलन बढ्दै गएको छ । रासायनिक प्रदूषण, जीवाश्म इन्धनको प्रयोग तथा औद्योगिक फोहोरले वनस्पति र जीवजन्तुलाई प्रत्यक्ष असर पुर्‍याइरहेको छ । जलवायु परिवर्तनका कारण तापक्रम र वर्षा प्रणालीमा आएको परिवर्तनले धेरै प्रजाति संकटमा परेका छन् ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित